2025 January 24/ 06:12: 28pm

    धुलिखेल/लैङ्गिक हिंसामा अधिकांश घटनामा श्रीमान् संलग्न हुने गरेको पाईएको छ । प्रहरी तथा अदालतको तथ्यांकले हिंसाका घटनामा महिलाका तुलनामा पुरुषहरु ९६ प्रतिशतले अघि रहेको देखिएको छ । 
    हरेक वर्ष मनाईने १६ दिने अभियानका क्रममा लैङ्गिक हिंसाका घटनामा विश्लेषण हुने गरेको छ । यो वर्ष पनि मंसिर १० गते देखि लैङ्गिक हिसा विरुद्धका अभियान मनाउन शुरु गरिएको छ । जिल्लाका १३ वटै पालिकाले १ सय ३५ वटै वडामा विभिन्न गतिविधि मार्फत लैङ्गिक हिंसा विरुद्धका गतिविधि संचालन गरिरहेका छन् । महाभारत गाउँपालिका विद्यालयहरुमा विद्यार्थीहरुले सचेतनामुलक कार्यक्रम गरेका छन् । गाउँपालिकाले पनि सोहि अभियानलाई टोल टोलमा सचेतिकरण गराईरहेको अध्यक्ष कान्छालाल जिम्बाले बताए । 
    आर्थिक वर्ष २०८०/०८१ मा श्रीमान्बाट मात्रै जिल्लामा १ सय २५ वटा हिंसाका घटना भए । सासु÷ससुराबाट १६ वटा, देवर÷जेठाजुबाट १३ वटा, छोरा÷नातीबाट १० वटा, श्रीमतीबाट ११ वटा र अन्य ११ वटा उजुरी दर्ता भएका थिए । तीन वर्षको अवधीमा श्रीमानबाट हिंसामा पर्ने महिलाहरुको संख्या ६ सय ९ वटा रहेका छन् । आर्थिक वर्षका चार महिनामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक जिल्लामा लैङ्गिक हिंसाका ७२ वटा उजुरी दर्ता भएका छन् । सबै भन्दा धेरै श्रावण महिनामा ३२ वटा उजुरी दर्ता भए भने असोज महिनामा सबै भन्दा कम ६ वटा उजुरी दर्ता भए । कार्तिक महिनामा चार वटा जर्बजस्तिकरणीका घटना दर्ता भएका छन् । ७२ वटा उजुरी मध्ये ६२ वटा मिलापत्र भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रयास भए पनि घटनाहरु बढिरहेको बताईन् । तीन वर्षको अवधीमा श्रीमतीबाट हिंसामा पर्नेहरुको संख्या ६८ रहेको छ । पुरुषहरु महिलाबाट पीडित भएको उजुरी लिएर आउने क्रम  बढिरहेको छ । तीन वर्षको अवधीमा घरेलु हिंसाका ६ सय ४५ वटा घटना भएका छन् । प्रहरीमा दर्ता भएका उजुरीका आधारमा ३ सय वटा मानसिक, १ सय ८८ वटा शारिरीक र ८७ वटा आर्थिक छन् । ४८ वटा यौनजन्य छन् । अन्य २२ वटा छन् । 
    प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा मानव वेचविखनका रहेका २ जनालाई पुनःस्थापना गरेको छ । अलपत्र परेका २४ को उद्धार गरेको छ । जर्बजस्ति करणीमा परेका ३ जनाको पुनःस्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी निरीक्षक सरस्वती कार्कीका अनुसार जर्बजस्तिकरणीमा जाहेरी दर्ता गर्ने क्रम बढेको छ । गत वर्ष ४९ वटा जाहेरी दर्ता भए । अघिल्लो वर्ष ३७ वटा दर्ता भएका थिए । उद्योगमा ३ वटा दर्ता भएका थिए । बाल यौन दुरुपयोगमा २९ वटा जाहेरी दर्ता भए ।