शंखुमा बार्षिक डेढ करोड रुपैयाँ कृषकहरुले सुन्तला विक्रीबाट भित्र्याउने गरेका छन् ।
शंखु/२०७२ सालको भुकम्प पछि उत्पादनमा ह्रास आएको धुलिखेल १२ शंखुको सुन्तला उत्पादन निरन्तरको अध्ययन, औषधि उपचार पछि सुध्रिएको छ । ‘केहि वर्ष देखि स्थानीय सरकार, विभिन्न संघ संस्था र सुन्तला उत्पादक कृषकहरुको प्रयासले यो वर्ष सुन्तला उत्पादन बढेको छ’– वडा अध्यक्ष मोहनप्रसाद लामिछानेले भने–‘असोज १०–१२ मा परेको अविरल वर्षात्ले भने सुन्तला उत्पादनमा क्षति पुगेको छ ।’
अघिल्लो वर्ष सुन्तला विक्रीबाट वडा नम्वर १२ शंखुमा डेढ करोड भित्रिएको छ । स्थानीय कृषक गोपिकृष्ण श्रेष्ठले सुन्तला विक्रीबाट १३ लाख रुपैयाँ प्राप्त गरेको बताए । ‘भुकम्प गएको ८ वर्ष पछि सुन्तला उत्पादनले सन्तुष्टी दियो’–कृषक गोपिकृष्णले भने–‘धुलिखेल नगरपालिका, वडा कार्यालयले सुन्तलाको बोटमा लगाउने औषधि, प्राविधिक ज्ञान तथा कृषकहरुको निरन्तरको प्रयत्न पछि सुन्तला उत्पादन बढेको हो ।’ सुन्तलाको बोटमा लाग्ने झ्याउ सफा गर्ने, पानी नियमित राख्ने, माटोलाई पर्याप्त पोषणतत्व दिने, समय समयमा औषधि राख्ने र निरन्तर रेखदेख गर्दा उत्पादन बृद्धि हुने उनले बताए ।
शंखु क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र हो । प्रदेश सरकारले पनि उक्त क्षेत्रलाई पकेट क्षेत्र बनाउने भने पनि पर्याप्त बजेट र कार्यक्रम दिन सकेको छैन । लामो समय एउटै बोटबाट फल लिएकाले कृषकहरुले नयाँ बोट रोपण कार्य पनि प्रारम्भ गरेका छन् । ‘बुढा रुख, भुकम्प तथा विभिन्न कारणबाट मर्न थाले पछि गत वर्षसम्म २ सय भन्दा धेरै नयाँ बोट रोपण गरेका छौं’–अगुवा कृषक सिताराम भट्टराईले भने–‘शंखुका विभिन्न क्षेत्रमा औषधि उपचारले सुन्तला उत्पादन भएको छ । तर एक्लेखेत लगायतका स्थानमा गत वर्ष देखि नै रुख नै सुकेकाले त्यसलाई विस्थापन गरेर नयाँ विरुवा लगाउन थालेका छौं ।’ अगुवा कृषक भट्टराईले स्थानीय सरकार तथा साना किसान सहकारी मार्फत आफ्नो नेतृत्वमा रहँदा कृषकहरुलाई सुन्तला बगैचा सुधार कार्यक्रम मार्फत सचेतनामूलक कार्यक्रम गरिएको बताए ।
बैशाखमा सुन्तलाको फुल फुल्दा रुखलाई पर्याप्त पानीको आवश्यकता हुन्छ । त्यति नै बेला खडेरी परेकाले उत्पादन सोचे जस्तो हुन नसकेको कृषकहरुले बताए । ‘पानी, मल, भिटामिन र विषादी समयमा मिलाएर ब्यवस्थापन गर्न सकियो भने शंखुमा कृषकहरुले पर्याप्त आम्दानी सुन्तलाबाट गर्न सक्नेछन्’–वडा अध्यक्ष लामिछानेले भने–‘२ सय ८५ घर धुरीमा अघिल्लो वर्ष नगरपालिका र वडा कार्यालयको समन्वयमा कृषकहरुलाई विषादी सहितको सामाग्री उपलब्ध गराईएको छ ।’ शंखुमा ४ सय १५ घर परिवार कृषकले सुन्तला खेति गरिरहेका छन् । एक्लेखेत, पार्टीचौर, रयाले, पिप्ले, सत्याल गाउँ, छाप लगायतका क्षेत्रमा ब्यवसायीक खेति गरिएको छ ।
धुलिखेल नगरपालिकाले धुलिखेल १२, १०, ९, ८, ११ लगायतका क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र बनाउने गरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।