2024 March 29/ 01:03: 38pm

शिवकुमार थापा
अध्यक्ष
बनेपा नगरपालिका वडा नम्वर ११, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०२६ साल पौष १५ गते साविक उग्रतारा जनागाल गाविस वडा नम्बर ६ हालको बनेपा नगरपालिका वडा नम्बर ११ मा मेरो जन्म भएको थियो । बुबा हरिबहादुर थापा र आमा उषा थापाको कोखबाट जन्मेका तीन छोरा र एक छोरी मध्ये तेश्रो सन्तान थिएँ । गाउँमै रहेका प्राथमिक तहको विद्यालयबाट क ख सिकें । त्यहाँको औपचारिक अध्ययन सकेर कक्षा ४ उत्तिर्ण पछि शिक्षा सदन माध्यमिक विद्यालयमा निमावि तहको अध्ययन गरें । निमावि तहको अध्ययन सकेपछि केहि साथीहरु बनेपाको आजाद माविमा भर्ना भए भने हामी केहि साथीहरु साँगाको महेन्द्र माविमा पुग्यौं । एसएलसीसम्मको अध्ययन त्यहि विद्यालयबाट गरें । 
    विद्यालय जाने चलन कम थियो । विद्यालय जानु पनि कठिन थियो । बुबा कृषक हुनुहुन्थ्यो । गाई बस्तु पालेर घर ब्यवहार धान्नु कठिन थियो । बुबाका दुई दाजुभाई हुनुुहुन्थ्यो । २०३६ सालमा उहाँहरु अलग–अलग हुनुुभयो । त्यसपछि बुबालाई अझै कठिन भएको अनुभव छ । प्राथमिक तह अध्ययन गर्दा शिक्षकहरु कडा हुनुहुन्थ्यो । प्राथमिक तहमा अध्ययन गर्दा साथीहरुलाई शिक्षकहरुले गाली गरेको, कुटेको कुराले मलाई झस्काउँथ्यो । म कारवाहीमा परिनँ । शिक्षकको कारवाहीमा नपरे पनि अध्ययन राम्रो थिएन । कक्षा ४ मा पुगेपछि मात्रै ए वि सि डी पढ्न पाईन्थ्यो । गाउँको विद्यालयमा अध्ययन गर्दा भोगेको भोगाईले शहरी क्षेत्रमा अध्ययन गर्दा केहि सहज भयो । घरबाट शिक्षासदन निमाविमा आउँदा विद्यालय नपुगी अन्यत्र गएको याद छ । साथीहरु घरबाट अन्न चोेरेर समेत ल्याउने गरेका थिए । त्यहि अन्नले साथीहरुले मन परेका चिजहरु किनेर खाने गरेका थिए ।  मन परेको स्थानमा घुम्ने गरेका थिए । हामी पनि कहिलेकाँहि कक्षा छाडेर अन्यत्र घुम्न जाने गरेका थियौं । अभिभावकको कारवाहिमा धेरै पटक परेको छु । साथीले गहुँ चोरेर लगेको रहेछ । त्यो बेच्न म उसँगै गएको थिएँ । हजुरबुबा असाध्यै कडा हुनुहुन्थ्यो । हरेक दिन विहान धनेश्वर खाली खुट्टामा पुगेर फर्किएर मात्रै उहाँ खाना खानु हुन्थ्यो । उहाँले चोरलाई साथी गएको भनेर धनेश्वरबाट फर्किए लगत्तै म खाना खाँदै थिएँ पछाडीबाट लात्ति हान्नु भएको थाल सहित उछिट्टिएर भाग्यो । त्यो बेला देखि त्यस्तो काममा साथ दिन सकिनँ । 
    अभाव धेरै हुन्थ्यो । महसुस पनि भयो । लाउन र खाने उमेर भए पनि शहरका मान्छेहरुको जस्तो हुँदैन थियो । जे छ त्यसमै रमाउने गरेका थियौं । सानै उमेर देखि निडर स्वभावको थिएँ । संघर्ष गर्न पछि पनि हट्दिन थिएँ । बाल्यकालका रमाईला र दुःख धेरै छन् । २०३६ सालमा कक्षा ४ मा अध्ययन गर्दै थिएँ । सुर्यबहादुर थापालाई विरोध गर्ने क्रममा चारदोबाटो आएको थिएँ । शालिकमा सुर्यबहादुरको तस्विरलाई सिलौटामा नुन खोर्सानी हालेर राखिएको रहेछ । जुलुस धुलिखेल गयो । फर्किएर आउँदा गाडीमा सबैले ढुंगा हाने । मैले पनि ढुंगा हानें । प्रहरीले गोली चलाएछ । भाग्नु पर्ने होस नै भएनछ । मेरो हातमा ढुंगा रहेछ । सबै भाग्दा सडकमा म एक्लो रहेछु । ८÷९ वर्षको मान्छे सानै थिएँ । गोली काम गरेर बसेका किसानहरुलाई लागेछ । अरनिको राजमार्गको दायाँबायाँ चारदोबाटो वरिपरी इटा पार्ने चलन थियो । त्यो घटना विर्सन सक्दिनँ । बुबाहरु अलग बस्दा खान नपुगेर जौ को रोटी खाँदा घाँटीमा अड्किएर खान नसकेको घटना पनि विर्सन सक्दिन थिएँ । शिक्षा सदनमा माध्यमिक तह थिएन । शिक्षा सदनबाट महेन्द्र मावि जाँदा बस चढ्नु पर्दथ्यो । बसले पैसा नदिई चढाउँदैन थियो । झुण्डिएर जाँदा बसबाट रुखमा ठोक्किएर म घाईते भएँ । मेरो टाउकोमा गम्भिर असर प¥यो तीन दिन बेहोस भएँ । विद्यालय जान सकिनँ । विस्तारै ठिक हुँदै गयो । सबैले मर्छ भन्ठानेका रहेछन् । सम्झना शक्ति कमजोर हुँदै गयो । अध्ययनमा समेत त्यो घटनाले बाधा पा¥यो । नियमित कक्षाहरुमा पास भए पनि मैले एसएलसीमा उतिर्ण गर्न सकिनँ । दुई पटक एसएलसी दिँदा पनि मलाई एउटा विषय लागिरह्यो । शिक्षकहरुका अगाडी मात्रै होईन हामी सधै इमान्दार बन्थ्यौं । चोरेर पास गर्नु हुँदैन भन्ने मान्यता थियो । विद्यालयमा अध्ययन गरेको भन्दा धेरै अध्ययन गर्न पाईदैन थियो । त्यसकारण पनि अध्ययन राम्रो हुन सकेन । अध्ययनका अलावा हामी घर परिवारका सबै काम गर्ने गरेका थियौं । खेतबारीको काम गर्ने, बस्तुभाउ चराउने हाम्रो नियमित काम थियो । त्यो सबै सकेर मात्रै विद्यालय जाने गरेका थियौं । घरमा किताब पल्टाएर हेरेको याद कम छ । टेष्ट अलिक कडा थियो । त्यो बेला केहि मेहनत गरियो । टेष्ट पास गरेर एसएलसीको समयमा कोचिङ्ग कक्षाहरु हुन्थे । त्यसकै भरमा पास गर्नु पर्दथ्यो । विद्यालयमा अतिरिक्त कृयाकलापहरु सामान्य हुन्थे । फुटबल हुँदा खेलिन्थ्यो । ब्यवसायिक रुपमा केहि खेलिएन । केहि त्यस्तो छुट्टै प्रतिभा भएन । 
    केहि साथीहरु शिक्षकलाई धम्क्याएर किताब नै माथि राखेर लेख्थे । एसएलसीमा पनि त्यसै गरे । हामीले सकेनौ । मलाई पास हुन्छु जस्तो लाया थियो । तर हुन सकिएन । दुबै पटक पास हुन नसकेपछि अध्ययन छाडेर जागिर खाने दौरानमा हिडियो । 

एसएलसी पछिः एसएलसी दिएर केहि सयम मैले खासाको सामान काठमाडौ ल्याएर विक्री गरें । झण्डै डेढ वर्ष त्यो काम गरियो । एसएलसी फेल भएपछि के काम गरौ गरौ भन्ने भयो । भन्सार छलेर पोकापाकी ल्याउने गरेका थियौं । २ सय रुपैया नाफा हुँदा पनि धेरै हुन्थ्यो । प्रहरीले समाउँथ्यो । अँधेरीमा चेकपोस्ट थियो । त्यहाँ छलेर ल्याउनु पर्दथ्यो । तिनपिप्लेसम्म प्रहरीले पछ्याउँथ्यो । जाँदा बसमा जाने आउँदा हिडेर आउने गरेका थियौं । कटनको कपडा बोकेर बस चढेको भनेर सुराकी लाग्दो रहेछ । बाह्रविसेबाट हिडेर कोठेमा आएर बस चढ्ने गरेका थियौं । एक पटक बलेफिमा बास बसेका छौं । प्रहरी छल्न त्यहाँ बास बस्यौं । कटनकै कपडा ओढेर कटनकै कपडा ओछ्याएर ५ रुपैयाको ढिँडो र गुन्द्रुकको तरकारी खाएर जंगलमै बस्यौं । ९ जना साथीहरुले ४५ रुपैया तिरेर ढिँडो खाएका थियौं । अरु साथीहरुले केहि समय त्यो काम गरे । मैले त्यो काम गरिनँ । म त्यहाँबाट कमाएको पैसा समेत बोकेर सेनाको जागिर खाने सोचमा हिडें । प्रहरीको लखेटाईका कारण जागिर खान मन थिएन । सेना भने पहिला देखि नै मन पर्दथ्यो । 
    २०४३ सालको कुरा हो । हामी नेपाली सेनामा जागिर खान नेपालगञ्ज गयौं । १ हजार ५ सय बोकेर म बस चढेको थिएँ । म सँग अर्काे साथी थिए उनको साथमा ७ सय थियो । नेपालगञ्ज जाँदा धनगढी जाने बस छुटेछ । बस ८ बजे छुटेछ हामी साढे ८ बजे पुग्यौ । नवराज विष्टले बोलाएर हामी गएका थियौं । नेपालगञ्जबाट धनगढी जानलाई भारतको बाटो हुँदै जानु पर्ने रहेछ । भर्खर सडकको ट्रयाक खोलेकाले एउटा ट्रक जाने तयारी ग¥यो । त्यो ट्रकमै चढेर धनगढी जाँदा बबई नदिमा ट्रक फस्यो । दिउँसभर हिडेर रातको बास भुरीमा बास बस्यौं । खान नपाएर भोकले मर्नुभयो । कटाक्ष भन्ने ठाउँमा बस चल्दो रहेछ । त्यो बस भेट्टाउन लाग्दा भोकले अग्लो र होचो ठाउँसम्म चिन्न सकेनौं । त्यहाँ फलेको फलफुल माग्दा खान दिएनन् । २ रुपैया तिरेर दुई जनाले खाएको घटनाले मन छुन्छ । त्यो रात पुग्न सकिएन । बास बसियो । भोलिपल्ट विहान साढे ७ को बस चढेर जाँदा त्यहाँ आर्मीको तालिम शुरु भएको दुई दिन भई सकेछ । फेरी उहाँले दिपायल बोलाउनु भयो । मेरो साथी जान मान्नु भएन । घर फर्किने कुराले उहाँलाई सतायो । भेरीबाट धनगढी पुग्दा खोला तर्न नसकेर हैरान भयो । बल्लबल्ल तरेको घाँटी भन्दा माथी खोला आयो । उ असाध्यै रोयो । हामी दिपायल नगई खल्तिको पैसा सकिएकाले फर्कियौं । उसको आफन्तको घर काठमाडौमा थियो । कलंकीमा आउँदा २ रुपैया रहेछ । उसको मित आमाको घरमा १० रुपैया मागेर हामी घर फर्कियौं । पछि त्यो साथी आर्मीमा नै जागिर खान गयो । जागिर पाईने खुशीले धेरै पैसा खर्च गरेर गयौं । समय सकिएकाले जागिर खान पाईएन । बुबाले पनि खासै केहि भन्नु भएन । 
    घर फर्किएको केहि समय पछि मैले दुध विकास संस्थानमा जागिर खाने अवसर पाएँ । विहान गाउँमा दुध संकलन गरेर काठमाडौमा लगेर विक्री गर्ने अनि जागिर खान जाने गरेको थिएँ । ७ सय ४५ रुपैया थियो तलब । दुध ब्यवसाय र जागिरका कारण मेरो परिवारमा केहि सहयोग  पुग्न गयो । मेरो आफन्त भैसेपाटीमा काम गर्नु हुन्थ्यो । उहाँको प्रेरणाले दुध संकलन गरिरहेको थिएँ । २०४६ सालको माहोल आयो । नियमित काम गर्ने क्रममा त्यहाँ केहि राजनीति भयो । त्यो संस्थान भ्रष्टाचारको अखडा रहेछ । जिएम भेट्न चिट काटेर जानु पर्दथ्यो । मन्त्री भेट्न भन्दा पनि चर्काे थियो । कर्मचारीहरु सबै संस्थानको सामान चोरेर विक्री गर्ने गर्दा रहेछन् । हाकिमहरुको आदेश त्यस्तै रहेछ । २०५१ सालमा सरकार परिवर्तन भएपछि जिएम परिवर्तन भए । उहाँले सिधै कर्मचारीहरुलाई भेट्न थाल्नु भयो । हामीलाई चोरी नियन्त्रण गर्न सहयोग माग्नुभयो । हामीले हाकिमलाई चोरीको सामानको गाडी सहित लगेर बुझायौं । उहाँ विभिन्न स्थानमा पुगेर छड्के गरेर संस्थानलाई नाफामा पु¥याउनु भयो । ८१ लाख रुपैयाँ ऋण लिएर तलब खुवाउनु परेको अवस्थाको त्यहि बेलाबाट अन्त्य भयो । पछि उहाँलाई राजनीतिक कारण हटाईयो । उहाँले कर्मचारीको तलब समेत बढाई दिनुभयो । सबै कर्मचारीहरु उहाँकै पक्षमा थिए । जसलाई हामीले कारवाहीमा पारेका थियौं उनकै दाजु जिएम भएर आए । उनी आएपछि हामीलाई पेल्न थालियो । १० बजे देखिको काम विहान पारियो । त्यसले गर्दा विहान जनागालमा राखेको डेरी बन्द गर्नुप¥यो । बानेश्वरमा डेरी गर्न थालें । हामीले पार्टनरमा डेरी राखेका थियौं । विहान ब्यवसाय र दिउँसो जागिर खाँदा खाँदै त्यहि बेला निर्वाचन आयो । आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियानमा मेरो सक्रिय सहभागिता रह्यो । अफिसमा जागिरमा पेल्न थालेपछि २०५३ मा जागिरबाट राजिनामा दिएर गाउँ फर्किएँ । 
    २०५४ मा वडा अध्यक्ष भए पछि केहि समय काम गर्न पाईन । त्यति बेला खोपासी ताल्ढुंगा सडकमा पनि काम गरें । उपभोक्ताहरुको जिम्मवारी लिएर काम गरेको थिएँ । त्यहाँ गएको बेला एउटा घटना भयो । उहाँले ब्राण्डी लिएर जानु भएको रहेछ । शिक्षक पनि हुनुहुन्थ्यो । मलाई पनि थोरै खुवाउनु भयो । उहाँले खाएपछि मुख छाड्नु भयो । मैले सहन सकिनँ । उसलाई कुटें । उ त माओवादीलाई हतियार सप्लाई गर्ने मान्छे रहेछ । मलाई पेस्तोल ताक्यो । मैले उसको घाँटी अठ्याएँ । उसको आमा रुँदै आउनु भयो । उसले खुकुरी पनि ताक्यो । तर हान्न पाएन । पछि उसको आमाले हामीलाई छुट्याए पछि हामी चुप लाग्यौं । विहान उसलाई डर लागेछ । मलाई उसले पछि आक्रमण गर्ने डर थियो उसलाई मैले हतियारका बारेमा भनिदिन्छ भन्ने डर रहेछ । हामी तीन जना साथीहरु थियौं । एक जनाको निधन भई सकेको छ । पछि हामी बीच सहमति भयो कसैले कसैलाई केहि नगर्ने र नभन्ने । त्यो घटना पनि अविश्मरणीय थियो । त्यतिबेला मेरो घरमा अर्काे घटना घट्यो । माओवादीका नाममा खाओवादीहरुले मेरो घर लुटेछन् । श्रीमती, बुबा आमालाई त्रसित बनाउँदै बुबालाई पनि कुटपिट गरेर १५ तोला सुन, कपडा सहित मैले भर्खर किनेको जुत्ता समेत लगेका रहेछन् । पछि प्रहरीले चोरहरुलाई त पक्राउ गर्न सफल भयो तर सामान भने सबै आएन । त्यतिबेला उजुरी गर्न पनि डरमर्नु थियो । उजुरी गरे घरमा आएर सबैलाई सिध्याउने धम्किका बाबजुत मैले उजुरी दिएँ । मेरो जुत्ताका आधारमा अन्यत्र चोरी गरिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र युद्धका कारण सबै चोरहरु पक्राउ नभए पनि मुख्य चोरहरु पक्राउ परेका थिए । 

राजनीतिः विद्यालयमा विद्यार्थी संगठनहरु कृयाशिल थिए । बनेपाबाट विद्यार्थी संगठनका नेताहरु संगठन बनाउन जाने गरेका थिए । एक पटक हाम्रो विद्यालय बन्द गराउन नेविसंघका नेताहरु गएका रहेछन् । हामी नेक्राविसंघमा आवद्ध थियौं । हामीले विद्यालय बन्द गर्न नदिई फर्काएका थियौं । हामी सानै देखि कम्युनिष्ट रहेछौं । मेरो बुबा पनि त्यहि पृष्ठभूमिको हुनुहूँदो रहेछ । बुबा हामीलाई घरमा सुताएर केपी बञ्जाराको घरमा राजनीतिक कार्यक्रममा जानु हुँदो रहेछ । बहुदल आएपछि त्यो कुरा थाहा भयो । उहाँले सबै कुरा भन्नुभयो । केन्द्रका सबै नेताहरु केपी बञ्जाराको घरमा आउनु हुन्थ्यो । हाम्रो घरबाट झण्डै आधा घण्टाको बाटोमा राति उहाँ सधै जाने गर्नु भएको थियो । विद्यालयमा त्यो छाप पर्न गयो । विद्यार्थी संगठनमा रहेर सत्यको पक्षमा हामीले आन्दोलन गर्ने र संगठित हुने काम ग¥यौं । 
    पछि म दुध विकास संस्थानमा हुँदा त्यहाँ हाम्रो तहका कर्मचारीहरुलाई संगठित गरेर राजनीति गरियो । मेरो नाम आकाश थियो । अधिकृत स्तरका हाम्रो संगठनमा थिएनन् । २०४६ सालको आन्दोलनमा अञ्चलाधिशको कार्यालयमा आगो लगायौं । त्यहाँ गोली चलाउँदा सँगै भएका साथीहरु घाईते भए । आन्दोलनमा निरन्तर लागिरह्यौं । महाबौद्धमा एकजना बालकले ढुंगा दिदै थियो । उसलाई प्रहरीले गोली हान्यो । उ घाईते भएपछि अस्पताल बोकेर लैजाँदा अस्पतालको गेट खुलेन । प्रहरीले मलाई बन्दुकको कुन्दाले हान्यो । उनको उपचारका लागि अस्पताल पु¥याएपछि हामी झनै आक्रोशित भयौं । त्यहाँ गाडाहरु राखिएको थियो । खाली गाडाहरु ठेलेर प्रहरीलाई त्यहाँबाट धपाएका थियौं । त्यो आन्दोलनमा पनि हामी भागेर ज्यान बचायौं । प्रहरीले हानेको गोलीले सँगैका साथीहरु लड्दा मलाई छट्टपट्टि हुन्थ्यो । मोदनाथ प्रश्रित, केशव बडाल, सोमनाथ बञ्जारा, मिठाराम बञ्जारा, माधव गौतम, साधुराम बञ्जारा लगायतका ब्यक्तिहरुको राजनीतिमा लाग्ने प्रेरणा जाग्यो । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने क्रममा दुध विकास संस्थानमा पनि राजनीति गरियो । दुर्गादत्त जोशीको शक्तिका आधारमा मैले त्यहाँ जागिर खाएको थिएँ । त्यहाँ भएको विकृति विसंगति विरुद्ध पनि हामी संगठित भयौं । पछि मलाई हाम्रो सरकार र हाम्रो मान्छे नभएपछि पेल्दै गए । हामी अस्थायी थियौं । जागिर छाडेर घर फर्किएपछि समाजसेवा र राजनीति सँगै गरें । २०५४ सालमा पार्टीले वडा अध्यक्षको जिम्मेवारी दियो । निर्वाचित भएर काम गरें । सिनागाल जाने पहिलो बाटो हाम्रो पालामा खोलेका थियौं । त्यो पुल पनि हामी आफै निर्माण क्षेत्रमा सहभागि भएर बनाएका थियौं । सिनागालका विकासका हरेक काममा मेरो सहभागिता थियो । त्यसकै आधारमा पार्टीले मलाई स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवार बनायो । पार्टी नेता तथा कार्यकर्ता र जनताको अपारमायाका कारण निर्वाचित भएँ । निर्वाचनका बेला बोलेका प्रतिवद्धता अनुसार वडा नम्वर ११ लाई विकासका हिसावले सम्वृद्ध बनाउने अभियानमा निरन्तर काम गरिरहेको छु । मतदाताहरुको विश्वासमा घात गर्ने छैन । 
    हिजोजस्तो स्थानीयहरुको श्रमदान हुन सक्दैन । सडक खन्दा २८ दिन निरन्तर कोदालो लिएर जाने ब्यक्तिहरु अहिले एक दिन पनि जान मान्दैनन् । नगरपालिकाको १५ प्रतिशत सहभागिता जुटाउन पनि कठिन छ । ब्यक्तिहरु आफ्नो मात्रै ब्यवस्थापनमा छन् । सामाजिक क्षेत्रमा काम गर्ने सोच भए पनि ब्यक्तिहरु समय दिन सक्दैनन । 

प्रेम र विवाहः विद्यालय जीवनमा साथीहरु कसै कसैले प्रेम गर्दथे । पत्र पनि लेख्थे । केहि साथीहरु प्रेम गरेर भन्न सक्दैन थिए । मैले कसैलाई प्रेम गरिनँ । मेरो मागि विवाह भयो । बुबाहरुको चाहना बमोजिमको मागि विवाह भयो । सुवर्ण थापा मेरो श्रीमतीको नाम । काठमाडौको मुलपानीमा उनको घर थियो । २०४७ सालमा हामीले विवाह गरेका थियौं । हामीबाट जन्मेका एक छोरी र एक छोरा छन् । दुबै अष्ट्रेलियामा छन् ।
    मेरो श्रीमतीलाई गम्भिर रोग लाग्यो । घाँटीमा क्यान्सर भएछ । नेपालमा उपचार सम्भव नभएर भारतमा लगेर उपचार गराएर ल्याएँ । धन्न उनको उपचार सम्भव भयो । त्यो पीडादायी क्षणबाट पनि हामी अगाडी बढिरह्यौं । आफन्तको सहयोगमा उनलाई भारत लगिएको थियो । छोरीलाई विएस्सी नर्सिङ्गमा भर्ना गरेको चार महिना मात्रै भएको थियो । मैले ऋण लिएर जग्गाको काम गरिरहेको थिएँ । धुलिखेल अस्पतालमा क्यान्सर पत्ता लागेपछि ह्याम्स अस्पतालमा पुग्यौं । घाँटीमा ट्युमर देखिएको थियो । टिचिङ्ग अस्पतालमा ६ महिना पछि पालो आयो । बिमल्सेना डाक्टरले अप्रेसनको मिति दिएको अघिल्लो दिन नै उहाँको आफन्त वित्नु भएछ । अप्रेसन गर्दा उनको हातखुट्टा नचल्ने, बोली बन्द हुन सक्ने अवस्थाका बारेमा जानकारी गराईएको थियो । मेरो मित काठमाडौमा भएकाले उहाँको सहयोगमा उनलाई अर्काे साता नै भारत पु¥याएर अप्रेसन सफल भयो । उनी अहिले स्वस्थ छिन् । फेरी आउँदो फागुनमा फलोअपका लागि हामी भारत जाँदै छौं । 

जीवनः सुख र दुःखको मिश्रण । 

प्रेमः पारिवारीक मिलन । 

विवाहः जीवनयापनका लागि अपरिहार्य । 

शारिरीक सम्वन्धः आवश्यकता ।