2019 November 13/ 06:15: 58am

देवकी श्रेष्ठ
देवुज् ब्युटीपार्लर एण्ड कस्मेटिक्स, बनेपा


१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
विगत छ महिनादेखि बनेपामा यसमा देबुज् ब्युटिपार्लर एन्ड कस्मेटिक्स संचालनमा ल्याएको छु, त्यसैमा समय दिइरहेको छु । 
२) ब्युटिपार्लर नै किन ? पार्लर महिलाको रोजाइमा किन पर्छ ?
यसअघि मैले फुर्सदको समयमा ब्युटिसियन सम्बन्धी तालिम लिएको थिएँ । जागिर खानुभन्दा त्यसैलाई सदुपयोग गरेर आफ्नै केही व्यवसाय गरौं भन्ने उद्देश्यले पार्लर संचालन गरेको हुँ । पछिल्लो समय महिलामा सौन्दर्यचेत बढ्दै गएको छ । महिलाहरुमा आफ्नो अनुहार, कपाल आदिको केयर गर्नुपर्छ भन्ने ज्ञान पनि बढिरहेको छ, यसैले पनि यो व्यवसाय राम्रो हुन्छ भन्ने लागेरै महिलाको रोजाइमा यो परेको छ ।
३) मानिसले आफ्नो कियरको लागि किन पार्लरमै जानुपर्छ ? आफैंले ख्याल गर्नु र पार्लर जानुमा के फरक हुन्छ ?
पार्लरमा तालिमप्राप्त अनुभवी व्यक्ती हुने भएकाले कस्तो अनुहारमा कस्ता सौन्दर्य प्रसाधन प्रयोग गर्ने भन्ने पुर्ण जानकारी हुन्छ, आफैले सौन्दर्य प्रशाधन प्रयोग गर्दा त्यसले नकारात्मक प्रभावसमेत देखिनसक्ने हुँदा पार्लरमा जानू उपयुक्त हुन्छ । 
४) सुन्दर देखिन मेक–अप महत्वपूर्ण हुन्छ कि ड्रेस–अप ?
दुबै उत्तिकै महत्वपूर्ण हुन्छ । ड्रेस–अप अनुसार मेक–अप गरियो भने त्यसले मानिसको सुन्दरतामा झनै निखारता आउँछ ।
५) सौन्दर्यतामा किन पुरुष भन्दा महिला बढि चासो राख्छन् ?
यो मानवीय गुण पनि हो । महिलालाई सौन्दर्यताको प्रतिकको रुपमा प्राचीनकाल देखि नै लिइने गरेकाले पनि हुनसक्छ । यसका साथै हाम्रो सामाजिक संरचनाले पनि यसमा अलि प्रभाव पारेको देखिन्छ । तर पछिल्लो समय महिलामात्र हैन पुरुषमा पनि सौन्दर्यचेत बढ्दै गएको छ ।
६) नेपालीहरु सौन्दर्यमा ब्राण्ड खोज्छन कि खोज्दैनन् ? ब्राण्डेडको बिशेषता के हो?
बिगतमा ब्रान्ड प्रति खासै चासो दिइदैनथ्यो तर पछिल्लो समय ब्रान्डमा ध्यान दिने ब्रान्डेड सामग्री खोज्नेको संख्या लगातार बढिरहेको छ । ब्रान्डेड सामग्री प्रयोग गर्दा यसले नकारात्मक असर गर्दैन, त्यसैले पनि मानिसहरू ब्राण्डेड सामग्री नै प्रयोग गर्न रुचाउँछन् । त्यसैले आफुले प्रयोग गरेका सामग्रीले राम्रो हुन्छ भन्ने विश्वासका लागि पनि ब्रान्डेड सामग्री प्रयोग गर्नुपर्छ ।
७) तपाइ आफै चाहि कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ ? तपाईको रोजाइको ब्रान्ड कुन हो?
म प्रायजसो ब्रान्डेड सामाग्री प्रयोग गर्ने गर्दछु । आफुले प्रयोग गर्दा सकारात्मक प्रभाव परेका ब्रान्डहरू नै मेरो रोजाइमा पर्छन् । मैले प्रयोग गर्ने ब्रान्डहरु सौन्दर्य सामग्रीअनुसार फरकफरक छन् ।
८) देशमा बेरोजगार घट्नलाइ युवाहरु स्वरोजगार बन्ने कि देशमा राज्यले रोजगारिको अवसरको सृजना गर्ने होला ?
सबैभन्दा पहिला त युवाले स्वरोजगार बन्नेतर्फ ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने, सीप बिना जागिरको खोजीमा भौंतारिनु भन्दा पनि विभिन्न सीपमुलक तालिम लिएर सकेसम्म स्वरोजगार बन्ने हो भने बेरोजगारको संख्या अवश्य कम हुनेछ । मुलुकको शैक्षिक प्रणालीअनुसार रोजगारीको अवसर छैन राज्यले त्यसमा पनि ध्यान केन्द्रित गर्नुपर्छ । 
९) युवाहरु कुलतमा लाग्नुको कारण के हो ? सेक्सका बारेमा युवामा भ्रम किन छ ?
बेरोजगारी र यसले निम्त्याउने आर्थिक संकटले नै मानिसलाई कुलतको मुखमा र्पुयाउछ । यसका साथै पछिल्लो समय अभिभावकहरु आफ्ना बालबालिकालाई निकै कम मात्र समय दिने गर्दछन् यसले गर्दा नि मानिसमा एक्लोपन हुन्छ र कुलतमा फस्न पुग्छन् । हाम्रो सामाजिक संरचनाले नै सेक्सप्रती भ्रमपुर्ण अवस्था सिर्जना गरेको हो ।
१०) अन्त्यमा
मलाई यस पत्रिका मार्फत आफ्ना भनाईहरु राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद । साथै सबै युवा साथीहरुलाई रोजगारी पाइएन भनेर भौतारिइरहनु भन्दा पनि स्वरोजगारीतर्फ लाग्न आग्रह गर्दछु, यसमा राज्यले पनि साथ र सहयोग गरिदियोस् ।