धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोमा ११ वर्ष देखि भ्रष्टाचारको किलो गाडेर सेवाग्रहिसँग घुस लिदै आएका नायव सुब्बा रोसकाजी जस्पाउ पक्राउ परेका छन् । अख्तियारको टोलीले जस्पाउलाई सेवाग्रहीसँग घुस लिँदा लिदै बुधबार दिउँसो कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
‘विशेषगरी उनले जग्गा प्लटिङ्गवाला र ठुलो कारोवारीसँग राजश्व मारेर ब्यक्तिगत रकम डिल गरिरहेका हुन्थे’–सेवाग्रहीले भने–‘जुनसुकै कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारी आए पनि उनलाई कारवाही हुँदैन थियो ।’ प्रजिअकोमा उजुरी लिएर जाँदा उल्टै उनलाई संरक्षण हुँदै आएको थियो । जिल्लामा केहि महिना अघि मात्रै कार्यालय प्रमुखका रुपमा कार्यरत शालिकराम आचार्यले समेत उनले नियमित घुस लिने गरेको पत्तो पाउन सकेका थिएनन् । सेवाग्राहीहरुलाई धुरुक्कै रुवाउने जस्पाउको पक्राउ पछि मालपोत कार्यालय परिसरमा खुसियाली छाएको थियो । ‘काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका स्थित होक्सेमा भईरहेको जग्गा प्लटिङ्गको खरिद विक्रीका क्रममा पटक पटक दुःख दिदै काम गरिदिने शर्तमा पैसा मागेपछि अख्तियार गुहारेका हांै’–पीडितले भने–‘अख्तियारको सहयोगमा घुस लिँदा लिदै रजिष्ट्रेशन क मा राजश्व लिने जस्पाउ पक्राउ परे ।’ जस्पाउले सेवाग्रहीहरुसँग केहि दिन अघि काम गरेको पैसा मागेका थिए । मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा ११ वर्ष देखि कार्यरत जस्पाउ बनेपा ९ भोलाखाटोल निवासी हुन् । विहान ७ बजे देखि साँझ ७ बजेसम्म उनि मालपोत कार्यालयमै भेटिने गरेका थिए ।
अख्तियारको टोलीले जस्पाउलाई दिउँसो १ बजे रंगेहात पक्राउ गरेको थियो । २० हजार घुस लिँदा लिदै पक्राउ परेका जस्पाउको साथमा रहेका अन्य कागजात र घुस रकमको समेत अख्तियार टोलीले छापा मारेको छ । उनलाई भ्रष्टाचारसँगै सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा दर्ता हुनेछ । वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, कार्यालय प्रमुुख शालिकराम आचार्य लगायतले पक्राउ गरेको पुष्टि गर्दै सनाखत गरेका छन् ।
जिल्लामा मालपोत कार्यालय सेवाग्रहीसँग घुस लिने पहिलो अड्डाका रुपमा लिने गरे पनि पछिल्लो समय सुधारका कामहरु भएका थिए । अनलाईन सेवा, मालपोत कार्यालयमा बंैक राख्ने प्रकृया तथा कर्मचारीहरु प्रविधि मैत्री हुँदै गएका थिए । तर जस्पाउको हकमा भने भ्रष्टाचारको किलो गाडेर बसेकाले कसैले पनि हटाउन सकेको थिएन ।





