2024 November 02/ 07:34: 37pm

खोज/अनुसन्धान लेख    
मोहन दुवाल
    वि.सं. २००० सालताका बनेपा निकै गुल्जारको बजार थियो । हाम्रो घर तीनधारा अलिक माथि जनमतचोकमा अहिले पनि अवस्थित छ । २००५ साल जेठ २९ गते जन्मिंदै र हेर्दै, भोग्दै आएको यस नगर मेरा लागि चीरपरिचित मात्र होइन आत्मीय नगर हो । हाम्रो चोक असंफःतिर जाने बाटोमा पर्छ । हाम्रो चोक त्यसताका निकै चल्तीको चोक थियो । पूर्वीयहरु यही चोक भएर काठमाडौंतर्फ लाग्ने गर्छन् । यस चोकमा धर्म गुर्जु, अष्ट गुर्जु, पूर्णसिंह गुर्जुका ज्यासलहरु, टिकाकृष्ण कायस्थका किराना पसल, कृष्ण मानन्धरका तेल पसल, आशाकाजी दुवालको आयुर्वेद औषधी पसल र हाम्रो कपडा पसल थियो । पूर्वकै द्वारका रुपमा प्रख्यात बनेपा बजार सिन्धुपाल्चोक, चरिकोट, रामेछाप, सिन्धुलीका वासिन्दाहरुका लागि किनमेल गर्ने मुख्य बजार रहेको मात्र होइन तिव्वतबाट चीनियाँहरु आउने मुख्य बाटो पनि हो । इतिहासमा चीनियाँ यात्री हुय्नसाङले यो ब नेपा (यो नेपाल) हो भनि सोधेको प्रसङ्ग यहाँ उल्लेख गर्नु प्रासाङ्गिक रहेकोले उल्लेख गरेको छु । बनेपा त्यसताकाका निकै चल्तिको बजार थियो, जुन काठामाडौंबाट २६ किमि मात्र टाढा छ । पूर्वको निकै चल्तीको बजार भएकोले श्री ३ जुद्ध शमशेरको निर्देशन र मौखिक स्वीकृति प्राप्त गरी विजय शमशेर र सरदार भीमबहादुर पाण्डेले राजदास वादेको सक्रिय सहायतामा बनेपामा ‘सहकारी’ भन्न मिल्ने को–अपरेटिभ खोलेको पाइन्छ । 
    अर्थशास्त्रमा विदेशबाट स्नातकोत्तर उत्तीर्ण गरिफर्केका विजय शमशेर र सरदार भीमबहादुर पाण्डेले श्री ३ जुद्धलाई प्रभाव पारेर यो सहकारी खालको बैंक बनेपामा खोलिएको हो । पछिसम्म लागू नभई ५ वर्षसम्म चलेर अरु ठाउँमा प्रयोग नै नगरी यस बैंक बन्द भएको देखिन्छ । गाउँ–ठाउँमा रहेका सामन्तहरु, देशभरका भूमाफियाहरुका लागि यो भोर्गेज बैंक अर्थात् को–ओपरेटिभ सोसाइटी उनीहरुको हितको कार्यक्रम नभएकोले उनीहरुको असन्तोष र चुक्लीबाट नै राणाजीहरुले पछि यस सोसाइटीलाई बन्द गरेको देखिन्छ । त्यसबेलाकै बारेमा मेरा बुबाले भन्ने गर्नुभएको मलाई सम्झना आइरहन्थ्यो — “विजय शमशेर विद्वान राणाजी हुनुहुन्छ । सरदार भीमबहादुर पाण्डेको विद्वताको वर्णन गरेर साध्य छैन । उहाँ बोलकड, तर्कशील विद्वान व्यक्तित्व हुनुहुन्छ । राजदास वादे बनेपाका लागि आधारशीला नै हुन् । उहाँ सबैले पत्याइएका नेता हुनुहुन्छ । उहाँहरु तीनैजनासँग नजिक बसेको छु ।
    उहाँहरुकै अनुरोधमा एउटा वित्तीय संस्थामा कोषाध्यक्ष भएर बनेपामा सेवा गरेको छु ।” सायद मेरो बुबाले औंल्याउन खोज्नुभएको ‘लायण्ड भोर्गेज बैङ्क’ को–अपरेटिभ सोसाइटी (सहकारी) नै हुनुपर्छ । २००० साल भदौमा यो बैङ्क र सोसाइटी (सहकारी) बनेपामा स्थापना गरेको देखिन्छ । बनेपा त्यसताकादेखि कुटिर उद्योगको केन्द्र, पूर्वीय पहाडको ढोकाजस्तै रहेको नगर, यातायातको सुविधासमेत भएको व्यापारिक बजारका रुपमा प्रख्यात शहर–बजारका रुपमा विख्यात छन् । आर्थिक कारोबार हुने यस खालको वित्तीय संस्था बनेपामा नै खोलिनुको कारण बनेपा व्यापारिक नगर हुनाका साथै बनेपालीहरु व्यापारीका रुपमा प्रख्यात रहेकैले हो भन्न सकिन्छ । 
    राजदास वादे त्यसताकाका यस क्षेत्रका पहुँच पुगेका सक्रिय राजनीतिक व्यक्तित्व हुनाका साथै समाजसेवामा सक्रिय व्यक्तित्व मात्र नभई शिक्षा, साहित्यमा पनि आफूसक्दो दृष्टि पु¥याउँदै सबैमा आफ्नो प्रभाव पार्नसक्ने खालका यस क्षेत्रका अत्यन्त चर्चित नेता पनि हुन् । यस बैंक र सोसाइटी खोल्ने कार्यमा यिनको सक्रिय तत्परता र चाहनाकै कारणले सोसाइटी (सहकारी) कै रुपको यस संस्था बनेपामा स्थापना गर्न सकेको देखिन्छ । श्री ३ जुद्ध शमशेरको राज्यकालमा पूर्व एक नम्वर (काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक) को संयुक्त रुपको राजनीतिक एकाइ मानिन्छ । यसैताका पूर्व १ नम्वरको वास्तविक आर्थिक अवस्था के–कस्तो छ सोको रुपरेखा कोर्ने, आर्थिक स्थिति निकाल्ने र समग्र आर्थिक सर्वेक्षण गराउने सरकारको उद्देश्यका लागि विजय समशेरको सोच र कृयाशीलता, सरदार भीमबहादुर पाण्डेको सक्रियता र राजदास वादेको अनुपम सहयोग रहेको देखिन्छ । ‘त्यसबखतको नेपाल’ मा सरदार भीमबहादुर पाण्डेले लेख्नुभएको छ— “त्यस अढाइ महिनामा प्रो. भीमबहादुरले पहिले साँगा, बनेपा, नाला, धुलिखेल, दाप्चा, खड्पु, पनौति, तिमाल, पाँगु, खोपासी, पलाञ्चोक, सिपा, चौतारा, घुमथाङ, जलबीरे, लिष्टी, कोदारी र सेरोफेरोका प्रमुख गाउँ र क्षेत्रको आर्थिक अवस्था एक–एक अध्ययन गरी प्रतिवेदन तयार गरे ।” सरदार भीमबहादुर पाण्डेले माथि उल्लेख भएअनुसार पूर्व एक नम्वर सिङ्गै घुम्नुभई आर्थिक सर्वेक्षण रिपोर्ट तयार गर्नुभएको देखिन्छ । उहाँ राणाकालीन शासनकालमा खटिएका एकजना सक्रिय आर्थिक दूत नै हो भन्न सकिन्छ ।
    बनेपामा उहाँले थुप्रै समाजसेवी, व्यापारीहरुसँग सम्पर्क राख्नुभएको देखिन्छ । यसैकालमा बुबा पनि सामाजिक अभियन्ता हुनुभएको कारणले सरदार भीमबहादुर पाण्डेसँग पनि बुबाको नजिकको सम्बन्ध रहेको चर्चा बुबाले हामीलाई जानकारी दिनुहुन्थ्यो । बनेपामा आउनुहुने विशिष्टहरुसँग बुबाको सम्बन्ध हुने भएकोले सरदार भीमबहादुरसँग पनि हुन गएको देखिन्छ ।     त्यसबखत ग्रामीण जनताहरु गाउँका फटाहा, सामन्त, शोषकहरुको शोषणबाट आक्रान्त थिए । ढ्याके ब्याज, आनेजस्ता चर्को ब्याज लिने त्यसताकाको सामन्ती चलन व्याप्त रहेकोले सर्वसाधारणहरु निकै हैरानीमा बाँच्न बाध्य थिए । बनेपामा बजारको विकास भइसकेकोले गाउँठाउँमाजस्तो ऋणको भारी बोकाएर दुःख दिने प्रचलन त्यति मात्रामा नभएकोले बनेपा शहरभित्र त्यति आर्थिक बेथिति चलेको देखिंदैन भनी धेरैले धेरै ठाउँमा उल्लेख गरेका छन् । सरदार भीमबहादुरले आफ्नो पुस्तक ‘त्यसबखतको नेपाल’ भाग ३ मा बनेपाको आर्थिक गतिविधि, कामदारहरुको स्थितिबारे यसरी उल्लेख गरेका छन्—“बनेपामा सात–आठ वर्षका लडका–लडकीले पिउरी पारेर दिनमा १२÷१३ पैसा, पन्ध्र–सो¥ह वर्षका ठिटाठिटीले रुआ फड्केर दिनको ४०÷४५ पैसा, स्वास्नीमानिसले कपडा बुनेर रोज ५०÷६० पैसा र बूढीहरुले धागो काटेर दिनौं ३÷४ आना कमाउँदछन् ।” यसै पुस्तकमा लेखिएको छ — “गाउँ–गाउँबाट तोरी खिचिएर बनेपामा आउँदथ्यो । 
    बनेपाका अठार कोलले रोज चवन्न मुरी तोरी पेल्दथे ।” यसै पुस्तकमा बनेपाको व्यापार, उद्योगको यसरी चर्चा गरेका छन् — “हाल बनेपाका कोल चलाउने तीनसय मानन्धर छन् तिनीहरुले पालैसँग चौध कोल चलाउँदछन् । आफ्नो पालामा उसले एक कोलबाट चार रुपैयाँ कमाए तापनि धेरैजसो आर्जन साहूलाई ब्याज तिर्दैमा सकिन्छ ।” यसैगरी थुप्रै खालका आर्थिक गतिविधिहरु र प्रचलनहरु यस पुस्तकमा समाविष्ट गरिएका छन् । श्री ३ जुद्धको जुनाफमा पेश गरेको प्रतिवेदनको खास सार थियो — “पहाडी जनता ऋणमा नराम्रोसँग डुबेको छ; सरकारले तिनीहरुको उद्धार गर्न सक्तछ र अब चाँडो गर्नुप¥यो ।” प्रस्तावित बैङ्क र सोसाइटीले ऋणमा बेस्कन डुबेको, बेइलमी र निःसहाय ग्रामीण जनताको ठूलो उद्धार गर्दछ भन्ने कुराले श्री ३ जुद्धलाई निकै प्रभाव पा¥यो । कसरी जनतालाई अऋणी बनाउने भन्ने खूद सुझाव प्रधानमन्त्रीले दोह¥याएर सुने ।”
    माथि उल्लेख भएका देशको आर्थिक स्थितिकै आधारमा तल्लोवर्गका देशवासीहरुकै लागि भनेर २००० भदौमा उक्त बैंक÷सोसाइटी खुलेको देखिन्छ । श्री ३ जुद्धलाई विजय शमशेर र सरदार भीमबहादुर पाण्डेले बैंक र सोसाइटीको आवश्यकता रहेको बोध गराउन सफल भयो । यी आर्थिक निकाय पछिसम्म टिकाउन सकेनन् । २००५ चैतमा खारेज भएको देखिन्छ । सोसाइटीको नाममा व्यवस्थापन भएको भए पनि सहकारी संस्थाकै संस्थापनकै रुप हो यो बैंक । तर टिकेनन्; देशभरमा लागू पनि भएनन् । तर यस सोसाइटीको नियत राम्रो राखी संस्थापन भएको हो । यो आर्थिक आन्दोलन हाम्रो देशमा लागू भएको आर्थिक चाँजोपाँजो मिलाई सुरु भएको क्रम हो । पुरानो लागू भएको भूमिसुधार व्यवस्थाकै एक किसिमको सुधारिएको सानो रुपजस्तै यसको रुप हो । 
    लायण्ड भोर्गेज बैङ्क तथा को–अपरेटिभ सोसाइटीको नाममा बनेपामा २००० सालमा स्थापित बैंक÷सोसाइटीका व्यवस्थापन समितिहरु त पक्कै होलान् । तर लोपप्रायः छ । बुबाले कोषाध्यक्ष भई सेवा गरेको भनिएको उक्त आर्थिक निकायहरुमा संस्थापन गर्नेहरु अवश्य होलान् । तर सरदार भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’ ग्रन्थमा सोकुरा कतै लेखेको देखिएन । उक्त आर्थिक निकायहरुको मुख्य उद्देश्य र लक्ष्य भनेको नै ‘साहूको ऋण चुक्ता गरी हलुका ब्याज लिने गरी जमिन साहूबाट निखनी किसानलाई फिर्ता दिने गरि व्यवस्थापन गरिएको रहेछ । उक्त बैंक वा को–अपरेटिभमा हाकिमको रुपमा गोविन्दप्रसाद गोर्खाली रहनुभएको र उहाँकै मातहतमा हरिबहादुर प्रधान, अञ्जीरमान श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, हरिकृष्ण मल्ल र केही पालेहरु नियुक्ति भएको देखिन्छ । सोसाइटीका मेनेजर थिए भक्तबहादुर श्रेष्ठ । पुरानो रितिरिवाजमा सम्पूर्ण आर्थिक स्थितिको व्यवस्थापन हुँदै आएको तात्कालीन स्थितिमा नयाँ सोच लागू गर्न खोज्नु निकै जोखिमपूर्ण कार्य नै मान्ने गर्छन् । 
    पूर्व एक नम्वरका पिसिएका जनताहरुकै हितमा स्थापित उक्त बैंक तथा सोसाइटीले तत्काल के–कति सहयोग भए सोको विस्तृत वर्णन कतै भएको देखिंदैन । तर यो अभियान देशभरमा नै लागू गर्ने उद्देश्य बोकेर स्थापित भएको वित्तीय अभियान हो भन्न सकिन्छ । खेतबारी बन्धकी राखी चर्को ब्याज तिरी ऋण लिनुपर्ने सर्वसाधारण जनताको कहरलाई मुक्त गर्न र सोका लागि केही हलुका बनाउने सोचका साथ यी बैंक तथा को–अपरेटिभ संचालनमा आएको देखिन्छ । ‘त्यस बखतको नेपाल’ मा उल्लेख भएअनुसार — बनेपामा त्यो बैंक र सोसाइटी दुई हजार सालमा खुल्ने भएको खबरले पूर्व नं. १ का गरीब जनताको मुख रसायो । खेतबारी बन्धकी राखी अत्ति चर्को ब्याजमा काडेको जनताको ऋण सरकारकातर्फबाट तिरी साहूको हात परेको जमीन उनीहरुलाई फर्काइदिने र कृषि र घरेलु इलमीलाई आवश्यक बीज अथवा औद्योगिक कोरा जिनिस सुपथ मोलमा किन्ने र उनीहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रबन्ध मिलाइदिने यी संस्थाका मुख्य काम थिए ।” किसानकै हितमा, उनीहरुकै सहयोगार्थ संचालित यी संस्था पछिसम्म दिगो भएर टिक्न नसकेता पनि सुन्दर आर्थिक कदमका रुपमा त्यसताका चर्चित रहेको कुरा मलाई त्यसताका नै बुबा र दाजुहरु बताउनु हुन्थ्यो । 
    बनेपामा खुलेको त्यो लायण्ड भोर्गेज बैंकको मूलभूत उद्देश्य भनेको नै गरीब जनतालाई राणाशासन समर्थक ठूलाठालू र साहूहरुको पञ्जाबाट मुक्त गर्ने हुँदा ती ठालूहरु रुष्ट हुनु स्वाभाविक थियो । यो नयाँ किसानहरुको हित सोची खुलेको बैंक भएकोले किसानहरु खुसी हुनु स्वाभाविक थियो । तर सामन्तहरु, ठूला जमिन्दारहरु यस कार्यक्रमबाट निकै रुष्ट भएको कारणले पछिसम्म टिक्न सकेनन् । यो बैंकको कतै शाखाहरु विस्तारित भएनन् मात्र होइन कतै पनि यसको चर्चा जति हुनुपर्ने हो सो भएनन् । शोषक र सामन्तहरुको सहयोगमा र तिनैको आडमा चलेको त्यसबेलाको राणा सरकारको पालामा चलाइएको यस खालको आर्थिक कदम धेरै खालका वाधा–व्यवधान, असहयोग भएरै पति कार्यान्वयन नभएको हुनुपर्छ । विदेशमा शिक्षा पाएका विद्वान विजय शमशेरको परिकल्पनामा त्यस्तै उहाँका विद्वान मित्र सरदार भीमबहादुर पाण्डेका विशेष सकृयतामा यी बैंकहरु संचालित भएका हुन् । पूर्व एक नम्वर बनेपामा नै प्रयोगका रुपमा यस बैंक संचालित हुनुको मुख्य कारण यस क्षेत्रका प्रभावकारी राजनीतिज्ञ राजदास वादेसँगको उहाँहरुको मित्रताले नै हो ।
    पूर्व एक नम्वरका प्रभावशाली नेता राजदास वादेको पनि जोडले र उहाँका मित्रहरु मेरा बाहरुजस्ता सहयोगीहरुको कारणले बनेपामा यी आर्थिक निकायहरु संचालनमा आएका हुन् । पटके एकलाख रुपैयाँ र वार्षिक दशहजार रुपैयाँ खर्च गरी बनेपामा खुलेको ‘लायण्ड भोर्गेज बैंक’ तथा सहयोगी संस्था उपयोगी रहेर पनि सफल हुन सकेनन् । अहिलेको सहकारी संस्थाहरुभन्दा मौलिक किसिमको यी उल्लेख भएका आर्थिक संस्थापनहरु महत्वपूर्ण खालका छन् भनेर त्यसताका निकै चर्चा भएका सन्दर्भहरु यहाँ उल्लेख गर्न सकिन्छ । यसै सन्दर्भमा सरदार भीमबहादुर पाण्डेले लेख्नुभएको थियो — “... नेपालको कृषि क्षेत्रमा विद्यमान सबभन्दा जटिल समस्या थियो गाउँलेको बढ्दो कृषि ऋण र सेलाउँदै गएको कुटीर उद्योग । ... तिनैको हल गर्न प्रस्तुत ‘लायण्ड भोर्गेज बैंक तथा सहयोगी संस्था’ खोल्ने निर्णयलाई क्रान्तिकारी भन्नुपर्दछ । समयान्तरमा ती ठाउँ–ठाउँमा खुल्दै गएका भए नेपालका गाउँमा ठूलो आर्थिक विकास हुने अवश्यम्भावी पनि थियो । त्यसबेला नेपालको सबभन्दा ठूलो आवश्यकता पनि थियो — ग्राम विकासको । झण्डै अन्ठानब्बे प्रतिशत नेपाली जनता गाउँले हुँदा गाउँ विकासविना गाउँलेको क्रयशक्ति बढ्ने अर्को विकल्पै थिएन । त्यसैले २००० सालमा अधिराज्यव्यापी भूबन्धक बैंक र सहयोगी संस्था अविलम्व खोल्ने योजना शुरु भएको हो ।”
    तर विडम्वना यी वित्तीय बैंक र सहयोगी संस्था टिकेनन् । मोहन शमशेरका छोरा र पशुपति शमशेरका बुबा विजय शमशेर उदारवादी राणा हुनुहुन्थ्यो । देशमा आर्थिक स्थिति मजबूत बनाउन नसकेसम्म कुनै पनि क्षेत्रमा विकास पु¥याउन गा¥हो हुन्छ भन्ने सोचका मर्मज्ञ विद्वान व्यक्तित्व विजय शमशेरले धेरै कुरामा रित पु¥याउनुभई यो बैंक तथा को–अपरेटिभ सोसाइटीको स्थापना बनेपामा गर्नुभएको हो । यसका लागि सरदार भीमबहादुर पाण्डेको दिमागको बौद्धिकता, आफूसक्दो पोखेको परिश्रमकै परिणति भएर यी वित्तीय निकायहरु स्थापना भएका हुन् । पूर्व एक नम्वरको बनेपामा नै यो बैंक तथा सोसाइटी स्थापना हुनुको मुख्य कारण त राजनीतिज्ञ राजदास वादेकै प्रभावले नै हो । यो सहकारी करिव करिव ५ वर्षसम्म संचालित भएको पनि देखिन्छ ।  

   अन्त्यमा भन्न सकिन्छ ‘लायण्ड भोर्गेज बैंक’ तथा ‘को–अपरेटिभ सोसाइटी’ स्थापना गर्ने सोच र त्यसमा उल्लेख भएका उद्देश्यहरुबाट भन्न सकिन्छ यी बैंक र सोसाइटीको प्रारुप हाल देशभर संचालित सहकारी संस्थाहरु जस्तै भएकाले बनेपामा स्थापित यो बैंक सहकारी संस्थाकै पहिलो स्थापित रुप हो भन्न सकिन्छ । यसलाई प्रारुप मानेको खण्डमा बनेपामा स्थापित बैंक तथा सोसाइटी नै सहकारी संस्थाकै संस्थापक रुप मानेर सहकारीकै इतिहास निर्माण गर्दा उपयुक्त हुने मेरो राय यहाँ उल्लेख गरेको छु ।