क्रमशः गाउँ रित्ता हुन थालेका छन् । गाउँमा बन्यजन्तुको बसोबास बाक्लिन थालेको छ । विकास गाउँ पस्दा मान्छेहरु शहर पस्न थालेका छन् । विकास थिएन गाउँ भरिभराउ थियो । बन्यजन्तु पनि वनमा मात्रै हुन्थे । आज बन्यजन्तु बस्तिमा छन् । बस्ति रित्ता हुन थालेका छन् । रित्ता बस्तिमा बन्यजन्तुले भएका केहि मानवसँग द्वन्द्व बढाएका छन् । त्यहि द्वन्द्वका कारण झनै विस्थापित हुनु परेका पीडाहरु छन् । राज्यले बन्यजन्तु नियन्त्रण तथा ब्यवस्थापनका लागि पटक पटक विभिन्न ऐन, कानून निर्माण गरिरहेको छ । क्षतिपूर्ति, राहत र उपचारका लागि पनि कानून निर्माण गरिरहेको छ । नागरिकहरुलाई त्यसबाट मुक्ति दिलाउन अर्थात भएको क्षतिमा राहत उपलब्ध गराउँदै पनि आएको छ । तर पनि नागरिकले गरेको अपेक्षा पूरा हुन सकेको छैन । अधिकांश नागरिकहरु त्यो सुविधा पाउनबाट बञ्चित पनि छन् । कसैले राहतको दुरुपयोग पनि गरेका छन् । वन्यजन्तुबाट भएको क्षति पछि राहत वितरण गर्न सरकारले चौथो पटक निर्देशिका संशोधन गरेको छ । मानव र बन्यजन्तु बीचको द्वन्द्व चर्किदै गएको छ । बन्यजन्तुले क्षति गराउने क्रम बढेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ मा मानव र बन्यजन्तु बीच द्वन्द्व भए पनि मानवीय क्षति हुन पाएन । तर बन्यजन्तुले भने ५१ वटा पशु खाएको छ । ४ सय ५७ ब्यक्तिको अन्नबाली नष्ट गराएको छ । ५० लाख ८० हजारको क्षतिपूर्ति रकम भुक्तानीका लागि मागदावी पेश भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा ३५ वटा पशु र ३ सय ४९ कृषकको अन्नबाली क्षति गरायो । १ जना ब्यक्तिलाई पशुले बन्यजन्तुले आक्रमण ग¥यो । उक्त वर्ष राज्यको तर्फबाट डिभिजन बन कार्यालयले ४३ लाख १७ हजार ३ सय ३२ रुपैयाँ भुक्तानी ग¥यो । आर्थिक वर्ष २०७८÷०७९ मा ३२ वटा पशु र २ सय २९ जना कृषकको अन्नबाली क्षति भयो । २ जनालाई बन्यजन्तुले आक्रमण गरे । राज्यले २७ लाख ७० हजार १ सय ७४ रुपैया भुक्तानी ग¥यो । त्यस्तै २०७७÷०७८ मा ३३ वटा पशु, ९० जना कृषकको अन्नबाली र २ जना ब्यक्तिलाई बन्यजन्तुले आक्रमण ग¥यो । राज्यको तर्फबाट १३ लाख ७५ हजार ३ सय ६७ रुपैयाँ भुक्तानी ग¥यो । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा १७ वटा पशु, ३ जना ब्यक्ति र १ जना कृषकको मात्रै अन्नबालीमा क्षति गराएको उजुरी डिभिजन बन कार्यालयमा आएको थियो । उक्त वर्ष कार्यालयको तर्फबाट २ लाख ५८ हजार २ सय रुपैयाँ भुक्तानी भएको छ । पाँच वर्षको अवधीमा काभ्रेपलाञ्चोक जिल्लामा मानव र बन्यजन्तु द्वन्द्वका कारण १,३०२ घटना भएका छन् । १ सय ६८ वटा पशुधन, ८ मानव र १ हजार १ सय २६ जनाको बाली नष्ट भएको सरकारी तथ्यांक छ । जसमा राज्यको तर्फबाट १ करोड ३८ लाख १ हजार ७३ रुपैयाँ भुत्तानी गरिएको छ ।
तथ्यांकमा नआएका र प्रकृयामा नगएका थुप्रै कृषकहरुको अन्नबाली बन्यजन्तुले क्षति पु¥याएका छन् । राज्यले बन्यजन्तु मध्ये बँदेल मार्न पाउने कानून ल्याएको छ । बँदेल पाल्न र मार्न पाउने भए पछि कृषकहरुको अन्नबालीमा कम क्षति हुने विश्वास गरिएको छ । केहि वर्ष अघिसम्म बँदेल मारेकै अभियोगमा नागरिकहरु जेल बस्नु परेको थियो । बर्षभरी खाने कमाई नष्ट गर्दा राज्यले केहि नगर्ने अनि अन्नबाली जोगाउन थापिएको पासोमा परेर मरेको बँदेलको मासु खाँदा जेल जानु पर्ने अब्यहारीक विषयमा राज्यका निकायहरुले पछिल्लो पटक संशोधन गरेका छन् । तर पनि बँदेल, बाँदर, जंगली जनावरहरुको विगविगी बढिरहेको अवस्थामा मानव र बन्यजन्तु बीचको द्वन्द्व कम भन्दा पनि बढ्ने अनुमान गरिएको वन बैज्ञानिकहरुले गरेका छन् । मानव बन्यजन्तु द्वन्द्व कम गर्न सरोकारवाला निकायहरुले समयमै ध्यान दिनु आवश्यक छ ।









