
पटगाउँडाँडा, चलाल÷रिबो बुद्ध पाल्देन छोलिङ गुम्बा बेथान्चोक ४, पटगाउँडाँडामा निर्माणाधीन गुम्बालाई पूर्ण रुपमा सम्पन्न गर्ने तथा विश्व शान्ति एवं समस्त प्राणीहरुको उद्धारको निम्ति बज्रकिलियाको पुजापाठ तथा प्रवचन गरिएको छ ।
धर्मगुरु खेन रिम्पोछे मुन्सेल दोर्जेको प्रमुख उपस्थिति र अन्य लामा गुरुहरु मार्फत बज्रकिलियाको पुजापाठ तथा प्रवचन शुरु भएको छ । पहिलो दिन अति गम्बीर बज्रकिलियाको पुजा तथा साङसेर्केम, दोश्रो दिन अर्थात बैशाख २३ गते क्षाम् नृत्य सहित तोर्दोग पुजा र अन्तिम दिन बैशाख २४ गते रिग्जीन दुईपा पुजा, महाकाल पुजा र होम जिन्सेग पुजा र गुरु रेन्पोर्छेको वङ (अभिषेक) गरिएको छ । प्रत्येक दिन बेलुका समस्त मृतकहरुको उद्धारको लागि सुर र ङा्वा मोलम गरिएको थियो । पुजाको पहिलो दिन प्रदेश सभा सदस्य तथा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेले उद्घाटन गर्दै सबै धर्म र संस्कृतिको संरक्षणले मात्रै ब्यक्तिहरुको हित हुने भएकाले जिल्लाकै महत्व बोकेको गुम्बा निर्माण कार्य सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पहल गर्ने बताए । शान्तिका लागि आयोजना गरिएको उक्त धार्मिक कार्यले समाजमा सबै धर्मको उत्तिक्कै महत्व दर्शाएको बताउँदै प्रदेश सभा सदस्य बादेले बेथान्चोकलाई धार्मिक पर्यटनका हिसावले पनि चिनाउन समन्वय गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकमा आईपरेका विपत्तिहरुको सामना गर्न सक्ने शक्ति प्राप्ति तथा दिवंगतहरुको आत्मा शान्ति र समस्त प्राणीहरुको उद्धारका लागि हरेक क्षेत्रबाट सक्रिय हुनु पर्ने बताए । यस अघि बेथान्चोक गाउँपालिकामा रहेको महादेव मन्दिरमा लगाईको यज्ञ र गुम्बा आयोजना गरिएको बज्रकिलिया लगायतका धार्मिक कार्यक्रमहरुले बेथान्चोकमा विपत्ति हुन नदिन र शान्तिका लागि सहयोग पुग्ने बताए । कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिना, गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्षहरु, पुर्व वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागि थिए । वडा नम्वर ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिनले बेथान्चोक गाउँपालिकाको शान गुम्बा निर्माणले आन्तरिक तथा धार्मिक पर्यटकहरुको संख्या बृद्धी हुने बताउँदै समस्त तामाङ समुदायहरुले मान्ने धर्मको रक्षामा सहयोग पुग्ने बताए । निर्माणाधिन गुम्बालाई संचालनमा ल्याउन विभिन्न क्षेत्रको सहयोग आवश्यक रहेको बताए । कार्यक्रम गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष सङता लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन दिलबहादुर तामाङले गरेका थिए ।
यसरी शुरु भयो गुम्बा निर्माण
२०२२ सालमा छेवाङ लामाको निधन भयो । उनको धर्मपत्नि माईलीमाया तामाङ हुन् । छेवाङले दोश्रो जन्म धार्मिक रुपले अवतारका रुपमा लिनु भएको थियो । सिन्धुपाल्चोक जिल्लाको ह्याङला कोटमा छेवाङको दोश्रो जन्म अवतारका रुपमा भएको उल्लेख छ । त्यतिबेला उनले आफ्नो विषयमा बताएको र त्यो स्थान बेथान्चोक गाउँपालिकाको चलालगणेस्थान स्थित पटगाउँडाँडामा भएको थियो । उनै छेवाङले दोश्रो अवतार लिएको इतिहासलाई जोगाउन र धार्मिक विश्वास बढाउन सोहि स्थानमा गुम्बा निर्माण गरिएको नाती सङता लामाले बताए ।
छेवाङ र माईलीका दुई छोरा पर्ते लामा र अवतार लामा थिए । पर्तेका दुई छोरा सङतान लामा र सुबास लामा छन् । सङता लामाको छोरा बुद्ध लामा लामा छन् । अवतार लामाका छोरा दमाई लामा छन् । दमाईका छोरा नेमा लामा छन् । अवतार र दमाईको निधन भईसकेको छ । उनिहरुको परिवारले आफ्ना नाममा रहेको करिव २ रोपनी जमिन गुम्बाका नाममा उपलब्ध गराए पछि गुम्बा निर्माण कार्य शुरु भयो । गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष त्यहि परिवारका सदस्य सङता लामा छन् । रिबो बुद्ध पाल्देन छोलिङ गुम्बा निर्माण कार्य शुरु भएको छ ।
गुम्बा निर्माण कार्य सकिँदासम्म करिव ५ करोड खर्च हुने अध्यक्ष लामाले बताए । गुम्बा २०५४ सालमा अहिले निर्माण गरिएको भन्दा केहि तल थियो । भुकम्पका कारण उक्त गुम्बामा क्षति पुगे पछि २०७४ सालमा नयाँ गुम्बा निर्माण गर्ने गरी जग्गा उपलब्ध गराएर प्रारम्भ गरिएको थियो । वडा नम्वर ४ का अध्यक्ष लालबहादुर श्रेष्ठले ५ लाख र तत्कालिन प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले १२ लाख ३० हजार रुपैया उपलब्ध गराएका थिए । पुनः वडाबाट १३ लाख ५० हजार प्राप्त भएको थियो । सोहि वर्ष गाउँपालिकाबाट २५ लाख रकम विनियोजन भएको थियो । प्रदेशबाट अर्काे वर्ष १५ लाख र पालिकाबाट २५ लाख रकम विनियोजन भयो । अर्काे वर्ष पनि पालिकाबाट २५ लाख रकम र चालु वर्षका लागि ३० लाख रकम विनियोजन भई खर्च भईसकेको छ । हालसम्म गाउँपालिकाबाट मात्रै १ करोड ५ लाख, प्रदेश सरकारबाट २७ लाख ३० हजार र वडाबाट १८ लाख ५० हजार रुपैया विनियोजन भएको थियो । हालसम्म डेड करोड रकम गुम्बा निर्माणमा खर्च भईसकेको छ ।
नमोबुद्ध पछि जिल्लामा ठुलो र ब्यवस्थित रुपमा निर्माण हुन लागेको बेथान्चोकको गुम्बा जिल्लामा पहिलो भएको अध्यक्ष लामाले बताए । तामाङ समुदाय अनुसारका विभिन्न कृयाकलापका अलावा लामा गुरुहरु अध्ययन गर्ने प्रमुख केन्द्रका रुपमा गुम्बालाई अघि बढाईने उनले बताए ।