बनेपा/फोहोर ब्यवस्थापनमा अवरोध पु¥याउँदै डोजर फुटाउने बनेपा नगरपालिकाका वडा नम्वर ९ का अध्यक्ष शेरबहादुर सुवालले क्षतिपुर्ति तिर्दै धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । वडा नम्वर ९ को कार्यालय अगाडी थुप्रिएको फोहोरमा नाक थुन्दै अध्यक्ष सुवाल कार्यालय हाजिर भएका छन् ।
बनेपा नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि भित्र्याउन लागेको जापानिज प्रविधिको मेशिन राख्ने संरचना निर्माणका लागि लैजाँदै गरेको स्काभेटर तोडफोड गर्ने वडा अध्यक्ष सहित तोडफोडमा संलग्नहरुलाई क्षतिपूर्ति सहित धरौटीमा छाड्ने आदेश भएको छ । फोहोर ब्यवस्थापन गर्न पार्टीले नै अवरोध पु¥याउँदै झुटा प्रचार गरी नक्कली विज्ञप्ती वितरण गर्दै हिडेका वडा अध्यक्ष सुवालको नेतृत्वमा डोजरमा तोडफोड गर्दै प्रहरीलाई समेत ढुंगामुढा गरेका थिए । बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेको नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको जग्गामा वातावरणमैत्री मेशिन राख्ने कार्यमा वडा अध्यक्ष शेरबहादुर सुवालले अवरोध पु¥याउँदै स्काभेटरलाई तोडफोड गरी चालकलाई समेत घाईते बनाएका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएको अभद्र ब्यवहार सम्वन्धी मुद्दामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको इजलासले वडा अध्यक्ष सुवाल सहित अन्य ९ जनालाई तोडफोडमा संलग्न भएको भन्दै क्षतिपुर्ति भराउँदै धरौटीमा छाड्ने आदेश गरेको हो । वडा अध्यक्ष सुवाललाई स्काभेटर तोडफोड गरे बापत जनही १० जनाको भागमा पर्ने एक भाग १३ हजार ३ सय ४५ रुपैया र ७ हजार धरौटी राखेर छाडिएको छ । पक्राउ परेका डम्वरबहादुर घिसिङ्गलाई हिरासतमा बसेका कारण ३ हजार धरौटी र त्यति नै क्षतिपूर्ति भराईएको छ ।
त्यस्तै क्षतिपूर्ति सहित धरौटीमा छुट्नेहरुमा वडा अध्यक्षका आफ्नै छोरा बाबुकाजी सुवाल रहेका छन् । उनि संघर्ष समितिका संयोजक हुन् भने डम्बर बहादुर घिसिङ्ग संघर्ष समितिका सह संयोजक थिए । अभियुक्तहरु वडा अध्यक्ष शेरबहादुर सुवाल, उनका छोरा बाबुकाजी सुवाल, जीवन थापा, कपिलमुनी दुलाल, सन्तोष गौतम, दिपक थापा, भिमसेन थापा, निलकमल शाहि र ज्ञानबहादुर सुवालले आफुले स्काभेटर तोडफोड गरी संघर्ष समितिमा समेत बसेको बयान दिएका छन् । उनिहरु सबैलाई मुलुकी ऐनको दफा ११८ को उपदफा (१) को कसुरमा सोहि ऐनको दफा ११८ को उपदफा (२) बमोजिम हुन सक्ने जरिवाना र कैद बापत जनहि ७ हजार र डोजरमा भएको क्षति र डोजर चालकको उपचारमा लागेको रकम समेत १ लाख ३३ हजार ४ सय ४७ को १० जना अभियुक्तलाई दामाशाहीले भाग गर्दा हुन आउने जनहि १३ हजार ३ सय ४५ समेत गरी जनहि २० हजार ३ सय ४५ रुपैयाँ धरौटी दाखिला गरे तारेखमा राखी प्रस्तुत मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ । धरौटी र क्षतिपूर्ति नबुझाए थुनुवा पुर्जी दिई कारागार चलान गर्ने आदेश भएको थियो । अभियुक्त सबैले बुधबार दिउँसो जनही तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका छन् ।
बनेपा नगरपालिकाले ब्यवस्थापन गर्न लागेको फोहोरमा नेपाली कांग्रेसले संस्थागत अवरोध पु¥याउँदै आएको छ । तारेखमा रिहा भएका वडा अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् । पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे नेपाली कांग्रेसका क्षेत्रिय सभापति हुन् । उनको निर्देशनमा नेपाली कांग्रेस बनेपा नगर समितिले चरणबद्ध विरोध गर्दै आएको छ । नगरपालिकाले वातावरणमैत्री उक्त मेशिन राख्ने तयारीका लागि सर्वपक्षीय छलफल समेत गरेको थियो । फोहोर ब्यवस्थापन हुन नसक्दा बनेपा दिनदिनै फोहोरको संक्रमणमा पर्दै गएको छ । नेपाली कांग्रेसले साँगामा पनि मेशिन राख्न अवरोध गरेको थियो । २०७६ कार्तिक १८ गते वडा अध्यक्षको समुहले डोजरमा तोडफोड गरेको थियो ।
वडा नम्वर ९ प्राथमिकता
सर्वदलिय बैठकले फोहोर जलाउने इन्सिरेटर मेशिन जडानका लागि पहिलो प्राथमिकता बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेको नगरपालिकाकोे आफ्नै जग्गामा ईआईए प्रतिवेदन प्राप्त भएपछि मेशिन जडान गर्ने निर्णय गरेको छ ।





