मानव बेचविखनमा नयाँ स्वरुप देखिन थालेका छन् । गरिबी तथा बेरोजगारको फाईदा उठाउँदै दलालहरुले ब्यक्तिहरुलाई शरीर विक्री गर्ने तथा उनिहरुका अंग विक्री गर्ने नयाँ तरिका र स्वरुप अपनाउन थालेका छन् । अपराधको संगठित जालो तोड्नु नै मुख्य चुनौती बन्दै गएको छ । अशिक्षा र रोजगारीको अवसर नहुँदा, घरेलु हिंसा, घरमा श्रीमान् र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू बेचविखन तथा अपराधमा संलग्न गराईने गरेको छ । मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदैछु भन्ने जानकारी नहुने भएकाले यसको रोकथामका लागि चुनौती भएको छ ।
मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भए जस्तो पनि हुन्छ र बेचबिखनमा पर्ने जोखिम पनि रहन्छ । लिङ्गको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिन सक्छन् । संगठित योजनाअनुसार मानव तस्करी र बेचबिखन हुने गर्छ । बेच्ने गिरोहले बेचिनेलाई फरक–फरक लालच दिएका हुन्छन् । नेपालको परिप्रेक्ष्यमा डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि मानव बेचविखन हुने गरेको छ । विवाह गरेको नाटक गरी विदेश पु¥याउने, सरोगेट मदर बनाउने, छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएको घटना भएको प्रहरीले बताएको छ । स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा मानव बेचविखन हुने गरेको छ । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिने गरेको छ । बेचबिखन रोक्न समाजमा सचेतना फैलाउन, विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउन, पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन, समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न, रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउन सबै क्षेत्र सक्रिय हुनु पर्ने आवश्यकता छ ।
जिल्लामा मानव बेचविखन, ओसार पसार तथा जिउ मास्ने बेच्ने सम्बन्धि ११ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मध्ये केहिको फैसला भईसकेको छ भने केहि मुद्दा विचाराधीन छन् । पछिल्ला केहि महिना जिल्लामा प्रहरीले होटल तथा रेस्टुरेन्टहरुमा काम लगाउने प्रयोजनमा गलत कृयाकलाप अर्थात जिउ मास्ने बेच्ने कार्यमा संलग्न गराएको अभियोगमा होटल ब्यवसायीहरुलाई मुद्दा चलाई रहेको छ । मुद्दा दर्ता भए पछि पीडितहरुले भने बयान फेरिरहेका छन् । वैदेशिक रोजगारमा लैजाने एजेन्टहरुले पनि मानव तस्करी गर्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ ।
पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ । बदलिँदो स्वरुपलाई रोक्न बढेको चुनौती सामना गर्न राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा सरकार चनाखो हुनु आवश्यक छ ।









