2024 December 06/ 07:36: 41am

    धुलिखेल/एक वर्ष अघि मंसिर ११ गते शुभारम्भ गरिएको मदानी विट डट कमले दोश्रो वर्ष प्रारम्भ गरेको छ । पहिलो वार्षिक कार्यक्रमका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्ग लगायत जिल्लाका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो । अघिल्लो वर्ष पूर्व मन्त्री एवं सांसद गोकुल बास्कोटाले अनलाईनको शुभारम्भ गरेका थिए । हिमालय दृश्यमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गुरुङ्गले सरकारका प्राथमिकता, सरकारले गरिरहेका काम र छिमेकी देश चीनमा प्रधानमन्त्रीको भ्रमण र चर्चित विआराआई सम्झौताका बारेमा धारणा राखेका थिए । 
    एक वर्षको अवधीमा अनलाईनले जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अलग्गै पहिचान बनाउन सफल भएको सहभागिहरुले प्रतिक्रिया दिएका थिए । नागरिकहरुको मुख्य सूचनाको श्रोत बनेको अनलाईनले आगामी दिनमा पनि हिलोमा फुलेको कमल जस्तै गरी नागरिकहरुलाई सूचना प्रवाहमा योगदान पु¥याउन सफल रहन संचारमन्त्री गुरुङ्गले शुभकामना दिए । सहि अर्थमा समाचार सम्प्रेषण गर्न अग्रणी संचारमाध्यम बन्न मन्त्री गुरुङ्गले शुभकामना दिए । ‘समाजलाई भ्रम पार्ने खालका समाचार सामाग्री अनि विकृति र विसंगतिलाई चिर्दै हिलोबाट फुलेको कमलको फुल जस्तो बन्न सकोस्’–गुरुङ्गले भने । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले स्वतन्त्रताका नाममा समाजमा अराजकता फैलाउन नहुने बताए । प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले स्वतन्त्र प्रेस मर्यादा भित्र हुनुपर्ने बताए । ‘सरकार प्रेस स्वतन्त्रताकै पक्षमा छ । स्वतन्त्र प्रेसका सीमा छन, मर्यादा छन् । संस्कृति भित्र रहेर गर्नुपर्छ । समाजमा विद्धेष फैलाउने, अराजकता मच्चाउने खालको हुनु हुँदैन । समाजमा जातिय द्वन्द्व फैलाउने खालको हुनु हुँदैन’ – मन्त्री गुरुङ्गले भने–‘सामाजिक सञ्जालको प्रयोग, आईटीको सहजतासँगै अराजक बन्न थाल्यो । सामाजिक सञ्जालमा सामाग्री आएकै कारण नागरिकहरु ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका छन् । प्रेस स्वतन्त्रता भनेको अराजकता होईन । प्रेस स्वतन्त्रता हुनु पर्छ । नागरिकको सूचनाको हकको ग्यारेन्टी हुनु पर्छ । तर स्वतन्त्रताकै कारण अमर्यादित र छाडा हुनु हुँदैन ।’  
    सरकार पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै स्वतन्त्र प्रेसका नाममा भएका अराजकता नियमन तथा स्वनियमनका लागि मिडिया काउन्सिल गठनका लागि विधेयक अन्तिम चरणमा पु¥याउँदै कार्यान्वयन ल्याउने प्रयत्न गरिएको मन्त्री गुरुङ्गले बताए । ‘सामाजिक दुरभावना फैलाउने काम प्रेस स्वतन्त्रताको नाममा हुनु हुँदैन । यसको नियमन हुनु पर्छ । सामाजिक सञ्जाल प्रयोग, नियमन गर्ने विधेयक सरकारले पास गर्न खोजिरहेको छ’– मन्त्री गुरुङ्गले भने – ‘सरकारले धेरै काम गरेको छ । ‘गेम चेन्जर’ कार्यक्रम चार महिनामा नै सम्भव छ ? मान्छेहरु भड्काउने काम भईरहेको छ । राज्य, सरकार, लोकतन्त्र र नागरिकलाई कसरी बलियो बनाउने हो ? हामीले ध्यान दिन सकेका रहेनछौ । सरकार फेरवदलमा मात्रै धेरै ध्यान गयो । राज्य यति धेरै कमजोर भईरहेको छ कि सबै स्थानमा त्यसको असर देखिन थालेको छ । हामी त्यसको असर खोजिरहेका छौं । मुल चुरो कारण पत्ता लगाउने प्रयत्न गरिरहेका छौं । सबै मन्त्रालय सक्रिय छन् तर बजेट किन खर्च हुन सकेको छैन ? राज्य किन यति धेरै कमजोर भयो ?’ 
    ‘नीतिहरु निर्माण गर्दै जाने, ऐन कानून निर्माण गर्दै जाने, शैली सुधार गर्नु पर्ने त्यो देखिन सकिएन । सिस्टम बलियो बनाउन सकेका रहेनछौं । खर्च गर्ने प्रणाली बलियो बनाउन सकेका रहेनछौं । उत्पादन घटिरहेको छ, ब्यापार घटिरहेको छ । आयात बढिरहेको छ । गरिब मुलुकले ब्यापार घाटा कसरी धान्न सक्छ ? भत्केको, विग्रेको कामलाई मर्मत गर्न सक्रिय भएका छौं । राजमार्ग निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माणका काम सम्पन्न सँगै सरकार पछिल्ला समस्याहरुको डाईलोसिस गरिरहेको छ । थिती कसरी बसाल्ने ? एउटा मन्त्रालय र अर्काे मन्त्रालय बीचको समन्वय र सहकार्य कसरी गराउन सकिन्छ ? जसका कारण समयमै विकास निर्माणका कार्य हुन सकेका छैनन । सार्वजनिक खरिद ऐन, वन ऐन तथा अन्य बाधक रहेका ऐनहरु संशोधन गर्नु पर्छ । सरकार त्यसकै तयारीमा जुटेको छ । नयाँ काम गर्न हतियार नयाँ बनाउनु प¥यो, नयाँ ब्यवस्थामा र पुरानो ब्यवस्थाका केहि ऐनहरु बाधक बनिरहेका छन् । विआरआई ऋणमा नभई अनुदानमा कार्यान्वन गर्नु पर्छ । त्यसका बारेमा पर्याप्त छलफल आवश्यक छ’– मन्त्री गुरुङ्गले भने । विआरआई सम्झौतामा ऋणको कुरा नहुने बताउँदै मन्त्री गुरुङ्गले सरकार मुलुकका तमाम समस्याको समाधानमा केन्द्रित रहेको बताए ।