2019 June 27/ 04:14: 27pm

राजेशकुमार श्रेष्ठ
अध्यक्ष, 
हेलम्बु यातायात सेवा समिति, काभ्रे
सदस्य, काभ्रे उद्योग बाणिज्य संघ, काभ्रे
पूर्व अध्यक्ष, जेसिज, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०३५ साल भदौ १ गते साविक होक्से गाविस हालको पाँचखाल नगरपालिकामा मेरो जन्म भएको थियो । बुबाआमाको स्थायी बसोबास र जन्म दाप्चामा भएको थियो । नेवार समुदायको बसोबास ब्यवसायसँगै सरिरहने रहेछ । काभ्रेको महादेवस्थान वडा नम्वर ८ मा मेरो बसोबास शुरु भयो । पाँचखालमा जन्मिए पनि मेरो बाल्यकाल महादेवस्थानमै वित्यो । बुबा आमा ब्यवसाय गर्नुहुँदो रहेछ । शुरुमा घर नजिकैको विद्यालयमा भर्ना गरिदिनु भएको रहेछ । पछि राम्रो अध्ययन गरोस् भन्ने उदेश्यले ६ किलोमिटर टाढा लामिडाँडामा रहेको सुनगाभा विद्यालयमा भर्ना गरिदिनु भयो । सानै थियो उमेर । छात्राबासमा बस्नु पर्दथ्यो । पाँच वर्ष पनि नपुगेकाले मलाई असाध्यै परिवारको यादले सताउन थाल्यो । दुई साता मात्रैे त्यो विद्यालयमा अध्ययन गरेर पुनः महादेवस्थानमै फर्किएँ । 
    दाप्चा हाम्रो पुर्खाहरु बस्ने स्थान हो । अहिले पनि हाम्रा दाजुभाई हुनुुहुन्छ । कुलायनको पुजा त्यहि हुन्छ । परिवारको पहिलो सन्तान थिएँ । मैले सबैलाई जन्मस्थान नै महादेवस्थान हो भन्ने गरेको थिएँ । आज पहिलो पटक मैले जन्मिएको स्थानका बारेमा बताएँ । कक्षा १ देखि नै मैले डेडिथुम्का माविमा भर्ना भए । बजारमै थियो विद्यालय । सानो कक्षाहरु विद्यार्थीहरुको सहजताका लागि त्यहि शुरु गरिएको रहेछ । विद्यार्थी धेरै थिए । ७० जनासम्म एउटै कक्षामा हुन्थे विद्यार्थीहरु । यज्ञ सर, रामकुमार सापकोटा लगायतका शिक्षकहरुको घरायसी वातावरणले अध्ययनमा सहज भयो । कक्षा ५ सम्म त्यहि अध्ययन गरेको थिएँ । विद्यालय नियमित जाने गरेको थिएँ । कसैलाई दुःख दिईनँ । धेरै उत्कृष्ट थिएन अध्ययन । मध्यम भएकाले खासै त्यति धेरै अध्ययनको कडाई थिएन । बुबा आमाको सोच पढेर ब्यवसाय गरिदिओस् भन्ने थियो । मैले विहान बेलुका घरको काममा सहयोग गर्दथें । ९÷१० जना पसलमा काम गर्ने मान्छे थिए । विद्यालय गएर फर्किएपछि पसलमै बस्ने गरेको थिएँ । उनिहरुले मलाई हातमा लिन कहिलेकाँहि केहि पैसा दिन्थे । आफ्नै पसलमा भएको खानेकुरा पनि साथीहरुसँग मिलेर अन्यत्र किनेर खाने गरेका थियौं । सामान्य चिज त हुन्थ्यो । 
    विद्यालय जीवनका केहि उट्फट्याङ्ग भए । एकजना बुढी आमाको बारीमा रहेको अम्बा चोरेर खाएका थियौं । उहाँले मागेर खाँदा पनि दिनुहुन्थ्यो तर हामीले मागेनौं । साथीकै कारण शिक्षकको कुटाई पनि खाएको छु । देउपुरका शेषकान्त दुलाल मेरा साथी थिए । चुरोट पनि खाने, खैनी पनि खाने बानी रहेछ उहाँको । हाफटाईममा निस्किएका थियौं । केहि समय कक्षामा फर्कन ढिला भयो । शिक्षकले साथीको मुखमा खैनी फेला पार्नुभयो मलाई पनि त्यहि बेला कुट्नु भयो । २०३२ साल देखि हाम्रो ब्यापार शुरु भएको रहेछ । गृहकार्य सकेर हिसाब किताव हेरिदिन्थें । कहिलेकाँहि त बुबाले सामान किन्न साथी लिएर जानु हुन्थ्यो । विदाको समयमा नेपालगञ्ज, विरगञ्ज जस्ता स्थानमा पुगेको छु । विद्यालयमा अतिरिक्त कृयाकलाप हुन्थे । क्यारेमबोर्ड, डोरी, रिङ्ग लगायतका सामाग्रीहरु थिए । १ कक्षा देखि १० कक्षासम्मका लागि पालो आउन गाह्रो थियो । भलिबल, चेस पनि थिए । फुटबल खासै थिएन । कक्षा १० को टेष्ट पनि बाहिर गएर दिनु पर्दथ्यो । सामान्य खेलकुदहरु भए । मेरो सक्रिय सहभागिता रहन्थ्यो । टेष्टका लागि पाँचखाल गएका थियौं । एसएलसीका बेला पनि पाँचखालमै बसेर थप अध्ययन गरिरहेका हुन्थ्यौं । पाँचखालमा परिक्षा कडा थियो । जति कडा भए पनि मलाई पास हुन्छु भन्ने थियो । दोश्रो श्रेणीमा पास भएछु । रिजल्ट भएको दुई दिन पछि पत्रिका आई पुग्थ्यो । कुन्ताबेशी भन्दा टाढाका साथीहरु आँगनमा कुरेर बस हेरेर पत्रिका खोज्दा रमाईलो हुन्थ्यो । दोश्रो श्रेणीमा मेरो नम्वर रहेछ खुशी लाग्यो । दुई दिन पछि थाहा पाउँदा कौतुहलता लाग्यो । कोठामा बसेर अध्ययन गर्दा नयाँ खालको अनुभुति भयो । फिल्म हल बनिसकेको थिएन । कक्षा ६, ७ मा अध्ययन गर्दा अग्रज दाईहरुले स्टाईल निकाल्ने, कपाल पाल्ने, हिरो बन्ने भन्ने, पाईन्ट चुज बनाउने जस्ता काम हुन्थ्यो । त्यो हाम्रो प्राथमिकतामा परेन । 
    मेरो प्राथमिकता पढाई सँगै ब्यवसाय प्राथमिकतामा प¥यो । बाईरोडको बाटोमा ट्रक चढेर गईएको थियो । पहिलो बास हेटौडामा बस्यौं । दोश्रो दिन सर्लाहिको बर्थवामा बस्यौं । त्यहाँबाट सक्खर ल्याएर गोदाम गर्ने गरेका थियौं । सख्खर त्यसै लोड गरेर ल्याउने र माटोको घरमा ल्याएर राख्ने हो । माटो सहित सख्खर बनेर आउँथ्यो । त्यो सख्खर भक्तपुरको बजारमा बेच्ने गरेका थियौं । घरेलु मदिरा बनाउन त्यो सख्खर जान्थ्यो । हामी मुनाफा लिएर बिक्री गर्दथ्यौं । साथीभाईसँग घुमघाम गर्ने, फुर्सदको समय पसलमा बस्ने गरेर एसएलसीको खाली समय वितायौं । 

एसएलसी पछिः एसएलसी उत्तिर्ण गरेपछि क्याम्पस पढ्न काठमाडौ गएँ । कक्षा ११ अध्ययन गर्दा समेत  काठमाडौ बसें । होहल्ला धेरै हुन्थ्यो । साथीभाईहरुको संगतले अध्ययन भन्दा पनि फिल्म हेर्ने, आफुलाई स्वतन्त्र भएको अनुभूति हुन्थ्यो । केहि साथीहरु अध्ययन गरेर विदेश पनि गएका छन् । अध्ययन खासै महत्वपूर्ण लागेन । दोश्रो वर्ष अध्ययन गरेर म महादेवस्थानमा फर्किएँ । कक्षा ११ र १२ को अध्ययन काठमाडौमै सकेका थियौं । नियमित क्याम्पस नगए पनि हामी पास भयौं । तर महादेवस्थानमा क्याम्पस खोल्ने भन्ने कुरा भयो विद्यार्थी छैनन् । हामीले फेरी भर्ना गर्ने निर्णय ग¥यौं । पुरानो ब्याचका २८ जना भन्दा धेरै विद्यार्थीहरु भर्ना भएर विद्यालय टिकाउने काम ग¥यौं । हामी पास पनि भयौं । हामी संस्थापक विद्यार्थी भएर त्यो क्याम्पस टिकाउने काम ग¥यौं । सिन्धुपाल्चोक र काभ्रेका विभिन्न स्थानबाट त्यहाँ अध्ययन गर्न आएका थिए । त्यो स्कुलले धेरै राहत पायो । हामीले पनि राहत पायौं । मैले १२ सकेर प्राईभेटमा भर्ना भए । ब्याचलर अध्ययनका लागि भर्ना भएँ । पहिलो वर्षको अध्ययन सकेर दोश्रो वर्षको अध्ययन गर्ने रहर हुँदा हुँदै पनि समय ब्यवस्थापन गर्न नसकेर बीचमै छाडिदिएँ । 

ब्यवसायमा प्रवेशः म नजन्मदै गरेको ब्यापार निरन्तर थियो । हरेक दिन गरिएको ब्यापारको पैसा सेफमा राख्ने चलन थियो । बुबाले मलाई पारिवारीक रुपमा साँचो हस्तान्तरण गर्नुभयो । कक्षा १२ सकेपछि बुबाले मलाई विश्वास गर्दै जिम्मेवारी प्रदान गर्दा पारिवारीक निर्णय थियो । लाए अहएको काम भन्दा पनि आफै जिम्मेवारीमा परेर काम गरेकाले मलाई दायित्व बोध भयो । अहिले जस्तो होईन त्यतिबेला धेरै ब्यापार हुन्थ्यो । विहानको खाना जहिल्यै २÷३ बजे खाने गरेका थियौं । मण्डनको सबै र सिन्धुपाल्चोका केहि गाविसका नागरिकहरुको केन्द्र महादेवस्थान थियो । मान्छेहरु आउने र जाने क्रम निरन्तर हुन्थ्यो । मैले ब्यापार भन्दा पनि खाताहरु हेर्ने काम गरेको थिएँ । 
    बुबा केहि वर्ष सिक्किममा बसेर काम गरेर फर्कनु भएको थियो । मारवाडिले राख्ने जस्तो हिसाब हाम्रो घरमा राख्ने गरिएको थियो । लाल खाता, पहेँलो खाता चलाउने गरिएको थियो । त्यो खाता सबै भारतबाट नै किनेर ल्याउने गरेका थियौं । त्यो खातामा आफै लेख्ने गरेको थिएँ । खाता लेख्न पनि बुबाले सिकाउनु भएको थियो । सामान किन्न जाँदा पनि त्यसका बारेमा मलाई सिकाईएको थियो । पैसाको कारोवार भन्दा पनि गाउँमा अन्नपातको आदान प्रदान हुन्थ्यो । घरमा मामाहरु पनि हुनुहुन्थ्यो । खातामा लेख्ने पनि नियम थियो । पहेँलो खातामा कालो बाहेक अरु कलम चल्दैन थियो । त्यो मेरो लागि नयाँ अनुभव पनि थियो । त्यसले मलाई कुनै दिन ब्यवसायी बनाउँछ भन्ने लाग्या थियो । त्यस्तो खातालाई सरकारले मान्यता दिएको हुने रहेछ । ब्यापार राम्रै थियो । गाउँमा हुने अन्नहरु पनि हाम्रोमा आईरहन्थ्यो । युद्ध शुरु भए पछि ब्यापार ब्यवसाय घर्किदै गयो । ब्यवसाय कमजोर हुँदै गएपछि हामीले केहि वर्ष मात्रै त्यहाँ रहेर गर्ने निर्णय ग¥यौं । त्यसपछि हामीले बनेपामा पसल शुरु ग¥यौं । तर बनेपामा फरक खालको ब्यवसाय ग¥यौं । साथीहरुसँग मिलेर हिमालयन मेलम्ची पानीको काम शुरु ग¥यौं । पछि मैले त्यो सँगै कार्टुन बनाउने उद्योग खोलें । पानीका लागि कार्टुन किन्न जाँदा पैसा तिरेर पनि नपाउने भए पछि आफैले त्यो ब्यवसाय शुरु गरेको थिएँ । पानीको ब्यवसाय पनि नौलो थियो । पानीको नाम राख्दा पनि केहि साथीहरुसँग हामीले बहस गरेका थियौ । मेलम्चीको नामले परिचित हुने भएकाले त्यहि नाम राखेको थिएँ । केहि वर्ष मैले म्यानेजर भएरै काम गरे । अहिले अझै फरक खालको ब्यवसाय गर्न सोच बनाईरहेको छु । 
    पसल पछि बुबाले ट्रक किन्नु भएको थियो । अहिले जस्तो होईन बुबाले ट्रक किन्दा मान्छे पनि ओसार पसार हुन्थ्यो । बुबा २०४२ सालमै यातायात ब्यवसायी हुनु भएको थियो । २०४४ सालमा हेलम्बुको सदस्य भई सक्नु भएको थियो । बनेपामा हेलम्बुको जग्गा किन्न बुबाको ठुलो योगदान रह्यो । पछि बुबा कोषाध्यक्ष हुनुभयो । त्यतिबेला बनेपामा कार्यालय निर्माण भयो । म २०५५ सालमा हलम्बुको सदस्य भएँ । सदस्य बन्न कठिन थियो । यातायातका साधन हुँदा पनि सदस्य बन्न सकिदैन थियो । धेरै अग्रजहरु हुनुहुन्थ्यो । त्यतिबेला मलाई एउटा अवसर आयो । सदस्य भएको केहि समय पछि कार्य समितिमै बस्ने अवसर पाएँ । एकजना सदस्यले राजिनामा दिनु भएको रहेछ । शुरुमा मलाई असिन पसिन भएको थियो । अग्रजहरुको अगाडी कसरी प्रस्तुत हुने होला ? २०÷२२ वर्षको केटो संचालक समिति ? आफैलाई प्रश्न गरिरहेको थिएँ । भविश्यमा नेतृत्व गर्छु जस्तो चाँहि लागेको होला । सदस्य भएको डेढ वर्ष पछि कोषाध्यक्ष पद खाली भयो । कोषाध्यक्ष पाँचखालको बालकृष्ण सापकोटाले राजिनामा दिनु भएको रहेछ । नरेन्द्र श्रेष्ठ, मेरो बुबा लगायत एउटै टिममा हुनुहु्न्थ्यो । नरेन्द्र श्रेष्ठ सल्लाहकार हुँदा मलाई कोषाध्यक्षको जिम्मेवारीमा विश्वास गर्नु भयो । थुप्रै ब्यक्तिहरु अग्रज हुँदा हुँदै मैले पाएको जिम्मेवारी पुरा गरें । ८ वर्ष कोषाध्यक्ष भएँ । 
    संस्थामा पनि राजनीति हुँदो रहेछ । एक पटक मलाई अध्यक्ष बन्ने प्रस्ताव आयो । मैले फेरी कोषाध्यक्ष भएरै काम गरें । सबैले अध्यक्ष बन्ने प्रस्तावलाई अस्विकार गरेर अग्रज ब्यक्तिलाई अध्यक्ष बनाए । दुई वर्ष पछि म अध्यक्ष भएँ । २८ वर्षको उमेर थियो मेरो । अहिले निरन्तर १२ वर्ष देखि म अध्यक्ष छु । हामी अस्तब्यस्त अवस्थामा पुगेका थियौं । अस्वस्थ प्रतिस्पर्धा थियो । केहि समय नयाँ गाडी चले । हामीसँग ५० वटा नयाँ बस थिए । बैकल्पिक सडक पनि खुल्यो । काठमाडौ जर्सिपौवा हुँदैै मेलम्ची सडक खुलेपछि पनि हामीले सवारी साधन थप्न सकेनौं । हामीले नयाँ बस राख्न पाएनौं । गाडी किन्न सकिएन । ५० भन्दा धेरै ब्यवसायी विस्थापित भए । त्यो बेलाको नेतृत्व मेरो थियो । त्यस्तो संकटको बेला म अध्यक्ष भएँ । विमाको पैसा सकिएको थियो । २८ लाख भन्दा धेरै ऋण थियो । कर्मचारीको तलब ६ महिना देखि दिन सकिएको थिएन । कोषाध्यक्ष हुँदा पनि खासै केहि गर्न सकेको थिईनँ । अध्यक्ष भए पछि दायित्व सम्झेर काम गरें । टिम बनाएर काम गरें । टिम राम्रो भए पछि संस्थालाई राम्रो बनाउने अभियान शुरु भयो । 
    हामीले स्थायी सरकारको कल्पना गरेका थियौं भर्खर पुरा भएको छ । अहिले काम गर्ने वातावरण बनेको छ । ब्यवसाय गर्दा राज्यलाई कर तिर्नु पर्छ । हामीले पनि चाहेका त्यहि थियौं । हामीले संघ संस्था दर्ता ऐन अन्र्तगत हामीलाई नियमन गरेको थियो त्यो गलत रहेछ । सरकारले हामी ब्यवसायीलाई बुझेको अनुभुति भएको छ । पहिलो चरणमा असोजमा पछि तीन महिना थपेर पुष मसान्त पु¥यायो । सरकारको स्थायी नियम मान्ने कुरालाई हामीले पालना गर्नुपर्छ । कर तिर्ने कुरामा हामी सहमत छौ । विभिन्न क्षेत्रबाट कर तिरे पनि ब्यवसायको मुनाफा बापतको कर तिर्ने कुरामा सरकारलाई सहयोग गर्छाै । सरकारले यसलाई ब्यवस्थित बनाओस् । सरकारले हाम्रा विकल्पहरुमा छलफल गरिदिओस् भन्ने हाम्रो अपेक्षा छ । 
    यातायात क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । हामीले विद्युतिय प्रणाली मार्फत गाडीहरुको अनुगमन गर्ने काम शुरु गर्ने योजना बनाएका छौं । त्यो डिभाईस खरिद गरिएको छ तर प्रयोगमा ल्याउन सकिएको छैन । नयाँ प्रविधिलाई नयाँ बसहरुसँग प्रयोग गर्ने योजनामा छौं । यात्रुहरुको सेवाका लागि गुणस्तरीय र भरपर्दाे आरामदायी यात्रामा सहजता प्रदान गर्ने उदेश्य रहेको छ । यातायात क्षेत्रका केहि विकृतीहरु सुधार्ने योजनामा छौं । उद्योगहरु चलाउँदा चलाउँदै काभ्रे उद्योग बाणिज्य संघमा आवद्ध भएँ । 

राजनीतिः विद्यार्थी जीवनमा राजनीति गरिनँ । काठमाडौमा विद्यार्थी चुनावमा भाग लिएको थिएँ । निर्वाचनमा भाग लिँदा पनि राजनीति गरेको अनुभुति भएन । महादेवस्थानमा पनि त्यस्तो थाहा भएन । पछि फर्किएर पनि क्याम्पसमा राजनीति गरिनँ । पछि पनि राजनीति गर्ने योजना छैन । हिजो पनि गरिनँ । भोलि पनि गर्दिन भन्ने लाग्या छ । 

समाजसेवामा प्रवेशः यातायात क्षेत्रको ब्यवसाय, पानी र कार्टुन छाप्ने उद्योगको ब्यवसायसँग म जेसिजमा आबद्ध भएँ । त्यो सामाजिक संस्था रहेछ । पूर्व अध्यक्ष राजन मानन्धरसँग मेरो चिनजान थियो । उहाँ २०१३ को अध्यक्ष हुनुहुुन्थ्यो । मेरो उद्योगमा जेसीजको सामाजिक कार्यका लागि सहयोग जुटाउन आउने क्रममा मलाई सदस्य बनाउनु भयो । सदस्य बनाएर सपथ गराउने कुराले मलाई उत्सुकुता थपियो । त्यहि बेला देखि साधारण सदस्य भएँ । साधारण सदस्य भएर केहि समय काम गरेपछि मलाई जेसिजको राष्ट्रिय महाधिबेशनमा सहभागी हुने अवसर पाएँ । सन् २०१४ मा काभ्रे जिल्लाले महाधिबेशन गर्ने जिम्मेवारी लिएको रहेछ । त्यसमा पनि सक्रिय सहभागि भएँ । पछि त मैले अध्यक्ष भएर जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । सामाजिक अभियानमा सक्रिय हुने अवसर त्यहि बेलाबाट थप शुरु भयो । 
    मैले जिम्मेवारीमा रहेर आर्थिक पाटोमा कहिल्यै गल्ति गरिनँ । सधै जिम्मेवारी बोध गरेर ब्यवस्थापन गरिरहें । जहाँ जिम्मेवारी लिएँ त्यहाँ राम्रो गरें भन्ने लाग्छ । 

प्रेम र विवाहः विद्यालय जीवनमा प्रेम गर्ने चलन थियो । मैले र मलाई पनि पत्र आदान प्रदान भएको थियो । त्यो एउटा समय थियो । त्यो प्रेम निरन्तरता भएन । क्याम्पसमा प्रेम भएन । ब्यवसायको सिलसिलामा फेरी प्रेम भयो । तर उनैसँग मागि विवाह भयो । सहमति र प्रेम पछि मागि विवाह थियो । २०५९ सालमा विवाह भएको थियो । एक छोरा र एक छोरी छन् । विवाहको लामो समयसम्म हाम्रो असमझदारी छैन । समय अभाव हुँदा पनि उनले त्यसको ब्यवस्थापन गरिरहेकी छिन् । उनी पनि ब्यवसायसँग आवद्ध भएकाले सबै कुरा बुझ्छिन् । मेरा हरेक क्षेत्रमा उनको साथ र सहयोग छ । बच्चाहरु पढ्दै छन् । 

जीवनः जीवन संघर्ष हो । संघर्ष र भोगाईबाट हार खानु हुँदैन । तडक भडक गर्नु हुँदैन । कोहि भाग्यले ठग्यो भन्छन् । भगवानले सबैलाई दिन्छन् । दिएको समयमा आफै लिन जान्नुपर्छ । हुँदा भड्किलो हुने र नहुँदा सामान्य हुने कुरा राम्रो होईन । 

प्रेमः दुई आत्माको मिलन हो । प्रेम विनाको समाज सम्भव छैन । फरक फरक हुन्छन प्रेमका रुपहरु । 

विवाहः जीवन जिउनका लागि आवश्यक । 

शारिरीक सम्वन्धः प्राकृतिक नियम ।