2024 October 15/ 03:51: 23am

           बनेपा/बनेपा नगरपालिका र छिमेकी देश मित्रराष्ट्र चीनको सिगात्से नगर वीच स्थापना भएको भगिनी सम्वन्ध २५ वर्ष पुगेको अवसरमा बनेपा नगरपालिकाको भ्रमणमा रहेका सिगात्सेका प्रतिनिधिहरुको चार दिने भ्रमण सम्पन्न भएको छ । बनेपा नगरको भ्रमण सम्पन्न गरि टोली सिन्धुपाल्चोकको बाह्रविसे हुँदै तिब्बत नाकाबाट सिगात्से फर्किएको छ । 
सिगात्सेका डेजी  सम्जुब्जे जिल्ला पार्टी समितिका स्थायी समिति सदस्यको नेतृत्वमा आएको टोलिले बनेपा नगरपालिकाको कृषि फर्म तथा औधोगिक क्षेत्र,  मठ मन्दिर, वडा कार्यालय र विकासका कामहरु अवलोकन गरेका थिए । बनेपा नगरपालिका भित्र रहेका धार्मिक, साँस्कृतिक, ब्यापार लगायतका क्षेत्रमा एक आपसमा समन्वय गर्दै जाने डेजीले बताईन् । सिगात्से नगरपालिकाको प्रतिनिधिका रुपमा उक्त भ्रमण गरेको बताउँदै टोली प्रमुख डेजीले बनेपा नगरपालिका क्षेत्र भित्रको कृषि, उद्योग धार्मिक मठ मन्दिर लगायतका संरचनाको अवलोकन तथा बनेपा नगरपालिकाले गरेको आतिथ्यताको प्रशंशा गरेका थिए । विगतमा जस्तै आगामी दिनमा पनि दुवै नगरपालिकाको भगिनी सम्बन्धलाई थप प्रगाढ बढाउँदै लैजाने उनले बताईन् । डेजीले बनेपा नगरपालिका प्रमुख र उप प्रमुखलाई सिगात्से भ्रमणको निम्तो दिँदै आगामी नोभेम्बरमा बनेपा नगरपालिकाको टोलीलाई  सिगात्सेमा स्वागत गर्ने उनले बताईन् । 
भ्रमणका क्रममा नगरपालिकाको तर्फबाट नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई लगायतका कर्मचारीहरु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्य लगायत, स्थानीय उद्योगी ब्यवसायी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले सिगात्से नगरपालिकाबाट आएको प्रतिनिधी मण्डललाई स्वागत गरेका थिए । टोलिले बनेपा तथा आसपासका क्षेत्रमा अवलोकन पश्चात दुबै देशका नगरपालिकाको संयक्त बैठक राखिएको थियो । बैठकमा दुबै देशको विकास तथा स्थानीय सम्वन्ध अनुसार दुई नगरको विकासमा साझेदारी गर्ने र सम्बन्धलाई थप प्रगाढ बढाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरेका थिए । दुई नगरका प्रतिनिधिहरुले ब्यापार, विकास तथा अन्य क्षेत्रको सहकार्यबाट नागरिकहरुलाई थप समृद्ध बनाउन तयार रहेको बताएका थिए ।