2019 April 22/ 12:50: 38am

अर्जुन न्यौपाने
का. अध्यक्ष
धुलिखेल वडा नम्वर २, धुलिखेल, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः साविक रविओपी गाविस हालको धुलिखेल नगरपालिका वडा नम्वर २ रविओपीमा २०३८ साल साउन २४ गते बुबा एकनाथ न्यौपाने र आमा जगतकुमारी न्यौपानेको आठौं सन्तानको रुपमा मेरो जन्म भएको थियो । चार दिदी र तीन दाजु पछिको कान्छो सन्तान थिएँ म । विद्यालय जाने र पढाउनु पर्छ भन्ने परिवारमा थियो । सेतिदेवी माविबाट क ख अध्ययन शुरु गरें । रवि ओपीमा त्यतिबेला निजी विद्यालय थिएन । दार्जिलिङ्ग घर भएका एकजना शिक्षक आएर पछि पढाउन थाले । सेतीदेवी माविमा कक्षा ३ मा पुगेका हामी केहि विद्यार्थी तिनै शिक्षकले पढाउन थालेको नर्सरी कक्षामा भर्ना भयौं । 
    नर्सरीबाट कक्षा ४ मा भर्ना भएका हामी केहि समय बनेपामा रहेको काभ्रे माविमा भर्ना भयौं । काभ्रे माविमा केहि वर्ष अध्ययन गरे पछि पुनः हामी गाउँकै सेतिदेवी माविमा भर्ना भयौैं । त्यहिबाट एसएलसी दियौं । शुरुमा विद्यालय राम्रो बनाउने अभियान थियो । सेतिदेवी भन्दा बोर्डिङ्ग राम्रो हुन्छ भनेर बुबा आमाले नर्सरीमा भर्ना गर्नु भएको थियो । कक्षा ४ मा मात्रै एविसिडी सिक्नु पर्दथ्यो । काभ्रे माविमा कक्षा ५ मा भर्ना भएका थियौं । बुबा आमाको चाहना सन्तानले राम्रो पढोस् भन्ने थियो । अहिले जस्तो गाडीको सुविधा थिएन । हामी हिडेरै बनेपासम्म पुग्थ्यौं । घरबाट विहान ८ बजे खाना खाएर विद्यालय आउँदा बनेपाको घोकेचौरमा आउँदा भोक लागिसकेको हुन्थ्यो । अभिभावकले बाटोमा होटलमा खाजा भनिदिनु भएको थियो । विद्यालय जाँदा पनि खाजा खाएर जाने र आउँदा पनि खाजा खाएर घर जाने गरेका थियौं । पछि हिड्नै गाह्रो भएर विद्यालय नै जान छाडेर गाउँमै भर्ना भयौं । 
    म अलिक उदण्ड स्वभावको थिएँ । उमेर कलिलै थियो । म बस्ने स्थानमा बेञ्चमा अर्काे साथी बस्नु भएको रहेछ । किन मेरो स्थानमा बसेको देखेर छाड्नु भन्दा पनि नमाने पछि मैले कुटें । उहाँको करङ्गको एउटा हाड भाँचिएछ । मलाई शिक्षकले २ सय लाठी कुट्नु भयो । घरमा पनि कुटाई खाएँ । समाजमा पनि मलाई असहज भयो । त्यो बानीले मलाई साह्रै गाह्रो बनायो । त्यति उदण्ड हुनबाट कमी भयो । कक्षा ७ को घटना थियो त्यो । विद्यार्थी जीवनमा केहि साथीहरुको स्वभाव त्यस्तै भएकाले मलाई त्यो संगत परेको थियो । हामी विद्यार्थी संगठनमा कृयाशिल थियौं । संगठनको आडमा हामी केहि विद्यार्थीहरुलाई गलत गर्दा थर्काउँथ्यौं । शिक्षकहरुलाई पनि किन पढाई भएन भनेर प्रश्न गर्दथ्यौं । हाफ टाईममा पौडी खेल्न जाने, गुच्चा खेल्न जाने गथ्र्याैं । गृहकार्य नगरेको भनेर पनि कहिलेकाँहि कारवाहीमा परिन्थ्यो । चर्तुर्भुज तिमल्सिना र स्व. राजन कोईराला शिक्षक देखि असाध्यै डराउँथें । त्योबेला देखि डराउने म अहिले पनि डराउँछु । पछि सम्मलाई पुग्ने गरी उहाँहरुले भन्नुहुन्थ्यो । गृहकार्य धेरै हुँदैन थियो । विद्यालयमा त्यतिबेला पनि अनुशासनको कमी थियो । निजी विद्यालयमा अनुशासन कडा थियो । नियमित पोशाक लगाउने, गृहकार्य पनि गर्नुपर्ने तथा अन्य नियममा बस्नुपर्ने भएकाले हामीलाई गाह्रो लागेको थियो । यता सरकारी विद्यालयमा त्यस्तो केहि गर्नु पर्दैन थियो । स्वतन्त्र हुने भएकाले पनि हामी निजी विद्यालय छाडेर फेरी सरकारी विद्यालयमा भर्ना भयौं । 
    विद्यालय जाने बाहेकको समयमा हामी घरमै ब्यस्त हुन्थ्यौं । मेरो घरमा धान मिल थियो । फुर्सदको समयमा मिलमै काम गर्न सहयोग गर्ने गरेको थिएँ । अरु बेला गोठालो पनि जाने गरेको थिएँ । विद्यालयमा अतिरिक्त कृयाकलाप हुन्थ्यो । मैले भलिबल बाहेक अरु खेलमा भाग लिन सकिनँ । म एसएलसी बाहेक अरु कक्षामा फेल भईनँ । हिमालय मावि बनेपामा परिक्षा केन्द्र थियो । त्यहाँका केन्द्राध्यक्षसँग मेरो झगडा पनि प¥यो । गणित विषयमा म फेल भएँ । उहाँसँग ट्युसन नपढेको भनेर उहाँले हामीलाई हेर्ने दृष्टिकोण अलग थियो । परिक्षा दिदै गर्दा मलाई फेल हुन्छु जस्तो लाग्या थियो । नभन्दै फेल पनि भएँ । बारीमा काम गरिरहेको थिएँ । रिजल्ट भयो । पुरकमा परें । धेरै साथी पास भए । हामी ५ जना पुरकमा प¥यौं । पुरकमा पास भएँ । एसएलसी दिएर घरमै मिलको काममा सहयोग गरें । मिल र घर अलिक टाढा थियो । खाना लैजाने र खाजा पु¥याउने गर्दथें । त्यहिबेला काम गर्ने मान्छेलाई पनि सहयोग गर्ने गरेको थिएँ । धान ल्याएको पैसा केहि आफै खर्च गर्दथें । बुबालाई थाहा हुँदैन थियो । दाईहरुले थाहा पाउँदा पनि केहि भन्नु हुन्न थियो । मैले त्यहाँबाट लिएको पैसा चिया खाने तथा अन्य खाजा खाने गरेको थिएँ । अरु समयमा लामो हात गरिनँ । 
    बाल्यकालमा केहि उटफट्याङ्ग भए । छिमेकी एकजना साथी मदन बजगाई र मैले उनको बारीमा भोगटे खायौं । भोगटे खाएर उनकै बुबालाई गएर मैले भनिदिएँ । बेलुका उनले कुटाई खाएछन् । साथी घर छाडेर लाहुर हिडेछन् । एक महिना पछि फर्किए । मलाई गाली त गरे होलान् तर रमाईलो भयो । अहिले पनि सम्झँदा त्यो बेलाको क्षणले हामीलाई झस्काउँछ । बनेपा आउँदा हामीलाई हाम्रो भन्दा ठुलो उमेरका साथीहरुले कुट्थे । हामी पनि सकेको कुट्थ्यौं । नसके भाग्थ्यौं । हाम्रा अग्रजहरुले उनिहरुलाई कुटिदिन्थे । ओपी क्षेत्रमा ति साथीहरु बसिरहेका हुन्थे । त्यस्ता केहि घटनाहरु पनि भए । 

एसएलसी पछिः एसएलसी दिएर मैले घरमै बसेर कम्प्युटर सिकें । बनेपामा आउने जाने गर्दथें । सागर कम्प्युटर थियो । अरु कम्प्युृटर इन्ष्टिच्युट पनि थिए । कम्प्युटरमा डिप्लोमा पनि सकाएँ । बनेपामा जाँदा आउँदा यो कता जान्छ भन्ने सोच्थे स्थानीयहरु । ब्यवसायीक विषय लाग्थ्यो कम्प्युटर । मेरो माईलो दाईको छोरी र म सँगै पढ्ने भएकाले सँगै कम्प्युटर सिक्ने आउने गरेका थियौं । कम्प्युुटर नै सिकेर त्यसमै केहि गर्ने मेरो चाहना त्यति बेला पुरा भएको थियो । 
    मिलिनियम एकेडेमीमा कक्षा ११ र १२ अध्ययन गरें । कम्प्युटर इन्ष्टिच्युटमा अध्ययन गर्दा गर्दै एडभान्स कम्प्युटर इन्ष्टिच्युट खुल्यो । त्यहाँ केहि महिना काम गरें । पछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा नागरिकता लगायतको डाटा इन्ट्रि गर्ने काम गर्न थालें । ६÷७ महिना धुलिखेलमा काम गरे पछि म नुवाकोटमा गएँ । नुवाकोटमा १२ वर्ष नियमित काम गरें । डाटा इन्ट्रिको जिम्मेवारी साँग्रिला कम्पनीले पाएको थियो । डाटा इन्ट्रि गर्ने मान्छे उसले नै राख्थ्यो । अपरेटरहरुलाई तालिम दिएर पठाउँदा २०÷२२ जिल्लामा काम भएको थियो । धुलिखेलबाट नुवाकोट जाँदा हामी कम्प्युटर सहित लिएर गएका थियौं । नुवाकोटमा कम्प्युटर नै नदेखेका कर्मचारी साथीहरु पनि हुनुहँदो रहेछ । हामीले त्यहाँ गएर काम शुरु ग¥यौं । त्यहाँ अनौठो देखियो । अहिले सुनबहादुर भन्ने चेलिबेटी बेचविखनमा परेका छन् । उनि त्यतिबेला नै २ सय भन्दा धेरै ब्यक्तिको नागरिकता बनाउन आउँथे । १२÷१३ वर्षका ब्यक्तिहरुको नागरिकता बनाउने गर्दथे उनले कागजात मिलाएर । काम नसकिँदा उनि रातभर त्यहि बस्दथें । हामीलाई पनि कामको चाप धेरै थियो । 
    विहान चाँडै देखि साँझसम्म नागरिकताकै काम हुन्थ्यो । कहिलेकाँहि त टाईप गर्दा गर्दा हात सुन्निएर हैरान हुन्थ्यो । पछि मैले सिडिओका सचिवालयमा रहेर काम गरें । सिडिओ र सहायक सिडिओसँग नजिक भएर काम गर्दा सहज पनि हुन्थ्यो । घर आउने जाने कम थियो । कम्प्युटर अपरेटर मात्रै नभएर हामीले विस्तारै प्रशासनमा अरु काममा पनि सहयोग गर्दथ्र्याैं । निजामती कर्मचारीहरुले हामीलाई अस्थायी तहका कर्मचारी हुन् भन्ने सोच राख्थे । धुलिखेलमा त्यस्तो थिएन । थोरै समय काम गरें । भित्र कोठाबाट बाहिर निस्कनु पर्दैन थियो । संकटकाल पनि थियो । कसले कहाँ काम गर्छ थाहा पनि हुँदैन थियो । मैले त्यहाँ अस्थायी भएर काम गरिरहँदा लोक सेवामा पनि परीक्षा दिएँ । तीनपटक परिक्षा दिँदा पनि नाम निकाल्न सकिनँ । त्यहाँ नियमित काम गर्दा खासै पैसा पनि बचाउन सकिएन । शुक्रबार आयो घुम्न जाने, अरुबेला खानुपर्ने बस्नु पर्ने खर्च मितब्ययतिता गर्न सकिएन । त्यसकारण पनि मैले जागिर छाड्ने निधो गरें । १२ वर्ष पछि त्यसमा भविश्य नदेखेर मैले राजिनामा दिएँ । जागिर खाँदासम्म ब्यवसाय गर्ने सोच पनि भएन । सोच भए पनि वातावरण थिएन । जागिरको अलावा हामी विहान बेलुका डाटा इन्ट्रि गर्ने गरेका थियौं । एउटा इन्ट्रि गरे बापत १ रुपैया आउँथ्यो । नुवाकोटमा केहि महिना कम्प्युटर पनि सिकाएँ । तर ब्यवसाय गर्ने र त्यसलाई नियमित गर्ने सोच बनाउन सकिनँ । समय पनि भएन । १२ वर्ष पछि गाउँ फर्किएँ । 

राजनीतिः विद्यार्थी जीवनमै हामी संगठित थियौं । २०४२÷०४३ सालमा मेरो दाई जनपक्षिय उम्मेदवार हुनुुहुँदो रहेछ । माईलो दाई भूमिगत संगठनमा सदस्य हुनुहुँदो रहेछ । घरमा आउँदा, बस्दा र राजनीतिक भेटघाटले मलाई हौस्यायो । दाईले चुनाव जित्नु भएको रहेछ । चुनाव जितेर अविर लगाउँदा म रोएको छु । रगत आयो भनेर रुदा विजय भएर खुशी मनाएको भने पछि शान्त भएँ । २०५४ सालमा स्कुल प्रारम्भिक कमिटीमा बसेर काम गर्न शुरु गरें । श्यामसुन्दर चौलागाई अध्यक्ष हुनुहुन्थ्यो । गाउँमा राजनीति गर्ने अवसर भएन । कर्मचारी भए पछि निजामती कर्मचारी संगठनमा रहेर काम गरें । एक पटक जिल्ला सदस्य र अर्काे पटक उप सचिव भएर काम गरें । गाउँ फर्किए पछि युवा संघमा रहेर काम गरें । पछि पार्टीले पार्टी कमिटीमा जिम्मेवारी दियो । 
    मलाई खासै राजनीति गर्न मन थिएन । युवाहरुको जोश र जाँगरका लागि मेरो आवश्यकता भएको पार्टीले महसुस गरेछ । पार्टीको निर्देशित सिद्धान्त अनुसार ब्यक्ति र संगठन चल्ने गरेको थियो । पार्टीको निर्णय नै अन्तिम निर्णय हुन्थ्यो । २०६२÷०६३ पछि पार्टीको निर्णय र सोच भन्दा पनि ब्यक्ति हावी हुँदै गएको महसुस भएको छ । अधिबेशनहरुमा जाँदा मकै भटमास, गुन्द्रुक र भात खुवाएर सम्पन्न हुन्थे । अहिले धेरै बदलिएको छ । सोच बदलिएको छ । आवश्यकता बदलिएको छ । २०७० पछि मलाई राजनीतिमा रुची थिएन । कर्मचारी भएको लामो समयसम्म मलाई राजनीतिले वितृष्णा गराएको थियो । राजनीतिक शक्ति भएका नेताहरुलाई नागरिकता नै घरमा पु¥याउन जाने चलन थियो । शक्ति नभएका जनताहरु झ्यालमा झुण्डाउँदा पनि नागरिकता प्राप्त गर्न कठिन थियो । विकृति र विसंगति देख्दा विरक्त लाग्थ्यो । गाउँ फर्किए पछि सामाजिक क्षेत्र र सामाजिक भावना विपरीत काम गर्ने कुरा थिएन । राजनीतिक अवस्था त्यस्तै थियो । युवाहरुको क्षेत्रमा काम गर्ने गरी मेरो आवश्यकता महसुस भए पछि राजनीति शुरु गरें । 
    मलाई गाउँमा घुलमिल गर्न केहि समय कठिन भयो । एकवर्ष मलाई कठिन नै भयो । सरकारी कार्यालयमा काम गरेको केहि अनुभव गाउँमा फरक थियो । उमेर समुहका कारण बालबालिकाहरु धेरैले चिन्दैन थिए । साउनमा जागिर छाडेर आएँ । भदौमा घरमै किराना पसल शुरु गरे । पछि दुई वटा गाडी पनि किनें । अहिले एउटा मात्रै छ गाडी । सामाजिक बन्न ब्यवसाय शुरु गरेको थिएँ । त्यसले पेशा पनि बनायो, ब्यवसायीक बन्न पनि सहज भयो । सामाजिक काममा पनि सक्रिय हुने अवसर मिल्यो । अहिले पनि त्यो ब्यवसाय चलिरहेको छ तर पुरै समय दिन पाएको छैन । तर पनि निरन्तर चलिरहेको छ । 
    पार्टी काममा कृयाशिल रहँदै निर्वाचन घोषणा भयो । सबैले आफ्नो उम्मेदवारी पार्टी भित्रै घोषणा गर्ने बैठक आयोजना गरिएको थियो । सहज परिस्थितिमा राजन कोईरालाको नेतृत्वमा काम गर्दा आफुले पनि केहि सिकिन्छ भन्ने सोचले उम्मेदवारी घोषणा गरें । पार्टीले निर्णय ग¥यो । चुनाव भयो हाम्रो टिम नै जित्यो । वडा अध्यक्ष काम गर्ने जस सबैले पाउने अवस्था थियो । उहाँ जस्तो सामाजिक ब्यक्तित्व हामीले पाउनै सक्दैनौ थियौं । भदौमा भएको अकल्पनिय घटनाले हामीले संसार गुमायौ । अभिभावक गुमायौं । मदन भण्डारी वित्दा पनि हामीले त्यस्तो महसुस गरेका थिएनौं । राजन सर हामी विच नहुँदा सिङ्गो रविओपी बासी पीडामा भयौं । अहिले पनि पीडा छ । सबै गाउँको समस्या समाधानमा उहाँ निरन्तर लाग्नु हुन्थ्यो । उहाँका सामाजिक भावनाका कामहरु जति चर्चा गरे पनि पुग्दैन । त्यति ठुलो क्षति न हिजो भएको थियो न अब होला ? त्यो घटनाले हामीलाई पीडा दियो । जेष्ठ सदस्यका आधारमा तत्काललाई टिका बल्धव सापकोटाले कार्यवाहक लिनुभयो । राजनीतिक रुपमा पोख्त म थिईन । खासै मेरो नेतृत्वदायी भूमिका पनि थिएन । युवा संघमा थोरै काम गरेको जिल्ला प्रशासनमा रहेर केहि काम गरेको अनुभव मात्रै थियो मसँग । टिकाबल्धव दाई पनि २०७४ माघ १० गते केहि समय विदेशिनु भयो । माघ ८ गते देखि मलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईयो । विकास निर्माण, नेताहरुसँगको सम्वन्ध, मेयर, उपमेयरसँगको सम्वन्ध वा प्रशासनिक कामका बारेमा खासै जानकारी थिएन । त्यसका बाबजुत पनि राजन सरका सपनाहरु पुरा गर्न नियमित काम गरिरह्यौं । 
    निर्वाचनको समयमा हामीले वडाको तर्फबाट छुट्टै प्रतिबद्धतापत्र जारी गरेका थियौं । त्यसका आधारमा हामीले योजना बनाएर कार्यान्वयन गर्न शुरु गरेका छौं । अघिल्लो वर्ष त्यस्तै भयो । यो वर्ष हामीले केहि काम शुरु गरेका छौं । आगामी ५ वर्ष भित्र हामीले बोलेका सबै कुराहरु पूरा गर्छाै । बहुबर्षीय योजनाहरुलाई विस्तारै पूरा गरिनेछ । सडक कालोपत्रे गर्ने, शाखा सडकहरु ग्राभेल गर्ने, घर–घर धारा पु¥याउने, शिक्षाको गुणस्तर कायम गर्ने र स्वास्थ्य क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्ने लगायतका योजनाहरुमा हाम्रो ध्यान केन्द्रित छ । शाखा सडकहरुमा ग्राभेल शुरु गरिएको छ । सेतिदेवी माविलाई अंग्रेजी माध्यमबाट अगाडि बढाईएको छ । कक्षा १ देखि ८ सम्म दुबै माध्यमबाट पढाई हुन्छ भने कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट मात्रै पढाई हुन्छ । राजन सरकै सपना अनुसार विद्यालयमा नेपालमै पहिलो पटक होला निजी विद्यालय एकीकरण गराएका छौं । कृषिमा अब्बल मानिएको रविओपीमा विषादीको प्रयोग गर्ने महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । परीक्षणका क्रममा केहि महिलाहरुमा प्रारम्भिक क्यान्सर देखिएको छ । उपचार शुरु गरिएको छ । नगरपालिकाको सहयोगमा आईपिएम काँक्रो खेति शुरु गरिएको छ । यस्ता केहि महत्वपूर्ण कार्यहरु भएका छन् । सबै काम हामी सम्पन्न गर्ने अभियानमा छौं । हाम्रो चोट कायम छ । त्यसकै बाबजुत हामी काम पनि गरिरहेका छौं । 
    यहि समाजमा बस्ने हो । जे पर्छ त्यहि गर्ने हो । समाजका हरेक काममा साथ र सहयोग दिने र नियमित जनताकै काममा लाग्ने मेरो उदेश्य छ । त्यो उदेश्यले नै मैले जागिर छाडेर फर्किएको थिएँ । जागिरको आदेश भन्दा स्वतन्त्रता प्यारो छ । 

प्रेम र विवाहः मेरो विद्यालय जीवनमा प्रेम परेन । केटी साथीहरु थिएनन् । मेरो उदण्ड ब्यवहारकै कारण नजिक आउन पनि साथीहरु डराउँथे । त्यहि क्रममा २०५५ सालमा एसएलसी दिँदा दिदै मागि विवाह भयो । हामी दुबैजना एउटै कक्षामा अध्ययन गर्दथ्र्याै । शिक्षक चर्तुभुज तिमिल्सनाले चाँडो विवाह गर्नु हुँदैन भन्नु हुन्थ्यो । परिवारले चाहेको कुरा मैले नाई भन्ने कुरा थिएन । मैले विवाह गरें । २० वर्षको बैवाहिक जीवनमा खटपट छैन । कहिलेकाँहि घर ढिला आउँदा चाँडो आउनु भन्ने कुरा अलग हो । अरु त्यस्तो झगडा छैन । दुई छोरा छन् । एउटा कक्षा १० मा र अर्काे कक्षा ४ मा अध्ययन गर्छ । परिवार खुशी छ । हामी सन्तुष्ट छौं । 

अविश्रमरणीय क्षणः मेरा थुप्रै अनुभवहरु छन् । केहि अनुभवहरु सुनाई सकें । निर्वाचनका बेला हाम्रो वडा अध्यक्ष राजन सर भाँडा माझ्न अगाडी सर्नुभयो । राजन सरको कामको बारेमा बर्णन हुँदै गर्दा मैले अब नगर्दा हुन्छ भनेको थिएँ । मेयर साप अशोक ब्याञ्जुले सम्झाउनु भयो । त्यो कुरा विर्सन सकिनँ । पदमा पुगेर काम नगर्ने मान्छेको कुनै अर्थ छैन । समाजको काममा जाँदा पदमा पुगेर काम गर्नु हुँदैन भन्ने कुरा होईन रहेछ जस्तो लाग्छ । अशोक सरको कुरा सधै सम्झिरहन्छु । 
    
जीवनः संघर्ष । 

प्रेमः दुई आत्माको मिलन । 

विवाहः सम्झौता । 

शारिरीक सम्वन्धः आवश्यकता ।