2026 June 25/ 09:26: 01am

    धुलिखेल, रवि/धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा हुने स्थानीय तहको उप निर्वाचनका लागि उम्मेदवारहरुले घर दैलो अभियानलाई तिब्र बनाएका छन् । दुई तिहाई जनमत नेकपाको पक्षमा रहेको स्थानीय तहको निर्वाचनको परिणामलाई कायम राख्न नेकपाका उम्मेदवार देवप्रसाद कोईरालाको टिम चरणबद्ध कार्यक्रममा जुटेको छ । 
    मंसिर १४ गते हुने उप निर्वाचनका लागि नेकपाले रविगाउँको देउरालीमा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । कार्यालयको जिल्ला अध्यक्ष रुकु चौलागाईले उद्घाटन गर्नु भएको थियो । साथमा अन्य नेताहरुको सहभागिता रहेको थियो । नेकपाले निर्वाचनको प्रचार प्रसारका लागि घर दैलो अभियानलाई तिब्र बनाएको छ । भोली शुक्रबार मसिंर ६ गतेसम्म नेकपाले निर्वाचनको प्रचार प्रसारका लागि घर दैलो अभियान संचालन गर्नेछ । निर्वाचन परिचालनका लागि नेकपाका नेता उद्धवप्रसाद चौलागाईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने ज्ञानबहादुर बुढाथोकीलाई सह संयोजक तोकिएको छ । नेकपाले घर दैलो अभियान सकिए लगत्तै मसिंर ७ गते शनिबार देउरालीमा बृहत्त सांस्कृतिक कार्यक्रम सहित आमसभा गर्ने भएको छ । त्यस्तै मसिंर ११ गते साँझ ४ बजे वडा कार्यालयका सबै टोल टोलमा पुग्ने गरी बाईक -याली आयोजना गरिएको छ । 
    निर्वाचनका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले पनि घर दैलो अभियान शुरु गरेका छन् । एक पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा, नेपाली कांग्रेसका साथै निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाको उम्मेदवारी दर्ता भएको छ । नेकपा र नेपाली कांग्रेस बाहेकका उम्मेदवारको चहलपहल छैन । निर्वाचनका लागि साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ३४ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए । जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो । खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो । अहिले नेकपा एमाले र एकिकृत नेकपा माओवादीको एकिकरण भए पछि उत्त मत बढ्ने देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो ।