2026 June 25/ 09:26: 19am

सरकारले दिने जग्गा सम्वन्धी राजश्व छुटमा मालपोत कार्यालय काभ्रेमा महिला, दलित तथा जनजाति, शहिद परिवार, अपाङ्ग, बृद्ध ब्यक्तिलाई एक वर्षमा ५ करोड ९४ लाख ३ हजार ९ सय ६० रुपैयाँ छुट भएको छ । 

    धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गामा महिला, दलित तथा जनजाति, शहिद परिवार, अपाङ्ग र बृद्धलाई राजश्वमा दिएको छुट आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड ९४ लाख ३ हजार ९ सय ६० रुपैयाँ छुट गरेको छ । सरकारले यो क्षेत्रमा जग्गा खरिद विक्री गर्ने क्रममा सहुलियत दिने गरेको छ । 
    सबै क्षेत्रमा ग्रामिण र शहरी क्षेत्र भनेर अलग अलग गरिएको छ । महिलाहरुका लागि ग्रामिण क्षेत्रमा १० लाख ९७ हजार ५ सय ८६ छुट भएको छ भने शहरी क्षेत्रमा ५ करोड ७३ लाख ४६ हजार ७ सय ६ रुपैयाँ गरी महिलाका लागि ५ करोड ८४ लाख ४४ हजार २ सय ९२ रुपैयाँ राजश्व छुट भएको छ । त्यस्तै दलित तथा जनजातिहरुका लागि ७ लाख ६३ हजार ९ सय ९८ रुपैयाँ छुट भएको छ भने शहिद परिवारका लागि ३८ हजार ४ सय रुपैयाँ राजश्व छुट भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुका लागि ४४ हजार २ सय ५० रुपैयाँ राजश्व छुट भएको छ । बृद्धहरुका लागि १ लाख १३ हजार २० रुपैयाँ छुट भएको छ । 
कसलाई हुन्छ छुट ? 
    सरकारले विभिन्न क्षेत्रमा जग्गा खरिद विक्री गर्दा राजश्व छुट दिने निर्णय गरेको छ । जलविद्युत उद्योग, चियाखेती, कफि खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपंक्षीपालन, अलैचीखेती, जडिबुटी खेती एवं फलफुल उद्योगको नाउँमा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्टे«शन दस्तुरमा पचहत्तर प्रतिशत छुट हुनेछ । सामुहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले चक्ला
मिलाई खेती गर्न व्यक्ति व्यक्ति मिली उद्योग खोली सम्बन्धित व्यक्तिको नाउँको जग्गा उद्योगको नाउँमा पारित गर्ने लिखतमा लाग्ने रजिष्ट्रेशन दस्तुरमा पचहत्तर प्रतिशत छुट हुनेछ । प्र्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त बैङ्क, वित्तीय संस्था र सहकारी संस्थाहरूले ऋण लगानी गर्दा पारित गर्ने दृष्टि बन्धक लिखतमा यस अध्यादेश बमोजिम लगाईएको सेवा शुल्क बाहेक अन्य दस्तुर लाग्ने छैन । कृषि ऋण, बीमा संस्थान, बीमा समितिबाट स्वीकृत प्राप्त बीमा कम्पनी, विश्वविद्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना बाहालवाला कर्मचारीहरूलाई सेवा शर्त बमोजिम दिने ऋण सुविधाको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन दस्तुर छुट हुनेछ तर सेवा शुल्क लाग्नेछ । 
    कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषले नियमित बचत जम्मा गर्ने आफ्ना सञ्चयकर्ताहरुलाई ऋण सुविधा उपलब्ध गराउँदा लिने धितोको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन दस्तुर छुट हुनेछ तर सेवा शुल्क लाग्नेछ । सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूबीच करोडसम्म ऋण प्रवाह गर्दा राखिने धितो वा दृष्टि बन्धक लिखतमा लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर छुट हुनेछ । बैंकिङ्ग तथा वित्तिय व्यवसाय र वीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकायहरु एक आपसमा गाभिन चाहेमा गाभिने यस प्रकारका संस्थाहरुले सो प्रयोजनका लागि घर जग्गाको रजिष्ट्रेशन पारित गर्दा लिखतमा लाग्ने रजिष्ट्रेशन दस्तुर छुट हुनेछ । जनआन्दोलन पहिलो, दोस्रो र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता पिताको नाउँमा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लाग्ने सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रुपमा छुट हुनेछ । दृष्टिविहीन, अपाङ्ग, दलित एवं पिछडिएका जाति भनी स्थानीय निकायबाट प्रमाणित भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनीहरूको नाममा स्वामित्व प्राप्त हुँदा यस ऐन बमोजिम असुल गरिने घर जग्गा रजिष्ट्रेशन दस्तुरमा पच्चीस प्रतिशत छुट हुनेछ । 
    जुनसुकै प्रकारबाट महिलाको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा ऐन बमोजिम लगाईएको रजिष्ट्रेशन दस्तुरमा नगरपालिका तथा नगरोउन्मुख गा.वि.स क्षेत्रको भए २५ प्रतिशत र गाउँ
विकास समिति क्षेत्रको भएमा ३० प्रतिशत छुट हुनेछ । अन्य विभिन्न क्षेत्र र जिल्लाका समुदायहरुलाई पनि जग्गा खरिद र विक्रीमा राजश्व छुट गरिएको छ । 
सरकारी जग्गा धमाधम अतिक्रमण 
    जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लामा रहेका सरकारी जग्गाहरुको कित्ता १६ हजार ६ सय ५० रहेको छ । कागजमा रहेको उक्त कित्ता मध्ये अधिकांश कित्ताहरु अतिक्रमणमा परेको भए पनि मालपोत कार्यालय काभ्रेमा त्यसको जानकारी छैन । 
    जग्गा प्लटिङ्गका नाममा होस् वा अन्य कुनै कारणबाट जग्गा अतिक्रमण हुने गरेको छ । विद्यालय, मन्दिर, सामुदायिक भवन वा सरकारी तथा गैह्सरकारी संस्थाका नाममा अतिक्रमण भएको छ । उक्त कित्ताको १ लाख ६४ हजार ५ सय रोपनी क्षेत्रफल सरकारी जग्गा मध्ये १ हजार कित्ता यो वर्ष थप भएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले बताउनु भयो । थप कित्ताको क्षेत्रफल ५ सय रोपनी रहेको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा ५ लाख ६७ हजार ६३ कित्ता रहेको छ । अघिल्लो वर्षसम्म ५ लाख ६३ हजार ६३ कित्ता रहेको मालपोतमा एक वर्षको बीचमा पाँच हजार कित्ता थपिएका हुन् । खारेज भएका कित्ता २ हजार रहेका छन् । मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा जग्गा धनीहरुको संख्या ३ लाख ३१ हजार ५ सय रहेको छ । अघिल्लो वर्ष ३ लाख १९ हजार जग्गा धनी रहेकोमा एक वर्षमा २ हजार ५ सय कित्ता थपिएका हुन् । सोहि वर्ष ३ सय कित्ता खारेज भएका छन् ।