
बनेपा/३३ बर्ष अघि स्थापना भएको चैतन्य बहुमुखी क्याम्पसले प्रस्तावित शैक्षिक कार्यक्रमका बारेमा अन्तक्रिया गरेको छ ।
क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष डा.मदनकाजी मानन्धरको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियोे । शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय संचालन गरिरहेको उक्त क्याम्पसले परम्परागत बिषयहरुलाई क्रमश बजारको माग अनुसार बिबिए, बिआईटी र एलएलबीक समेतका विषयहरु थप गरी सञ्चालन गर्ने गरी बागमती प्रदेश विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्न आवेदन दिएको थियो ।
त्रिविको सम्बन्धनमा शिक्षा तथा व्यवस्थापन विषयहरु सहित सामुदायिक क्याम्पसको रुपमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसले नयाँ बिषयमा विद्यार्थी भर्ना गर्न प्रदेश सरकारसँग अनुमति मागेको हो । क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले प्रदेश बिश्वबिद्धालयको आंगिक क्याम्पसका रुपमा समायोजन हुन तथा प्रदेश बिश्वबिद्धालयको आंगिक क्याम्पसका रुपमा संचालन गर्ने उदेश्य, आगामी योजना तथा शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएका थिए । साथै बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा समायोजन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले समायोजन सहितको नयाँ कार्यक्रमका बारेमा सल्लाह सुझाब पेश गरेका थिए ।
कार्यक्रममा अध्ययनरत विद्यार्थी स्ववियू सभापति राजु लामा, पूर्व विद्यार्थी चैतन्य एल्मुनाई एसोसिएसनका सभापति यशकुमार रञ्जित, उप–प्राध्यापक राजेशराज महत, आजाद माबीका प्रधानाध्यापक श्यामकृष्ण मानन्धर, शिक्षा सदन माबिका प्रअ लक्ष्मण दाहाल, स्वेतबाराह माबीका प्रअ डा.श्यामसुन्दर शाह, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, क्याम्पस सभा सदस्य काभ्रे सेवा समाजका पूर्व अध्यक्ष प्रल्हाद के.सी, पूर्व परीक्षा नियन्त्रक (त्रि.वि) दयामान कर्माचार्य, क्याम्पस सञ्चालक संस्थापक सदस्य राजभाई मानन्धर, पूर्व नगर प्रमुख लक्ष्मी नरसिंह बादे लगायतले सुझाव पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कन्चनचन्द्र बादेले जिल्लाको गौरव प्रदेश सरकारको नमुना क्याम्पस बनाउने अवसरलाई सबैले सहयोग गर्नु पर्ने बताए । अध्यक्ष डा.मदनकाजी मानन्धरले सबै क्षेत्रको सहयोग र समन्वयमा थप कार्यक्रम संचालन गर्ने बताए ।