2019 March 22/ 01:46: 24am

रन्जु तामाङ 
विद्यार्थी 
काभ्रे बहुमुखी क्याम्पस बनेपा


१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
अहिले बिबिएस चौथो बर्षको तयारीमा छु । अन्य सामान्य दैनिकी भनौ ।
२) पढ्न कत्तिको गाह्रो छ ? ब्यवस्थापन संकाय किन रोज्नुभयो ?
इच्छाशक्ति भएमा पढ्न केहि गाह्रो छैन । अहिले नेपाली बजार तिब्र रूपमा बिस्तार हुदै छ । एकातिर चलिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्नो क्षेत्रलाई बिस्तार गरिरहेका छन् भने अर्काेतिर नयाँ योजनाका साथ व्यवसायको क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको जमात पनि बढिरहेको छ । यस अवस्थामा व्यवस्थापन तथा व्यवसायको क्षेत्रमा राम्रो ज्ञान हासिल गरेका जनशक्ति आवश्यक पर्नेकारण बजारको मागलाई बुझेर व्यवस्थापन संकाय रोजे ।
३) ब्यवस्थापन संकायका बिद्यार्थीहरुको लागि के–कस्ता अवसरहरु हुन्छन् ?
व्यवस्थापन संकाय आफैंमा एउटा फराकिलो क्षेत्र हो । यस संकायका विद्यार्थीहरुले व्यवसाय, बित्त, अर्थशास्त्र, बजार आदि क्षेत्रमा व्यापक ज्ञान हासिल गर्न सक्छन् । त्यसैकारण व्यवस्थापनमा स्नातक गरेका विद्यार्थीहरुले सरकारी गैरसरकारी र भोल्युन्टर क्षेत्रमा आफ्नो दक्षता प्रदर्शन गर्ने राम्रो अवसर प्राप्त गर्न सक्छन् ।
४) किन ब्यवस्थापन संकाय पढ्ने बिद्यार्थी अरु संकाय भन्दा ज्यादा बिदेशिन्छन् ?
अहिलेको अबस्थामा व्यवस्थापन संकाय पढेर यसैमा करियर बनाउछु भनेर भन्दा पनि प्रमाणपत्र हासिल गर्ने उदेश्यले मात्र पढ्ने बिद्यार्थीको संख्या धेरै छ अर्को कुरा अहिलेको पुस्तामा धैर्यता निकै कम देखिन्छ । जति अवसर छन् त्यति नै चुनौतीहरु पनि छन् ।
५) युवा विद्यार्थीहरु राजनीतिमा सक्रिय हुने अनि सीप नभएका कारण बिदेशिन्छन् भनिन्छ नि !
यो भनाइमा म अलिकति पनि यथार्थता देख्दिन किनकि जो युवा बिद्यार्थीहरु जति राजनीतिमा सक्रिय देखिन्छन् त्यति नै आफ्नो करियर र भविष्यप्रति पनि चिन्तित देखिन्छन् । विदेशिन त राजनीतिक नै नबुझेका  पनि  विदेशिएका छन् नि ।
६) बिद्यार्थीले किन राजनीति गर्ने ? पढाई बिगारेर राजनीति गर्ने अनि नेता बन्दा ज्ञानको कमी हुन्न र ?
विद्यार्थीकाल सिर्जनशील र जस्तो कुरा पनि सहजै सिक्न सकिने मुल्यवान उमेर हो । राज्यको तमाम गतिविधिलाई नियाल्दै गलत माथि खबरदारी गर्न क्षमता बिद्यार्थीले राख्दछन् । त्यसैले विद्यार्थीका लागि देश बुझ्न, समाज बुझ्न साथै शैक्षिक मुद्दामा बहस गर्न राजनीति आवश्यक छ । राजनीतिमा लाग्दा ज्ञानको कमी हुन्छ जस्तो मलाई लाग्दैन किनकि विद्यार्थी राजनीतिले कहिले पनि पढाई छोडेर राजनीतिमा लाग भन्दैन । यो आफूले व्यवस्थापन गर्ने कुरा हो ।
७) नेपालको अवस्था किन जस्ताको त्यस्तै भएको होला ?
अवश्य पनि स्वच्छ र निस्वार्थ दुरदर्शी राजनीतिले देश र जनताको भविष्य सुनिश्चित गर्छ तर दुर्भाग्यवश नेपालमा हरेक क्षेत्रमा अस्वभाविक राजनीतिक हस्तक्षेप र राजनीति पेसा होइन सेवा हो भन्ने बुझाई नहुनु नै नेपालको यस्तो अवस्थाको कारण हो ।
८) क्याम्पसमा स्ववियु निर्वाचन किन जरुरी छ ? विद्यार्थीहरु अनेरास्ववियुमा किन एकताबद्ध हुने ?
क्याम्पसमा उठ्ने गरेको शैक्षिक मुद्दामा बहस गर्न, विद्यार्थीको हकहितको लागि विद्यार्थीको आवाज प्रशासनसामु राख्नको लागि स्ववियु आवश्यक छ । अनेरास्ववियु सबै राष्ट्र प्रेमी नेपाली विद्यार्थीहरुको शक्तिशाली संगठन हो जसले विद्यार्थीहरुको हकहितको लागि काम गर्छ । त्यसैले एक सचेत विद्यार्थी अनेरास्ववियुमा आवद्ध हुन जरुरी छ । र सबै न्यायप्रेमी विद्यार्थीहरुलाई अनेरास्ववियुमा आबद्ध हुन आग्रह समेत गर्दछु ।
९) विवाह किन गर्नुपर्छ ? आजभोलिको युवा पुस्ता किन प्रेम विवाह मन पराउछन् ?
विवाहले सामाजिक तथा मानवीय अस्तित्वलाई बलशाली बनाउँछ । विवाह हुन्छ, त्यसैले मान्छे बलियो हुन्छ ।  विवाह छ, त्यसैले व्यक्ति, घर, समाज र सभ्यता पूर्ण तथा चलयमान छ । प्रेम विवाहमा एकले अर्कोलाई पहिले नै बुझिसक्ने भएकोले जीवनयापन सहज र सुखी हुनाले युवा पुस्ता प्रेम विवाह मन पराउछन् ।
१०) अन्त्यमा...............
अन्त्यमा आफ्नो विचारलाई राख्ने मौका दिनु भएकोमा धन्यवाद दिन चाहन्छु चेष्टा परिवारलाई । यसरी नै युवाहरूको आवाज सुनियोस् र युवाहरुको आवाजको सुनुवाइ पनि होस् ।