लक्ष्मण तिमल्सिना
रविगाउँ, धुलिखेल
आगामी शनिबार हुने स्थानीय तहको उपनिर्वाचनको तयारी पुरा भएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सुरक्षा ब्यवस्था मिलाएको छ भने जिल्ला निर्वाचन कार्यालयले मतपत्र सहितको अन्य ब्यवस्था मिलाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी, मतदान अधिकृत र अन्य ब्यवस्था मिलाएको छ ।
निर्वाचनको पुर्व सन्ध्यामा नमुना मतदान आयोजना गरिएको थियो । सेतिदेवी माध्यमिक विद्यालयमा हुने मतदानका लागि मतदाताहरुलाई अनिवार्य उपस्थितीका लागि आब्हान गरिएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला स्तरीय सर्वदलिय बैठक आयोजना गरिएको थियो ।
नेकपाको सभा, अरु दल गुमनाम
नेपाल कम्युनिष्ट पार्टीले रविमा बृहत चुनावी सभाको आयोजना गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा प्रदेश नम्वर ३ का सचिव आनन्द पोखरेलले ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सबै नेपालीले साथ दिनुपर्ने बताउनु भयो । नेकपाको सरकारले २ वर्षमा विकासको जग हालेको र ढोका खेलेकाले अब तिब्र विकास हुने बताउनु भयो । नेकपा बाहेक कुनै पार्टीले विकास गर्न नसकेकाले काम गरेको हेर्न उहाँले आग्रह गर्नुभयो । देश विकास गर्न नेकपाको सरकार लागिरहेकाले जनताका समस्याहरु चाँडै पूरा हुने उहाँले बताउनु भयो । चुनावी सभामा पूर्व प्रतिनिधी सभा सदस्य तेजबहादुर मिजार, नेकपा काभ्रेका जिल्ला अध्यक्ष रुकु चौलागाई, सचिव टोक बहादुर वाईवा, जिल्ला कमिटी सदस्य रामगोपाल चौलागाई, प्रदेस सांसद् लक्ष्मण लम्साल, चन्द्र लामा, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, युवा सघं संयोजक विक्रम चौलागाई, पुर्व जिल्ला कमिटी सदस्य टिकाबल्धब सापकोटा लगाएतले ब्यक्तिहरुले मन्तब्य राखेका थिए । सभामा नेकपाका उमेदवार देवप्रसाद कोईरालाले स्वर्गिय वडा अध्यक्ष राजन कोईराला र पार्टीले गरेका प्रतिबद्धता पुरा गर्ने बताउनु भयो । पार्टीले गरेका प्रतिबद्धताहरु धेरै पुरा गरिसकेका र बाँकी प्रतिबद्धता पुरा गर्ने बताउनु भयो । शिक्षा, स्वास्थ्य, यूवा, खेलकुद, महिला बालबालिकाहरुका लागी योजना, एक घर एक धाराको काम ८० प्रतिशत सम्पन्न भईसकेकाले बाँकी छिटै पुरा हुने समेत उमेदवार कोईरालाले बताउनु भयो । चुनावी सभामा निर्वाचन परिचालन कमिटीका सह संयोजक ज्ञानबहादुर मिजारले स्वागत मन्तब्य राख्नु भएको थियो भने सभापतित्व संयोजक उद्धब चौलागाईले गर्नु भएको थियो । नेकपाको सभा, घरदैलो र मोटरसाईकल ¥याली हुँदा हारिने निश्चित भएकाले अन्य दलले कुनै गतिविधि गरेनन् ।
यस्तो छ विगत
निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोईरालाको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसका तर्फबाट दर्णबहादुर खत्रीको उम्मेदवारी परेको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाको पनि उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनका लागि साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ३४ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए । जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो । खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो । अहिले नेकपा एमाले र एकिकृत नेकपा माओवादीको एकिकरण भए पछि उत्त मत बढ्ने देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो ।





