पस्थली, पनौती/डोलेश्वर शिवालय कुटि संरक्षण समिति पस्थली १० पनौतीले मन्दिर परिसरमा दर्शनार्थीहरुको सहजताका लागि इनार सहितको धारा निर्माण गरेको छ । ८५ हजार रुपैयाका लागतमा निर्माण भएको इनार सहितको धाराको एक कार्यक्रमका बीच पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले उद्घाटन गरिन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख गिता बञ्जाराले स्वस्थानीमा उल्लेख भएको डोलेश्वर महादेवको प्रचार प्रसार तथा संरक्षण अभावका कारण ओझेलमा परेको बताउँदै पनौतीको डोलेश्वर, भालेश्वर, इन्द्रेश्वर लगायतका ऐतिहासिक धार्मिक सम्पदाहरुको संरक्षण र प्रचार प्रसारका लागि आवश्यक पहल गर्ने बताए । डोलेश्वर आउने सडकको निर्माण, पुल तथा अन्य संरचना निर्माणका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने उपप्रमुख बञ्जाराले बताईन् । तत्कालका लागि मुल सडकबाट मन्दिर जाने सडकसम्म पहिलो चरणमा १० लाख रकम विनियोजन गरी नाली सहतिको ग्राभेल विछ्याउने उनले बताईन् । स्थानीय स्तरमा आवश्यक भईरहेको जेष्ठ नागरिक केन्द्र निर्माण तथा अन्य क्षेत्रको सहयोगमा स्थानीय सरकारले साथ र सहयोग रहने उनले बताईन् ।
डोलेश्वर शिवालय कुटि संरक्षण समितिलाई स्थानीयहरुले विभिन्न क्षेत्रबाट श्रमदान सहितको आर्थिक सहयोग गरेको अध्यक्ष सन्तोष भण्डारीले बताए । मन्दिर तथा शिवालयमा विभिन्न संरचना निर्माणका लागि स्थानीय कृष्णबहादुर खत्रीले आर्थिक सहयोग गरेका छन् । सडक निर्माणका लागि पनि खत्रीले गरेको सहयोग तथा उनले ब्यक्तिगत रुपमा खर्च गरेको रकम समेत वडा सरकारले उपलब्ध गराएको छैन । बरु उपभोक्ता समितिको अध्यक्ष नै परिवर्तन गरी रकम भुक्तानी गरी अन्यत्र खर्च गरिएको छ । तर पनि मन्दिर निर्माण र प्रचार प्रसारका लागि निरन्तर सक्रिय रहने कृष्ण खत्रीले बताए ।
सोहि अवसरमा संरक्षण समितिका अध्यक्ष सन्तोष भण्डारीले डोलेश्वर शिवालय कुटिमा दैनिक पुजा आराधनाको लागि र खानेपानीको इनार खन्ने कार्य गर्न, स्थानीय मुख्य सडक सिमानामा नक्सा सहितको सडक साइन बोर्ड राख्ने, स्थानीय वडा भित्रको मुख्य सडक सिमानामा आवश्यकता अनुसारको सिसि क्यामरा जडान सम्वन्धि ब्यवस्था तथा डोलेश्वर शिवालय कुटि मर्मत तथा सुधार गर्न माग गरिएको बताए । उपभोक्ता समितिमा अध्यक्ष सन्तोष भण्डारी, सरोरजराज महत, सचिव सुमन केसी, कोषाध्यक्ष नानीमैया गिरी रहेका छन् । अशोक धमला, कृष्णजी बस्नेत, गणेश खत्री, प्रकाश थापा, उमेशराज महत, रविन खत्री र गोपाल थापा सदस्यमा रहेका छन् । प्रमुख सल्लाहकार समितिमा कृष्णराम भण्डारी, उद्धव खड्का, विश्व केसी, प्रकाश केसी र प्रेम गिरी रहेका छन् ।
सोहि समितिका तर्फबाट २ हजार लिटरको पानी ट्याङ्की, पानी तान्ने मोटर, पिभिसी पाईप, कालो तार, कालो एचडी पाईप, टि–सकेट, आई सकेट, धारा, सकेट, पावर सकेट बक्स लगायतका सामाग्रीहरु खरिद गरिएको छ । २२ फिट गहिरो इनारमा ३३ वटा रिङ खर्च भएको छ । सोहि स्थानलाई अझै धार्मिक रुपले प्रचार प्रसार गर्ने उदेश्यले थप पूर्वाधारहरु निर्माण र संरक्षणको कार्य गरिएको स्थानीय कृष्ण खत्रीले बताए ।