2025 May 14/ 06:50: 00am

धुलिखेल/सरकारी अनुदान प्राप्त गरेका गरिव तथा भूमिहीन घर परिवारले खरको छानो हटाउन तथा नयाँ घर निर्माण गर्न प्राप्त गरेको अनुदान कार्यान्वनयमा जटिलता देखिएको छ । अघिल्लो आर्थिक वर्ष शुरु भएको जनता आवास कार्यक्रम र खरको छाना मुक्त गर्ने सरकारी कार्यक्रम अलपत्र जस्तै भएका छन् । 
    स्थानीय सरकार, प्रदेश र संघ सरकारको कार्यक्रम प्रभावकारी भए पनि कार्यान्वयन फितलो हुँदा जटिलता देखिएको हो । जिल्लाको भुम्लु, चौरीदेउराली र पाँचखाल नगरपालिकामा उक्त कार्यक्रम लागु भए पनि सम्पन्न हुन सकेका छैनन् । खरमुक्त बनाउने अभियानमा आवेदन दिएको तेमाल गाउँपालिकामा अझै कार्यक्रम शुरु हुन सकेको छैन । जनता आवास कार्यक्रमकमा अनुदान प्राप्त गर्ने ३५ घर परिवार र खरको छानो मुक्त गर्ने अभियानमा अनुदान पाउने ६८ घर परिवारले कार्य सम्पन्न नगर्दा चालु वर्ष भुक्तानी गर्नु पर्ने दोश्रो तथा अन्तिम किस्ता रकम अझै भुक्तानी हुन सकेको छैन । चालु वर्षका लागि आएको थप कार्यक्रम अझै शुरु हुन सकेको छैन । 
    जनता आवास कार्यक्रम अन्र्तगत प्रदेश सरकारले जिल्लाको पाँचखाल नगरपालिकामा ३१ परिवार र भुम्लुमा ४ घर परिवारलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा पहिलो किस्ता लिएका घर परिवारले दोश्रो र तेश्रो किस्ता अझै लिएका छैनन । पहिलो किस्ता बापत ७६ हजार ८ सय रुपैया लिएका घर परिवारले घर बनाएर गाह्रो उठाउन थाले पछि दोश्रो किस्ता प्राप्त गर्ने छन् । २ लाख ४० हजार ४ सय रुपैयाँ दोश्रो किस्ता प्राप्त गरे पछि शौचालय सहित छानो छाएको अवस्थामा अन्तिम किस्ता बापत ७६ हजार ८ सय रुपैयाँ उपलब्ध गराउने कार्यविधी छ । कुल ४ लाख रुपैयाँ प्राप्त गर्ने घर परिवारले कन्टिन्जेन्सी खर्च कटाएर ३ लाख ८४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रदेशको कार्यक्रमलाई संघ सरकारले पनि संचालन गरिरहेको छ । प्रति परिवार ३ लाख ५० हजारका दरले उपलब्ध गराउने गरी संघीय सरकारको २७ लाख रुपैया बजेट चालु वर्षका लागि विनियोजन भएको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी हुँदा घर धुरी छनौट भएका छैनन् । चौरीदेउराली र खानीखोला गाउँपालिकाले केहि घर परिवारको नामावली पठाएको छ । कार्यविधी अनुसार ८ घर परिवारलाई मात्रै उक्त रकम उपलब्ध गराउन सकिने सहरी विकास तथा भवन कार्यालय काभ्रेले जानकारी दिएको छ । 
    आवास यूनिट छनौटका लागि २०८१ असार १५ गते सोहि क्षेत्रका प्रदेश सभा सदस्यको संयोजकत्वमा बैठक बसेको थियो । समितिमा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, पाँचखाल र भुम्लु गाउँपालिकाका प्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी, डिभिजन वन, नापी कार्यालय, मालपोत कार्यालय, शहरी विकास तथा भवन कार्यालयका प्रतिनिधिहरु सहभागि थिए । पाँचखाल नगरपालिका वडा नम्वर ३ का ८ घर, वडा नम्वर ५ का ५ घर परिवार, वडा नम्वर ६ का ८ घर परिवार, वडा नम्वर ९ का २ घर, १२ का ६ घर नभएका, घर जग्गा दुबै नभएका, अनाथ बालबालिका लगायत ३१ घर परिवार छनौट गरी अनुदान उपलब्ध गराईएको थियो । भुम्लु गाउँपालिकाका वडा नम्वर १ र ५ मा एक एक घर परिवार र वडा नम्वर ८ का दुई घर परिवार छनौट गरि पहिलो किस्ता उपलब्ध गराईएको थियो । 
    खरको छानो मुक्त कार्यक्रम अन्र्तगत चौरीदेउराली गाउँपालिकाका ५६ घर र खानीखोला गाउँपालिकाका १२ घर परिवारले ३०÷३० हजार रकम प्राप्त गरेका थिए । दोश्रो तथा अन्तिम किस्ता बापत प्राप्त गर्ने ३० हजार रकम अझै भुक्तानी भएको छैन । चालु वर्षका लागि प्राप्त १ करोड बजेट नयाँ घर परिवार छनौट हुन नसक्दा भुत्तानी हुन सकेको छैन । जिल्लाका तीनवटा गाउँपालिकामा रहेका खरको छानो भएका घरमा जस्तापाता राख्ने गरी सरकारले कार्यक्रम ल्याएको थियो । तीन मध्ये तेमाल गाउँपालिकाले विवरण नै नबुझाएकाले दुई वटा पालिकामा मात्रै उक्त कार्यक्रम संचालन भएको थियो । 
    नेपाल सरकारको विशेष अनुदानमा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्र्तगत गत आर्थिक वर्षमा तीन वटा स्थानीय तहमा रहेका खरका छानो हटाई जस्तापाताको छानो राख्ने गरी तयारी गरिएको थियो । तेमाल गाउँपालिका भित्रका ८७ घरधुरी, खानीखोला गाउँपालिकाका ५७ र चौरीदेउराली गाउँपालिकाका ५२ घरधुरीमा रहेको खरको छानो रहेको प्रारम्भिक तथ्यांक बुझाईएको थियो । खरको छानो प्रयोग गरेका घरधनीले जस्तापाताको छानो हालेपछि एउटा घरमा जस्तापाताको छानो हाले वापत सरकारले तोकेको ६० हजार रुपियाँ नगद उपलब्ध गराइनेछ । काभ्रेमा खरको छानो हटाउनका लागि कार्यालयमा एक करोड १७ लाख ६० हजार रुपियाँ बजेट निकाशा भएको थियो । 
    जिल्लाको चौरीदेउराली गाउँपालिकाको वडा नम्बर २ र ३ मा ३÷३ घर, वडा नम्बर ५ मा १० घर र वडा नम्बर ७ मा ४० वटा खरको छानो भएका घरहरु रहेको बताईएको थियो । कुल ५६ घर परिवारले ३०÷३० हजार रकम प्राप्त गरिसकेको भए पनि छानो परिवर्तन गरिसकेका छैनन । खानीखोला गाउँपालिकाको वडा नम्बर ४ मा नौ, वडा नम्बर ५ मा ३८ घर र वडा नम्बर ६ मा दश घर रहेको तथ्यांक भए पनि जम्मा १२ घर परिवारले मात्रै ३०/३० हजार रकम प्राप्त गरेका छन् । तेमाल गाउँपालिकाको वडा नम्बर ४ मा २९ घर, वडा नम्बर ५ मा चार घर, वडा नम्बर ६ मा १६ र वडा नम्बर ८ मा ३८ घरधुरीमा खरको छानो रहेको विवरण भए पनि खरको छानो हटाउन रकम प्राप्त गर्न सकेका छैनन । शहरी विकास तथा भवन कार्यालयले अनुगमन पछि स्वयं ब्यक्तिको खातामा रकम जम्मा गरिदिने बताएको छ । कार्यालयका सूचना अधिकारी सुनिलराज पाण्डे र इन्जिनियर दिनेश पण्डितले स्थानीय तह मार्फत निर्माण गरिएका उक्त कार्यक्रमहरु अनुगमन र भुक्तानीका लागि निरन्तर ताकेता भईरहेको बताए ।