
पनौती/पनौतीमा स्थानीय तह शिक्षा समुह गठन तथा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक विपिन लामा, नगरपालिका अन्तर्गत विभिन्न शाखाका प्रमुख, युनिसेफ, नेपाल शिक्षा समुह, एनएसईटी लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रममा युनिसेफ अन्तर्गत परियोजनाका शिक्षा अधिकृत गणेश वि.क,इन्जिनियर निकेश भण्डारी, समन श्रेष्ठले विपद् अघिको पुर्वतयारी, विपद्को समयमा गर्नुपर्ने कार्य र विपद् पश्चातको सुरक्षा, प्राथमिकतामा राख्नुपर्ने विषय र रणनितीक योजनाका बारेमा जानकारी गराएका थिए ।
स्थानीय तह शिक्षा समिति गठन पछिको यो पहिलो अभिमुखीकरण कार्यक्रम हो । यसअघि विपदबाट शिक्षा क्षेत्रमा पर्ने प्रभावलाई व्यवस्थापन गर्न स्थानीय तह शिक्षा समुह गठन गरिएको थियो । विपद पुर्व तयारी तथा प्रतिकार्यका लागि उप–प्रमुख गिता बञ्जाराको संयोजकत्वमा शिक्षा समुह गठन गरिएको हो । समुहमा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, स्वास्थ्य शाखा प्रमुख जनक केसी, श्वेत गणेश आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद खत्री, भालेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसी, इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल केसी, पनौती आधारभुत विद्यालयका प्रधानाध्यापक राजन कर्माचार्य, संस्थागत विद्यालयतर्फ सिद्धार्थ वनस्थली इन्टिच्युटबाट रेश्मा थापा, नेपाल रेडक्रस सोसाइटीका स्थानीय प्रतिनिधि मुकुन्द अर्याल, अपांग महासंघ स्थानीय प्रतिनिधि ललिता कर्माचार्य, पत्रकार महासंघबाट विकास तिमल्सिना, स्थानीय शिक्षासँग सम्बन्धी संस्थाको तर्फबाट आरसीएफ नेपालका श्रीकृष्ण थाापा र सिविनबाट भगवती श्रेष्ठ सदस्य रहेका छन् ।
बागमती बाढी प्रतिकार्य कार्यक्रम अन्तर्गत युनिसेफ, नेपाल शिक्षा समुह र एनएसईटीको सहकार्यमा शिक्षा समुहले कार्य गरिरहेको छ । गत असोजको बाढीपहिरोबाट पनौती अतिप्रभावित भएको छ । पनौती नगरपालिका–२ मा रहेको फुलचोकी र वडा नम्बर १२ मा रहेको इन्द्रादेवी आधारभुत विद्यालयमा सिकाई सहजीकरणका लागि अस्थायी सिकाई केन्द्र निर्माण भइरहेको छ । कार्यक्रममा उप–प्रमुख बञ्जाराले बाढीपहिरोले क्षति प¥ुयाएका विद्यालयको संरचना निर्माणका लागि रणनीतिक योजना निर्माण गरिरहेको बताइन् । सबैको साझा प्रयासले मात्रै विपद सामना गर्न सकिने भन्दै सबैलाई सहयोगको अह्वान गरेकी छन् । यस्तै नगरपालिकाका निर्देशक प्रणराज न्यौपानेले विभिन्न संघ संस्थाको सहयोगमा विद्यालय पोशाक, स्टेशनरी, मनोसामाजिक परामर्श विद्यार्थीलाई दिइएको बताए । कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत पुष्पा अर्याल, महेश्वर जंगम, महिला बालबालिका शाखा प्रमुख लक्ष्मी पोखरेल, बालमैत्री स्रोत व्यक्ति केशव बञ्जाराले विपद्पछि विद्यालय र बालबालिकाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
काभ्रेमा पनौती नगरपालिका, नमोवुद्ध नगरपालिका, रोशी गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा परियोजना सञ्चालित छ । विद्यालयस्तरको सिकाइलाई नियमित तथा भरपर्दो किसिमबाट सञ्चालन गर्न, विपदको प्रभाव व्यवस्थापन गर्न, अपतकालिन अवस्थामा पठनपाठनलाई नियमित र निरन्तरता दिई शेक्षिक उपलब्धी हासिल गर्न शिक्षा समुहले कार्य गर्नेछ । यस्तै विद्यालय शिक्षाको सुधारका लागि आवश्यक सहजीकरण समेत शिक्षा समुहले गर्नेछ । विभिन्न क्षेत्रसँगको समन्वयमा शिक्षण सिकाई वृद्धिका लागि समुहगत रुपमा यो समुहले काम गर्नेछ । शिक्षा समुहले अन्तर विषयगत समन्वय र सहकार्य गर्नेछ । जोखिम र क्षमता विश्लेषण, स्रोतसाधनको आदान–प्रदान, विपद सामना गर्न सम्बन्धीत तहमा क्रियाशिल विभिन्न तहसँग समन्वय र सहकार्य गर्नेछ । विपद्को पुर्व तयारीका कार्य अन्तर्गत पुर्वाधार र संरचना, क्षमता विकास, सचेतना, योजना निर्माण विपद् पश्चातका प्रतिकार्यका लागि यो समुहले गर्नेछ ।