राष्ट्रिय जनगणना २०७८ ले गरेको विश्लेषण
धुलिखेल/राष्ट्रिय जनगणना २०७८ ले सङ्कलन गरेको घरको बनोट संरचना र किसिम (जग, पर्खाल, छानो, भुई आदि), खानेपानीको मुख्य स्रोत, खाना पकाउन र बत्ती बाल्न प्रयोग हुने इन्धन, शौचालयको सुविधा र अन्य घरायसी सम्पत्तिको आधारमा देशका विभिन्न भू–भागमा बसोबास गर्ने परिवारलाई पाँच वरावर भागमा विभाजन गरी सम्पन्नताको पन्चमक (Wealth Quintile) निर्धारण गरिएको छ । यसरी सूचक निर्माण गर्दा घरायसी उपभोग, साधन तथा सुविधामा न्यून पहुँच भएका पहिलो (तल्लो २० प्रतिशत) वर्गमा र साधन तथा सुविधामा सहज पहुँच रहेका परिवार पाँचौ (माथिल्लो २० प्रतिशत) वर्गमा पर्ने गरी गरिएको छ ।
उक्त वर्गिकरणले देशका सवै परिवारलाई समान २० प्रतिशतमा विभाजन गर्ने हुनाले तल्लो देखि माथिल्लो तहसम्मका पाँचै भागमा २० प्रतिशत नै परिवार भएको देखिन्छ । समग्र देश भरिका परिवारलाई समान पाँच भागमा वितरण गर्दा काभ्रेपलाञ्चोक जिल्ला तथा पालिकामा भएका घर परिवार कुन तहमा रहेका छन् र तीनको वितरण कस्तो छ ? विश्लेषण गरिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा न्यून आर्थिक अवस्था भएका तल्लो वर्गमा १५.७ प्रतिशत परिवार रहेका छन् भने माथिल्लो वर्गमा १८.२ प्रतिशत परिवार रहेका छन् । मध्यम वर्गमा २२.०१ प्रतिशत परिवार रहेको देखिन्छ ।
पालिकागत रुपमा न्यून आर्थिक अवस्था भएको परिवार सवैभन्दा धेरै खानीखोला गाउँपालिकामा ४२.८ प्रतिशत रहेको देखिन्छ भने त्यस पछि क्रमशः भुम्लु गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिकामा ३७.७ %, ३७.६ %, ३२.५ % परिवार रहेको देखिन्छ । सबै भन्दा कम बनेपा नगरपालिकामा २.२३ %, धुलिखेल नगरपालिकामा ५.४८ %, पनौती नगरपालिकामा ५.७६ प्रतिशत, मण्डन देउपुर नगरपालिकामा ८.६७ %, पाँचखालमा ९.१५%, अनि न्यून आर्थिक अवस्था भएका पालिकामा चिनिन्छन् । माथिल्लो वर्गमा सवैभन्दा धेरै परिवार वनेपा नगरपालिका (४३.७ प्रतिशत) रहेको छ भने त्यस पछि धुलिखेल नगरपालिका ३०.३ प्रतिशत, पनौती नगरपालिका २७.२ प्रतिशत तथा पाँचखाल नगरपालिकामा १८.१ प्रतिशत रहेको देखिन्छ ।