2024 March 29/ 11:30: 33am

योगमाया आचार्य
अध्यक्ष
गौरिशंकर ग्रामिण महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि, 
पनौती, काभ्रे

जन्म, बाल्यकाल, औपिचारिक शिक्षाः २०३५ सालमा पनौती नगरपालिकाको ठाडोबाटोमा मेरो जन्म भएको थियो । बाल्यकाल त्यहि वित्यो । निम्न बर्गिय र अशिक्षित परिवारमा मेरो जन्म भएको थियो । जेठी छोरी थिएँ । दुई बहिनी र एक भाई छन् । असाध्यै दुख थियो । गरिवी थियो । बुबा आमाले सन्तानको हुकाई र बढाईका लागि असाध्यै धेरै दुख गर्नु भएको थियो । दुख र भोगाई जेठो सन्तान भएकाले धेरै भयो । बुबा आमालाई अझै पनि बुझाउन कठिन हुन्छ । बाल्यकालमा राम्रो शिक्षा लिएर अध्ययन गर्ने ईच्छा थियो । कक्षा १० मा अध्ययन गर्दा गर्दै विवाह भयो । महिलाहरुका लागि केहि गर्ने सानै देखिको रुची थियो । विवाहका कारण अध्ययन अधुरो रह्यो । टेष्ट पास भएँ । एसएसलसी पास हुन सकिन । बुबाले पढाउने शर्तमा विवाह गरि दिनु भएको थियो । त्यो वातावरण हुन सकेन । बुबाले भनेको कुरा पुरा गर्न नसकेकाले उहाँलाई आत्मग्लानी भएको छ । उहाँले अहिले पनि भन्नुहुन्छ अध्ययनका लागि बाधक म नै भएँ । एसएलसीमा २ विषय लाग्यो । निरन्तरता दिन सकिन । १४ वर्ष पछि जेठी छोरीको सहयोगमा एसएलसी दिएँ । निरन्तर खुल्ला विद्यालयमा गएँ । एसएसलसी पास भएँ । कक्षा ११ भर्ना भएँ । उर्तिण हुन सकिन । छोराछोरीहरुलाई विद्यालय पठाउँदा आफु जान सकिन । एसएलसी पास हुने सपना पुरा गरे पनी थप अध्ययनको रहर पुगेन । 
    प्राथमिक तहको अध्ययन गाउँमै भयो । बुबा आमाले नियमित विद्यालय पठाउनु भएको थियो । इन्द्रेश्वर अध्ययन गर्न जाँदा केहि संकट आयो । तर पनि बुबाले निरन्तर विद्यालय पठाउनु भयो । मेरो संगत पनि अध्ययन गर्ने साथीहरुसँग मात्रै हुन्थ्यो । विद्यालयमा जति पढ्यो त्यति नै थियो । घरमा अध्ययन गर्ने समय थिएन । भाई बहिनीहरुको हुकाई, घरमा खाना पकाउने, सरसफाई गर्ने, खेत बारीको काममा सहयोग गर्ने, बस्तु भाउ, घाँस दाउरा सबै गर्दा गृहकार्य के हो ? थाहा हुँदैन थियो । बुबाहरु दुध लिएर पनौती जानु हुन्थ्यो । उहाँहरुले दुध लिएर जाने होटलमा हाम्रा शिक्षकहरुले सम्झाउनु हुँदो रहेछ । बुबाहरुले कहिल्यै विद्यालय जान रोक्नु भएन । गृहकार्य गर्न नपाउँदा शिक्षकहरुले कारवाही गर्नु हुन्थ्यो । नपढेको अवस्थामा पिरिएढ भरी बेञ्च माथी उभिनु पर्दथ्यो । केहि साथीहरु त कक्षाबाटै भाग्नु हुन्थ्यो । मैले चाँहि कहिल्यै कक्षा छाडिन । विज्ञान विषयको शिक्षकको कक्षामा एक पटक कारवाहीमा परेको छु । उहाँले सोधेको कुरा आउँछ भनेर हात उठाएँ । सोध्दा एउटा शब्द आएन । पछि उहाँले पढाउँदासम्म म उभिएरै बसें । त्यो घटना कहिल्यै विर्सन सक्दिन । 
    म साहित्य प्रति रुची राख्थें । पीडा र दुखका घटनाहरुमा कविता लेख्थें । एक पटक कविता पत्रिकामा प्रकाशन भएको थियो । आँशुको मोल भन्ने कविताले मनलाई रोक्ने काम गर्दथ्यो । कक्षा ९ मा शुरु गरेको थिएँ कक्षा १० मै विवाह भयो । विवाहका कारण सबै कुरा विर्सन पुगें । हाजिरिजवाफ, कविता प्रतियोगिता, अन्य अतिरिक्त कृयाकलापमा भाग लिन्थें । गित र नृत्यमा रुची भए पनि सहभागि भएको थिईन । कवितालाई पछि निरन्तरता दिन सकिन । कुनै कुनै कार्यक्रममा सहभागि हुँदा लेख्न मन लाग्छ तर लेख्न सक्दिन । एक पटक बुबा आमाको कारवाहीमा परेको छु । साथीहरुको लहैलहैमा उक्साएर आमाको पैसा चोरेर साथीहरुलाई पु¥याएको छु । त्यो पैसाले उनिहरुले के के किन्थे मलाई थोरै विस्कुट खान दिन्थे । कति पैसा थियो थाहा थिएन । पछि आमाले थाहा पाएर मलाई गाली गर्नु भयो । त्यस पछि कहिल्यै मैले लामो हात गरिन । अर्काे एउटा घटना भयो । ठुलोबुबाको बारीमा भएको मुला चोरेर खायौं । मुला उखेलेर हसिंयाले घुँडामा राखेर काट्दा हसिंयाको चुच्चोले घुँडामा काट्यो । ठुलोबुबाको छोरी र म थियौं । रग्ताम्मे भयो । राति केहि नभनी सुतें । विहान उठ्न सकिन । घुँडाको घाउ गाह्रो भयो । एउटा मुला खान मागेकै भए पनि दिनु हुन्थ्यो । चोरेर खाँदा त्यस्तो भयो । त्यो खत अझै बाँकी छ । कहिलेकाँहि लाग्छ त्यस्तो नगरेको भए हुन्थ्यो । ति अविश्मरणीय क्षण रहे । साथीहरुको समुह समय अनुसारको फलफुल खान जाने गरेका थियौं । चुत्रो, ऐसेलु, काफल खानलाई सहज हुन्थ्यो । त्यो केटाकेटीपनमा हरेक कुरा जायज लाग्थ्यो । 
    विवाह पछि नियमित विद्यालय जाँदा अध्ययन कमजोर हुँदै गयो । घर परिवार र आफन्त सम्झँदा अध्ययन गर्ने कुरा कमजोर भएको थियो । जेनतेन टेष्टमा उर्तिण भएँ । एसएलसी दिने बेला पनि मलाई समस्या भयो । पहिलो बेञ्चमा परें । सँगै भएको साथी खैनी र सुर्ति खाने रहेछन् । चिट लगेको भए पनि सार्न सकिन । साईन्स र गणितमा २÷ ४ नम्वर मात्रै पुगेको थिएन । एसएलसी रिजल्ट आउँदा साह्रै पीडा भयो । मलको डोको बोकेर हिडिरहेको थिएँ । आँशु झारेर कसैलाई देखाईन । फेल भए पनि मुटु माथी ढुंगा राखी हासि रहें । पढाईलाई निरन्तरता दिन घर परिवारले सहयोग गर्न सकेन । विवाह पछि नियमित घरकै काममा सक्रिय रहें । धेरै अवसर आए तर पनि अवसर प्राप्त गर्न अध्ययन गरेकै हुनुु पर्दथ्यो । सबै छुटे । एड्रा नेपालबाट आएको एउटा तालिममा भाग लिने अवसर पाँए । त्यतिबेला पनि घर परिवारको शंका र विश्वास दुबै थियो । विश्वासमा कहिल्यै धोका दिन चाहिन । प्रण नै गरें धोका दिन्न र केहि गरेर देखाउँछु । गाउँका आमाहरुलाई प्रौढ शिक्षा पढाएँ । १५ जनाको कक्षामा २५ जना हुनु भयो । सबैलाई  क ख अध्ययन गर्ने मात्रै होईन पत्रिका समेत पढ्न सक्ने बनाएँ । सबै खुशी हुनुभयो । 
    मलाई घरमा देवरहरुले पनि सहयोग गर्नु भयो । दोश्रो पटकको एसएलसीमा जेठी छोरी र देवरको सहयोग रह्यो । रिजल्ट आउँदा डर लागिरहेको थियो । भित्र भएकी छोरी दौडिएर बधाई दिन आउँदा खुशीको आँशु झ¥यो । 

सामाजिक र सहकारीमा आवद्धः महिला विकास कार्यालयबाट समुह गठन गर्ने कार्यक्रम रहेछ । घरमै थिएँ ।  घरबाट निस्कने वातावरण थिएन । म सँग पैसा पनि थिएन । साथीहरुले बोलाए समुहमा तर पैसा छैन । एक जना दाईलाई बाटोमा भेटें । ५ सय रुपैया सापट मागेर बचत गर्न शुरु गरें । त्यो अवस्थामा मैले बचत गर्न शुरु गरेको आज यो अवस्थामा छु । सम्झन्छु त्यो दिन त्यो क्षण । समुहबाट वडा वडामा समिति गठन गर्नु पर्ने रहेछ । मलाई २५ जनाको समितिमा राख्नु भयो । सबै साथीहरुले मलाई विश्वास गर्नु हुँन्थ्यो । इमान्दारिता र पारदर्शिता मेरो पहिलो मन्त्र थियो । समुहमा कोषाध्यक्ष राख्नु पर्छ भन्नु भयो । समितिबाट संचालक समितिमा राख्ने प्रस्ताव भयो । आफुले नकमाई जम्मा गर्ने पैसा थिएन । मैले धेरै समय खाना पनि खाईन । अहिले पनि समयमा खान पाउँदिन । समुहमा साथीहरु भन्दा कम हुनु हुँदैन भन्ने सोच आउँथ्यो । आफ्नो खुट्टामा उभिन केहि गर्नु पर्छ भन्ने लाग्थ्यो । 
    आलु खेति, गाई पाल्ने गरेका थियौं । श्रीमान लुम्विनीमा गएर काम गर्न थाल्नु भएको थियो । फजुल खर्च केहि पनि गर्दिन थिएँ । २०५८ सालमा शुरु गरेको बचत थियो त्यो । म जस्ता नसक्ने थुप्रै दिदी बहिनीहरु छन् । आफ्नो विगत सम्झेर पछि परेका दिदी बहिनीहरुलाई कसरी अगाडी ल्याउने ? हिंसामा परेका, पछौटेपनमा परेका, आय आर्जन नभएका महिलाहरुलाई कसरी अगाडी ल्याउने ? राति सुते पछि ओछ्यानमा पनि यस्तै यस्तै कुरामा सोच्छु । गौरी शंकर महिलामा मात्रै मैले ४÷५ लाख जम्मा गर्न सकेको छु । बचत तथा ऋण सहकारीमा एउटामा आवद्ध छु । धेरै सहकारीमा आवद्ध हुनु भन्दा एउटामा बसेर राम्रो गर्ने भन्ने लाग्थ्यो । ऋण लिएर पनि मलाई भारी हुन्थ्यो । ऋणको कारोवार धेरै गरिन । बचतको कारोवारमा ध्यान दिन्थें । शुरुमा वडा समितिको कोषाध्यक्ष भएँ । वडा समितिको कोषाध्यक्षबाट संचालक समितिमा आएँ । संचालक समितिमा बसेको केहि वर्ष पछि मैले अध्यक्षको जिम्मेवारी पाएँ । लगातार तीन कार्यकाल देखि अध्यक्षमा कार्यरत छु । अग्रज दिदीहरुले गरेको कामबाट सिक्ने अनुभव पाएँ । उहाँहरुको साथ र सहयोगबाट निरन्तर सहकारीमा कृयाशिल हुने अवसर पाएँ । झण्डै १८ वर्ष देखि निरन्तर संस्थामा सक्रिय  भएको छु । 
    सहकारीको नेतृत्वमा शिक्षित ब्यक्ति नै आवश्यक रहेछ । सहकारीले धेरै महिलाहरुलाई नेतृत्व विकासमा सहयोग पु¥याएको छ । आर्थिक सम्वृद्धीका लागि अभियान शुरु गरेको छ । म जुन अवस्थामा सहकारीमा प्रवेश गरेको थिएँ त्यो अवस्था र अहिले धेरै फरक छ । योग्यवान ब्यक्तिको आवश्यकता मैले पटक पटक महसुस गरेको छु । हामी अहिले पनि जिल्लामा निरन्तर उत्कृष्ट भएका छौं । राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त गरेका छौं । नेपालमै नमुना सहकारीको रुपमा विकास गर्ने अभियानमा छौं । २०५२÷२०५३ सालमा दर्ता भएको सहकारीमा ८५ जना हुनुुुहुँदो रहेछ । म आवद्ध हुँदा ३ सय पुगेका थियौं । अहिले २५ सय पुगेका छौं । महिलाहरुले संचालन गरेको सहकारीमा विश्वास कम थियो । आधार के छ ? विश्वास दिलाउँनै कठिन थियो । विस्तारै समिति मार्फत विश्वास बढाउँदै लग्यौं । कार्य क्षेत्र पनौती मात्रै छ । हिजो सानो नगरपालिका अहिले ठुलो भएको छ । सबै वडामा पुगेर दिदी बहिनीहरुलाई सिप, शिक्षा, नेतृत्व लगायतका क्षेत्रमा अगाडी बढाउने योजना बनाएका छौं । स्थानीय तहको निर्वाचनमा धेरै दिदी बहिनीहरुले भाग लिन आँट गर्नु भयो । आउने निर्वाचनमा झनै ठुलो माहोल ल्याउने र पहिला आफु आफु बीच नै प्रतिस्पर्धा गर्ने वातावरण बनाउने छौं । आत्मनिर्भर नहुँदासम्म सबै पक्षबाट महिला पछि पर्ने गरेकाले त्यो कुरामा केहि वर्षमै हामी सक्षम र आत्मनिर्भर बनाउने अभियानका कृयाशिल हुने छौं । 
    युयसआईडीले सहयोग गर्न शुरु गरेको छ । महिलाहरुले तरकारी उत्पादन गर्ने र उत्पादन भएको तरकारी हामी आफै सप्लाई गर्ने योजनामा कृयाशिल भएका छौं । कृषि, तरकारी खेति, बाख्रापालन तथा पशुपालनबाट आय आर्जन बढाउने र बीचमा कमिसन खाने बाटो बन्द गरी उत्पादन अनुसारको मुल्य प्राप्त गर्ने गरी कार्य अगाडी बढाईएको छ । शिक्षा प्रमुख कुरा रहेछ । शिक्षामा सक्षम बनाएपछि नेत्तृत्व विकास र आय आर्जनमा आत्मनिर्भर बनाउनु पर्ने रहेछ । महिलाहरु पछि पर्नुको कारण पुरुष मात्रै होईन रहेछ । आफै पनि प्रमुख कारण रहेछ । घरायसी काम गरेर बाहिर पनि गर्न सक्छौ भन्ने आँट गरेर निस्कनु पर्छ । शिक्षित श्रीमानहरुले कार्यक्रममा जानु भन्दा पनि नजाने महिलाहरु पनि हुनुुहन्छ । आफै केहि गर्छु भन्ने सोच आफैमा पनि आउनु पर्छ । मन भित्रैबाट त्यस्तो सोच नआउँदा सम्म महिलाहरु अगाडी बढ्न सक्दैनन । 
    सहकारीमा भन्दा अघि सामाजिक कृयाकलापमा पनि मेरो सक्रिय सहभागिता रहेको थियो । अहिले पनि छ । त्यो निरन्तर जारी छ । जारी रहन्छ । सहकारी मार्फत हामीले सामुदायिक सेवा केन्द्र संचालन गर्ने अवसर पायौं । पछि जिल्ला स्तरीय केन्द्र संचालन गर्ने अवसर प्राप्त भयो । हिंसामा परेका महिला दिदी बहिनीहरुका लागि केहि समय राख्ने,  एकसरो कपडा दिने र पछि उहाँहरुलाई पुर्नस्थापनाका लागि वातावरण बनाउने अभियान निरन्तर जारी छ । समुदायिक विकास केन्द्रबाट जिल्लामा पठाउने चलन थियो । जिल्लामा झण्डै ४० दिनसम्म रहन पाउने ब्यवस्था छ । त्यति लामो समय त्यहाँ बस्दा पारिवारीक रुपमा पुर्नमिलन भएको, पुर्नस्थापना भएको अवस्था छ । दिदी बहिनीहरुको पक्षमा लागे बापत धम्कि खानु परेका थुप्रै घटना छन् । डराएर पछि हट्यो भने दिदी बहिनीहरुको उद्धार कहिले हुन्छ र कसले गर्छ र ? मरिन्छ भन्ने डर छैन । पीडामा कोहि नपरोस भन्ने मात्रै लाग्छ । 

राजनीतिः राजनीतिमा मैले कहिल्यै सक्रिय सहभागिता जनाईन । मेरो उदेश्य महिलाहरुलाई राजनीतिमा सक्रिय गराउनु हो । सहकारी मार्फत नेतृत्व र क्षमता विकास गराई उहाँहरुलाई निर्वाचनमा प्रतिस्पर्धा गराउन सक्षम बनाउनु हो । अहिले उपप्रमुख र केहि सदस्यहरु महिला हुनुुहन्छ । आगामी निर्वाचनमा सबै पदमा महिलाहरुले प्रतिस्पर्धा गर्न सकाउनु मेरो लक्ष्य छ ।     म प्रत्यक्ष रुपमा कुनै पार्टीमा लाग्दिन । सहकारीमा रहुञ्जेल सबैको समान हुँ । सबैलाई समान देख्छु । नेतृत्वमा रहुञ्जेल म राजनीति गर्दिन । पछि नेतृत्वबाट बाहिरिए पछि राजनीतिमा सक्रिय हुन्छु । नेतृत्वमै रहेर काम गर्ने चाहना छ । 

प्रेम र विवाहः अध्ययन गर्दा गर्दै बुबाले विवाहको कुरा टुङ्गो लगाउनु भएको रहेछ । कक्षा ९ उर्तिण गरेको थिएँ । विवाहका लागि प्रस्ताव गरिएका मेरा श्रीमान पुण्य माविमा कक्षा ८ मा अध्ययन गर्नु हुँदो रहेछ म इन्द्रेश्वरमा कक्षा ९ मा । घरमा काम गर्ने मान्छे नभएको भन्दै उहाँको विवाहको कुरा गरिएको रहेछ । बुबाले त्यहि मेलोमा मेरो विवाहको टुङ्गो लगाउनु भएको रहेछ । मैले सहमति जनाउन सकिन । उहाँलाई विवाह गर्दिन भनेर धेरै अनुनय विनय गरें । विवाहको कुरा टुङ्गो लागेको ७ दिनसम्म मैले खाना र पानी समेत खाईन । त्यतिबेला पनि विद्यालयमा प्रेम गर्ने चलन थियो । साथीहरुले प्रेम गरेको, प्रेम पत्र आदान प्रदान गर्ने गर्दथे । मलाई प्रेमको मतलब पनि थिएन । कसरी अध्ययन गर्ने ? कसरी पास गर्ने भन्ने बाहेक अरु सोच थिएन । 
    विवाहको टुङ्गो लागे पछि खाना खान मन गरिन । विवाह गर्न नमानेपछि बुबाले इज्जतका लागि भए पनि विवाहको विकल्प नभएको बताउनु भयो । खाना समेत नखाएपछि साथीहरु घरमै मलाई सम्झाउन आए । विवाह पछि लामो समय त्यहि कारण विरामी भएँ म । विवाह पछि नियमित विद्यालय जाने वातावरण सहज भएन । श्रीमानले मेरो पक्षमा बोल्न सक्नु भएन । माईतीमा बुबा आमाले अध्ययन नछाडनु भन्नु भयो । श्रीमानले अध्ययन गर्न गए म डाँडो काटेर जान्छु भन्नु भयो । माईतीमा भएको बेला श्रीमानले पत्र लेखेर पठाउनु भयो । घरबाट बुहारी विद्यालय जाने कुराले सकंट निम्तिन पुग्यो । घरबाटै विद्यालय जाने कुरा सहज नभए पछि माईती गएँ । श्रीमानले त्यो पत्र पठाए पछि तीन दिन रोएर सुतें । बुबाआमाले के भयो भन्दा पनि भन्न सकिन । पछि बुबाले घर छाडिदिनु अध्ययन गर्नु भन्नु भयो । श्रीमान रोज्ने कि बुबा ? म धर्म सकंटमा परें । नियमित विद्यालय त गएँ तर अध्ययन गरेको सम्झन सकिन । शुक्रबार सधै घर जाने गरेको थिएँ । आईतबार विहान दौडेर माईती आउने र विद्यालय जाने गरेको थिएँ । पत्र पठाएको केहि दिनसम्म न केहि भई सक्यो कि ? भन्ने डर र चिन्ताले सताएको थियो । शिक्षकहरुले पनि मलाई निगरानी गरिरहनु भएको थियो । विवाह भए पछि अध्ययन कम भएको जानकारी पाउनु भएको थियो । टेष्ट पास भएँ । खुशी लाग्यो । एसएलसी दिएँ तर दुई विषय लाग्यो । घर परिवारले अध्ययनका लागि सहयोग पु¥याउन सकेन । 
    बच्चा जन्मँदै गए पछि मलाई झनै घर परिवारको दायित्व थपियो । उहाँले पनि विचमै अध्ययन छाड्नु भयो । उहाँलाई मैले सहयोग गर्छु अध्ययन गर्नुस भन्दा पनि मान्नु भएन । नन्द र देवर अध्ययन गर्नु हुन्थ्यो । नन्दले पनि अध्ययन गर्नु भएन । श्रीमान र नन्दले अध्ययन गर्नु भएन । देवरले राम्रो अध्ययन गर्नु भयो । अहिले जापान हुनु हुन्छ । उहाँले मेरो सहयोग प्राप्त गरेको बताउनु हुन्छ हरेक समयमा । बुढो ससुरा घरमा हुनुुहुन्थ्यो । उहाँलाई इज्जत र चिन्ता दुबै थियो । श्रीमानले धेरै विश्वास थियो । कहिलेकाँहि ३÷४ दिन तालिमको क्रममा बाहिर बस्नु पर्दथ्यो । त्यति बेला पनि उहाँले मलाई विश्वास गरेर पठाउनु भयो । अहिले पनि श्रीमान, देवर लगायतले विश्वास गरेर काममा पठाउनु भएको थियो । दुई छोरीहरुको जन्म भए पछि अलग बस्नु प¥यो । बच्चाहरुको उच्च शिक्षाका लागि निरन्तर मेहनत गर्नु पर्छ भन्ने लाग्यो ।  घर परिवारको काम गर्दा गर्दै सामाजिक र सहकारी अभियानमा सहभागि भएँ । आर्थिक बचत गरेर ऋण लिएर घर परिवारको आय श्रोत बढाउछु भन्ने थियो । 
    सामाजिक कार्यमा पैसा आम्दानी हुँदैन । मलाई श्रीमान र छोरा छोरीबाट पूर्ण सहयोग छ । कर्म गर फलको आशा नगर भन्ने मन्त्र सम्झिरहेको छु । घरमा गरिएको कामबाट हुने आम्दानीले सहयोग भई रहेको छ । दिदी बहिनीहरुको आँशु पुछुन सके भने पुण्य कमाउँछु भन्ने लाग्छ । निरन्तर त्यहि अभियानमा छु । कहिलेकाँहि राति फोन आउँछ दिदी बहिनीहरु पीडामा परेको भनेर उठेर जान्छु । त्यति बेला पनि मलाई साथ र सहयोग हुन्छ । कहिलेकाँहि धम्की आउँछ । जसले धम्कि दिन्छ त्यो पछि आफै डराउँछ । घर परिवारको पुर्ण सहयोगले मात्रै मैले निरन्तर काम गर्ने अवसर पाएको छु । 

अविश्मरणीय क्षणः अधिकारका लागि धुरुधुरु रुँदा पनि प्राप्त हुन नसक्दा दुख लाग्छ । जेष्ठ नागरिकहरुको अधिकार र परिवारबाट भोग्नु परेको समस्या समाधान गर्न नसक्दा आत्मग्लानी हुन्छ । परिवारले घर निकाला गर्दा जेष्ठ नागरिकलाई कहाँ पुर्नस्थापना गर्ने ? समस्या धेरै छ । 

जीवनः संर्घष । 

विवाहः माध्यम

प्रेमः खेल । 

शारिरिक सम्वन्धः रहस्य ।