2026 January 17/ 04:49: 58pm

हाम्रोबारे

३२ औं वर्षको यात्रा प्रारम्भ 
‘समाज रुपान्तरणमा अबिराम चेष्टा’
    तीन दशकभन्दा अघि सुरु भएको एउटा सानो प्रयत्न, ‘चेष्टा पब्लिकेशन’ नागरिकहरुको चिनिने रुपमा सशक्त संस्थागत आवाज बनेको छ । ३२ वर्ष अघि सुरू भएको यो यात्रा केवल पत्रिका प्रकाशनको निरन्तरता मात्रै होइन, यो सत्य र समाज रुपान्तरणप्रतिको अडिग प्रतिज्ञाको यात्रा हो । आर्थिक वर्ष २०५०÷०५१ मा २०५० साल भदौ ३० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा मासिक रुपमा प्रकाशन गर्ने गरी दर्ता भएको जिल्लाको पहिलो पत्रिका चेष्टा २०५६ साल कार्तिक ११ गत विहिबार देखि साप्ताहिक प्रकाशन शुभारम्भ भएको थियो । मासिक रुपमा ३२ वर्ष र साप्ताहिक रुपमा २६ वर्षे यात्रा प्रारम्भ गरेको चेष्टाको मुल्यांकन यसले प्रदान गरेका सामाग्रीहरु, यसले लिएका समाज रुपान्तरणका अडानहरु र यसले सत्यका पक्षमा उठाएका जोखिमहरुले नै पुष्टि गरिसकेको छ ।
    ‘चेष्टा’ ले आफ्नो सुरुवातदेखि नै एउटा स्पष्ट दर्शन बोकेको छ–असल समाज निर्माणका लागि सत्य समाचारको सम्प्रेषण । यही दर्शनका साथ हामीले कलमलाई आवाजविहीनको आवाज, दृष्टिविहीनको दृष्टि र न्याय खोज्नेको सहारा बनाएका छौं । राज्यका निकायहरूको नजर पुग्न नसकेका टाढा गाउँदेखि सहरका अँध्यारा गल्लीसम्म, जहाँ नागरिक अन्याय र हैरानीमा परेका छन्, त्यहाँ ‘चेष्टा’ को कलम पुगेको छ । सत्य र तथ्यमा आधारित समाचार लेख्ने हाम्रो निष्ठा कहिल्यै डगमगाएको छैन । हामीलाई थाहा छ, सबै विषय सबैलाई मनपर्छ भन्ने ग्यारेन्टी हुँदैन । तर पत्रकारिताको मूल धर्म भनेकै सत्य बोल्नु हो, चाहे त्यो अप्रिय किन नहोस् । त्यसैकारण ‘चेष्टा’ सधैं तथ्य, प्रमाण र निष्पक्षताको जगमा उभिएको छ ।
    तीन दशकको यात्रामा न दवाबको कमी थियो, न प्रलोभनको । तर हामी कहिल्यै झुकेनौं, कहिल्यै सम्झौता गरिनौं । अभावमा पनि हाम्रो कलम थामियो, दवाबमा पनि हाम्रो आवाज मौन बनेन । हामीले सत्ताको शक्तिलाई चुनौती दियौं, र नागरिकका पीडालाई आवाज बनायौं । ‘चेष्टा’ केवल समाचार संस्था होइन, यो न्याय र परिवर्तनप्रतिको सामाजिक प्रतिबद्धता हो । आज देश चरम राजनीतिक संक्रमणकालमा छ । आर्थिक संकटमा छन् पेशा ब्यवसाय गर्नेहरु । रोजगारीका अवसर शून्यजस्तै छन्, उद्योगधन्दा बन्द हुँदैछन्, युवाहरू विदेशी भूमिमा भविष्य खोज्दैछन् । राजनीतिक अस्थिरताले समाजका सबै तह प्रभावित छन् । तीन तहका सरकारको अपारदर्शी खर्चले नागरिकमा निराशा छाएको छ । यस्तो कठिन घडीमा पनि ‘चेष्टा’ ले आफ्नो पहिलो शर्त ‘नागरिकप्रतिको दायित्व’ लाई मानेर अगाडि बढिरहेको छ । पत्रकारिता केवल पेशा होइन । यो दायित्व हो, र हामी त्यो दायित्वबाट कहिल्यै पछि हट्ने छैनौं । 
    प्रविधी र विश्वसनीयताको चुनौती पछिल्लो समय बढेको छ । आजका पाठक स्मार्टफोनमा संसार पढ्छन् । सत्य, तथ्य र विश्वसनीय जानकारी पु¥याउनु अझ चुनौतीपूर्ण बनेको छ । पत्रिकालाई प्रत्येक घरमा पु¥याउनु मात्र होइन, विश्वास कायम राख्नु नै ठूलो जिम्मेवारी हो । ‘चेष्टा’ ले यो चुनौतीलाई अवसरको रूपमा लिएको छ । प्रविधिसँगै हिँड्दै पनि पत्रकारिताको मूल आत्मा जोगाइराख्ने प्रणका साथ ‘चेष्टा’ निरन्तरत अघि बढिरहेको छ । 
३१ वर्ष लामो यात्राको साक्षी तपाई हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकहरू नै हुनुुहन्छ । तपाईंहरूको माया, सद्भाव र विश्वासकै कारण यो यात्रा सम्भव भएको हो । प्रत्येक अंकमा, प्रत्येक समाचारमा, तपाईंहरूको भरोसा हाम्रो प्रेरणा बनेको छ । त्यही भरोसा र विश्वासलाई अझ सुदृढ बनाउँदै, हामी आगामी वर्षहरूमा पनि सत्य, निष्पक्षता र समाज रुपान्तरणको यात्रामा निरन्तर लागि रहनेछौं । ‘चेष्टा’ को नाममा हाम्रो प्रतिज्ञा छ । ‘चेष्टा’ को अर्थ नै हो ‘अविराम प्रयत्न’ । हाम्रो नामले नै हाम्रो दर्शन बोकेको छ । सत्यका लागि निरन्तर चेष्टा, समाजका लागि निरन्तर जागरण, र जनताको लागि निरन्तर जिम्मेवारी । 
    हामीले सुरु गरेको बाटो सजिलो छैन, तर यही बाटोले परिवर्तन ल्याउँछ भन्ने विश्वास छ । ३२ औं वर्ष प्रवेशका यस अवसरमा, हामी पुनः प्रतिबद्ध छौं । सत्य बोल्ने, जनताको पक्षमा रहने र कहिल्यै नझुक्ने ‘चेष्टा’ सधैं रहि रहनेछ ।

अध्यक्ष
चेष्टा पब्लिकेशन प्रा.लि.

सम्पादकको सन्देश

img

३० औ वर्षमा ‘चेष्टा’ सत्य र तथ्यमा सधैं ‘दृढ’

    चेष्टा प्रकाशनले ३० वर्ष प्रारम्भ गरेको छ । तीन दशक समय छोटो होईन । यो बीचमा चेष्टा प्रकाशनले समाज निर्माण तथा नेपालका हरेक आन्दोलनमा पु¥याएको योगदान अविस्मरणीय छ । नागरिकहरुका दुःखसुखको साथी बनेको चेष्टाको ३० वर्षको आरम्भ झनै सत्य, तथ्यमा दृढ बन्ने संकल्पका साथ प्रस्तुत हुनेछ । प्रकाशनका समयमा यसले लिएको लक्ष्य र उद्देश्यलाई चेष्टा प्रकाशनले कहिल्यै दायाँ बायाँ गरेन । बहकिएन । तर्सिएन । डराएन । मैदान छाडेर भागेन । बरु सत्यका सामु एक्लो बृहस्पति जस्तै अडिग भईरह्यो । नागरिकका मुद्दा र आवाज बुलन्द गर्न प्राप्त जनसर्मथनले चेष्टाको प्रकाशनलाई हरेक दिन खदिँलो बनाउँदै लग्यो । परिपक्व बनाउँदै लग्यो । जिम्मेवार पत्रकारिताको पहरेदार बनाउन सहयोग पु¥यायो । हामीले समस्या उठाएका मात्रै छैनौं । समाधानाका लागि बाटो पहिल्याउन सहज बनाएका छौं । खबरदारी मात्रै होईन न्यायका लागि सहज बनाएका छौं । आम पाठकहरुको आँखाको नानी बन्ने प्रयास गरेका छौं । आवाज बन्ने प्रयत्न गरिरहेका छौं । सुन्ने मात्रै होईन समाधानका लागि दबाब दिने एक मात्र संचारमाध्यम बन्ने प्रयत्न गरिरहेका छौं । यो निरन्तरता र विश्वास पाठकहरुको भरोसाका कारण मात्रै सम्भव भएको हो । हामी पाठकहरुको रुची र चाहना विपरित कहिल्यै जाँदैनौं । त्यहि नै हाम्रो सम्पति हो । दायित्व हो । समाज प्रतिको जिम्मेवारी हो । 
    नविन युग र चेतनाको प्रतिबिम्ब समाज ब्यवस्थामा परिपक्व बनाउन सकिएन भने युग र नयाँ पुस्ताको अस्वीकार्यता बढ्छ । तसर्थ आवधिक अनुमोदन र नविकरणको व्यवस्थाले लोकतन्त्रको परिपूरण गर्छ । व्यक्तिमा अन्तर निहित गुण र विचारको कदर र प्रस्फुटन गर्ने, गराउन सके सामाजिक सौहाद्रता बढ्छ । समाजलाई सहभागिता र स्वीकार्यता, आलोचना र प्रशंसा, न्याय र समतामूलक बनाउन जरुरी छ । लोकतन्त्रका असंख्य लाभप्रद मध्ये वाक स्वतन्त्रता नै मजवुत र प्रभावकारी तत्व हो । खबरदारिता र निष्पक्षता, सकारात्मकता र तिखो प्रहार बिना संसारका कुनै पनि शासन र शासक जनप्रेमी हुन सकेका छैनन् र सक्दैनन् पनि । दुनियाँमा उदार व्यवस्थामा अनुदार र अनुदार व्यवस्थामा उदार नेतृत्वको उदय भएको छ । तसर्थ सूचना र संचार क्षेत्रको दर्बिलो र परिपक्व उपस्थिति आजको खाँचो हो । चेष्टा साप्ताहिकले स्थापनाकाल सँगै लिएको यो उद्देश्य हो । ‘असल समाज निर्माणको लागि, सत्य समाचारको सम्प्रेषण’को आवाजलाई आजसम्म अक्षुण्ण राखेका छौं । खराबसँग लडेर चुनौती र दायित्व बोध गरेका छांै भने सहि र ईमान्दारलाई प्रोत्साहन र उत्प्रेरणा जगाउने गरेका छांै । राष्ट्रिय उद्देश्य, मानवीय मूल्य र मान्यता, समाजको आमूल रुपान्तरणमा हाम्रो प्रतिबद्धता र अविरल सहभागिता रहनेछ । जहाँ देश र जनताको खिलाफ अकर्मन्यता, असहिष्णुता, गैरजिम्मेवार, अपारदर्शिता, अमानवीयता, उत्तरदायित्वहीन, जवाफदेहिता र छल हुन्छ त्यहाँ हाम्रो तिखो भाषा र टर्राेपन झुल्कि रहन्छ । न्याय र सत्य बोलेर मात्र स्थापित हुने भए यो जगतमा मानिसहरु बिचको असमानता र अज्ञानता अन्त्य गर्न युगौ युग देखि जुधिरहनु पर्दैन थियो होला ? व्यवहारमै जीवनको सँस्कार नबनाउने सिद्धान्त अन्ततः सिद्धान्त मात्र बन्छ । जीवन उपयोगी हुन सक्दैन । 
    चेष्टा साप्ताहिकको ३० औँ वर्षको स्थापनाको अवसरमा चेष्टा साप्ताहिकको उत्पति, विकास र अविरल यात्रामा विभिन्न कोणबाट साथ र सहयोग पु¥याउनु हुने आमपाठक, विज्ञापनदाता, बिक्रेता र कर्मठ कर्मचारी मित्रजनमा साधुवाद प्रकट गर्दछु । धन्यवाद 


अशोक ब्याञ्जुु
प्रकाशक/सम्पादक
चेष्टा प्रकाशन प्रा.लि.