2026 January 17/ 04:09: 04pm

    धुलिखेल/काठमाडौ विश्वविद्यालयले ३१ औ दीक्षान्त समारोहको प्रथम चरणमा २ हजार २ सय ९ विद्यार्थी दीक्षित भएका छन् ।
    दीक्षान्त समारोहमा प्रा.डा.अच्युत वाग्लेले विश्वविद्यालयले थप शैक्षिक कार्यक्रम र योजनाको घोषणा गरे । विश्वविद्यालयका लागि आवश्यक पर्ने प्राध्यापक, सह–प्राध्यापक र उपप्राध्यापकको दरबन्दी थप गरेको छ । कार्यकारी परिषद्बाट निर्णय भएको ३५ जनाको दरबन्दी स्वीकृत गरेको छ । अनुसन्धान र शैक्षिक क्षेत्रमा थप कार्य गर्ने गरी योजना निर्माण गरिएको बताउँदै उपकुलपति वाग्लेले जापानको एक विश्वविद्यालयसँग थप शैक्षिक कार्यक्रमका लागि सम्झौताको तयारी गरिएको जानकारी दिए । 
    पछिल्लो समय प्रविधिको प्रयोगमा अघि बढेको एआई लगायतका कार्यक्रमहरु संचालन गर्न, गति र प्रगतिलाई अझै अगाडी बढाउन, विदेश जाने विद्यार्थीहरुलाई नेपालमा नै रोक्न, रोकिएका विद्यार्थीहरुलाई खोज र अनुसन्धान सहितको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयले नयाँ योजना निर्माण गरिरहेको उपकुलपति वाग्लेले बताए । रजिस्ट्रार डा.राजिव वाग्लेले विश्वविद्यालयले शुरु गरेको अस्पताल निर्माण कार्य प्रारम्भ भएको बताउँदै काभ्रेपलाञ्चोक जिल्लामा रहेको काठमाडौ विश्वविद्यालयलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा चिनाउन नियमित शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताए । 
    विश्वविद्यालयमा पहिलो पटक २५ जना विदेशी प्राध्यापकहरु कार्यरत छन् । खुल्ला माग गरिएकोमा करिब ४ सय प्राध्यापकहरुले आवेदन दिएका थिए । चालु शैक्षिक सत्रमा केहि शैक्षिक कार्यक्रममा सिट संख्या थपिएको छ । जसका कारण समेत विद्यार्थी भर्ना दरमा गत वर्षको तुलनामा यो वर्ष २३ प्रतिशत विद्यार्थी थपिएका छन् । काठमाडौ विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालनका लागि ८४ वटा संस्थाले इच्छा देखाउँदै आवेदन दिएका छन् । विदेशी विद्यार्थीको आकर्षण पनि थपिएको छ । उपकूलपति वाग्ले, रजिस्टार डा.राजिव श्रेष्ठ, डिनहरु, प्रवक्ता उद्वव प्याकुरेल, दिनेश काफ्ले लगायतले विश्वविद्यालयका पछिल्ला शैक्षिक गतिविधि र दीक्षान्त समारोहका बारेमा जानकारी गराए । दीक्षान्त समारोहमा अध्यक्षता गर्ने नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की र प्रमुख अतिथी भारतका नेहरु विश्वविद्यालयका उपकूलपति प्रा.शान्तीश्री धुलिपुडी पण्डित दुबै महिला रहेका थिए । 

१७ देशका विदेशी विद्यार्थी 
    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोहको पहिलो चरणमा विश्वविद्यालयको स्कुल अफ आट्र्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कूल अफ ल का ३६, स्कूल अफ मेनेजमेन्टका ३७८, स्कूल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुनेछन् ।दीक्षितमध्ये अष्ट्रेलिया, अष्ट्रिया, बङ्लादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना अर्थात विदेशी रहेका थिए । दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत अर्थात १ हजार क१ सय ५४ जना र महिला ४७.७६ प्रतिशत अर्थात एक हजार ५५ जनाछन् । ३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८ सय ६० अर्थात करिब १२ प्रतिशत रहेको छ । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा धेरै भारतका छन् । भारतबाट मात्रै यो अवधीमा ४ हजार ९ सय ७६ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै श्रीलङ्काबाट ३ सय ९९, अमेरिकाबाट ८५, माल्दिभस ७५, जर्मनी ३३, बंगलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रे्लिया १०, रुस १० जना छन् । कुल ५९ देशका विद्यार्थीहरु दीक्षित भएको उपकुलपति प्रा.डा. अच्युत वाग्लेले जानकारी दिए । काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर अफ फेलोसोपी बाई रिसर्च इन म्याथमेट्रिक्समा १ जना र ब्याचलर अफ साईन्स इन एग्रिकल्चरमा २९ जना दीक्षित हुनेछन् । त्यसैगरी स्कूल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भए ।    
चान्सलर स्वर्ण पदक विदेशी विद्यार्थीलाई 
    काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्तमा विश्वविद्यालयले प्रदान गरेको सबैभन्दा ठुलो पुरस्कार चान्सलर स्वर्णपदक पहिलो पटक विदेशी विद्यार्थीले प्राप्त गरेकी छिन् । स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्कुल अफ आटर्स्का विद्यार्थी सुश्री माईते कास्टेलानो मेचान्का रहेकी  छिन् । उनले ४ सिजिपिए प्राप्त गरेकी छन् । भाईस चान्सलर स्वर्णपदक स्नातक तहमा सबै भन्दा बढी अंक प्राप्त गर्ने नोबेल मेडिकल कलेज विराटनगरका गौरवसिहं साउदले प्राप्त गरे । जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक एमविए कार्यक्रममा सबै भन्दा बढी अंक ल्याउने स्कुल अफ म्यानेजमेन्टकी सुश्री अरुणा बुढाथोकी, रणबहादुर शाह स्वर्णपदक एमविए कार्यक्रममा सर्बाेत्कृष्ट विद्यार्थी स्कुल म्यानेजमेन्टका सौगात दंगाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक स्नातक तहमा सबै भन्दा बढी अंक प्राप्त गर्ने छात्रा विद्यार्थी लुम्विनी मेडिकल कलेज पाल्पाकी रक्षा तिवारी रहेका छन् । प्रवक्ता डा.उद्धव प्याकुरेलका अनुसार प्रेमराज पन्त स्वर्णपदक स्नातक तहबाट सुश्री स्वस्तिका आचार्य र दिनेश थापा स्वर्णपदक विविए–एलएलबीबाट आल्सा रेग्मी रहेका छन् । 
    ३१ औ दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना भएको उक्त समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा.शान्ती धुलिपुडी पण्डितले प्रमुख आतिथ्यता सहित दीक्षान्त सम्भाषण रहेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि उक्त कार्यक्रममा सहभागी थिए । रजिष्ट्रार प्रा.डा.राजीव श्रेष्ठले सन्चालन गरेको सभामा उपकुलपति प्रा.डा.अच्युत वाग्लेले स्वागत सहित विश्वविद्यालयका तर्फबाट मन्तव्य राखेका थिए ।