2025 February 10/ 01:54: 47am

    धुलिखेल/संजिवनी नमुना माध्यमिक विद्यालय ७५ औ बार्षिकोत्सव समारोह धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा विद्यालय ब्वस्थापन समितिका अध्यक्ष बेदप्रसाद कोँजुको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल अन्तराष्ट्रिय स्तरमा चिनिएको शहर भएकाले स्वास्थ्य सँगै शिक्षालाई समेत गुणस्तरीय र बैज्ञानिक बनाउन सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताए । जिल्लाको मात्रै नभई राष्ट्रकै नमुना संजिवनी माध्यमिक विद्यालयको भवन उद्घाटनका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थिती सँगै विद्यालयले लिएका शैक्षिक गुणस्तरका कार्यक्रमहरुको प्राथमकितालाई नगरपालिकाले सदैव सक्रियता देखाएको नगर प्रमुख ब्याञ्जुले बताए । १ हजार १ सय ३ जना बालबालिकाहरु अध्ययन गरिरहेको उक्त विद्यालयको बार्षिकोत्सवको अवसर पारी विद्यार्थीहरुले पढाईसँगै सिकेका विषयहरुको प्रर्दशनी गरेका थिए । विज्ञान विषयका १८ वटा स्टल मार्फत विद्यार्थीहरुले अलग अलग विषयलाई प्रस्ट बनाएका थिए । स्मार्ट सिटी, त्यसको परिकल्पना तथा त्यहाँ हुने पूर्वाधार तथा सुविधा, ग्रिन, क्लिन इनर्जी, शहरको सरसफाई विद्यालय भवन तथा हाईड्रोपावर लगायतका विषयहरु प्रर्दशनीमा देखाएका थिए । 
    सञ्जिवनी विद्यालयमा ईसिडी देखि कक्षा १० सम्म ८ सय ४७, कक्षा ११ र १२ मा २ सय २६ जना र प्राविधिक तर्फ ३० गरी १ हजार १ सय ३ जना अध्ययनरत छन् । विद्यालयका नाममा ५० रोपनी भन्दा धेरै जमिन छ । ९ वटा ब्लकमा ३२ वटा कक्षाकोठा छन् । ३ सय भन्दा फर्निचर सहित सुविधायुक्त कक्षा कोठाहरु उपलब्ध छन् । विज्ञान प्रयोगशाला, जीवन विज्ञान प्रयोगशाला, प्राविधिकधारको प्रयोगशाला, ब्यवसायीक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, ईपुस्तकालय, आईसिटी ल्याव लगायतका पूर्वाधारहरु छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये २.८ प्रतिशत औषत उर्तिण भएका छन् । विद्यालयले बार्षिक ४ करोड ५६ लाख ७१ हजार २ सय ८९ रुपैयाको आय ब्यय गरेको छ । 
    कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, विभिन्न क्षेत्रका ब्यक्तिहरु, पुर्व प्रधानाध्यापकहरु, शिक्षकहरु, चन्दादाता तथा सहयोगीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पुर्व विद्यार्थीहरु, अभिभावकहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।