धेरै पटक मलाई बुबाले प्रहरी कार्यालयबाट जमानीमा लैजानु भयो । मैले बुबालाई पटक–पटक दुःख दिएको थिएँ । तर पनि उहाँले मलाई कहिल्यै दुःख दिनु भएन । उहाँले मैले दिएको दुःख पनि विर्सनु भयो । सन्तानको माया अभिभावकलाई कति कति । तर सन्तानले कहिल्यै अभिभावकको माया बुझ्न सक्दा रहेनछन् । मेरै कारण मेरो श्रीमती र बच्चाहरु मसँग बस्न सकेनन् । बुबाले नै उनिहरुको सुरक्षाका लागि बनेपामा डेरा खोजेर राखिदिनु भएको थियो । उनिहरु जहाँ भए पनि मैले दुःख दिएरहें ।
यस्ता पनि सन्तान हुन्छन् ? सन्तानका नाममा पापी । दुष्ट । हत्यारा । आवारा । जे शब्दले भने पनि ब्याख्या गर्न सम्भव थिएन । छैन । अहिले पनि मेरो मनले भनिरहेको छ म हत्यारा हुँ । जन्म दिने बाबुको हत्या गर्ने सन्तानलाई के भन्ने ? मैले कार्तिक १० गते बुबाको हत्या गरेको सात दिन नवित्दै मेरो छिमेकी गाउँपालिका रोशीमा सन्तानले आमा मारेछन् । हामीलाई कलि लागेको हो कि ? समयले कलि लागेको आभाष दिएको हो ? अभिभावकबाट सन्तान असुरक्षित हुने अवस्था र सन्तानबाट अभिभावक असुरक्षित हुने अवस्था कसरी सिर्जना भयो ? समाज कता जाँदै छ । सन्तान सहित आत्महत्या गर्ने अभिभावकहरु पनि छन् । सन्तानको पर्खाईमा रहेका अभिभावकहरुले त्यो खालको ब्यहोरा भोग्नु पर्ने कहिल्यै सोचेका होलान् र ? भयो यस्तै । यस्तै देखिन थालेका छन् घटनाहरु । यि घटनाहरुले समाजको रुप देखिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्ला केहि घटनाहरुमा मानवता मेटाउँदै चिनजान र परिवारका सदस्यबाट निशंश, पासविक र जघन्य हत्याका घटना हुन थालेको पुष्टि भएको छ । अझै केहि घटनामा संलग्न ब्यक्तिको पहिचान हुन सकेको छैन । हरेक दिन झै त्यसदिन पनि मैले मादक पदार्थ सेवन गरेको थिएँ । घरमा बुबा र म मात्रै थियौं । चाडपर्वको पुर्वसन्ध्या थियो । मैले मेरो नाममा जग्गा पास गरिदिनु भन्दै बुबालाई कचकच गरिहेको थिएँ । घरमा दुई भाईहरु थिएनन् । मेरो श्रीमती र छोराछोरी बनेपामा भएकाले परिवारसँग भएको महसुस भएको थिएन । त्यहि घटनाले मलाई हरेक दिन तनाव दिईरहन्थ्यो । मानसिक रुपमा विक्षिप्त थिएँ । त्यहि विक्षिप्तपनले मैले मापसे गर्ने गरेको थिएँ । त्यहि मापसेपनले मलाई हत्यारा बनायो ।
त्यसदिन मलाई दशाले घेरिरहेको थियो । बाबुको पनि काल आएको रहेछ । शुरुमा मैले बुबालाई अंश मागें । दुई भाई पनि फर्किए पछि अंश दिने बताउनु भएको थियो । मलाई तत्कालै अंश लिएर आफुखुशी गर्नुपर्ने थियो । मेरा रहर धेरै थिए । रहर पूरा गर्न आफु पनि केहि गर्न सकेको थिईनँ । बाबुले पनि अंश दिएका थिएनन् । घरमा आउँदा बुबाले मलाई किन ढिला आएको, रक्सी नखानु, घर परिवार पनि हेर्नु भनेर सम्झाउँदै हुनुहुन्थ्यो । मलाई रिस उठिरहेको थियो । बुबाले भनेको मानिन् । एक्कासी नजिकै खुर्पा रहेछ । उचालेर गएँ । बुबा डराएनन् । सायदै मैले हान्दैन भन्ने लाग्यो होला । एक पटक हानें । उहाँले ऐया मात्रै भन्नु भयो । मैले फेरी हानें । अंश दिने कुरा नै गर्नु भएन । सम्पत्ति नपाउने भए पछि किन बाँकी राख्नु भन्ने लाग्यो । फेरी अर्काे पटक बजारें । बुबालाई केहि भएन । तत्कालै खाटमा उठाएर ल्याएँ । अझै केहि भएन । सँगै रहेको गलले टाउकोमा बजारें । ऐया ऐया भन्दा भन्दै रगत बग्न थाल्यो । घरको मजेरीमा छाडेर म भागें ।
भागेर घर नजिकैको जंगलमा पुगेको थिएँ । बाबु मरेनन् जस्तो लाग्यो । फेरी घर फर्किएँ । बुबा ढलिरहेका थिए । तत्कालै बोकेर खाटमा राखिदिएँ । सिरक ओढाई दिएँ । बोल्न नसक्ने दिदी घरमा सुतिरहेकी थिईन् । उनले त्यो घटना देखेको थिईनन् । मैले सुताई दिएर हिडे पछि तिनले चाल पाईन क्यार । कराउन सक्दिनन् थिईन् । त्यतिबेला बाबु मरेका रहेछन् । म अनि नर्फकने गरी भागें । रातभर त्यतै लुकें । अनि गाउँघर हल्ला फैलियो । बाबु मारेर छोरा बेपत्ता भयो । दिदीले छिमेकीहरुलाई खबर गरिन् । दाजुहरु पनि आए । प्रहरी पनि आयो । शबलाई पोस्टमार्टका लागि धुलिखेल लगेछन् । केहि दिन पछि अन्त्येष्टि पनि भएछ । उता मलाई खपिनसक्नुको औडाहा भएको थियो । मैले बाबुलाई किन मारे ? जसले मलाई पटक–पटक प्रहरीको पञ्जाबाट फुत्काएर ल्यायो । आफुले कुटाई खाँदा पनि सन्तानलाई जेल राख्नु हुँदैन भन्यो । उसैलाई मार्न म पटक–पटक किन तम्सिएँ होला ?
भोलिपल्ट देखि मलाई डर लाग्न थाल्यो । मैले केहि दिन देखि पानी बाहेक केहि खाएको थिईन् । एक दिन सुनसान भएकाले नजिकैको गोठमा पुगें । त्यहाँ राखेको लाईटर र मकै ल्याएँ । पोलेर खाएँ । १४ दिनसम्म म त्यसरी नै लुकें । खोलाको पानी खाएँ । मकै खाएँ । अनि रातभर सुतें । मनमनै मलाई पक्राउ गरे पनि हुने भन्ने लागेको थियो । तर किन पक्राउ पर्नु ? मलाई डर धेरै लागेको थियो । डर भगाउन पनि मैले केहि न केहि गरिरहेको थिएँ । वडा अध्यक्ष, स्थानीय र प्रहरीको सहयोगमा मलाई १४ दिन पछि पक्राउ गरियो । मैले सहजै पक्राउ दिएँ । भएको सबै घटना विवरणका बारेमा समेत भनिदिएँ । यता प्रहरीले पत्रकार सम्मेलन गरेको रहेछ । पत्रकार सम्मेलनमा मलाई अनुुहार छोपेर देखाईएको थियो । त्यहाँ भनियो – ‘बाबुलाई खुर्पा र गलले हानेर मारी फरार भएका छोरालाई प्रहरीले १४ दिन पछि नियन्त्रणमा लिएको छ । २०८१ कार्तिक १० गते नमोबुद्ध नगरपालिका ७ पुजारी टापु बस्ने ७४ बर्षीय बलबहादुर श्रेष्ठलाई उनकै जेठा छोरा ४५ बर्षीय रामलाल श्रेष्ठले हत्या गरी फरार भएका थिए । वडा अध्यक्ष धर्मसिं लामाका अनुसार बाबुको हत्या गरी फरार भएका रामलाल श्रेष्ठलाई प्रहरी र स्थानीयहरुले उनकै घर नजिकै जंगलबाट ढोडको थुप्रोमा लुकेर बसेको अवस्थाबाट नियन्त्रणमा लिएको हो । उनको खोजीमा जिल्ला प्रहरी कार्यालय कार्यालय काभ्रेले प्रहरी टोली परिचालन गरेको थियो । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी भकुण्डे लगायतबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उत्कृष्ट अनुसन्धानकर्ता प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वको टोलीले रामलाल श्रेष्ठलाई सोहि स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।’ २०८१ कार्तिक २३ गते साँझ मलाई पक्राउ गरिएको थियो । वडा अध्यक्ष धर्मसिं लामाले पनि मलाई ‘खोज्न मान्छेहरु लगाएका रहेछन । हरेक दिन मादक पदार्थ सेवन गरी बाबु र श्रीमतीलाई समेत दुःख दिँदै आएका मलाई धेरै पटक प्रहरी चौकी लगेर माफी मगाउँदै छाड्दै गरिएको रेकर्ड थियो । घरमा बाबु र दिदी बस्दै आएका थिए । श्रीमती र तीन बच्चा बनेपामा बस्दै आएका छन् । हरेक दिन श्रीमती र बच्चाहरुलाई समेत कुटने गरेका रामलालबाट बचाउन बनेपामा आफन्तको शरणमा राखिएको हो । माईलो भाई रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए भने माईलो भाई मकवानपुर बस्दै आएका थिए । कार्तिक १० गते दिउँसो रामलाल मापसे गरेर घर पुगेका थिए । घरमा बोल्न नसक्ने दिदी थिईन् । आफुले श्रीमती कुट्न नपाएको, श्रीमती र बच्चालाई सँगै बस्न नदिएको भन्दै बाबुलाई आक्रमण गरे । शुरुमा फलामको गलले हाने । गलले हान्दा उनि मरेनन् । मारु भनेर भन्दा पनि तर्साउन आक्रमण गरेको बताएका रामलाललेसँगै रहेको खुर्पाले हानेर भागे । दुई पटक गल र खुर्पाले हाने पछि उनि त्यहि ढले । तर रामलाल जंगलमा भागे । बाबु मरे कि बाँचेका छन् भनेर राति फेरी हेर्न आए । मरिसकेको थाहा पाए पछि फेरी जंगलमा भागे । यता बाबुको हत्याको खबर गाउँभर फैलियो । बाहिर रहेका दुई भाईहरु आए । बाबुको पोस्टमार्टम पछि दाहसंस्कार गरे । परम्परा अनुसार काजकिरिया बसे । तर उनिहरु जंगलमा नै लुकेर बसिरहे । १४ दिनसम्म उनले जंगलमा रहेको कुवाबाट पानी र नजिकै रहेको सुन्तलाको बगैंचाको सुन्तलाको दाना खाएर ढोडमा लुकेर बसिरहे । बाबुको हत्या पछि प्रायश्चित गरिरहे । आत्मसमर्पण गर्ने योजना पनि बनाएनन् । तर भागेर अन्यत्र जाने सोच बनाएको भए पनि स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उनि पक्राउ परे । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाईएको छ । कार्तिक १६ गते मात्रै रोशी गाउँपालिका वडा नम्वर ३ मा छोराले आमाको हत्या गरेका थिए । उनि अहिले प्रहरी नियन्त्रणमा छन् ।’ यो समाचार मैले पक्राउ परे पछि चेष्टा पत्रिकामा पढेको थिएँ ।
अघिल्लो महिना पैसाका लागि हनिट्रयापमा पारेर सम्वन्धमा राखेका ब्यक्तिको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक जिल्ला घर भएकी २१ बर्षिया युवती सहित अन्य संलग्नलाई पक्राउ गरेको रहेछ । ६ महिना अघि महाभारत गाँउपालिका घर भएका दम्पतिको हत्यामा संलग्न सिन्धुपाल्चोककै एक युवालाई प्रहरीले पक्राउ ग-यो । पाँचखालमा आगो लगाएर हत्या गरिएका ब्यक्तिको पहिचान हुन सकेको छैन । पलाञ्चोकमा अघिल्लो वर्ष दम्पतिको हत्या गर्ने ब्यक्तिको पहिचान हुन सकेको छैन । तेमालको कानपुरमा एक बृद्ध ब्यक्तिको हत्यामा संलग्नको पहिचान खुल्न सकेको छैन । नमोबुद्ध, रोशी तथा जिल्लाका विभिन्न स्थानमा भएका घटनामा केहि पक्राउ परेका छन् । केहि फरार छन् । केहिको पहिचान नै हुन सकेको छैन । समाजमा पछिल्लो समय सम्पत्ति र सम्बन्धका लागि अभिभावक र आफन्तको हत्या हुन थालेको छ । त्यो मध्येको एक म अपराधी हुँ ।