2024 April 26/ 04:12: 41am

मुक्ति रिजाल
प्रिन्सिपल, माउण्ट भ्यु स्कूल धुलिखेल
सदस्य, प्याब्सन, काभ्रे
अध्यक्ष, प्याब्सन धुलिखेल

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः खोटाङ्ग जिल्लाको रावाडुम्रेकोट गाविसमा माता खिलमाया रिजाल र पिता भानुभक्त रिजालको कोखबाट २०२८ साल बैशाख २१ गते मेरो जन्म भएको थियो । खोटाङ्गमा हामी धेरै वर्ष बसेनौं । खोटाङ्गबाट झापा राजगढ गाविसमा आयौं । खोटाङ्गबाटै मेरो औपचारिक शिक्षा शुरु भएको थियो । खोटाङ्गमा विद्यालय अलिक टाढा थियो । दाईसँगै विद्यालय जान थालेपछि मलाई विद्यालय पठाउन थालिएको थियो । कालोपाटीमा रातो माटो राखेर अक्षर लेखिन्थ्यो । कक्षा १ को अध्ययन नसक्दै हामी झापा झ¥यौं । 
    ६ छोरा र दुई छोरी । म माईलो छोरा थिएँ । ठुलो परिवार भएकाले कहिलकाँहि केहि संकट आउनु स्वभाविक हो । शिक्षाको महत्व बुझेरै सन्तानलाई विद्यालयमा पठाउनु भयो । झापामा हामी बस्ने घर आगलागी भयो । त्यहाँबाट फेरी बुबा आमा बसाई सराई गरेर सुनसरीमा आउनु भयो । सरकारी विद्यालय राम्रा थिए । सुनसरीको प्रकाशपुरबाट फेरी हामी धरान स¥यौं । बुबाले त्यहाँ जागिर खान थाल्नु भयो । बुबाको सानो जागिर भएकाले हामीलाई केहि सहज भयो । शान्ति निकेतन माविबाट मैले अध्ययन गरी एसएलसी सम्म दिएँ । बुबाको क्वाटर थियो । अफिसले दिएको क्वाटरमा बसेर हामीले अध्ययन गर्ने अवसर पायौं । मेरो पहिलो गुरु बुबा हो । बुबाले सिकाएका कुराहरुले विद्यालयमा सहज भयो । दाई दिदीहरु शिक्षित हुँदा भाई बहिनीहरुलाई सहज हुने रहेछ । मलाई दाईले अध्ययन गरेर सहज भयो भने हाम्रा भाई बहिनीहरुलाई झनै सहज भयो । खोटाङ्गमा बस्दा हामी सानै थियौं । झापामा गर्मी धेरै थियो । लामखुट्टेको आक्रमण, अत्याधिक गर्मीका कारण हामीलाई त्यहाँ कठिन थियो । कठिन समयका बाबजुत पनि हामी त्यहाँ बस्न बाध्य थियौं । पटक पटक विरामी हुन थाल्यौं । घरका सबै सदस्यहरु विरामी भए पछि हामी टिक्न सक्ने अवस्था थिएन । भएको घर पनि जल्यो । सबै सामानहरु जलेर नष्ट भए पछि हामी विचल्लीमा प¥यौं । छिमेकीहरुले भाँडाकुँडा समेत ल्याएर हामीलाई सहयोग गर्नु भएको थियो । किताब पनि जल्यो । विद्यालय पोशाक पनि जल्यो । दुई महिनाको बहिनी थिईन् । तिनको पनि पछि निधन भयो । उनलाई म असाध्यै धेरै माया गर्दथें । उनलाई सपनामा पनि देख्न थालें । अहिले पनि कहिलेकाँहि सम्झना आउँछ । दुःख भनेको नयाँ अवसरको सम्भावना पनि हो । हरेक मान्छेमा दुख आउँछ । त्यसमा आत्तिनु पनि हुँदैन । त्यहि दुख र संकटले होला मलाई कहिल्यै खुशी हुँदा पनि त्यति धेरै हौसला हुँदैन । 
    खोटाङ्गमा दाईसँग भागेर स्कुल जान थालेपछि विद्यालय पठाउन थालियो । पाटी बोकेर दौरा सुरुवाल लगाएर विद्यालय गएको याद छ । पाटीमा रातोमाटो लेखेर अक्षर लेख्न शुरु गरियो । रातो माटोमा पानी राखेर चिप्लेटी खेलेको याद छ । त्यो चिप्लेटीमा खेलेर घर फर्किँदा गाली खाईन्थ्यो । बाल्यकालका धेरै सम्झनाहरु मेरा मानसपटलमा ताजै छ । विद्यालयमा अध्ययन गरेर फर्कँदा हामीलाई ढु्ंगा गुडाएर जिस्क्याउने गरिन्थ्यो । हामीले पनि त्यो कुरा सिक्यौं । झापामा त्यस्ता केहि उटफट्याङ्ग भएन । धरानमा बास्केटबल, कराँते खेलहरु खेलिन्थ्यो । साईकल चलाउने र उडाउने खेल खेलिन्थ्यो । साईकल उडाउने क्रममा आफै पहिल्यै उडें । घाउ पनि लाग्यो । बुबालाई भन्दिन भन्ने सोच्या थिएँ बुबाले पनि देख्नु भएको रहेछ । विस्तारै घाउ ठिक हुँदै गयो । समय क्रमसँगै जिम्मेवार बनिँदो रहेछ । उमेर अनुसार हुने चकचक स्वभाविक रहेछ । मलाई अहिले गाउँमा देख्दा सबै छक्क पर्नु हुन्छ कस्तो मान्छे कस्तो भएछ भन्नु हुन्छ । आमा असाध्यै कडा हुनुहुन्थ्यो । बुबा नरम स्वभावको हुनुहुन्थ्यो । आमा दैनिक काम सकाएर अध्ययन गरेर जिम्मेवारी पुरा गराउने कुरामा प्रतिवद्ध हुनुहुन्थ्यो । आउट अफ ट्रयाकमा गएको अवस्थामा उहाँले हामीलाई बाँकी राख्नु हुन्न थियो । आमा भने पछि हामी असाध्यै धेरै डराउँथ्यौं । सिन्कनाले पनि हान्नु हुन्थ्यो । म शिक्षकको कारवाहीमा खासै परिन । एक पटक नवलपरासीको प्रकाशपुरमा हुँदा अंग्रेजी विषयको एविसिडिका गृहकार्य नगरेको भन्दै कुट्नु भएको छ । टाउकोमा उहाँले कुट्नु भएको थियो । रगत आएछ । तर पनि हामी घरमा भन्दैन थियौं । शिक्षक भनेको भगवान हुन् । शिक्षकले बालबालिकाहरुका लागि नराम्रो गर्नु हुन्न भन्ने विश्वास थियो । 
    कविता लेख्ने मेरो रुची थियो । मैले लेखेर पठाएका कविताबाट भाई बहिनीहरुले पुरस्कार पाउँथे । गीत पनि गाउँथें । रुपक लेख्थें । ड्रामा रिहल्सल गर्दथें । राजु थापा र साथीहरु भनेर समुह बनाएका थियौं । स्कुल जीवनबाट शुरु भएको त्यो अभियान क्याम्पस जीवनमा पनि निरन्तरता दियौं । विभिन्न हाईस्कुलमा सडक नाटक, गाईजात्रा महोत्सवमा नाटकहरु देखाउने गरेका थियौं । स्व. पण्डित छविलालले हामीलाई पुरस्कार दिनु भएको क्षण हामी सम्झन्छौं । नाटकबाट अशिक्षित समाजलाई जागरुक गराउन सकिन्छ भन्ने लाग्दथ्यो । घरबाट कलेज जाने अनि कलेज सकिएर त्यतैतर्फ लागें । क्याम्पस जीवनमा त्यसलाई अलिक महत्व मानिन्थ्यो । विद्यार्थीका कमिटीहरुमा बसेर पनि काम गर्दथ्यौं । विहान बेलुका पनि हामी अध्ययन गरेर बसेका हुन्थ्यौं । हामीलाई गर्व लाग्छ । हामीले अध्ययन गर्ने अवस्था र अहिलेको अवस्था फरक छ । अहिलेको ग्रहण गर्ने तरिका र उहिलेको ग्रहण गर्ने तरिका फरक थियो । हामी सबै पाठ कण्ठस्थ पार्दथ्यौं । अञ्चल स्तरीय परीक्षामा पनि म उत्कृष्ट भएको थिएँ । उत्कृष्ट भएर एक÷एक हजार पुरस्कार प्राप्त गरेका रहेछौं । प्रधानाध्यापकले हामीलाई मिठाई खुवाएर पैसा सबै लिनु भएको कुरा पछि थाहा भयो । कक्षा ८ मा भुगोल पढाउने शिक्षकले पाँच पन्नाको पाठ कण्ठ गरेर आउन भन्नु भयो । मैले सबै कण्ठस्थ गरेर आएँ । चार पन्ना सुनाउँदै थिए शिक्षकले भयो भयो बस भन्नुभयो । एक पटक पढाए पछि सबै सम्झन सक्ने दिमाग थियो । अहिलेका केटाकेटीहरुमा त्यो खालको क्षमता छैन । अध्ययन गर्न पनि चाँहदैनन । त्यो बेला विद्यालयमा ४५ सय भन्दा धेरै विद्यार्थीहरु थिए । 
    म फुटबलको क्रेजी थिएँ । खाजा खाने पैसा बचाएर फुटबल म्याच गरिन्थ्यो । फुटबल भने पछि सबै साथीहरु अध्ययन छाडेर भए पनि आउँथे । घरका सबै काम छाडिन्थ्यो । म्याचमा रमाईलो हुन्थ्यो । बास्केटबलमा रुची हुन थाल्यो । जाडोमा धेरै खेल्थ्यौं । सानोमा मलाई ठुलो मान्छे बन्नु पर्छ भने सिकाईएको थियो । समाजमा ठुलो मान्छे कसरी बन्ने ? त्यहि कुराले मनमा डेरा जमाउन थाल्यो । जीवनमा कसरी अगाडी बढ्ने भन्ने कुरा मन भित्रै खोजिरहेको हुन्थें । भविष्यप्रति चिन्ता ब्यक्त गर्दै जाँदा अग्रजहरु ठुलो र सम्मानित भएको देख्दा प्रभावित बनाउँदो रहेछ । फुलको आँखामा फुलकै संसार, काँडाको संसारमा काँडैं संसार भन्ने कुरा साँच्चै हो रहेछ । राम्रा मान्छेहरुको संगतले ब्यक्तिलाई राम्रो तर्फ नै लैजाँदो रहेछ । बुबा आमाको आँखा छलेर कहिल्यै लामो हात गरिएन । बुबा आमाले गाली गर्दा समेत म भोको पेट सुत्दिन थिएँ । झन् धेरै खाएर सुत्दथें । भर्खरै एसईई सकिएको छ । हाम्रो पालामा असाध्यै कडा थियो एसएलसी । एउटा कक्षामा दुई जना गार्ड हुनुहुन्थ्यो । दायाँबायाँ फर्कने, अरुको साहारा लिने कल्पना पनि हुँदैन थियो । चिट चोर्ने, सार्ने सम्भावना र संस्कार दुवै थिएन । मैले अहिले पनि विद्यार्थीहरुलाई त्यो कुरा सिकाउँदिन । परीक्षा केन्द्र जहाँ परे पनि मैले भन्न जान्नँ । कक्षाकोठा भित्र मात्रै होईन बाहिर पनि सिकाउने कुरा भनेको नराम्रो संस्कार होईन । अतिरिक्त कुरा दिने, सक्षम बनाउने र बालबालिकाहरुलाई परीक्षामा केन्द्रित मात्रै नगराई अगाडी बढाउने हो भने सबै कुराको सम्भव छ । 
    एसएलसीको परीक्षाफल आउँदै गर्दा म घरमै थिएँ । अहिले जस्तो सहज थिएन । गोरखापत्र पनि पाईदैन थियो । परीक्षाफल आयो भन्ने सुनियो । धेरै पछि गाउँका एकजना भाईले गोरखापत्र ल्याएको खबर सुनियो । हेर्दा पास भएछु । सोचे जस्तो परिणाम थिएन तर पनि उर्तिण हुनु ठुलो कुरा थियो । खुशी भएँ । 

एसएलसी पछिः एसएलसी दिएर केहि समय मैले घर नजिकै रहेको उद्योगमा काम गरें । विदाको समयमा नाटक खेल्ने, नयाँ रचना गर्ने काममै कृयाशिल भएँ । महिनाको ४ सय २० रुपैया थियो तलब । खाली समय बस्नु भन्दा कुनै उत्पादनशिल क्षेत्रमा केहि गरौ भन्ने उदेश्यले काम गरेको थिएँ । ओभरटाईम पनि गरिन्थ्यो । त्यसका अलावा हामी नाटक हेर्न जान्थ्यौं । फुटबल खेल्ने, बास्केटबल खेल्ने, साईकल कुदाउने, भाई बहिनीहरुको रेखदेख गर्ने बानी हुन थाल्यो । विहान क्याम्पस जान थाल्यौं । ११ बजे क्याम्पस सकिन्थ्यो । विस्तारै उद्योग बन्द हुन लाग्यो । मेरो पनि काम भएन । आईकम र विकम त्यहि क्याम्पसमा अध्ययन गरें । महेन्द्र बह्ुमुखी क्याम्पसमा विद्यार्थीहरुको चहलपहल थियो । विकम त्यहाँ सकेपछि एमकम गर्नुपर्ने भयो । त्यहाँ एमकम थिएन । ब्याचलर सक्नु राम्रो मानिन्थ्यो । जिम्मेवार ब्यक्तिका रुपमा लिईन्थ्यो । जागिर पनि खानु पर्छ अध्ययन पनि गर्नुपर्छ भन्ने सोच आयो । पारिवारीक छत्रछायाँ एउटा हो । संघर्ष अर्काे हो भन्ने लाग्यो र घरबाट निस्कने योजना बनाएर काठमाडौ आएँ । 
    गोर्खा, स्याङ्गजा, पाल्पा, नुवाकोट लगायतका जिल्लाहरु भ्रमण गरें । एकजना साथी र म मिलेर विद्यालय खोल्ने योजना बनाएका थियौं । राजनीतिक द्वन्द्वको अवस्था थियो । विद्यालय खोलेर चलाउनु कठिन थियो । विद्यालय खोल्न मेरो आँट आएन । काठमाडौ आएर केहि समय फाईनान्समा काम गरें । किर्तिपुरमा डेरा लिएर बसें । त्यहाँ दाईहरु बस्नु हुन्थ्यो । क्याम्पस पनि भर्ना गरियो । आम्दानीको श्रोत खोज्नु नै थियो । कीर्तिपुरमा सम्भव भएन । आफन्तकोमा बसेर दुःख दिनु हुन्छ जस्तो लागेन । फाईनान्समा पनि छाडें । ट्युसन सेन्टरमा पनि केहि समय पढाएँ । घरमा भाई बहिनीहरुलाई पनि पढाउने गरेको थिएँ । स्कुल खोल्न भौतारिरहेको समयमा बनेपामा आएँ । आफन्त पर्नै दाई बनेपामा शिक्षण पेशामा हुनुहुन्थ्यो । उहाँले सोध्नु भयो शिक्षक बन्ने हो ? मैले हुन्छ भनिदिएँ । उहाँले मलाई प्रेरणा जगाउनु भयो । मेरो दाई र दाईको साथी दुई जना भएर ज्ञानसरोवर स्कुलमा गयौं । मलाई धरानको भएकाले पनि दार्जिलिङ्ग लगायतका स्थानको अनुभव थियो । दार्जिलिङ्गको म्याम त्यहाँ काम गर्नु हुन्छ भन्ने जानकारी भयो । चण्डेश्वरी मन्दिरको दर्शन गरेर हामी त्यो स्कुलमा पुगेका थियौं । म्याम त्यो दिन अबेरसम्म विद्यालयमा भएकाले हामीले भेट गर्ने अवसर पायौं । उहाँले मलाई त्यो अवसर प्रदान गर्नु भयो । २०५६ सालबाट ज्ञानसरोवरबाट मेरो प्रारम्भिक यात्रा शुरु भयो । 
    सामुदायिक विद्यालयमा पढेर आएको अंग्रेजीमा पढाउने कुरा कठिन थियो । शु्रुमा मलाई केहि असहज भयो । विस्तारै मैले त्यो अभ्यासलाई पुरा गरें । एक्लै हुँदा कोठा भित्र पनि पढाएर बस्थें । त्यो अभ्यासले १० वर्ष काम गरें । सधै शिक्षक मात्रै भएर हुँदैन भन्ने लाग्यो । मेरो एकजना साथी धुलिखेलमा इम्यानुयल स्कुलमा पढाउनु हुन्थ्यो । उहाँ र मेरो सल्लाह अनुसार उक्त विद्यालयमा शेयरमा सहभागि हुने कुरा भयो । विस्तारै त्यो सल्लाहले अन्तिम रुप पायो । विद्यालयमा लगानी भयो । लगानी भए पछि म त्यस स्कुलमा पढाउन थालें । तर बनेपामा ज्ञान सरोवरमा पनि समय दिई रहेको थिएँ । धेरै वर्ष पढाएको शिक्षक भएकाले मलाई बनेपामा छाड्न गाह्रो भएको थियो । साँझ साँझ आएर विद्यालयमा समय दिएको थिएँ । आफ्नै विद्यालय भएकाले इम्यानुयलमा धेरै समय दिन थालें । २ सय २४ जना विद्यार्थी थिए । उक्त विद्यालयमा हामी तीन जनाको लगानी भयो । त्यहाँ ब्यवसायिक र शैक्षिक विचार एकै पटक अगाडि बढ्न सकेन । त्यो विद्यालयले गति लियो । अहिलेसम्म म त्यहाँ भएको भए मेरो र विद्यालय दुबैको गति अझै बढ्थ्यो कि भन्ने लाग्छ । अन्ततः त्यो विद्यालल मैले छाडें । विद्यालय छाड्ने वितिक्कै केहि समय खाली नै बसें । 
    पछि मलाई गोल्डेन फ्युचरमा पढाउनु पर्ने प्रस्ताव आयो । केहि समय त्यहाँ पनि पढाउने भन्दा धुलिखेलकै भट्टेडाँडामा रहेको हिमालज्योतीमा सहकार्य गर्ने प्रस्ताव आयो । त्यहाँ मेरो यात्रा शुरु भयो । विद्यालयमा थोरै कक्षा थिए । मैले बढाउने प्रस्ताव गरें । त्यहाँ मेरो प्रस्तावको सुनुवाई भएन । त्यहि क्रममा रोमी प्रसाद ब्याञ्जुले मलाई विद्यालय चलाउन प्रस्ताव गर्नुभयो । उहाँका प्रस्तावलाई स्विकार्दै मैले जिम्मेवारी लिएँ । शैक्षिक ब्यवस्थापन मैले र आर्थिक ब्यवस्थापन गर्ने जिम्मेवारी रोमी सरको हुने गरी मैले कार्य शुरु गरें । धुलिखेलमा नै बसेर केहि गर्नु पर्छ भन्ने सोचले मैले उक्त विद्यालयको जिम्मेवारी लिएको थिएँ । अहिले पनि निरन्तर त्यहि विद्यालयको जिम्मेवारीमा छु । 

राजनीतिः क्याम्पसमा अग्रज दाईहरुको सहभातिा थियो । मलाई प्रारम्भिक कमिटीमा राखिएको थियो । विद्यार्थी संगठनको प्रारम्भिक कमिटीको सचिव भएँ । कृयाशिल भएर काम गरें । पछि मलाई जनसांस्कृतिक मञ्चमा रहेर काम गर्न बोलाईएको थियो । कलाकार भएकाले पार्टी विशेष नबन्ने कि भन्ने भएर हामी गएनौं । क्याम्पसमा निरन्तर राजनीतिमा सक्रिय भयौं । स्थानीय निर्वाचनमा नगर प्रमुखलाई जिताउन अहोरात्र खटियौं । झुकाव निरन्तर रह्यो । तर सक्रिय राजनीति गर्ने अवस्था रहेन । नगर प्रमुखले नगर हितका लागि काम त गर्नु भयो तर अवसरका बेला परिवार र नातागोतालाई ध्यान दिनुभयो । हामीलाई त्यो खालको वातावरण चित्त बुझेन । त्यसकारण पनि सक्रिय हुन मन लागेन । 
    धेरै पटक मलाई राजनीतिमा सक्रिय हुने अवसर प्राप्त भएको थियो । निर्वाचनमा हुने खर्चको रकम पनि धेरै थियो । त्यतिबेलाको खर्च हेर्दा अहिले पनि लाग्छ पैसा नहुनेले निर्वाचनमा भाग लिन कठिन छ । त्यो अवस्थता ममा थिएन । मैले सक्ने अवस्था पनि भएन । धरान आफैमा राम्रो शहर थियो । राजनीतिक रुपमा पनि सक्रिय भएको जिल्ला हो । मैले त्यो बाटो रोज्ने उद्देश्य त्यागेर अन्यत्र लाग्ने निर्णय गरें । त्यो कुराले मलाई अन्यत्र मोडिदियो । अहिले पनि राजनीतिका बारेमा विश्लेषण गर्छु । आफ्नो विचारलाई निर्वाचनको बेला प्रयोग गर्छु । सांगठिनक रुपमा बलियो भएको पार्टी थियो त्यतिबेला पनि । हरेक हिसाबले जनताको बीचमा जान सक्ने पार्टी पनि थियो त्यो । ति विविध कारणले मलाई त्यो पार्टीमा आकर्षण पनि गरेको थियो । धेरै कुरा त मैले अध्ययन पनि गरेको थिएँ । 
    
प्रेम र विवाहः विद्यालय जीवनमा पनि प्रेम प्रस्ताव नआएका होईनन् । पछि पनि आए । झण्डै ४÷५ वटा प्रेम प्रस्ताव आए । तर तिनलाई मैले वास्ता गरिनँ । एकै पटक बुबाआमाको चाहना अनुसारको रोजाईमा मागि विवाह गरें । आमाले गएर केटी हेर्नु भयो । उहाँलाई ठिक लागेको केटी मैले पनि हेरें । कुरा गरें । अनि विवाह गरें । कति पटक त विवाहकै कुरा हुन्छ भनेर म घर नै गईन । तैले पाल्न सक्दैनस् भने घरमै राखेर जानु भन्नु हुन्थ्यो । धेरै स्थानबाट २०५७ साल माघ १६ गते मेरो धरानमै विवाह भयो । २०६० सालमा छोरी जन्मिईन् । भर्खर एसईई दिएकी छिन् । २०६७ सालमा छोराको जन्म भयो । अहिले कक्षा ३ मा अध्ययन गर्छन् । दुबै जना कक्षामा पहिलो हुँदै आएका छन् । श्रीमती पनि पहिला शिक्षक नै थिईन् । अहिले शिक्षक छाडेर पसल शुरु गरिएको छ । उनी ब्यवसाय गर्छिन् । म शिक्षण पेशामा छु । दुई सन्तान अध्ययन गरिरहेका छन् । कहिल्यै खटपट छैन । नबोल्ने, रिसाउने भन्ने कुरा भएकै छैन । 

जीवनः अनुभवको संग्राहलय हो । 

प्रेमः अपरिहार्य । 

विवाहः पारिवारिक सम्झौता । 

शारिरीक सम्बन्धः दाम्पत्य जीवनको सुखद् क्षण ।