2024 December 06/ 06:05: 54am

मोतीराम तिमल्सिना
धुलिखेल 

    करदाताहरुलाई सहज रुपमा कर तिर्ने वातावरणमा तयार नगरिएको भन्दै सरकारको चौतर्फी आलोचना हुने गरेको छ । नागरिकहरुलाई कर तिर्न जाने समयमा पनि असहज भएको, सहज रुपमा कर तिर्न नपाएको, कर तिर्नु पर्दा सरकारले करकर गर्नु परेको जस्ता गुनासा आउन थालेका छन् । चालु आर्थिक वर्षमा सरकारले असोज, मंसिर र फागुन मसान्तसम्म छुट दिने गरी विशेष छुट तथा सहुलियत दिने ब्यवस्था गरेको छ । विगत वर्षहरुमा कर नतिरी वा करमा समावेश नभई कारोवार गरेका र समावेश भएर पनि कर तिर्न विविध कारणवश छुटेका करदाताहरुलाई छुटको ब्यवस्था गरिएको हो । 
    आर्थिक विधेयक २०८१ ले करदाताहरुलाई विशेष छुटको ब्यवस्था गरेको छ । विशेषगरी करको दायरामा आउनेलाई छुट दिने सम्वन्धी ब्यवस्था उल्लेख गरेको छ । जसमा कुनै ब्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्वर नलिएको भए त्यस्तो ब्यक्तिले स्थायी लेखा नम्वर लिई आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर सम्मत २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ । उपदफा (१) बमोजिम आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सो भन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन । आय विवरण बुझाउन बाँकी करदाताले स्थायी लेखा नम्वर लिई आय विवरण बुझाउन बाँकी रहेको अवस्थामा आय विवरण, सो आय विवरण अनुसारको आय कर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम सम्मत २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ । 
    मुल्य अभिबृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्बन्धी ब्यवस्था पनि आर्थिक विधेयकले गरेको छ । २०८० साल असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिबृद्धि कर र सोमा लाग्ने ब्याजको पचास प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ । 
    अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक, ढृुवानी सेवाको कारोवार गर्ने, आलु, प्याज तथा स्याउको आन्तरिक उत्पादनमा मूल्य अभिबृद्धि कर छुट गरिएको छ । त्यस्तै कर्जा सूचना प्रदायक निकायलाई पनि मूल्य अभिबृद्धि कर मिनाहा गरिएको छ । 

चार महिनामा ९३ करोड राजश्व
    आन्तरिक राजश्व कार्यालय धुलिखेलमा १ लाख ५८ हजार १ सय १६ करदाता सक्रिय छन् । करमा समावेश भएका २ हजार ५ सय ४१ जनाले खाता बन्द गरेका छन् । ५ हजार १ सय ३० जना करदाताले खाता रद्द गरेका छन् । कार्यालयमा १ लाख ६५ हजार ७ सय ८७ जनाले करका लागि खाता खोलेका थिए । सबैभन्दा धेरै ८१ हजार ८ सय ६५ जनाले प्यान नम्वर लिएका छन् । प्यान लिएर २९ जनाले बन्द गरेका छन् । भ्याटमा ९ हजार ५ सय ५८ दर्ता भए पनि ९ सय ५३ जनाले रद्ध गरेका छन् । ६ सय ९१ जनाले खाता बन्द गरेका छन् । मुल्य अभिबृद्धि करमा ६९ हजार १ सय ८४ जना सहभागी भएका छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेल अन्र्तगत रामेछाप जिल्लाको मन्थलीमा ३ सय ३३ करदाता छन् । दोलखाको चरिकोटमा ३ सय १३ जना करदाता दर्ता भएका छन् । 
    चालु वर्षको मंसिर ४ गतेसम्म आन्तरिक राजश्व कार्यालय धुलिखेलमा ९३ करोड ५० लाख ७१ हजार राजश्व संकलन भएको छ । लक्ष्यमा पुग्न कठिन भएको कार्यालयले जानकारी दिएको छ । श्रावण महिनामा २९ करोड ५० लाख, भाद्र महिनामा १५ करोड ३६ लाख, आश्विन महिनामा २४ करोड ८९ लाख, कार्तिक महिनामा २२ करोड ९ लाख र मसिर महिनाको चार दिनमा १ करोड ६५ लाख राजश्व संकलन भएको छ । 
    मन्थलीमा ८ करोड ५० लाख ९० हजार संकलन भएको छ । श्रावणमा २ करोड ९८ लाख, भाद्र महिनामा १ करोड ४५ लाख, आश्विनमा २ करोड ३४ लाख, कार्तिकमा १ करोड ५९ लाख र मंसिर महिनाको ४ गतेसम्म १२ लाख १८ हजार राजश्व संकलन भएको छ । त्यस्तै दोलखाको चरिकोटमा १० करोड २० लाख ५१ हजार राजश्व संकलन भएको छ । श्रावण महिनामा ३ करोड, भाद्र महिनामा १ करोड ८८ लाख, आश्विन महिनामा २ करोड २३ लाख, कार्तिक महिनामा ३ करोड ५ लाख र मंसिर ४ गतेसम्म २ लाख ८१ हजार राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलमा कार्यरत राजश्व अधिकृत रमेश ढकालले जानकारी दिए । 
    काभ्रेपलाञ्चोक जिल्लामा दर्ता भएका केहि उद्योगहरु अन्यत्र संचालन भएका छन् । काठमाडौ लगायतका जिल्लामा दर्ता भएका जिल्लाका ठुला र महत्वपूर्ण उद्योग तथा होटलहरु काभ्रेमा संचालन भएका छन् । संशोधित कानूनले दर्ता भएका र संचालन भएका क्षेत्रमा रहेका उद्योगहरुले तिर्ने करको केहि प्रतिशत स्थानीय सरकार र प्रदेश सरकारले समेत पाउने ब्यवस्था छ । उदाहरणका लागि बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको आगन्तुक होटल काभ्रेमा दर्ता छैन । काठमाडौमा दर्ता भएको उक्त होटलले सबै कर काठमाडौमा तिर्ने गरेको छ । बनेपा नगरपालिकाले पाउने कर काठमाडौले पाउनेछ । बनेपा नगरपालिकाले होटलबाट उत्पादित फोहोर मैला ब्यवस्थापन, सडक तथा अन्य संरचना भने ब्यवस्थापन गरिरहेको छ । काभ्रेमा रहेको अर्काे चर्चित होटल द्धारिका, दुषितथानी लगायतका होटलहरु पनि अन्यत्र दर्ता छन् । केहि ग्याँस उद्योगहरु पनि अन्यत्र दर्ता भएर काभ्रेमा संचालित छन् । बैंक तथा वित्तिय संस्थाहरु पनि त्यसरी नै संचालित छन् । 
    विश्वभर फैलिएको आर्थिक मन्दि, सहकारी क्षेत्र तथा घरजग्गा कारोवारमा आएको मन्दी, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा भएको वर्षात पछिको क्षतिका कारण चालु वर्षमा आन्तरिक राजश्व कार्यालय धुलिखेलले लक्ष्यमा पुग्न कठिन भएको विश्लेषण गरेको छ । पहिलो चौमासिकमा पनि लक्ष्य भेट्टाउन मुस्किल रहेको छ । 
    

चौमासिकमा ‘खर्च’ नै मुस्किल
    धुलिखेल/चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विनियोजन भएको बजेट खर्च हुनै मुस्किल छ । प्रशासनिक तथा चालु खर्च बाहेक पुँजीगत खर्च हुनै सकेको छैन । न्यून खर्चका कारण पछिल्ला दुई चौमासिकमा खर्चको सिमा बढ्नेछ । 
    काभ्रेपलाञ्चोक जिल्लाका संघ अन्र्तगतका १३ वटा पालिका सहित ३९ वटा कार्यालयहरुमा बजेट विनियोजन हुने गरेको छ । ९ अर्ब ६६ करोड २७ लाख ६ हजार ५ सय ८८ रुपैया मध्ये चालु तर्फ प्रथम चौमासिकमा २ अर्ब ६९ करोड ७० लाख ४६ हजार ४ सय ११ रुपैयाँ खर्च भएको छ भने कार्तिक महिनामा मात्रै २१ करोड ६६ लाख २१ हजार ४ सय ७६ रुपैया खर्च भयो । पुँजीगत तर्फ २ अर्ब ४५ करोड ६२ लाख ३६ हजार रुपैया मध्ये २७ करोड २२ लाख ३८ हजार ८ सय ७८ रुपैयाँ खर्च भएको छ । कुल खर्च २ अर्ब ९६ करोड ९२ लाख ८५ हजार २ सय ८९ रुपैयाँ खर्च भएको छ । पुँजीगत भन्दा चालु तर्फ विनियोजित बजेट पनि धेरै र खर्च पनि धेरै छ । 
    संघतर्फ जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, तथ्यांक समन्वय कार्यालय, आन्तरिक राजश्व कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, रेशम खेती विकास शाखा लगायत छन् । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कारागार कार्यालय, इलाका प्रहरी कार्यालय, मंगलटार, कातिकेदउराली, बनेपा, जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी विद्यालय साँगा, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालय महाभारत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, डिजिटल नापी कार्यालय, नापि कार्यालय रहेका छन् । 
त्यस्तै भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र, सुर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजना कार्यालय, २६ नम्वर बाहिनी अड्डा भकुण्डे, २६ नम्वर फिए गुल्म, विरेन्द्र शान्तीकार्य तालिम केन्द्र पाँचखाल, कालिजंग गण, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति, भद्रदल गण, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा तालिम केन्द्र र स्वास्थ्य कार्यालय छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति साँगामा निर्माण भईरहेको छ । जसका लागि पुँजीगत तर्फ १ अर्ब ५ करोड ३४ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटमा चौमासिकमा १ करोड ७६ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । 
    प्रदेश कोलेनिका कार्यालय मार्फत जिल्लाका १३ स्थानीय तह सहित २२ वटा कार्यालयमा बजेट विनियोजन हुने गरेको छ । जिल्ला समन्वय समिति, प्रदेश लेखा इकाई कार्यालय, मालपोत, नापी, उद्योग तथा बाणिज्य, वागवानी विकास केन्द्र, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, भूमिगत जलश्रोत सिंचाई डिभिजन कार्यालय, डिभिजन वन, पूर्वाधार विकास, शहरी विकास तथा भवन कार्यालय, पनौती प्राविधिक शिक्षालय, नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, सामाजिक विकास कार्यालय, शिक्षा तालिम केन्द्र, मेथिन्कोट अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र यातायात ब्यवस्था कार्यालय रहेका छन् । पालिका बाहेकका कार्यालयहरुमा चालु र पुँजीगत तर्फ गरी कुल ५३ करोड ४६ लाख ६० हजार ७ सय ६१ रुपैया खर्च भएको छ । जसअन्र्तगत पुँजीगत तर्फ १७ करोड ६६ लाख ६० हजार ४ सय ६८ रुपैयाँ खर्च भएको छ भने चालुतर्फ ३५ करोड ८० लाख खर्च भएको छ । चालुतर्फ २ अर्ब ३ करोड १७ लाख १६ हजार र ३ अर्ब ८ करोड ४८ लाख ४५ हजार रुपैया बजेट पुँजीगततर्फ विनियोजन भएको थियो । जिल्लाका १३ वटा पालिकामा प्रदेश सरकार मार्फत विनियोजन भएको समानिकरण, सशर्त, विशेष, समपूरक गरी ८१ करोड २६ लाख ७ हजार रुपैयाँ मध्ये २० करोड ३१ लाख ५१ हजार ७ सय ५० निकासा भएको छ ।