
बनेपा/चण्डेश्वरी जेष्ठ नागरिक आश्रममा चौथो बार्षिक साधारण सभा तथा अधिबेशनबाट पुनः उद्धवप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।
समितिमा उपाध्यक्ष सुरकृष्ण बैद्य र अर्जना चाकुवजी शाह निर्वाचित भएका छन् । समितिको सचिवमा उद्धव आचार्य, कोषाध्यक्ष ग्रुवेन तौजले र सह सचिव मोहनकृष्ण श्रेष्ठ रहेका छन् । कार्य समितिका सदस्यहरुमा रामगोपाल कायश्थ, दिनेशराज कायश्थ, मिनु रञ्जित, धर्मभक्त प्रधान, कमला श्रेष्ठ, धु्रर्वराज कर्माचार्य र प्रताप बैद्य रहेका छन् । निर्वाचन समिति प्रकाश कायश्थको संयोजकत्वमा गठन भएको थियो । उनका अनुसार आवश्यक पदहरुमा एक÷एक जनाको मात्रै उम्मेदवारी परे पछि निर्विरोध निर्वाचित घोषणा गरिएको थियो ।
उक्त समितिले चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको मुलद्वार तथा गणेश मन्दिरको शिलान्यास गरिएको थियो । गणेश मन्दिर निर्माणका लागि तले शैलीमा स्व.पिता बद्रिनाथ नापित र स्व.माता चिरीमाया नापितको स्मृतिमा छोराहरु कुमार सहायक नापित, कुमार सेवक नापित र सगुन नापितले २५ लाख रुपैया सहयोगको घोषणा गरेका छन् । मन्दिर निर्माण सम्पन्न हुँदा लाग्ने सबै खर्च ब्यहोर्ने गरी मन्दिर शिलान्यास गरिएको हो । मुलद्वार निर्माणका लागि बनेपा नगरपालिकाले २० लाख रकम उपलब्ध गराएको छ । जनश्रमदानबाट ३ लाख ५३ हजार ९ सय ३८ रुपेया सहित २४ लाख रुपैयाँको मुल ढोका निर्माण हुनेछ ।
आश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा ब्यवस्थापनसँगै भवन निर्माण कार्य २०८१ बैशाखमा प्रारम्भ गरिएको थियो । चण्डेश्वरी गुठीका नाममा रहेको केहि रोपनी जमिनका मोहिहरुलाई रकम भुक्तानी गर्दै गुठीको जग्गालाई बार्षिक भाडा तिर्ने गरी थप केहि रोपनी जमिन खरीद गरी १५ रोपनी जमिनमा आश्रम निर्माण गर्न लागिएको हो । २०७० सालमा स्थापना गरिएको उक्त संस्थाले झण्डै एक दशक जग्गा ब्यवस्थापन लगायतका कार्यमा समय ब्यतित गरेको छ । आश्रम निर्माणका लागि जग्गा कम्पाउण्ड वाल, मुख्य प्रवेशद्धार गेट, गणेश मन्दिर निर्माण, सिंगल ब्लक भवन ४ वटा, डबल ब्लक भवन ४ वटा, कमन क्लक भवन, मल्टिपरपोज भवन, आध्यामिक भवन जसमा योग सहितका अभ्यास गर्ने सकिन्छ, स्वास्थ्य क्लिनिक, भान्सा घर लगायतका संरचनाहरु निर्माण हुनेछन् ।
दाताहरुको सहयोगमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उक्त आश्रमका केहि संरचनामा समितिले सरकारका निकायको अपेक्षा गरेको छ । ‘केहि संरचना निर्माणमा सरकारका तीन तहकै सरकारको सहभागिता खोजेका छौ––समितिका अध्यक्ष उद्धव तिमल्सिनाले भने–‘बाँकी संरचना निर्माण, जग्गा ब्यवस्थापन तथा त्यसको कार्य संचालनमा समितिले योजना तय गरेको छ । डिपिआर भित्र रहेर आवश्यक संरचना सहितका पुर्वाधार निर्माण गरिनेछ । निर्माण सम्पन्न भए पछि संचालनमा ल्याईने छ ।’ सिंगल ब्लक निर्माणका लागि ३५ लाख रुपैया खर्च हुनेछ । जसमा दुईवटा कोठा हुनेछन् । एट्याच बाथरुम पनि हुनेछ । दाताहरुले एउटा ब्लक बनाएको अवस्थामा दुई मध्ये एउटा कोठा उहाँहरुकै सिफारिसमा प्रयोगमा आउने छ भने अर्काे समितिले ब्यवस्थापन गर्नेछ । कमन ब्लक बाहेकका सिंगल र डबल ब्लकका भवनहरुमा पैसा तिरेर जेष्ठ नागरिकलाई राखिनेछ । कमन ब्लकमा भने १५÷१५ जना महिला र पुरुष राख्न मिल्नेछ । त्यो निशुल्क हुनेछ । डबल ब्लक भवन निर्माणका लागि ७० लाख रुपैया खर्च हुनेछ । जसमा ४ वटा कोठा हुनेछन । आश्रमको कुल क्षमता ५४ जनाको हुनेछ । सबै जेष्ठ नागरिकहरुका लागि सहज हुने गरी निर्माण गरिएका संरचनाको हेरचाह, ब्यवस्थापन, मर्मत सम्भार र नियमित संचालन समितिले गर्ने सह सचिव मोहनकृष्ण श्रेष्ठले बताए । समितिले जग्गा खरिद तथा ब्यवस्थापनका लागि करिव ३ करोड रुपैया खर्च गरिसकेको छ । जसले ब्लक निर्माण गर्छ उसकै नामाकरण गरिनेछ ।