धुलिखेल/तथ्याङ्क दिवस २०८२ को अवसरमा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । तथ्याङ्क समन्वय अधिकारी दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि न्यौपानेले तथ्याङ्क राज्य सञ्चालनको मेरुदण्ड भएको उल्लेख गर्दै आधिकारिक, विश्वसनीय र समयसापेक्ष तथ्याङ्कले पारदर्शी शासन र जवाफदेही प्रशासन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पत्रकार र तथ्याङ्क कार्यालयबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्षद्वय बद्रीराज तिमल्सिना र मोतीराम तिमल्सिना अतिथिका रूपमा सहभागी थिए । तथ्याङ्कको सही प्रयोग र त्यसको प्रभावकारी सम्प्रेषणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको सहभागीले सुझाव दिए । कार्यक्रममा कार्यालयका कर्मचारीहरूको योगदानको कदर गर्दै सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्गबहादुर भुजेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा आधिकारिक तथ्याङ्क, पारदर्शी शासन भन्ने नारासहित तथ्याङ्क दिवस मनाइएको थियो । तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आयोजित कार्यक्रममा तथ्याङ्क उत्पादन, व्यवस्थापन र प्रयोगमा सरोकारवालाबीच सहकार्य अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।





