
धुलिखेल/माघ महिना अत्याधिक चिसो र कठ्याङ्गग्रिंदो हुन्छ भन्ने अघिल्ला वर्षहरुको भोगाई यो वर्ष जलवायु परिवर्तनका कारण चिसो माघमा दनदनी आगो बल्न थालेको छ । माघ ८ गते शुरु भएको खानीखोला र बेथान्चोक गाउँपालिका भित्र पर्ने महाभारत जंगलमा लागेको आगो निभाउन हेलिकप्टरको समेत प्रयोग गरियो । तर पनि आगो नियन्त्रणमा आउन कठिन भयो ।
महाभारत जंगलमा आगो फैलँदै थियो । यता धुलिखेल नगरपालिका वडा नम्वर ९ काभ्रे भन्ज्याङ्गमा फर्निचरमा लागेको आगोमा परेर ७० बर्षिया महिलाको ज्यान गयो । अघिल्लो वर्ष जिल्लाका अधिकांश वन तथा धेरै नीजि पाखामा आगोलागी भए । रोशी गाउँपालिकामा बस्ति नै सखाप भए । आगो लगाउने ब्यक्तिको पहिचान गरेर प्रहरीले मुद्दा दर्ता ग¥यो । आफ्नै सम्पत्ति नस्ट हुँदा पनि क्षतिपुर्ति समेत बुझाउन कठिन अवस्थामा आरोपित धरौटीमा रिहा भए । यो वर्ष फागुन पनि शुरु नहुँदै भएको आगलागीका घटना वर्षातको मनसुन भन्दा पनि खतरनाक र भयानक हुने संकेत मौषम परिवर्तनका कारण देखिन थालेको छ । जाडो महिनामा भत्तभत्ति पोल्ने घाम, बाक्लो जंगल र जंगल भित्रका बुट्यान आगलागी फैलनुका मुख्य कारण देखिएको छ ।
धुलिखेल ९ काभ्रेभञ्ज्याङ्गमा ५२ बर्षिय श्यामप्रशाद दाहालले सञ्चालनमा ल्याएको एक तले जस्ताले बनेको दाहाल फर्निचर उद्योगमा बिजुली सर्ट भई आगलागी हुदाँ सोहि स्थानका कृष्ण बिकको एक तल्ले कच्ची ढुङगा माटो जस्ताले बनेको घर आगो सल्किन पुग्यो । फर्निचरमा काम गर्ने कामदार काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका बस्ने ७३ बर्षीय तोयानाथ दंगाल बेहोस भए । उपचारका लागि धुलिखेल अस्पताल पु¥याईयो । उनको श्रीमती ७० बर्षिया टिकादेवी दंगालको भित्रै जलेर निधन भयो । सँगै रहेको ४२ बर्षिय धुर्वबहादुर बिकको जस्ताले बेरेको जस्ताले छाएको एक तले टहरो आगलागिबाट जोगाउन सेना र प्रहरी तथा स्थानीयको सहयोगले भत्काईएको थियो । एसपी बसुन्धरा खड्काको नेतृत्वमा ४० प्रहरी, सशस्त्र प्रहरीका युवराज कार्कीको कमाण्डमा ११ जना, नेपाली सेनाका लप्टनको कमाण्डमा २५ जनाको टोली खटी गई संयुक्त टोलीद्धारा दमकलको सहयोगमा चार घण्टा पछि आगो नियन्त्रणमा लिईएको थियो । आगलागीबाट फर्निचरको ८० लाख बराबरको क्षति भएको छ भने कृष्ण बिकको घरको ७ लाख बराबरको क्षति भएको छ । धुर्वबहादुर बिकको टहराको ३ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
खानीखोला गाउँपालिका वडा नम्बर १ को जंगलमा लागेको डढेलो बेथानचोक गाउँपालिका वडा नम्वर ३ स्थित नारायणस्थान सामुदायिक बन र सोहि गाउँपालिकाको वडा नम्वर २ मा रहेको जनजागृति सामुदायिक बन, वडा नम्वर ५मा रहेको चिसापानी सामुदायिक बनमा आगो फैलिएको थियो । डढेलो नियन्त्रणको लागि जिल्ला बन कार्यालय काभ्रेबाट अधिकृत चिमकाजी श्रेस्ठको नेतृत्वमा प्रहरी र वन प्राविधिकहरु खटिएका थिए भने स्थानीय तहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना सहित वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र सामुदायिक वनका उपभोक्ताहरु खटिएका थिए । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको स्थानमा २४ पटक पानी राखेर आगो आंशिक रुपमा नियन्त्रणमा लिएको थियो ।