2025 July 14/ 04:53: 14am

विकास तिमल्सिना
नगरकोट

    काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने नगरकोट नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । विहानीपखको सुर्योदयसँगै नगरकोटबाट देखिने मनमोहक, चाँदी झै टल्किरहेका हिमालसँगै प्राकृतिक सुन्दरताको मज्जा लिन पर्यटकको भीड लाग्ने गर्दछ । 
    पर्यटकको आगमनमा वृद्धि भएसँगै नगरकोट क्षेत्रमा ६० भन्दा बढी होटल सञ्चालनमा आएका छन् भने अझै होटल रिसोर्ट थपिने क्रम जारी छ । अग्लो डाँडा, पर्यटकको बढ्दो आकर्षण, होटल, रिसोर्टको तीव्र विस्तार अनि पानीको अभाव । हो, यहि कुरालाई मध्यनजर गर्दै नगरकोटमा बागमती प्रदेशकै गौरवको आयोजना नाल्दुम–नगरकोट लिफ्ट आयोजना सुरु भएको छ । सुर्याेदयका साथै उपर्युक्त वातावरणका लागि आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा परेको क्षेत्र नगरकोटमा नियमित, ब्यवस्थित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश सरकारले नाल्दुम नगरकोट लिफ्ट खानेपानी आयोजना संचालन गरिरहेको छ । 
    आयोजना संचालनको अन्तिम चरणमा पुगेको समयमा २०८१ असोज १०–१२ को विपत्तिका कारण मुहान क्षेत्रमा गएको निरन्तरको पहिरो प्रमुख चुनौती बनिरहेको छ । तर पनि आयोजनाको अवधी भित्र कार्य सम्पन्न गर्ने गरी ७५ प्रतिशत प्रगति भएको खानेपानी तथा सरसफाई डिभिजन नम्वर ३ सिन्धुपाल्चोक डिभिजन प्रमुख सृष्टि ख्वालापालाले बताउनु भयो । अहिले मुहान क्षेत्रमा पहिरो ब्यवस्थापनको कार्य भईरहेको उहाँले बताउनु भयो । 
    खानेपानी तथा सरसफाई डिभिजन अन्र्तगत बागमती प्रदेश सरकारको यो ठुलो र गौरवको आयोजना हो । मण्डनदेउपुर वडा नम्बर १ र २ का करिव ४ सय घर परिवारका २ हजार नागरिक नगरकोट क्षेत्रका ६० भन्दा धेरै होटलहरुलाई लक्षित गरी उक्त आयोजना २०७९ मसिंर २६ गते निर्माण कार्यको सम्झौता गरिएको थियो । अहिले केहि घर धुरी र होटलको संख्या थप भएको छ । २७ करोड ३५ लाख ६४ हजार ९ सय २ रुपैया लागतमा निर्माण शुरु गरिएको आयोजना १६ करोड ४८ लाख ३४ हजार २ सय ९२ रुपैयाँमा सम्झौता भएको छ । २०८२ पुष ३ गते थपिएको म्याद अवधी भित्र आयोजना सम्पन्न गर्ने गरी निर्माण ब्यवसायी कम्पनी सक्रिय छ । तीन किलोमिटर ट्रान्समिसन (लिफ्ट) र ३६ किलोमिटर क्षेत्रमा वितरण गर्ने गरी कार्य सम्पन्न भएको उक्त क्षेत्रमा १२ वटा मुख्य खानेपानी ट्याङ्की निर्माण भईरहेका छन् । 
    २ लाख लिटर क्षमताका २ वटा, १ लाख लिटर क्षमताका २ वटा, ५० हजार लिटर क्षमताका २ वटा र २० हजार लिटर क्षमताका ७ वटा खानेपानी ट्याङ्की निर्माण हुनेछन् । अधिकांश ट्यांकी निर्माणको कार्य सकिएको छ । ढाँडागाउँ पानी ट्याङ्कीले सिरानटोल, बतासे, लप्से क्षेत्रलाई सहज खानेपानी उपलब्ध हुने उपभोक्ता राजु तामाङले बताउनु भयो । पसलडाँडा र सिरानटोलमा अहिले अस्थायी रुपमा खानेपानी ब्यवस्थापन भईरहेको छ । लिफ्ट र ट्रिटमेन्ट सहितको गुणस्तरीय खानेपानी ब्यवस्थापनका लागि स्थानीय सरकार पालिका र वडा, उपभोक्ता समुह, नेपाली सेना, सामुदायिक वन उपभोक्ता समुह, पर्यटन ब्यवसायी तथा स्थानीयहरुले सक्रियताका साथ समन्वय गरिरहेका छन् । 
    ढाँडागाउँ र महाँकालडाँडामा निर्माण भएका ट्याङ्कीमा बतासे टाँसीडाँडामा ट्रिटमेन्ट गरिएको खानेपानी उपलब्ध हुनेछ । त्यहाँ पनि थप ट्याङ्की निर्माण गरिएको छ । पुरानो ट्याङ्कीबाट पनि खानेपानीको अस्थायी ब्यवस्थापन भईरहेको छ । मुहानबाट आएको पानी बतासे टाँसीडाँडामा खसालिनेछ । ठकुरीगाउँ जाने ट्याङ्की निर्माण गरिएको क्षेत्रमा उपभोक्ता समितिको कार्यालय समेत निर्माण गरिएको छ । उक्त आयोजना सम्पन्न भए पछि उपभोक्ताहरुले आफ्नै ब्यवस्थापनमा संचालन गर्ने गरी शुरुमै तयारी गरिएको छ । उपभोक्ता समितिका सदस्य तथा होटल ब्यवसायी राजु तामाङले खानेपानीको दीर्घकालीन ब्यवस्थापनले नगरकोट क्षेत्रका साथै वडा नम्बर १ र २ का नागरिक लाभान्वित हुने बताउनु भयो । सधै पानीको ब्यवस्थापनमा परिरहेको संकट समाधानका लागि आयोजना महत्वपूर्ण हुने उहाँको भनाई छ । 
    होटेल भिलेज भ्यूका संचालक छेवाङ दोर्जे तामाङले होटलहरुमा पानीकै कारण परिरहेको संकट आयोजना सम्पन्न भए पछि पुरा हुने बताउनु भयो । खर्चिलो र झन्झटिलो तरिकाबाट गरिएको खानेपानी ब्यवस्थापन सहज र सरल हुने उहाँले बताउनु भयो । नगरकोट क्षेत्रमा पहिला पहिला खोल्साहरु थिए । माछा पनि सहजै पाईन्थ्यो । बस्ति विकास, होटल ब्यवसायको शुरुवात र विस्तार, जलवायु परिवर्तनका कारण सुक्दै गएका पानीका मुहान तथा नागरिकहरुको समेत कम चासोका कारण पर्यटकीय भए पनि सुख्खा बन्दै गएको डाँडालाई हरियाली सहित पिउने पानीको भरपर्दाे र बलियो श्रोतका रुपमा लिफ्टिङ्ग खानेपानी आयोजना संचालन गरिएको डिभिजन प्रमुख सृष्टि ख्वालापालाले बताउनु भयो । 
    निर्माण ब्यवसायी प्रतिनिधि सौगात चौलागाईले प्राकृतिक विपत्तिका कारण आयोजनामा केहि प्रभाव पारेको भए पनि तोकिएको अवधी भित्र संचालन गर्ने गरी निर्माण कार्य भईरहेको बताउनु भयो । सबै क्षेत्रको सहयोग र समन्वयबाट कार्य अघि बढाउन सहज भएको बताउँदै चौलागाईले मुहान क्षेत्रको पहिरो प्रमुख चुनौती बनेको बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन नम्वर ३ सिन्धुपाल्चोकका इन्जिनियर आनन्द पौड्यालले प्रदेशको गौरवको आयोजना काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको समेत गौरव रहेको बताउनु भयो । पर्यटकीय क्षेत्र र स्थानीयहरुलाई प्रत्यक्ष प्रभावित बनाउने आयोजना प्रभावकारी रहेको उहाँले बताउनुभयो । खानेपानी तथा सरसफाई डिभिजन नम्वर ३ काभ्रेमा कार्यरत सव इन्जिनियर अर्जुन ढकालले आयोजना तोकिएको समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भईरहेको बताउनु भयो । नियमित अनुमगन तथा परामर्शको कार्य भईरहेको ढकालले बताउनु भयो । मुहान क्षेत्रमा पहिरोको कारण स्थानीय ६ जना कृषकको खेत बगाएको छ भने अन्य खेतहरु पनि जोखिममा छन् । 
    मण्डनदेउपुर नगरपालिका वडा नम्वर २ स्थित चाखोलाको शिर नाल्दुममा मुख्य ट्याङ्ककी सहित लिफ्टका लागि आवश्यक पुर्वाधार र ट्रिटमेन्ट ट्याङ्की निर्माण हुनेछ । सोहि क्षेत्रबाट तीन किलोमिटर लम्बाईमा बतासे स्थित टाँसीडाँडामा पु¥याईनेछ । त्यहाँ पुनः ट्रिटमेन्ट गराए पछि विभिन्न स्थानमा निर्माण गरिएका अन्य ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । यसले मण्डनदेउपुर नगरपालिका वडा नम्वर १ र २ का अलावा पर्यटकीय क्षेत्र नगरकोट, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा समेत सहज खानेपानी उपलब्ध हुनेछ । आयोजनाले खानेपानी सँगै पहिरो नियन्त्रण र ब्यवस्थापनको कार्य गरिरहेको छ । पानी जीवन हो । नगरकोट क्षेत्रको खानेपानी समस्या समाधानको एक मात्रै उपाय वृहत खानेपानी आयोजना नै हो । आयोजना सम्पन्न हुने दिन कुरेर बसीरहेका नगरकोटवासीलाई गुणस्तरीय पानी उपलब्ध गराउने गौरवपूर्ण आयोजना समयमै सम्पन्न गर्न सरोकारवालाको सक्रियता निरन्तर जरुरी छ ।