2025 February 10/ 03:50: 15am

    बनेपा/बनेपाका रोमियो श्रेष्ठ १० वर्षको उमेर देखि मृगौला रोगका कारण पीडित छन् । आमा गंगा श्रेष्ठले १२ वर्षको उमेरमा आफ्नै मृगौला दिएर नयाँ जीवन पाएका रोमियोलाई मृगौला फेरेको १२ वर्ष नपुग्दै समस्या देखियो । 
    ‘अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली स्वंय पनि मृगौला रोगका कारण पटक–पटक स्वास्थ्य समस्यामा पर्नु भएको छ’–मृगौला पीडित रोमियोेले भने–‘सरकारले हामी जस्ता विरामीहरुका लागि नेपालमा नै निःशुल्क उपचारको ब्यवस्था मिलाई दियो भने बाँच्ने र केहि गर्ने उर्जा प्राप्त हुने थियो ।’ सानैदेखि ब्यवस्थापन विषयमा रुची राख्ने रोमियोले ब्याचलर तहको अध्ययन सकाएका छन् । बनेपाको सिद्धार्थ एकेडेमीमा अध्ययन गरेका रोमियोको उपचारका लागि परिवारले भएको सबै सम्पत्ति विक्री गरिसकेको छ । ‘बाबुको उपचारमा १७ वर्षसम्ममा १६ करोड भन्दा धेरै सम्पत्ति सकियो । अहिले भएका घर र अन्य सम्पति विक्री गरेर बहालमा बसिरहेका छौं–आमा गंगा श्रेष्ठले भनिन्–‘छोरा रोमियो बचाउन १० वर्षको उमेर देखि नियमित उपचारमा सक्रिय भएका छौं ।’ नेपालमा मृगौला प्रत्यारोपण गर्ने अवस्था थिएन । भारत गएर मृगौला प्रत्यारोपणमा भोगेका समस्या तथा त्यहाँको अवस्था सम्झँदै गंगाले भनिन्–‘मेरो छोरा बाँच्छ भने आफ्नै मृगौला किन नदिने ? मैले १५ वर्ष अघि आफ्नै मृगौला दिएर रोमियोलाई बचाएँ ।’ 
    रोमियोको मृगौला प्रत्यारोपणसँगै नयाँ जीवन प्रारम्भ भयो । मृगौलामा समस्या देखिएका २ वर्ष औषधी सेवन गराईएको थियो । १२ वर्षको उमेरमा मृगौला प्रत्यारोपण पछि उनि नियमित अध्ययनमा सक्रिय भए । +२ अध्ययन गर्दा गर्दै उनि अनलाईन काममा संलग्न भए । केहि महिना उनले अनलाईन मार्फत मासिक ३०÷३५ हजारसम्म आम्दानी गरे । नियमित औषधी सेवन गर्नु पर्ने परिस्थितीलाई उनले कम गराउँदै लगेका थिए । पुनः ३ वर्ष अघि उनलाई फेरी मृगौलामा समस्या देखियो । गरिरहेको काम पनि गर्न सकेनन् । नियमित डाईलोसिस र औषधीका कारण उनीमा स्फुर्ति भए पनि सक्रिय हुने शक्ति छैन । ‘मृगौला प्रत्यारोपण हुन सक्यो भने सिए अध्ययन गरेर बैंकमा काम गर्ने चाहना छ’– रोमियोले भने–‘डाईलोसिस गर्न भारतबाट पानी ल्याउनु पर्छ । पानीका लागि मासिक ४५ हजार खर्च हुन्छ । ७० प्रतिशत मात्रै सरकारले उपलब्ध गराउँछ । बाँकी रकम विरामी आफैले खर्च गर्नु पर्ने बाध्यता छ ।’ डाईलोसिससँगै खरिद गर्नु पर्ने औषधी पनि महङ्गो छ । स्वास्थ्य बीमा भए पनि औषधी मृगौला पिडीतका लागि हुने खालको नभएको उनले बताए । 
    मासिक ४५ हजार भन्दा धेरै खर्च हुने रोमियोले बताए । गंगाका दुई सन्तान छन् । उनि कान्छो छोरा हुन् । उपचारका लागि परिवारले सकेको सहयोग गरेको भए पनि रकम अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको रोमियोले बताए । दाता तथा सरकारका निकाय र सहयोगीहरुका लागि मृगौला प्रत्योरोपणका लागि सहयोग गरिदिन रोमियोले अनुरोध गरे । रोमियोले सहयोग गर्न चाहनेहरुका लागि ९८४१६५४३७० नम्वरको मोवाईलमा सम्र्पक गर्न तथा राष्ट्रिय बाणिज्य बैक टेकु शाखाको १७००१०००१३०९५०१० नम्वरमा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।