2025 December 16/ 06:08: 08am

  धुलिखेल/जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना गोष्ठी आयोजना गरेको छ ।
    गोष्ठी कार्तिक २६ र २७ गते धुलिखेलस्थित हिमालयन दृश्य होटलमा आयोजना भएको हो । कार्यक्रमको उद्धघाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गरेका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति, जिल्ला स्थित स्वास्थ्यसँग सम्बन्धित कार्यालयका प्रमुखहरु, प्रदेश र संघका प्रतिनिधिहरु, पालिका स्थित स्वास्थ्य शाखाका प्रमुखहरु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । त्यसैगरी स्वास्थ्य महाशाखा,  जनस्वास्थ्य कार्यालय, विभिन्न पालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु, स्वास्थ्य संस्था प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
    पहिलो दिन महाभारत, खानीखोला, पनौती, बनेपा, रोशी, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका सहित तेमाल, भुम्लु, चौरीदेउराली, बेथान्चोक लगायतका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले विगत वर्षका उपलब्धि, चुनौती, सिकाई र आगामी योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाई, रोग नियन्त्रण, स्वास्थ्य बीमा, जनस्वास्थ्य व्यवस्थापन लगायतका विषयहरूमा विशेष छलफल भएको थियो । सहभागीहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुदृढीकरण, औषधि आपूर्ति प्रणाली सुदृढ बनाउन र स्थानीय तह बीच सहकार्य तथा समन्वयलाई अझ मजबुत पार्नुपर्ने आवश्यकता औँल्याए ।
    गोष्ठीको दोस्रो दिनमा अस्पताल सेवा सुधार, पोषण तथा सरसफाइ कार्यक्रम, स्वास्थ्य बीमा विस्तार र आगामी वर्षका प्राथमिकताका कार्यक्रमहरू विषयमा समूहगत छलफल तथा कार्ययोजना निर्माण गरिएको छ ।  प्रत्येक समूहले आफ्ना निष्कर्ष र सिफारिसहरू प्रस्तुत गरेका थिए । सोही आधारमा जनस्वास्थ्य कार्यालयले आगामी वर्षका योजनाहरूमा सुधार र प्राथमिकता निर्धारण गर्ने जनाएको  छ । उद्धघाटन सत्रको समापनमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख कक्षपतिले सहभागीहरूलाई धन्यवाद दिँदै विगत वर्षका उपलब्धिहरूलाई निरन्तरता दिन र चुनौतीहरू समाधान गर्न सबै तहका स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताईन् । सहभागीहरूले गोष्ठीले जिल्लाको स्वास्थ्य सेवा सुधारका लागि साझा दृष्टिकोण र योजनाबद्ध कार्यदिशा तय गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे । समापन कार्यक्रममा गोष्ठीको दोस्रो दिन स्थानीय तहको मुल्यांकन तथा प्रमाणपत्र बितरण गरिनेछ ।