2026 January 17/ 03:21: 57pm

    धुलिखेल/धुलिखेल नगरपालिकाले खेलकुद क्षेत्रको प्रर्बद्धन गर्ने उद्देश्यले शुरु गरेको अभियानलाई सार्थकता दिने गरी धुलिखेलमा डि–टाउन बास्केटबल एकेडेमी शुभारम्भ गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले एकेडेमीको शुभारम्भ बल हस्तान्तरण मार्फत गरे । 
    ‘चालु आर्थिक वर्ष भित्र विद्यालय हाता भित्र एउटा र बाहिर खुल्ला स्थानमा एउटा गरी दुईवटा बास्केटबल कोर्ट निर्माण गर्ने गरी योजना बनाएका छौंं’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘एकेडेमी मार्फत खेल क्षेत्रको संरक्षण र प्रर्बद्धन, खेलाडीहरुको उत्पादन तथा क्षमता अभिबृद्धि र समग्र खेल क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नेर्छाै ।’ बास्केटबल प्रतिको खेलाडीहरुको मोहलाई केन्द्रित गरी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । 
    खेललाई ब्यवसायीक र उद्यमतातर्फ अघि बढाएका विश्वका शक्तिशाली राष्ट्रहरुको तुलनामा नेपालले धेरै गर्न बाँकी भए पनि आवश्यकता र क्षमता अनुसार खेल क्षेत्रका लागि लगानी गरेको उनले बताए । ‘राज्यले सबै क्षेत्रलाई उत्तिक्कै माया गरेको हुन्छ र गर्नुपर्छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘खेल ब्यक्ति र राष्ट्रका लागि आवश्यक छ । त्यहि आधारमा स्थानीय सरकारले प्राथमिकतामा राखेको छ ।’ २०५४ सालमा उपप्रमुख भएका बखत विपी राजमार्ग निर्माणका क्रममा ५२ लाख रकम विनियोजन गराउन लगाएको स्मरण गराउँदै नगर प्रमुख ब्याञ्जुले स्थानीय सहयोग ६ लाख र नगरपालिकाको १४ लाख मार्फत हालको रंगशाला निर्माण गरिएको बताए । हक्की संघ एशोसिएसनको सहयोगमा धुलिखेल ११ मा २३ करोडको लागतमा हक्कीका लागि रंगशाला निर्माण कार्य प्रारम्भ गरिएको ब्याञ्जुले बताए । त्यस्तै २ करोड ३७ लाख लागतमा कर्भड हल निर्माणको कार्य प्रारम्भ गरिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले पूर्वाधार निर्माण, खेल क्षेत्रको आर्कषण, खेलाडी उत्पादन र निरन्तरता, ब्यवसायीकताका लागि विद्यालय तह देखि नै प्रशिक्षण शुरु गर्ने गरी कार्ययोजना निर्माण गरिएको बताए । 
    एकेडेमीको शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंशा गर्दै खेलाडीहरुको चाहना र रुचीलाई निरन्तरता दिन एकेडेमी महत्वपूर्ण हुने बताए । बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष पवन थापाले देशभर र अन्तराष्ट्रिय स्तरमा समेत बास्केटबलको आर्कषण रहेको बताएँदै स्थानीय सरकारको सहयोग र समन्वयमा खुलेको एकेडेमीले खेलाडीहरुको उत्पादन र ब्यवसायीकतामा जोड दिए । कार्यक्रममा बास्केटबल संघका अध्यक्ष शिव थापाले जिल्लामा बास्केटबलको विकासका लागि संघ सक्रिय रहने बताए । नेपाल बास्केटबल संघको सहयोग र समन्वयमा डि टाउन एकेडेमीका बैभव कुँवरले एकेडेमीलाई नेतृत्व क्षमता, सीप र ब्यवसायीकतामा जोड दिने बताए । कार्यक्रम रितेश गुरुङको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । एकेडेमीमा ४० जना भन्दा धेरै खेलाडीहरुले पहिलो चरणमा प्रशिक्षण लिदैछन् ।