2024 October 15/ 02:09: 20am

तामाङ जातिको उत्पत्ति र इतिहास
समय लामा
    नेपालको आदिवासी समुदायहरूमध्ये तामाङ जाति विशेष पहिचान, भाषा, संस्कृति, र परम्परामा धनी छ । पाहाडि क्षेत्रको आसपासका भूभागमा बसोबास गर्ने यो समुदायको इतिहास लामो र संघर्षमय छ । तामाङ समुदायको ऐतिहासिक उपस्थिति नेपालमा करिब ३००० वर्ष पुरानो मानिन्छ । तामाङ शब्दको व्युत्पत्ति र अर्थमा विभिन्न दृष्टिकोण पाइन्छ । शाब्दिक अर्थमा, “ता” को अर्थ घोडा र “माङ” को अर्थ व्यापारी वा “योद्धा” गरिएको छ । यसरी, तामाङ शब्दलाई घोडा व्यापार गर्ने वा योद्धा समुदायको रूपमा व्याख्या गरिएको छ । 
       तामाङ शब्दको अर्थ “घोडा सिपाही” वा “व्यापारी” भन्ने बुझाई भए पनि यसको वास्तविक उत्पत्तिको विषयमा विभिन्न मान्यताहरू पाइन्छन् ।  केही इतिहासकारका अनुसार तामाङहरू तिब्बतबाट नेपालको हिमाली क्षेत्रमा आएका थिए ।  उनीहरूलाई ल्हासा, केरुंग, र स्याफ्रुबेंसीजस्ता हिमाली मार्ग हुँदै नेपालको विभिन्न पहाडी क्षेत्रमा आइपुगेको मानिन्छ । तामाङ शब्दमा भने बिज्ञहरुको पनि बुझाई फरक देखिन्छ । नेपालमा धेरै जसोको बुझाईमा तामाङ समुदाय नेपाल(तिब्बत युद्धको समयमा राजो स्रङ चङ ग्याम्पोको एक टुकडी सेना युद्ध पश्चात तिब्बत नफर्की नेपालकै पहाडी भुभागमा बसोबास गरेर बसेको भन्ने मन्यता राख्दछन् । तर, यो धारणा विज्ञ
Alexandar Mcdonald द्वारा खण्डित गरिएको छ ।  यदि तामाङ समुदाय राजा स्रङ चङ ग्याम्पोको वंशज हो भने तामाङ वंशवालीमा यसका ऐतिहासिक नाम वा प्रमाणहरू देखिनुपर्ने थियो तर यस प्रकारको ऐतिहासिक प्रमाणको अभावले तामाङ समुदायको राजा स्रङ चङ ग्याम्पोको वंशज हुन नसक्ने दावीलाई बल प्रदान गरेको छ । 
     यसैगरी तिब्बती भाषामा तामाङ समुदायलाई “रोङ्पो” भनी चिन्दछन जस्को शाब्दिक अर्थ “बिदेशी” भनेर बुझिन्छ । जसबाट के पुष्टि हुन्छ भने तामाङ समुदाय तिब्बतको सिमाना आसपास बसोबास गर्दै आएको र तिब्बतबाट बसाई सराई गरेर आएको हैन भन्ने बुझिन्छ । यसैगरी बिज्ञ अजितमान तामाङ को अनुसार तिब्बती भाषामा “ता“ को अर्थ “प्रबेश द्वार“ र “माङ“को अर्थ “ धेरै आम मान्छेहरु“ भनेर व्याख्या गर्नु भएको छ । जसको अर्थ तिब्बतको प्रबेश द्वार नजिक बसोबास गर्ने आम मान्छेहरु भनेर बुझिन्छ । यसैगरी तिब्बती भाषामा तामाङ समुदयलाई “रोङ्पो“ शब्द भनेर बोलाउने सिमाना पारी बस्ने बिदेशी भन्ने सँग मिल्न जान्छ जस कारण तामाङ समुदाय तिब्बतबाट बसाई नआएको र राजा स्रङ चङ ग्याम्पोको पनि वंश हैन भन्ने पुष्टी गर्दछ । १३ औं शताब्दीमा नेपालको वर्तमान मुस्ताङ क्षेत्रमा शासन गरेका राजा बुम डेगन (१२५३–१२८०) ले आफ्नो वंशावलीमा तामाङ शब्द लेखेका छन् । यो ‘तामाङ’ शब्दको प्रयोगको बारेमा फेला परेको सबैभन्दा पुरानो लिखित दस्तावेज हो जसले विशेष रूपमा नेपालको तामाङ राष्ट्रियतालाई जनाउँछ । 
           तामाङ समुदाय नेपालको पहाडी  जिल्लामा बडी मात्रामा देखिन्छन (नुवाकोट, रसुवा, काभ्रे, धादिङ, काठमाण्डौ, मकवानपुर, सिन्धुपलान्चोक, दोलखा, रामेछाप, भक्तपुर, ललितपुर र चितवन) ।  

राजनीतिक इतिहास
            विक्रम सम्वत् १८७३ मा नेपालको त्यो बेला को गोर्खा शासक, राजा रण बहादुर शाह र गिर्वान बिक्रम शाहसँग तामाङ समुदायको २ चोटि सम्म युद्ध भएको पाईन्छ (गोविन्द न्यौपानेले सन् २०००) मा लेख्नु भएको नेपालको जातिय प्रश्न (Ethnic Question of Nepal)जुन युद्धको हार पश्चात तामाङ समुदायलाई इष्ट ईन्डिया कम्पनीमा गोर्खा सैनिकको रुपमा भर्ती हुन बन्देज गरियो । सन् १९५० को राणा शासन सम्म पनि तामाङ समुदायलाई सैनिक सेवामा भर्ती गराएता पनि “पिपा” भन्दा माथिको दर्जा दिएको पाईदैन । फलस्वरुप तामाङ समुदाय आर्थिक र सामाजिक रुपले अझै पछाडि परे । त्यती मात्र नभएर त्यो बेलाको सामन्त समाजमा तामाङ जातीलाई “झारा” प्रथामा लगाएको पाईन्छ । यो समयमा भने तामाङ समुदायको उच्च श्रम शोषण भएकोले तामाङ समुदायलाई सामाजिक रूपमा बहिष्कृत र आर्थिक रूपमा पछाडि पार्नमा मद्दत पुर्याएको छ । सामन्ती समाजको अन्यायपूर्ण व्यवहारले तामाङ समुदायको सामाजिक संरचनामा गहिरो प्रभाव पारेको छ । 
तामाङ संस्कृतिको इतिहास 
            तामाङ जातिको सांस्कृतिक पहिचान उनीहरूको भाषा, धर्म, र परम्पराहरूमा आधारित छ ।  उनीहरूको भाषा तामाङ बोल्ने समुदायको जीवनशैली, विश्वास, र परम्परालाई प्रतिविम्बित गर्दछ ।  तामाङ भाषा भोट–बरमेली भाषा परिवारअन्तर्गत पर्दछ र यसको आफ्नै लेखन शैली (लिपि) पनि छ ।  धार्मिक रूपमा तामाङहरू बौद्ध धर्म मान्दछन् । तामाङहरूको प्रमुख चाडहरूमा ल्होसार, बुद्ध पूर्णिमा, र अन्य बौद्ध पर्वहरू पर्दछन् ।  उनीहरूका परम्परागत गुरुहरू जस्ता ताम्बा, लामा, बोन धर्मगुरुले सांस्कृतिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दछन् । यद्यपि, आधुनिक समाजको प्रभावले गर्दा तामाङ संस्कृतिमा केही हदसम्म परिवर्तन आइरहेको छ ।  
             हाल तामाङ समुदायमा गाईको मासु खाने प्रचलन विवादको विषय बनेको छ । धेरैजसो तामाङ समुदायले गाईको मासु खानु हाम्रो परम्परा हो भनेर गर्वका साथ दाबी गर्छन्, जुन एकदम झुठो हो ।  त्यस बेलाको सामन्त समाजमा शासकहरूले धेरै मात्रामा पशुपालन गर्ने चलन थियो । जब गोर्खा शासक, राजा रण बहादुर शाह र गिर्वान बिक्रम शाहसँगको राजनीतिक पराजयपछि तामाङ समुदायले कठिन परिश्रम र शोषणको सामना गरिरहेका थिए र जब कुनै पशु या गाईवस्तुहरूको मृत्यु हुने गर्दथ्यो, तबका शासकहरूले तामाङ समुदायलाई ति मृत पशु वा गाईवस्तुको मासु खाने आदेश दिएका थिए र वास्तवमा, गाईको मासु खाने चलन तामाङ समुदायमा सुरु भयो । बिस्तारै तामाङ समुदायले गाईको मासु खाने प्रचलनलाई आफ्नै परम्परा र संस्कारको रूपमा मान्न थाले । यसले गर्दा आज पनि धेरै तामाङ समुदायका सदस्यहरूले यसलाई आफ्नो सांस्कृतिक परम्परा मान्दै आएका छन्, तर यो वास्तवमा शोषण र दबाबको परिणाम हो भन्ने धेरैलाई ज्ञान छैन ।   
चुनौतीहरूः सामाजिक, शैक्षिक, आर्थिक, र राजनीतिक, सामाजिक र शिक्षामा चुनौतीहरूः 
        तामाङहरू लामो समयदेखि उत्पीडित समुदायको रूपमा रहँदै आएका छन् । जातीय आधारमा हुने विभेद र बहिष्करणका कारण उनीहरूको सामाजिक स्तर कमजोर छ । विशेष गरी शिक्षा, स्वास्थ्य, र रोजगारीका क्षेत्रमा उनीहरूले आवश्यक सेवा र सुविधा पाउन संघर्ष गर्नुपर्छ । यसैगरी शिक्षामा पनि तामाङ समुदाय निक्कै पछी परिको देखिन्छन । हिमाली र पहाडी भु–भागमा बढी बसाई भएको कारणले पनि भौगोलिक हिसाबमा विद्यालयससम्म आउन काठइनाई हुने र आफ्नै एउटा मौलिक भाषा बढी प्रयोग गर्ने भएकोले पनि नेपाली भाषामा ज्ञानलिन गाह्रो भएको पाइन्छ । भाषाको कारणले पनि तामाङ समुदायको बच्चाहरुले पढाएको नबुज्नुका कारण बढी मात्रमा बिद्यालय छोड्ने प्रब्रिती रहेको छ । यसले तामाङ समुदायलाई निकै ठुलो असर पु¥याएको छ । शिक्षाको कमिले तामाङ समुदायमा सामाजिक, आर्थिक र राजनीतिक समस्याहरुको सिकार भएको पाइन्छ ।  
आर्थिक चुनौतीहरूः 
            नेपालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने तामाङहरूको मुख्य पेशा कृषि हो । तर, जमिनमा उनीहरूको स्वामित्व कम छ र धेरैजसोले ठूला जमिन्दारहरूको मोटो भाडामा खेती गर्नु पर्ने बाध्यता छ । आर्थिक अवसरको कमी र उच्च गरिबी दरका कारण तामाङहरूले आर्थिक विकासमा पछि परेका छन् । पहाडी भुभागमा बसाई भएको कारणले पनि तामाङ समुदायको अर्थिक पाटो कमजोर रहेको पाईन्छ ।  समथर तराई झै पहाडी भेगको माटो उर्बर नहुनु, आधुनिक प्रविधीमा पहुच नहुनु र भौगोलिक हिसाबले पनि अन्न बाली कम उब्जिनुका कारण कृषिबाट गुजारामुखी जीवनयापन मात्र रहेको पाइन्छ । तामाङ समुदयाको कृषिपछीको अर्को मुलपेशा पशुपालन हो र भौगोलिक बिकट्ताको करणले बजार सम्म लगी बेचबिखन गर्न निक्कै कष्ट्कर र खर्चिलो देखिन्छ । समकालीन अवस्थामा भने वैदेशिक रोजगारका कारण यस समुदायमा धेरथोर भएपनि आर्थिक स्थिति सुध्रिएको कारण शिक्षा, स्वास्थ्य र जिविको पार्जनमा क्रमिक सुधार भएको देखिन्नछ । वैदेशिक रोजगार र पर्यटन क्षेत्रमा संलग्न हुँदा उनीहरूको आयमा केही वृद्धि भए पनि आर्थिक असमानता हटाउन पर्याप्त देखिँदैन ।  
राजनीतिक चुनौतीहरूः 
          तामाङ समुदायले लामो समयदेखि राजनीतिक व्यवस्थामा उचित प्रतिनिधित्वको कमी अनुभव गरेको छ । संघीयताको स्थापनापछि पनि तामाङहरूको आवाज नीति निर्माणमा पर्याप्त रूपमा प्रतिबिम्बित हुन सकेको छैन । दलित, महिला, र अन्य सिमान्तकृत समुदायहरूको सहभागिताको मुद्दा जस्तै तामाङ समुदायको प्रतिनिधित्व पनि सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । राजनैतिक रुपमा पछाडि परेका कारणले राज्यबाट पाउने सेवा सुविघा र राज्यबाट हुने वा दिने राजनैतिक नियुक्ति र रोजगार पाउन सकेनन् ।  जब नेपालमा २०६२÷६३ को जनआन्दोलन सफल भयो र नेपाल सरकार र माओवादि बिच विस्तृत शान्ति समझौता भयो र नेपाललाई समावेशी लोकतन्त्रमा औपचारिक रुपमा रूपान्तरण गरियो, त्यस पश्चात बनेको नयाँ संविधानले प्रत्येक सीमान्तकृत समूहको पहिचानलाई समर्थन र स्वीकार गरेको भएता पनि नितिगत तथा व्यवारिक हिसाबमा अझै मेहेनत गर्नुपर्ने देखिन्छ ।   
आगामी मार्गः सम्भावना र सुधारका उपायहरू
         तामाङ समुदायको उन्नति र सशक्तीकरणका लागि विभिन्न सुधारात्मक उपायहरूको आवश्यक छ ।  यी सुधारका उपायहरूले तामाङहरूको सामूहिक पहिचान, अधिकार, र अवसरलाई सुनिश्चित गर्ने दिशा प्रदान गर्न सक्छन् । 
शैक्षिक सुधार र भाषाको संरक्षणः 
        तामाङ भाषाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय विद्यालयहरूमा तामाङ भाषाको पठनपाठनको व्यवस्था अनिवार्य गर्नुपर्दछ अथवा तामाङ समुदाय बढि भएको बिध्यालयमा तामाङ भाषाबाटनै पढाउने व्यवस्था गरिनु पर्दछ । यसका साथै, तामाङ विद्यार्थीहरूलाई छात्रवृत्ति र अन्य शैक्षिक अवसरहरू प्रदान गर्नुपर्छ जसले गर्दा उनीहरूको शैक्षिक स्तरमा सुधार आउन सक्छ र प्रोत्शाहन पनि बढ्दछ । यसमा स्थानीय विद्यालयहरूको आधारभूत संरचनाको सुधार, पाठ्यक्रममा तामाङ भाषाको समावेश, र शिक्षामा समावेशी दृष्टिकोण अपनाउनु पर्दछ ।  

आर्थिक सशक्तीकरणः 
           तामाङहरूको आर्थिक सशक्तीकरणका लागि सहकारी खेती, कृषि उत्पादनको मूल्यवृद्धि, र स्वरोजगारका अवसरहरू सिर्जना गर्नुपर्छ ।  पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा विकास गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ । यसका साथै, विशेष आर्थिक क्षेत्रहरू स्थापना गरी तामाङ समुदायका युवाहरूलाई उद्यमशीलतामा प्रेरित गर्नुपर्छ । परम्परागतरुपमा थान्का लेखन र चित्रमा पनि तामाङ समुदाय निकै पोक्त रहेकोले सरकारले यसको बजार अन्तराष्ट्रियकरण र मार्केटिङको लागि नितिगत निर्माण र निर्णय गर्नुपर्दछ ।  
राजनीतिक सहभागिता र अधिकारको सुनिश्चितताः 
           तामाङहरूको राजनीतिक सहभागितालाई बढाउन स्थानीय, प्रादेशिक, र संघीय स्तरमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।  नीति निर्माण प्रक्रियामा तामाङहरूको आवाजलाई सुन्ने र उनीहरूको हक अधिकारको रक्षा गर्ने दायित्व सरकार र राजनीतिक दलहरूको हो । समावेशी लोकतन्त्रको मर्मअनुसार, तामाङ समुदायका नेताहरूलाई सक्षम बनाउने र उनीहरूको मुद्दालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ ।  नेपालको संविधानमा समानुपातिक र समावेशीको सिदान्तले गर्दा प्रशासन, प्रहरी, सेना र राज्यको नीति निर्णय तहमा थोरै भएपनि प्रतिनिधित्व भएको देखिएता पनि संस्थागत भेदभावको अवशेष अझै देखिने गरेको छ । यस कारणले नितीगत तथा व्यवारिक हिसाबमा अझै मेहेनत गर्नुपर्ने देखिन्छ ।  
सांस्कृतिक संरक्षण र जागरुकता अभियानः 
          तामाङ समुदायको सांस्कृतिक धरोहरलाई बचाउनका लागि स्थानीयस्तरमा विभिन्न सांस्कृतिक अभियान र कार्यक्रमको आयोजना गर्न सकिन्छ । यसले तामाङहरूको सांस्कृतिक पहिचानलाई बलियो बनाउन सहयोग पु¥याउनेछ । साथै, तामाङ युवाहरूलाई आफ्नो संस्कृतिबारे गर्व गर्न प्रेरित गर्ने र उनीहरूको मौलिकता बचाउन सक्रिय पहल गर्नुपर्छ । सांस्कृतिक रुपले पनि धनि भएका कारण आफनो मौलिक नृत्य, कला र परम्पराको संरक्षण गर्दै तामाङ बाहुल्यता भएको हरेक स्थानमा तामाङ संग्राहालय र नृत्य घरको निर्माण गर्नुपर्दछ जसले सांस्कृतिक, पर्यटकिय र आर्थिक हिसाबमा पनि टेवादिने छ ।  
सहकारी शासन प्रणालीको विकासः 
          तामाङ समुदायका लागि सहकारी र सामुदायिक शासन प्रणालीले उनीहरूको स्थानीय स्रोत साधनको उपयोगमा सशक्तीकरण ल्याउन सक्छ । यसले उनीहरूको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा सहकार्यको वातावरण सिर्जना गर्नेछ । 
सामुदायिक र साम्प्रदायिक एकिकरण ः 
           तामाङ समुदायको निकै सब्बल पक्ष भनेको सामुदायिक भेला वा गुठि हो । जसरी छेवार (ब्रतवन्ध), बिहे, घेवा (मृत्यु पस्चात गरिने कार्य) मा सबै समुदाय एक हुन्छन र यो समुदाय त्यसरीनै आर्थिक, राजनीतिक र सामाजिक कुरिति र विकृति विरुद्ध पनि एक हुनु जरुरी छ । हरेक तामाङ समुदायमा एक गुठिको निर्माण समुदाय आफैले गर्नु पर्दछ जसको काम आर्थिक, राजनीतिक र सामाजिक कुरिति र विकृति विरुद्ध कार्य गर्ने हुनुपर्दछ । कुनै पनि बाहानामा, यो र त्यो नभनि एक जुट हुन निकै जरुरी छ ।  
यसरीनै केबल आफनो समुदायमा मात्र नभई समाजमा रहेको अन्य जात, सम्प्रदाय सँग पनि घुलमिल हुनु निकै जरुरी छ । जसले गर्दा एक अर्काको कला, संस्कृति, परम्परा प्रति ज्ञान आदान प्रदान गरि एकअर्का बिच हुने वैमनस्यता कम गर्दछ ।  
निष्कर्ष
          तामाङ जाति नेपालका पुराना र समृद्ध इतिहास बोकेका समुदाय हुन् । उनीहरूको वर्तमान चुनौतीहरूलाई मध्यनजर गर्दै, सामाजिक, आर्थिक, र राजनीतिक सुधारका माध्यमबाट उनीहरूको सशक्तीकरणको मार्ग प्रशस्त गर्न आवश्यक छ । शिक्षा, आर्थिक सशक्तीकरण, राजनीतिक प्रतिनिधित्व, सांस्कृतिक संरक्षण, र सहकारी शासन प्रणालीजस्ता उपायहरू अपनाएर मात्र तामाङ समुदायको उन्नतिको सपना पूरा हुन सक्छ । नेपालको बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक समाजमा तामाङ समुदायको उचित स्थान र विकास सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो ।