2026 January 17/ 04:01: 08pm

    धुलिखेल/धुलिखेल क्याम्पस धुलिखेलको दोश्रो क्याम्पस सभा सम्पन्न भएको छ । अध्यक्ष दीर्घराज बरुण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । 
    सभामा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले क्याम्पस संचालनका लागि आवश्यक पर्ने पुर्वाधार र जनशक्ति ब्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताए । नगरपालिकाले समाजबाद उन्मुख शिक्षा प्रदान गर्ने उदेश्यले नगरबासिहरुका लागि उच्च शिक्षा तथा क्याम्पस तहको शिक्षालाई निशुल्क गरेको र नगरबासि भन्दा बाहिर जिल्लाबासीहरुका लागि ५० प्रतिशतसम्म शुल्क निःशुल्क गरिएको बताए । क्याम्पसले संकाय थप गर्ने निर्णय गरेसँगै आवश्यक पर्ने धरौटी रकम २६ लाख रुपैयाँ नगरपालिका आफैले राखिदिने निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताए । धुलिखेललाई शिक्षा र स्वास्थ्यसँगै पर्यटनको हब बनाउने उदेश्यले गुणस्तरीय जनशक्ति उत्पादन गर्न आवश्यक जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष दीर्घराज बरुण श्रेष्ठले आवश्यकता अनुसारका संकाय थप गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना निर्माण गरी कार्यान्वयन शुरु गरिएको बताए । शिक्षाविद् अनमोल माकजु श्रेष्ठले धुलिखेललाई शैक्षिक गुणस्तरको नमुना नगरपालिका निर्माण गर्न नगरपालिकाले अघि सारेका योजनाहरु सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा शिक्षाविद् बेदप्रसाद कोँजु, शिक्षाविद्हरु, क्याम्पस सभाका सदस्यहरु, जनप्रतिनिधिहरु, क्याम्पसका पदाधिकारीहरु तथा अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    क्याम्पस सभामा प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख सागरमणी तिवारीले आगामी शैक्षिक सत्र देखि एमविएस, विटिटिएम र एलएलवीका कार्यक्रमहरु थप गर्ने बताए । क्याम्पसलाई क्युएए प्रमाणपत्र प्राप्त गर्ने गरी शैक्षिक कार्यक्रमहरु संचालन गर्न, विहानी, दिउँसो र साँझमा समेत कक्षा संचालन हुने गरी ब्यवस्थापन गर्न, आर्थिक श्रोतको दीर्घकालिन ब्यवस्थापन गर्न, थप भवन निर्माणका लागि पहल गर्न, विद्यार्थी भर्ना बृद्धिका लागि प्रभावकारी कार्यक्रम संचालन गर्ने बताए । अपेक्षाकृत विद्यार्थी संख्या बढ्न नसक्नु, विद्यार्थीको कक्षा छाड्ने दर बढ्नु, प्राध्यापकलाई स्थायी रुपमा काम गराउन कठिन हुनु, क्याम्पसलाई बहुमुखीकरण बनाउन नसक्नु र विद्यार्थीहरुलाई नेपालमा नै बसेर धेरै गर्न सकिन्छ भन्ने आशा जगाउन नसक्नु पछिल्लो समयको चुनौती बनेको क्याम्पस प्रमुख सागरमणी तिवारीले बताए । स्थानीय सरकार नगरपालिकाको पूर्ण सहयोगका कारण क्याम्पस टिक्न सकेको उनले बताए । 
    सभामा लेखापरीक्ष प्रतिवेदन २०८१/०८२ र बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पास भएको थियो । कार्यक्रम क्याम्पसका प्रकाश रोक्काले संचालन गरेका थिए ।