बहुविवाहमा फरक फरक निर्णय
धुलिखेल/बहुविवाह मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोक फरक फरक आदेश र फैसला सुनाएको छ । बहुविवाह गर्ने प्रहरीलाई धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकले सर्वसाधारणलाई कारागार बस्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश सुर्यप्रसाद पराजुलीको इजलासले बेथान्चोक गाउँपालिका वडा नम्वर ६ घर भई रोशी गाउँपालिका २ बस्ने फुलकुमारी लामाको उजुरीका आधारमा बहुविवाह मुद्दामा पक्राउ परेका हिक्मत सिं लामालाई १ वर्ष ३ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । हिक्मत असोज देखि पुर्पक्षका लागि थुनामा थिए । जेठी श्रीमती फुलकुमारीलाई छाडेर हिक्मतले असोज ७ गते कान्छी श्रीमती ल्याई धुलिखेल नगरपालिका वडा नम्वर ७ मा बस्दै आएका थिए । श्रीमती फुलकुमारीको उजुरीका आधारमा पक्राउ गरेका हिक्मत र मिङमा योञ्जन तामाङ मध्ये मिङमालाई सफाई दिएको छ । २०७५ कार्तिक १६ गते दर्ता भएको उक्त मुद्दामा पहिलो आदेश २०७५ कार्तिक १९ गते भएको थियो । फुलकुमारी र हिक्मतबाट २०५८ सालमा जन्मिएका एक सन्तान छन् ।
प्रहरीका सई धरौटीमा
बहु विवाह गर्ने प्रहरी नायब निरीक्षक धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सईलाई छाड्ने आदेश दिएको हो । पनौती नगरपालिका ४ एैरिगाउँ घर भएका प्रहरी नायब निरीक्षक (सई) बुबिन्द्रराज काफ्लेले बहु विवाह गरेका थिए । काफ्लेलाई १ लाख २० हजार र उनको कान्छी श्रीमती पुष्पा खनाल काफ्लेलाई ६० हजार धरौटीमा छोड्ने आदेश दिएको हो । खनालको पहिल्यै बैदेशिक रोजगारीमा गएका एक व्यक्तिसँग विवाह भएको र उनी नेपाल आएपछि सई काफ्ले नै डिभोर्स गराई खनालसँग दोस्रो विवाह गरेको बयानमा स्वीकारेका छन् । काफ्ले हेटौँडाको रातमाटागण स्थित एकाउन्टेन पदमा कार्यरत थिए ।
कानुन अनुसार श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान छ भने बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजायँ हुन सक्ने उल्लेख गरिएको छ । कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ । आफूले बहु विवाह गरेको स्वीकारेका सई काफ्लेलाई धरौटीमा छोडेर कानुको धज्जी उडाएको पीडितले बताएका छन् । उनको श्रीमती उमा थपलियाले प्रहरीमा बहुविवाह विरुद्ध उजुरी गरेकी थिईन् । जिल्ला अदालतको आदेश विरुद्ध पीडित सरकारी वकिल कार्यालय मार्फत उच्च अदालत गएका छन् ।
बालिकासँग सम्वन्ध राख्नेलाई कैद
बालिकासँग सहमतिमा १३ बर्षिया बालिकासँग शारिरीक सम्वन्ध राख्ने १९ बर्षिय युवालाई ९ वर्ष कैद र २५ हजार क्षतिपूर्ति सहितको फैसला सुनाएको छ । २०७६ जेठ ४ गते राति साढे १० बजेको समयमा १३ बर्षिया बालिकालाई उनकै बंगुर पाल्ने खोर नजिकै मकैबारीमा जर्बजस्ति करणी गरिरहेको अवस्थामा बाबुले देखे पछि बालिका चिच्याएकी थिईन् भने १९ बर्षिय युवक भुम्लु गाउँपालिका वडा नम्वर १० घर भई पाँचखाल नगरपालिका वडा नम्वर ९ साठ्ठीघर भगवती नजिकै बस्दै आएका साजन शाह ठकुरी नागरिकता सहितका महत्वपूर्ण कागजात छाडेर भागेका थिए । जिल्लाको बनेपा र पलाञ्चोक मन्दिरमा बुद्ध जयन्तिमा जात्रा लाग्ने गरेको छ । बालिकाका बाबु आमा पसल र बंगुर फार्म संचालन हुँदै आएको थियो । साजनसँगै सोहि ठेगानका २३ बर्षिय उज्वल विक्रम ठकुरी पनि साथमै थिए ।
‘हामी दुबै जना दिउँसो जात्रामा गएका थियौं । जात्राबाट फर्कन अलिक ढिला भयो । हामीले संचालन गरेको पसल बन्द गरेर सुतिरहेका थियौं । राति बंगुर करायो भनेर हेर्न निस्कँदा बाहिर गुनगुन आवाज आएको सुनियो । यति राति को आयो ? भनेर निस्किएर हेर्दा छोरीलाई जर्बजस्ति गरिरहेका युवकलाई देखें’–पीडित बालिकाको बुबाले अदालतमा भन्नुभयो–‘छोरी चिच्याउने र युवा भाग्ने एकै पटक भएकाले उसले छाडेका नागरिकता सहितका सामाग्रीहरु छाडेर भागेकाले सहजै चिन्न सकियो ।’ प्रहरीको अनुसन्धानमा बालिकाले सहमतिमा युवाहरुलाई रातको समयमा घरमा बोलाएको खुलेको छ । कानुनले सहमतिमा पनि बालिकासँग शारिरीक सम्वन्ध राख्न पाईदैन । रातको समयमा छोरी घरबाट निस्किएको बाबु आमाले थाहा पाएका थिएनन् । केहि समय अघि देखि नै चिनजान भएकाले बालिकालाई फकाएर युवाले जर्बजस्ति गरेका थिए । प्रेमको सम्बन्ध भएकाले सहमतिमा सम्बन्ध राखेको युवाले बयान दिएका थिए ।
जिल्ला अदालतका न्यायाधीश सुर्यप्रसाद पराजुलीको इजलासले १९ बर्षिय युवा साजन शाह ठकुरीलाई ९ वर्ष कैद र २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । २०७६ जेष्ठ २७ गते अदालतमा दर्ता भएको उक्त मुद्दाको जेष्ठ २८ गते थुनछेक बहसमा साजनलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश भएको थियो । २०७६ कार्तिक ५ गते कसुर निर्धारण गरी न्यायाधीश पराजुलीले उक्त फैसला मंसिर २ गते सुनाउनु भएको हो ।





