
नयाँगाउँ,कुशादेवी
पनौती, काभ्रे
साविक कुशादेवी गाविस वडा नम्वर ५ र ६ । हालको पनौती नगरपालिका वडा नम्वर २ । बलेफी गाउँ हुँदै किमाडोल, नौलेडाँडा, कैरा भन्ज्याङ्ग, छिनाभन्ज्याङ्ग, खारखोला, आचार्य गाउँ, बस्नेत खायल, बजगाई, तोरिखोरिया, गुर्दुम, ठकुरीगाउँ, जोरघट्ट लगायतका टोल सोहि वडामा पर्छन् ।
असोज १०–१२ । आकाश पड्कियो । जमिन भासियो । भगवानको नाम पुकारेर बस्नु शिवाय अरु उपाय भएन । गोठ पुरिए । आँगन बग्यो । करेसा पुरिए । घरहरु ढले । बगाए । चर्किए । जोरघट्टमा रहेका ७ घर बगाएर बेपत्ता भए । वडा भित्र ५९ वटा घरमा क्षति पुग्यो । १८ वटा गोठ पुरिए । ५४ वटा गाई भैसी बाख्रा पुरिए । ३ जनाले ज्यान गुमाए । २ महिनाको बच्चाले पनि ऐया भन्न पाएन । सडक संरचना सबै ध्वस्त भए । विद्यालय क्षति भए । फुलचोकी आधारभुत विद्यालयमा अध्ययन गर्न नसकिने गरी कोठाहरु ढलेका छन् । जमिन फुटेको छ । वडा कार्यालय भवनमा क्षति पुगेको छ । कुशादेवी क्याम्पसमा पनि लिलावती खोलाले क्षति पु¥याएको छ । खेति गर्ने जमिन बगाएको छ । बास बस्ने घर गोठ चर्काएको छ । वडा अध्यक्ष पुरुषोतम अधिकारीले भने–‘साविक कुशादेवी गाविस वडा नम्वर ५ र ६ का सबै टोल बस्ति संकटमा छन् । नागरिकको जीवन रक्षाका लागि तत्काल बस्ति स्थानान्तरण पहिलो शर्त हो ।’
बचेको गाउँ र जमिनमा लहलह आलु फुलेको छ । पाकेको मकै र फक्रँदै गरेको आलुमा कृषकहरुले ठुलो क्षति ब्यहोर्न पुगे । तल ठुला ठुला तीनवटा खानी र क्रसर छन् । ३ करोड भन्दा धेरैको आलु उत्पादनमा क्षति पुगेको कृषक श्रीकृष्ण अधिकारीले बताए । मकै भित्र आलु लगाउने र आलु पछि तोरी छर्ने त्यहाँको मुख्य ब्यवसाय हो । भुकम्पले थिलथिलो बनाएको जमिनलाई नियमित चल्ने खानी र क्रसरले समेत हल्लाएको थियो । ‘अत्याधिक वर्षात, गाउँमा खनिएका सडक पनि प्रमुख कारण बने तर यो वर्ष सोच्दै नसोचेको, भोग्दै नभोगेको पानी परेका कारण ठुलो क्षति हुन पुग्यो’–स्थानीय राजाराम बजगाईले भने –‘डाईमन्ड, बैरामहादेव र कार्की खानी बस्तिसँग जोडिएका छन् । खानीका कारण पनि बस्ति जोखिममा परेका हुन् ।’
खानीबाट उड्ने धुलो, धुँवा, खानीको चर्काे आवाजले जेष्ठ नागरिक मात्रै होईन बस्तुभाउ समेत तर्सने गरेका छन् । उत्पादनमा समेत हस आएको स्थानीय तिर्थप्रसाद हुमागाईले बताए । ‘सरकारले तत्कालै उक्त क्षेत्रलाई खानी क्षेत्र घोषणा गरी स्थानीयहरुको जीवन रक्षा गर्नु आवश्यक छ’–स्थानीय राजाराम बजगाईले भने–‘बस्ति स्थानान्तरण गरी नागरिकहरुको जीवन रक्षाका लागि तीन तहकै सरकारसँग माग गरेका छौं ।’ यो वर्षातबाट बाँचेका नागरिकहरुलाई आउँदो वर्षातसम्म अन्यत्र स्थानान्तरण गर्न सकिएन भने धाँजा फाटेको जमिनले कतिखेर डल्लो बनाउँदै सोरेर लैजान्छ भन्न नसकिने स्थानीयले बताए । कार्तिक १० गतेसम्म उक्त क्षेत्रमा बत्ति बल्न सकेको छैन । सडकका सबै ट्रयाक खोल्न सकेका छैनन । उत्पादनलाई बजारसम्म लैजान कठिन छ । बत्ति नभएका कारण मिलहरु चलेका छैनन । बस्तुभाउ र मानिसलाई समेत खानपानमा समस्या देखिन थालेको छ । स्वास्थ्य परिक्षण, औषधीमुलो, अन्य आधारभुत आवश्यकताका बारेमा स्थानीयहरु थप चिन्तित छन् । वडा अध्यक्ष पुरुषोतम अधिकारीले दैनिकजसो नागरिकहरु विस्थापित हुँदै डेरामा जीवन विताउन बाध्य भएको बताए ।
खानी र क्रसरका कारण फुलचोकी आधारभुत विद्यालयसँगै पुरै बस्ति नै जोखिममा परेका छन् । बाढी र पहिरोबाट नागरिकले भोग्नु परेका सास्तिको बयान गरी साध्य छैन । ‘स्थानीय सरकार खानीलाई मात्रै संरक्षण गरिरहेको छ, नागरिकहरुको जीवनका बारेमा चिन्तित भएको छैन’–स्थानीयको गुनासो छ ।