विद्यालयको नाममा लालपुर्जा रहेको ९ रोपनी ५ आना २ पैैसा १ दाम जग्गा बासु थापा र केशवबहादुर थापासँग जग्गा ब्यवसायी लक्ष्मी प्रसाईले खरिद गरी प्लटिङ गरेका हुन् । प्रति आना ३ लाख रुपैयाँमा खरिद गरी १५ लाख रुपैयाँमा प्रसाईले विक्री गरेका छन् । चलनचल्तिको मुल्य अनुसार विद्यालयको नाममा रहेको झण्डै २२ करोड रुपैैयाँ पर्छ ।
मोतीराम तिमल्सिना
भैंसेपाटी, साँगा
धुलिखेल/चक्रज्योती माध्यमिक विद्यालय भैंसेपाटीको नाममा रहेको ९ रोपनी ५ आना २ पैसा १ दाम जग्गा प्लटिङ्ग भएको छ । चन्दादान दिईएको विद्यालयको जग्गा ५४ वर्ष पछि प्लटिङ्ग गरिएको हो । जग्गा ब्यवसायी लक्ष्मी प्रसाईले शम्भुबहादुर थापाका भाईहरु बासु थापा र केशव थापासँग खरिद गरी प्लटिङ्ग गरेका हुन् ।
विद्यालयको नाममा लालपुर्जा रहेको ९ रोपनी ५ आना २ पैैसा १ दाम जग्गा बासु थापा र केशवबहादुर थापासँग जग्गा ब्यवसायी लक्ष्मी प्रसाईले खरिद गरी प्लटिङ गरेका हुन् । प्रति आना ३ लाख रुपैयाँमा खरिद गरी १५ लाख रुपैयाँमा प्रसाईले विक्री गर्न थालेका छन् । चलन चल्तिको मुल्य अनुसार विद्यालयको नाममा रहेको झण्डै २२ करोड रुपैैयाँको जग्गा प्लटिङ भएको छ । २०३५ साल जेठ ८ गते बाग्मती अञ्चल अदालतले विद्यालयको नाममा जग्गा दर्ता गरी पुर्जा बनाउन र कसैले कुनै प्रयोजनका लागि विक्री वितरण गर्न नमिल्ने फैसला सुनाएको थियो । पुर्व विजुलीको खम्बा, पश्चिम ठाडो बाटो, उत्तर भुते ढुंगा, दक्षिण पँधेरा जाने बाटो भित्रको चार किल्ला भित्र रहेको विजन ।१।४ लागेको पाखो बारी उग्रतारा जनागाल गाउँ पञ्चायत वडा नम्वर ८ निवासी शम्भुबहादुर थापा, सोहि ठेगानाका घटेरो सार्की समेत दुई जनाले २०२२ मंसिर ५ गते चक्रज्योती प्राथमिक विद्यालयका नाममा चन्दा स्वरुप प्रदान गरेको साविक तथा हाल समेत साँगा नासिकास्थान गाउँ पञ्चायत वडा नम्वर १ मा पर्ने कित्ता नम्वर १३३, १३४ र १२७ का कित्ताहरु कायम भई नाप नक्सा भएको थियो ।
विद्यालयको भवन निर्माणका लागि आर्थिक अभाव भएकाले नपुग रकमको आर्थिक श्रोत जुटाउन जग्गादाताहरुले दान गरेका जग्गाहरु विक्री वितरण गर्ने विद्यालय ब्यवस्थापन समितिको निर्णय विरुद्ध जग्गादाता शम्भुबहादुर थापा र घटेरो सार्की अदालत पुगेका थिए । सर्भे नापिमा फिल्ड झगडा जनाई कोहि कसैका नाममा जग्गा धनी कायम भई दर्ता हुन नसकेको उक्त कित्ता नम्वरका जग्गाहरु २०३५ जेष्ठ ८ गते बाग्मती अञ्चल अदालतको अन्तिम फैसला अनुसार घरसारमा खडा गरेको तमसुक निष्कृय गराई बेचविखन समेत गर्न नपाउने गरी स्कुलको सम्पति ठहर हुन आए पनि चन्दादाता मध्येका शम्भुबहादुर थापाले मुद्दा पैरवी चलिरहेकै समयमा २०३१ साल असार १९ गते कित्ता नम्वर १२७ को जग्गा कित्ताको हक आफ्नो नाममा जग्गाधनी कायम गरी जग्गा दर्ता गरी सोको प्रमाणपुर्जा समेत लिएका थिए । अदालतले उक्त जग्गाको दर्ता अन्य कसैको नाममा भएको भए पनि खारेज गरी विद्यालयकै नाममा कायम गर्ने फैसला सुनाएको थियो । शम्भुबहादुर थापाले दर्ता गरेको १२७ नम्वर कित्ता जग्गा अदालतको अन्तिम फैसला अनुसार स्वतः बदर भएको मानिनु पर्ने हुँदा कित्ता नम्वर १३३, १३४ र १२७ का तीनै कित्ता जग्गाहरु चक्रज्योती निमावि भैंसेपाटी जग्गाधनी कायम गरी जग्गा दर्ता गरी प्रमाणपुर्जा प्राप्तिका लागि विद्यालयले २०३९ साउन २६ गते अदलातको प्रमाणित फैसला, फिल्डबुक उतार, नम्वरी दर्ता उतार र जनकलाल मधिकर्मीका नामको २०३४ सालको तिरो तिरेको रसिद समेत संलग्न राखी मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा प्रधानाध्यापकले पत्र दर्ता गराएका थिए ।
विद्यालयको पत्र अनुसार मालपोत कार्यालय काभ्रेपलाञ्चोकले अर्थ मन्त्रालय मालपोत विभागमा पुनरावेदक बादी उग्रतारा ८ बाहुनडाँडा बस्ने सुन्तली सर्किनी र शम्भुबहादुर थापा समेतको २०३५ जेष्ठ ८ गतेको अञ्चल अदालतको फैसला उपर विपक्षको अनुमतिको पुनरावेदन परेको छ छैन भनी मध्यमाञ्चल क्षेत्रिय अदालतमा जानकारी माग गरेको थियो । सोहि निवेदनका आधारमा मध्यमाञ्चल क्षेत्रिय अदालतले मालपोत कार्यालय काभ्रेमा २०३९ असोज ६ गते जवाफ पठाएको थियो । सुन्तली सर्किनी र रत्नबहादुर धौगोडाको हक कायम मुद्दामा अनुमति निवेदन परेको सन्र्दभमा २०३६ साल फागुन ३० गते सुन्तली सर्किनीको निवेदन पुनरावेदनको अनुमति दिन नमिल्ने भएकाले कानुन बमोजिम गर्नु भन्ने आदेश दिएको थियो । अदालतको फैसलामा पुनरावेदन नलाग्ने गरी फैसला सुनाईएको थियो । फैसला विरुद्ध सुन्तली सर्किनीले पुनरावेदन निवेदन अदालतमा २०३६ फागुन ३० गते दिएकी थिईन् । अदालतको फैसला लगायतका सबै कागजात पूरा भएपछि मालपोत कार्यालय काभ्रेले २०३९ असोज १० गते जग्गा दर्ता गरी प्रमाणपुर्जा दिने निर्णय गरेको थियो । जसमा कित्ता नम्वर १३३ मा ९–८–३–१ पैसा भिर, कित्ता नम्वर १३४ मा ७–२–१–१ र कित्ता नम्वर १२७ मा ९–५–२–१ भिर जग्गा दर्ता गरी लालपुर्जा विद्यालयको नाममा कायम गरिएको थियो ।
शम्भुबहादुर थापाले मुद्दा पैरवी चलिरहेकै समयमा २०३१ साल असार १९ गते कित्ता नम्वर १२७ को जग्गा कित्ताको हक आफ्नो नाममा जग्गाधनी कायम गरी जग्गा दर्ता गरेका थिए । सो प्रमाणपुर्जा मालपोत कार्यालयले २०३९ असोज १० गते खारेज गरेन । विद्यालयको नाममा लालपुर्जा बनाईदियो । शम्भुबहादुरको नामको कित्ता र लालपुर्जा समेत कायम राखिदियो । अदालतले मुद्दा हराईदिएको शम्भुबहादुरलाई जानकारी थियो तर पनि उनी चुपचाप बसे । २०५५ साल पुष २५ गते शम्भुबहादुर थापाले भाईहरु केशव थापा र बासुदेव थापा समेतलाई कित्ता नम्वर १२७ को जग्गाबाट बकसपत्र गरी कित्ताकाट गरी दिए । केशव थापाका नाममा कित्ता नम्वर १३४९ कायम भयो भने बासुदेव थापाको नाममा १३५० र १३५१ कित्ता कायम भयो । शम्भुबहादुर थापालाई कित्ता नम्वर १३५२ कायम गरी जग्गा बाँकी राखियो । कित्ता नम्वर १३४९ मा १० आना, १३५१ मा २ रोपनी ७ आना १ पैसा, १३५० मा ३ रोपनी २ आना जग्गा कायम भएको थियो । बाँकी जग्गा १३५२ मा रह्यो ।
चारवटा कित्ता मध्येका आफ्नो नाममा भएका दुई कित्ता केशवबहादुर थापाले २०७४ साल जेष्ठ ११ गते लक्ष्मी प्रसाईलाई विक्री गरे । फेरी २०७६ साल साउन २७ गते बासुदेव थापाको नामको कित्ता नम्वर १३५१ को जग्गा उनै लक्ष्मी प्रसाई प्रोपाईटर रहेको टेम्पलट्रि डेभलपर्स प्रालि काठमाडौ महानगरपालिका १ का नाममा खरिद गरे । ६ रोपनी ३ आना १ पैैसा विद्यालयको जग्गा लक्ष्मी प्रसाईले खरिद गरे । उनले खरिद गरेको केशवबहादुर थापाको नामको दुई कित्ता जग्गा लक्ष्मी प्रसाईले कैलाश विकास बैंक मंगलबजार ललितपुरका नाममा रोक्का राखी २ करोड ऋण स्विकृत गराए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठ र मालपोत कार्यालयले तत्काल बैंकलाई जानकारी गराए सँगै रकम लैजान नपाएको बताईएको छ । नापी कार्यालय काभ्रेले पनि उक्त कित्तालाई विद्यालयको नाममा दर्ता भएको अवस्थामा पनि पटक पटक कित्ताकाट गरि दिएको छ । लक्ष्मी प्रसाईले उक्त क्षेत्रमा केहि महिना अघि देखि नै उक्त क्षेत्रमा प्लटिङ्ग गरिरहेका थिए । सार्वजनिक र विद्यालयको समेत जग्गा प्लटिङ्ग गर्दा उनलाई स्थानीयले पटक पटक रोकेका थिए । विद्यालयले समेत पटक पटक बोलाउँदा उनि छलफलमा आएनन् । विद्यालयले आफ्नो क्षेत्रको जग्गाको सिमांकन छुट्टयाउन गाडेको सिमेन्टको पोल समेत छैन । जग्गा प्लटिङ्ग गर्दा संधियारको समेत सहमति लिएको छैन । प्लटिङ्ग गर्दा थुपारिएको माटोले तलतिर रहेकोे खेत सबै पुरिएको छ । मनलाग्दी बाटो निर्माण गरिएको छ । २०७६ भदौ २५ गते बनेपा नगरपालिकाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठलाई नियुक्ति ग¥यो । त्यतिबेला नगर प्रमुख लक्ष्मीनरसिं बादे विद्यालयको भवन, जग्गा अवलोकन गर्न जाने समय मिलाए पछि हरिभक्तले विद्यालयको नाममा भएको लालपुर्जाको नक्सा निकाल्न नापि कार्यालय जाँदा मात्रै थाहा पाए । विद्यालयको नाममा भएको सबै जग्गा प्लटिङ्ग भईसकेको रहेछ । विद्यालय ब्यवस्थापन समितिले त्यस अघि विद्यालयको जमिनलाई समेत असर पर्ने गरी प्लटिङ्ग गरेको विषयमा रोक्न र छलफल गर्न लक्ष्मी प्रसाईलाई पटक पटक बोलाउँदा समेत नआएको तत्कालिन अध्यक्ष इश्वरलाल धौगोडाले बताए ।
प्रसाईले उक्त जग्गा प्रति आना तीन लाखमा खरिद गरी १५ लाख रुपैयाँमा विक्री गर्न शुरु गरेका छन् । विद्यालय र बनेपा नगरपालिका वडा नम्वर १३ ले दोहोरो श्रेस्ता हटाई दिनु हुन भन्दै मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई २०७६ असोज ८ गते पत्र लेखेका छन् । वडा कार्यालयले २०७६ साउन महिनामा कित्ता नम्वर १२७ बाट कित्ताकाट भएको १३५० नम्वर कित्ता पास गर्न लक्ष्मी प्रसाई मार्फत कम्पनीका नाममा घरबाटो सिफारिस दिएको थियो । विद्यालय र वडा कार्यालयको पत्र गएसँगै मालपोत कार्यालय काभ्रेले कैलाश विकास बैंक, मंगलबजार, ललितपुर, टेम्पलट्रि डेभलपर्स प्रालि काठमाडौ महानगरपालिका १, लक्ष्मी प्रसाई शनिस्चरे ७ झापा र शम्भुबहादुर थापा जनागालका नाममा २०७६ असोज १० गते १५ दिने पत्र काटेको छ । सोहि जग्गाको दोहोरो श्रेस्ता हटाउन तर्फ कारवाही गर्ने र कारवाहीको टुङ्गो नलागुञ्जेलसम्म उपरोक्त कित्ता जग्गाहरु मालपोत ऐन २०३४ को दफ (८) बमोजिम रोक्का राख्ने निर्णय गरेको छ । मालपोत कार्यालय काभ्रेले विद्यालयको जग्गा कसैले खण्डिकरण गर्न नसक्ने बताएको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले २०३९ सालमा भुलवश श्रेस्ता नकाटिएका कारण दोहोरो श्रेस्ता कायम रहन गएकाले कित्ता नम्वर १२७ विक्री वितरण भएको बताए । तर विद्यालयको नाममा रहेको कित्ता नम्वर १२७ कसैले विक्री वितरण गर्न नसक्ने अदालतको फैसला भएकाले उक्त जग्गाको दोहोरो श्रेस्ता खारेजको प्रकृया शुरु भएको आचार्यले जानकारी दिए ।
मालपोत कार्यालय काभ्रेले विद्यालयको नाममा दर्ता भएको जग्गा शम्भुबहादुर थापाका नाममा पहिलो दर्ता भएको श्रेस्ता कार्यालयबाट खारेज गर्न भुल भएबाट साविक साँगा १ कित्ता नम्वर १२७ को क्षेत्रफल ९–५–२–१ को जग्गा दोहोरो दर्ता श्रेस्ता कायम भएको देखिएको बताएको छ । जग्गा बकस गरिदिएका शम्भुबहादुरले भाईहरुलाई अंश वापत जग्गा बकस गरी दिएको जग्गा आफ्नो भएको दावी गरे । २०२२ सालमा खरिद गरेको जग्गा विद्यालयलाई जग्गा दान गरेको बताउँदै थापाले १२७ नम्वर कित्तामा कतै झगडिया नजनिएको र आफुले नापी हुँदाका बखत नपाएर जग्गा धनी पुर्जा समेत बनाएको बताए । जिल्ला अदालतमा मुद्दा चल्दा १३७ नम्वर कित्तामा मुद्दामा चलेको भए पनि बाग्मती अञ्चल अदालतमा १२७ नम्वर कित्तामा फैसला भएको शम्भुबहादुर थापाले बताए । ‘अदालत र मालपोतको त्रुटीको शिकार हामी भयौं’–उनले भने–‘अदालतको त्रुटी विरुद्ध पुनः अदालत जाने तयारीमा छु ।’ २०३५ सालमा भएको अदालतको फैसलामा १२७ नम्वर कित्ता भन्ने जानकारी नभएको थापाले बताए । विद्यालयको बाँकी भएको दुई कित्ता जग्गा शम्भुबहादुरको परिवारले भोगचलन गरिरहेको छ । त्यस बापत विद्यालयले केहि पाउँदैन ।





