
विकास तिमल्सिना
मुलखोला, भुमेडाँडा, पनौती
‘जाउँ कहाँ जाउँ, बसौं कसरी बसौं ?’ । सावित्री थापा । मुलखोला, भुमेडाँडा १२ पनौती । असोज १०–१२ महाविपत्ति । अन्धाधुन्ध भयो । राति नै बच्चाहरु लिएर डाँडोमा भाग्यौं । बस्न सकिने कतै भएन । बत्ति गयो । मोबाईल बालेर निस्कियांै । चट्याङ्ग प¥यो । रातभर करायौं । कसैले सुन्न सक्ने अवस्था भएन । पुरै रात अनिद्रा बस्यौं । विहान ६ बजे पछि त गाउँ नै सबै बगायो । बारी बगायो । घर अगाडी राखेको मोटरसाईकल बगायो । भैंसीहरु पुरिए । अघिल्लो राति नै बच्चा पुरिएर बल्ल निकाल्यौंं । टोलभरी सन्नाटा छायो ।
बस्ने घर छैन । टेक्ने जमिन छैन । काम गरी खाने स्थान छैन । रोजगारी छैन । बच्चाहरु कसरी पढाउँ ? हामी कसरी बाँच्ने ? ९ दिनसम्म जंगलमा त्रिपाल राखेर बस्यौं । स्थानीय सरकारका प्रतिनिधिहरु आउँदैनन् । सडक खुलाउने प्रयत्न छैन । मरेका पशुको सिनो गन्हाउँदै छ । बाँचेका पशुहरुलाई बचाउन कठिन छ । पुरिएका घरहरुबाट सामान निकाल्न सकिएको छैन । हुँदा हुँदा त्यहि अन्नहरु उम्रन थालेका छन् । जौ, गहुँ, तोरी भत्किएका घरमा उम्रन थालेका छन् । स्थानीय सरकारले प्राप्त गरेको राहत अहिलेसम्म पुग्न सकेको छैन । बच्चाहरु चिच्याउन थालिसके । ठुला मान्छेहरु नै डिप्रेसनमा जाने बेला भयो, बच्चाहरु त झनै समस्यामा परे । पढ्न मान्दैनन् । बल्लबल्ल निकालिएका बुकहरु पल्टाउनै मान्दैनन् । बत्ति छैन । बत्ति बाल्ने सामाग्री पनि छैन । आफन्त र स्थानीयहरुले यो ठाउँमा बस्दै नबस जाउ भन्छन् । सजिलो सँग भने जस्तो सहज छैन । अब जाउँ कहाँ, बसौं कसरी ?
पवन केसी । मर्ने पशुहरु मरे । बारी खेत सम्पत्ति सबै बगायो । बाँचेकाहरुलाई हेर्ने सरकार कहाँ गयो ? केहि दिन अन्यत्र ब्यस्त भयो होला । यति धेरै दिनसम्म वडा सरकार आईपुग्न किन नसकेको होला ? जाडो समय शुरु भईसक्यो । पीडितहरुको बेहाल छ । राज्य भएको अनुभुति भएन । हामी सबै विस्थापित भयौं । बत्ति छैन । बाटो छैन । जनशक्ति छैन । दोधारमा बाँचिरहेका छौ । निकास छैन । पशुहरुलाई दाना पानी ल्याउन सकिएको छैन ।
दिपक थापा । शुरुमा बारी बगायो । घरमा पानी पस्यो । खोल्दा खोल्दै बाबु पुरियो । बाबु निकालेर ९० वर्षका बुबा ईश्वरीबहादुर थापा र आमा ८६ बर्षका गोमा देवी थापालाई निकालेर अर्काे घरमा पठाएँ । रातभरमा अर्काे घर पनि पुरिदै गयो । माथिबाट पहिरो आउने, तलबाट बगाउने । हामीले भैसी फार्म चलाएका थियौ । ११ वटा पशु केहि पुरिए । केहि बगायो । हामी भागेर ज्यान जोगायौं । ९ दिनसम्म जंगलमा बस्यौ । अहिले यहाँ रहेका ८ घर परिवार विस्थापित भएका छौ । बँदेलले पनि दुःख दिएको छ । बस्न सक्ने अवस्था छैन ।
सविना थापा । ऋण गरेर बनाएको घर बस्नै नपाई बगायो । भएको सबै बारी बगायो । छोरा दुबईमा छ । सोलार पनि दिदैनन् । अन्नपात सबै बगायो । केहि छैन । अब कहाँ जाने के गर्ने ? चिन्ता बढेको छ । डेरामा बस्ने अवस्था छैन । बालबालिका कसरी पढाउने ? सरकारले तत्कालै यसका बारेमा निर्णय गरोस् । न डेरा भाडा तिर्ने पैसा छ, न काम गर्ने ठाउँ छ ? कसरी बाँचौ ?
पनौती १२ भुमेडाँडा स्थित मुलखोला क्षेत्रका २० घर परिवार विस्थापित भएका छन् । स्थानीय सरकारका प्रतिनिधिहरु पुग्न नसकेको गुनासो मात्रै छैन राहत समेत पुगेको छैन । बस्न बास, कमाई गर्ने जमिन, ब्यवसाय गरिरहेको पशु छैनन् ? मुलखोला, सिमपानी, गाँगल लगायतका बस्तिहरु रित्तिन थालेका छन् । मान्छे हिड्न सक्ने स्थान पनि छैन । अमेरिकन नागरिकले त्यहि गाँगलमा ज्यान गुमाए ।