बौद्ध धर्मका शाखाहरू
बौद्ध धर्मका विभिन्न शाखाहरू छन् । जसमध्ये यसलाई मुख्य रूपमा तीन प्रमुख शाखाहरूमा विभाजन गर्न सकिन्छ । ती हुन् थेरवाद, महायान र बज्रयान यसका बारेमा सबैलाई केही कुरा जान्ने र बुझ्ने इच्छा रहन्छ त्यसैकारण यी तीन शाखाको बारेमा यससँग सम्बन्धित मुख्य विशेषता एवं दृष्टिकोणका बारेमा नेपालमा यसको अवस्था र त्यससँग सम्बन्धित गुरुहरूका बारेमा म केही कुराहरू राख्न गइरहेको छु ।
१) थेरवाद
थेरवाद जसलाई “पुरानो विद्यालय“ पनि भनिन्छ यो बौद्ध धर्मको सबैभन्दा पुरानो र परम्परागत शाखा हो । यो शाखाले पाली भाषामा लेखिएका बौद्ध धर्मग्रन्थहरूलाई आधार मान्छ । थेरवाद दक्षिण पूर्वी एसिया जस्तै श्रीलंका, थाइल्याण्ड, बर्मा, कम्बोडिया र लाओस जस्ता देशहरुमा प्रचलित छ ।
थेरबादका मुख्य विशेषताहरूः–
– पालि क्यानन ः थेरबादले पाली भाषामा रहेको त्रिपिटकलाई धर्मग्रन्थ मान्छ ।
– विनय ः थेरवादले भिक्षुहरूको नियम र अनुशासन
– ‘विनय’ लाई कडाईका साथ पालना गर्दछ ।
– अरहत ः थेरवादले व्यक्तिगत मुक्ति निर्वाण प्राप्त गर्ने ‘अरहत’ बन्ने लक्ष्य राख्दछ ।
थेरवाद बौद्ध धर्मलाई सूक्ष्म रुपमा बुझ्नका लागि यसको प्रमुख सिद्धान्त चार आर्य सत्य र अष्टाङ्गिक मार्ग र त्यसको अभ्यासहरूमा ध्यान दिइने गरिन्छ ।
१) चार आर्य सत्य
दुःखको अस्तित्व
दुःखको कारण
दुःखको अन्त्य
दुःख अन्त्य गर्ने मार्ग
२) अष्टाङ्गिक मार्ग
सही दृष्टिकोण
सही सङ्कल्प
सही वाणी
सही कर्म
सही आजीविका
सही प्रयास
सही ध्यान
सही समाधि
३) त्रिपिटक
क) विनय पीटक ः भिक्षु र भिक्षुणीहरूको लागि नियम र अनुशासनहरूको संग्रह हो । यसमा भिक्षुहरुले पालना गर्नुपर्ने नैतिक नियम आचरण र दिनचर्या समावेश गरिएको छ । यसले बुद्ध धर्ममा तपस्या गर्नेहरूको आचरण कस्तो हुनुपर्छ र कसरी ध्यान केन्द्रित गरेर मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने बारे विस्तृत नियम बताउँछ ।
ख) शुत्त पिटक ः यो बुद्धका उपदेशहरू र प्रवचनहरूको सङ्ग्रह हो बुद्धले आफ्नो अनुयायीहरूलाई विभिन्न अवसरमा दिएका उपदेशहरूलाई शुद्धपिदकमा समेटिएको छ । यसमा बुद्धका शिक्षाहरूलाई कथा दृष्टान्त र वार्तालापको माध्यमबाट प्रस्तुत गरिएको छ शुद्ध पीटकलाई ५ निकायमा (खण्ड) विभाजन गरिएको छ । दिघ निकाय, मज्झिम निकाय, संयुक्त निकाय अंगुत्तर निकाय र खुद्दक निकाय ।
ग) अभिधम्म पिटक ः बौद्ध धर्मका दार्शनिक र मनोवैज्ञानिक सिद्धान्तहरू लाई व्याख्या गर्ने ग्रन्थ हो यो बुद्धका शिक्षाहरूको गहिरो विश्लेषण र व्याख्या गर्दछ ।
यसमा अवस्थाहरू चेतना र बौद्धिक तत्त्वहरू कुन विस्तृत व्याख्या गर्दछ अभिधम्म पिटकले विभिन्न बौद्धिक अवधारणाहरूको संरचना र वर्गीकरणलाई ध्यानमा राखेर बौद्ध धर्मको तात्विक पक्षलाई गहिराईमा बुझ्न मद्दत गर्दछ ।
४) ध्यान र विपश्यना
ध्यान अभ्यासले मनको शुद्धिकरण र अन्तर्दृष्टि प्राप्त गर्न मद्दत गर्दछ ।
थेरवाद बौद्ध धर्ममा ध्यान नैतिकता र प्रज्ञाको अभ्यास मार्फत आत्मज्ञान प्राप्त गर्न प्रमुख भूमिका खेल्छ भनेर बुझ्न सकिन्छ ।
३ थेरवाद बौद्ध धर्मका प्रमुख गुरुहरू
१) महाकश्यप
बुद्धका प्रमुख शिष्य र थेरवाद परम्पराको संस्थापक बुद्धको परिनिर्वाण पछि पहिलो बौद्ध संगतिको अध्यक्षता गर्नुभएको थियो ।
२) आनन्द बुद्धका प्रिय शिष्य जसले जसले जर निजी सेवक जसले बुद्धका धेरै उपदेशहरू कण्ठस्थ गरी दोस्रो बौद्ध संगीतिमा योगदान गर्नुभएको थियो ।
३) मोघलायन
बुद्धका प्रमुख शिष्य र ध्यान अभ्यासमा निपुर्ण थेरवाद बौद्ध धर्मको प्रारम्भिक प्रचारप्रसारमा योगदान गर्नुभएको थियो ।
४) उपगुप्त
थेरवाद परम्परामा महत्त्वपूर्ण व्यक्तित्व गान्धार क्षेत्रमा थेरवाद बौद्ध धर्मको प्रचार गर्नुभएको थियो ।
५) वसुमित्र
बसुमित्र जो बुद्धका प्रमुख अनुयायी र विद्वान जसले बौद्ध धर्म समितिमा प्रमुख भूमिका निभाउनु भएको थियो ।
६) अशोक
महान भारतीय सम्राट जसले थेरवाद बौद्ध धर्मलाई राज्यधर्मको रुपमा अपनाए बौद्ध धर्मको व्यापक प्रचारप्रसार र स्तुप तथा शिलालेखहरू मार्फत धर्मको विस्तार गर्नुभएको थियो ।
७) अजात शत्रु
मौर्य सम्राट र बौद्ध धर्मका महान अनुयायी बुद्धका शिक्षाहरूको पालन र थेरवाद धर्मको संरक्षण गर्नुभएको थियो ।
८) भिक्खु बोधि
आधुनिक समयका थेरवाद विद्वान थेरवाद बौद्ध धर्मका शिक्षाहरुलाई अंग्रेजी भाषामा अनुवाद गरी विश्वभर प्रचार गर्नुभएको थियो ।
थेरवाद बौद्ध धर्मको अभ्यास नेपालमा प्राचीनकालमा त्यति व्यापक रूपमा नभएपनि पछिल्ला केही दशकमा यसको अभ्यासमा वृद्धि भएको छ । विशेषगरी २०औँ शताब्दीको मध्यतिर थेरवाद बौद्ध धर्म नेपालमा पुनरुत्थान भएको हो । आजको दिनमा थेरवाद बौद्ध धर्म नेपालमा राम्रोसँग अभ्यास गरिन्छ काठमाडौँ उपत्यका लुम्बिनी र अन्य क्षेत्रमा थेरवाद बौद्ध धर्मका मठहरु र बिहारहरू स्थापना भएका छन् । थेरवाद बौद्ध धर्ममा ध्यान विपश्यना र पालिक्याननको अध्ययनमा विशेष
जोड दिइन्छ । नेपालमा नेवार, थारु र केही अन्य जातीय समूह हरू थेरवाद बौद्ध धर्ममा आकर्षित भएका छन् । नेवार समुदायले परम्परागत रूपमा महायान र बज्रयान बौद्ध धर्मको अभ्यास गरिरहेको भए तापनि थेरवाद बौद्ध धर्मको अध्ययन र अभ्यासमा पनि सहभागी हुने क्रम बढ्दै गएको छ । यो अभ्यासलाई प्रवर्द्धन गर्न विभिन्न धार्मिक संघहरू मठहरू र विपस्यना केन्द्रहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
२) महायान
महायान जसको अर्थ ‘महानगाडी’ हो । माहायान बौद्ध धर्मको दोस्रो प्रमुख शाखा हो । यो शाखा चीन जापान कोरिया भियतनाम र ताइवानमा प्रचलित छ । र यसले सबै प्राणीहरूको मुक्ति बोधिसत्व पथको लागि प्रयास गर्छ र महायान सूत्रहरूलाई धर्मग्रन्थ मान्छ । ती सूत्रहरू यस प्रकारका छन् ।
क) प्रज्ञा पारमिता सूत्रः प्रज्ञा पारमिता भनेको पूर्ण प्रज्ञा वा सर्वोच्च ज्ञान हो यो महायान बौद्धधर्मको आधारभूत ग्रन्थहरु मध्य एक हो । यसमा शून्यताको अवधारणा र सर्वव्यापक सत्यको व्याख्या गरिएको छ । यस सूत्रमा भनिएको छ कि सबै वस्तुहरू शून्य छन् स्थायी छैनन् र आत्मा रहित छन् ।
ख) सद्धम पुण्डरिक सूत्रः यसलाई महायान बौद्ध धर्मको एक महत्वपूर्ण सूत्र मानिन्छ लोटस सूत्रमा भनिएको छ कि बुद्धत्व सबै प्राणीहरूको अन्तिम लक्ष्य हो र सबै प्राणीहरूले बुद्ध बन्न सक्छन् । यसले शिक्षाको एकताको बारेमा बुद्धको करुणा र सबै प्राणीहरुलाई मोक्षको मार्ग प्रदान गर्ने बारेमा प्रकाश पार्छ ।
ग) अबतंसक सूत्रः यो सूत्र महायान बौद्ध धर्ममा अत्यन्त गहन र रहस्यमय मानिन्छ । यसमा बोधिसत्वहरूको अभ्यास जागृतिको चरणहरू र ब्रह्माण्डको परिपूर्णतालाई वर्णन गरिएको छ ।
घ) लङ्का अवतार सूत्रः यस सूत्रले चेतनाको प्रकृति र वास्तविकताको गहिरो अध्ययन गर्छ यो सूत्रमा चित्त मात्र सिद्धान्तको वर्णन गरिएको छ । जसले संसारलाई सबै वस्तुहरू हाम्रो चित्तको प्रतिफल मात्र हुन् भन्ने धारणा व्यक्त गर्छ । ।
महायान महासाङ्घिक धर्म सूत्रः यो पनि महत्वपूर्ण छ महायान बौद्ध धर्मले त्रिपिटक अतिरिक्त धेरै महायान सूत्रहरूलाई समावेश गरेको छ । यसमा विशेषरुपमा बोधिसत्व मार्ग, करुणा, शून्यता र बुद्धत्वको विस्तृत व्याख्या गर्दछ ।
ङ) विमलकृति निवेदश सूत्रः यस सूत्रमा गृहस्थ बिमलकृति र विभिन्न बोधिसत्वहरूबीचको संवादको माध्यमबाट महायान शिक्षाहरूलाई प्रस्तुत गरिएको छ । यसले गृहस्थ जीवनमै रहँदा पनि बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने अवधारणा प्रस्तुत गर्दछ ।
महायानका मुख्य सिद्धान्त एवं सूक्ष्म दृष्टिकोण ः–
१) बोधिसत्व आदर्श ः महायानले बोधिसत्वको मार्गलाई अनुसरण गर्छ जसले सबै प्राणीहरूको मुक्ति प्राप्त गर्ने प्रयास गर्छ ।
२) त्रिकाय सिद्धान्त
महायानले बुद्धको ३ शरीर ‘तृकाय’ को सिद्धान्तलाई मान्यता दिन्छ ।
क) धर्मकाय (धर्म शरीर)
यसले बुद्धको सर्वव्यापी निराकार र अनन्त रूपलाई जनाउँछ । धर्मकाय बुद्धको अन्तिम सत्य र परम ज्ञान हो जसले संसारको सम्पूर्ण सत्यलाई प्रतिनिधित्व गर्छ यो कुनै भौतिक शरीर होइन तर ज्ञान सत्य र धर्मको रूप हो । यसलाई बुद्धको शुद्ध चेतना वा वास्तविकता भनेर बुझ्न सकिन्छ । ख) सम्भोगकाय (आनन्द शरीर)
सम्भोग काय बुद्धको आनन्दपूर्ण शरीर हो । जुन बुद्धले बोधिसत्वहरू र उच्चतम अस्तित्व भएका प्राणीहरूलाई उपदेश दिने क्रममा प्रकट गर्नुहुन्छ यो शरीर उनकै उत्कृष्ट शिक्षाको माध्यम हो जुन सम्पूर्ण प्रज्ञा र करुणाको रूप हो । सम्भोगकाय बुद्धको परम अनुभूति र पूर्णताको प्रतीक हो । जुन संसारिक दुःखबाट पर हुन्छ ।
ग) निर्माण काय(रूप शरीर)
यो बुद्धको भौतिक शरीर हो जसले इतिहासमा गौतम बुद्धको रूपमा मानव जीवनमा जन्म लिएर विभिन्न प्राणीहरूको उद्धारको लागि उपदेश दिए । निर्माणकाय बुद्धको मानवरूप हो जसले संसारमा जन्म लिई सत्यका मार्ग देखाउने र प्राणीहरूलाई मोक्ष प्राप्त गर्न मद्दत गर्नुभएको हो । यसलाई साधारण मानिसहरुमा देखापर्ने रूप वा अवतार पनि भन्न सकिन्छ ।
महायान बौद्ध धर्मलाई सुक्ष्म रुपमा बुझ्नको लागि यसको प्रमुख सिद्धान्त अभ्यास र प्रमुख गुरुहरूको योगदानमा ध्यान दिन आवश्यक छ । महायान बौद्ध धर्मको सिद्धान्त थेरवाद बौद्ध धर्मको आधारमा आधारित छ । तर यसमा केही महत्वपूर्ण भिन्नताहरु पनि छन् ।
३) शून्यता
शून्यता महायान बौद्ध धर्मको एक प्रमुख सिद्धान्त हो । यस अनुसार सबै चिजहरू आन्तरिक अस्तित्वबाट शून्य छन् । तिनीहरूको अस्तित्व परस्पर मा निर्भर हुन्छ ।
३ माहायान बौद्ध धर्मका प्रमुख गुरुहरू
१) नागार्जुन
इस्वी सम्वतको दोस्रो शताब्दीका शून्यवादका संस्थापक उनको मूलमध्यमककारिका महायान बौद्ध धर्मको प्रमुख ग्रन्थ हो ।
२) असङ्ग
इस्वी चौथो शताब्दीका योगाचार दर्शनका प्रमुख गुरु उनको योगाचार भूमिशास्त्र योगाचार परम्पराको प्रमुख ग्रन्थ हो ।
३)वासुबन्धु
ईस्वी सम्वत चौथो शताब्दीका योगाचार परम्पराको
महत्त्वपूर्ण गुरु उनले अभिधर्मकोश लेखेका छन् । जुन अभिधर्म परम्पराको महत्त्वपूर्ण ग्रन्थ हो ।
४) शान्तिदेव
इस्वी सम्वत् आठौँ शताब्दी का बोधिसत्व अभ्यासहरूमा आधारित बोधिसत्वचर्याअवतार नामक ग्रन्थका लेखक ।
५) त्सोंखापा
इस्वी सम्वत १४औं शताब्दीका तिब्बती बौद्ध धर्मको गेलुग परम्पराका संस्थापक उनले ’लामरिन चेनमो’ लेखेका छन् जुन तिब्बती बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ हो । नेपालमा महायान बौद्ध धर्मलाई विभिन्न जातीय समूहहरूले अपनाएका छन् जसमा प्रमुख रूपमा नेवार शाक्य बौद्ध भिक्षु समुदायहरू र तामाङ शेर्पा लगायतका समुदायहरू छन् । नेपालमा बसेका तिब्बती शरणार्थीहरूले पनि महायान बौद्ध धर्मको अभ्यास नेपालमा गरिरहेका छन् । तिब्बती गुम्बाहरू र धार्मिक केन्द्रहरूमा तिब्बती शरणार्थीहरुले महायान बौद्ध धर्मका विभिन्न तान्त्रिक विधिहरु पूजा ध्यान र अनि धार्मिक गतिविधिहरु गरिरहेका छन् ।
३) बज्रयान
बज्रयान जसलाई ’बज्रको मार्ग’ भनिन्छ । बज्रयान बौद्ध धर्मको तेस्रो प्रमुख शाखा हो । जसलाई ‘तन्त्रयान’ वा ’मन्त्रयान’ पनि भनिन्छ । बज्रयान बौद्ध धर्म विशेषरूपमा महायानको एक विशेष मार्ग हो जुन तन्त्रमन्त्र, योग र प्रतीकात्मक साधनाहरूको माध्यमबाट आत्म उद्धार र ज्ञान प्राप्त गर्ने मार्ग हो ।यो शाखा तिब्बत भुटान मंगोलिया र नेपालका केही भागहरूमा प्रचलित छ । बज्रयानमा तान्त्रिक विधिहरू र साधनाहरु प्रयोग गरिन्छ ।
बज्रयानको सूक्ष्म अवलोकनः
१) तन्त्र साधनाः
बज्रयानको सबैभन्दा महत्त्वपूर्ण विशेषता तान्त्रिक अभ्यास हो । तन्त्र शिक्षाले तात्विक रुपमा आफ्नो चेतनालाई रूपान्तरण गर्न विधि प्रदान गर्दछ तन्त्रमा ध्यान योग र विभिन्न तान्त्रिक विधिहरु मार्फत आत्मज्ञान प्राप्त गर्न सकिन्छ तन्त्रमा बज्र अर्थात् अनन्त शक्तिको प्रतीक महत्त्वपूर्ण प्रतिक हो जसले निर्माण र संसारबीचको एकता बुझाउँछ ।
२) गुरुयोगः गुरुयोग बज्रयानको एक प्रमुख अभ्यास हो । यसमा गुरुको ध्यान पूजा र गुरुको साथ एकताको अनुभव गर्ने प्रयास गरिन्छ गुरुको मार्गदर्शनमा साधकले आध्यात्मिक यात्रामा प्रगति गर्छन् ।
३) मन्त्र र मुद्रा ः बज्रयानमा विभिन्न मन्त्रहरूको जप र मुद्राहरूको प्रयोग गरिन्छ । यी मन्त्रहरू शक्तिशाली ध्वनिहरू हुन् जसले साधकको मानसिक ऊर्जा केन्द्रित गरेर उसको ध्यानको क्षमता बढाउँछ ।मन्त्रहरुले मानसिक एकाग्रता शुद्धता ल्याउँछ भने मुद्राहरूले शारीरिक र मानसिक ऊर्जा सन्तुलनमा राख्छ ।
४) मण्डलाः मण्डला बज्रयानमा एक महत्वपूर्ण प्रतीकात्मक उपकरण हो । मण्डलामा विभिन्न देवीदेवता र बुद्ध र बोधिसत्वको चित्रण गरिन्छ मण्डलाको ध्यानले साधकलाई आन्तरिक शान्ति र जागृति ल्याउँछ ।
५) रूपान्तरणको मार्गः
बज्रयान शिक्षाले सांसारिक इच्छाहरूलाई दमन गर्नेभन्दा पनि रूपान्तरण गरेर आत्मज्ञानको मार्गमा लैजाने शिक्षा दिन्छ यो भोग विलास वा सांसारिक वस्तुहरूलाई नकार्नु भन्दा पनि त्यसको सही प्रयोग गरेर आत्मिक उन्नति गर्ने शिक्षामा विश्वास गर्दछ ।
७) दैवीय देवताहरूको आह्वानः
बज्रयानमा बोधिसत्वहरू देवताहरू र अन्य तान्त्रिक पात्रहरूको पूजा गरिन्छ । तिनलाई ध्यानको क्रममा आह्वान गरेर साधकले आफ्नो चेतनालाई शुद्ध र बलियो बनाउँछन् ।
बज्रयानका प्रमुख गुरुहरूः
१) गुरु पद्म सम्भव
गुरु पद्म सम्भव जसलाई गुरु रिम्पोक्ष पनि भनिन्छ । उनी बज्रयान बौद्ध धर्मका एक महान गुरु हुन् । उनी आठौं शताब्दीमा तिब्बत गएका थिए र तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गरेका थिए । उनलाई बज्रयानको संस्थापकका रुपमा मानिन्छ ।
२) त्सोंगखापा
त्सोंगखापा घ्यालुग परम्पराका संस्थापक एक महान तिब्बती बौद्धगुरु थिए । उनले १४औं शताब्दीमा ग्यालुग परम्पराको स्थापना गरेका थिए र बज्रयानका विभिन्न तान्त्रिक अभ्यासहरूको विकास गरेका थिए ।
३) दलाई लामा
दलाई लामा तिब्बती बौद्ध धर्मका प्रमुख धार्मिक र राजनीतिक नेता हुन् । १४औं दलाई लामा तेन्जिङ ग्यात्सो हालका दलाई लामा ग्याल्बुग परम्पराका प्रमुख गुरु हुन् र विश्वभरि बज्रयानको प्रचारप्रसार गरिरहेका छन् ।
४) कर्मापा
कर्मापा कागु परम्पराका प्रमुख गुरु हुन् । सत्रौँ कर्मापा थाय रिम्पोछे हालका कर्मपा कागु परम्पराका प्रमुख धार्मिक नेता हुन् र बज्रयानका विभिन्न अभ्यासहरूमा विशेषज्ञ छन् ।
५) द्रुपका
द्रुपका काग्यु परम्पराको एक प्रमुख शाखा हो । ग्यालवाङ द्रुपका, द्रुपका परम्पराका प्रमुख गुरु हुन् । उनीहरू बज्रयानको तान्त्रिक अभ्यासमा विशेष ध्यान दिन्छन् । नेपालमा बज्रयान बौद्ध धर्मको प्रभाव प्राचीनकालदेखि नै रहेको छ । विशेषगरी काठमाडौँ उपत्यकामा बज्रयान बौद्ध धर्मको महत्वपूर्ण भूमिका रहेको छ । ऐतिहासिक रुपमा नेपालमा बज्रयानको अभ्यासलाई निम्न अनुसार बुझ्न सकिन्छ ।
१) लिच्छवी र मल्लकालमाः लिच्छवी चारौँ देखि नवौं शताब्दी र मल्ल १२औंदेखि १८औँ शताब्दी कालमा काठमाडौँ उपत्यकामा बौद्ध धर्मले महत्वपूर्ण स्थान लिएको थियो । यस कालमा बज्रयान बौद्ध धर्मका विभिन्न मठ स्तुप र चैत्यहरूको निर्माण भएको थियो ।
२) अर्जुन ऋषि र शाक्य सम्प्रदायः अर्जुन ऋषिको समयदेखि काठमाडौँ उपत्यकामा बौद्ध धर्मको प्रचारप्रसार भएको मानिन्छ । शाक्य सम्प्रदाय र विभिन्न बज्रयान सम्प्रदायहरूको अभ्यास पनि यस समयदेखि नै सुरु भएको थियो ।
३) तिब्बती प्रभावः आठौँ शताब्दीमा गुरु पद्म सम्भवले तिब्बतमा बज्रयान बौद्ध धर्मको प्रचार गरेपछि तिब्बती
बौद्ध धर्मको प्रभाव नेपालमा पनि परेको थियो । नेपालका बौद्ध भिक्षुहरू र लामाहरुले तिब्बतसँग सम्बन्ध स्थापित गरे ।