2019 January 19/ 08:28: 45pm

रोशनी उपाध्याय
बरिष्ठ उपाध्यक्ष, महिला समिति
नेपाल घरेलु तथा साना उद्योग महासंघ

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०३३ साल कार्तिक १४ गते सिन्धुपाल्चोक जिल्ला लामोसाँघुमा मेरो जन्म भयो । बुबा आमा ब्यवसायको सिलसिलामा उतै बस्नु हुन्थ्यो । जन्म उता भए पनि मेरो बाल्यकाल पनौती नगरपालिका चौकोटमा बित्यो । श्वेत गणेश प्राविबाट क ख सिक्दै कक्षा ६ देखि १० सम्म श्रीखण्डपुर माविबाट सम्पन्न गरें । दोश्रो श्रेणीमा त्यहिबाट एसएलसी पास गरेर चैतन्य क्याम्पसमा आई.एल अध्ययनका लागि भर्ना भएँ । आई.एड.मा पढ्दै भए पनि निरन्तरता दिन सकिनँ । लामो समय रोकिए पछि पनौतीको तेजगंगा क्याम्पसबाट २०५९ सालदेखि शिक्षा संकायमै भर्ना भएँ । मास्टर्स त्यहि क्याम्पसबाट अध्ययन गरी उत्तिर्ण भएँ ।
    बाल्यकाल असाध्यै रमाईलो थियो । बुबा जजमानी काम गर्नुहुन्थ्यो । दाजु एक, भाई एक र म । तीन सन्तानका एक्ली छोरी । अभाव भन्दा पनि चञ्चलता र माया ममतामै बित्यो । संस्कार नै थियो ब्राम्हण जातीको छोरीहरु मिन्सुरेन्स भए पछि अध्ययन भन्दा पनि विवाह गरेर पठाउनु पर्छ भन्ने थियो । मैले घरमै केहि विद्रोह जस्तै पनि गरें । शुरुमा मलाई पनि विद्यालय पठाउने कुरा थिएन । बुबाले पनि विद्यालय पठाउने कुरा गर्नु भएको थिएन । म आफैले विद्यालय जाने प्रयास गरें । दाजुहरु जाँदा पछि पछि जाने, उहाँहरुकै किताब अध्ययनको प्रयास गर्ने र कापी कलम पनि उहाँहरुकै लिने गरेको थिएँ । विद्यालय नपुग्दा पनि बाटोमै बसेर उहाँहरु विद्यालय जाँदा र आउँदा भेट्ने गर्न थालें । चौतारामा थियो विद्यालय । सगोलको परिवार भएकाले अरु दाईहरु पनि हुनुुहन्थ्यो । लेख्ने, पढ्ने मेरो रहरलाई बुबाले पूरा गरिदिनु भयो । विद्यालयमा भर्ना गरि दिए पछि म विद्यालय नियमित जान थालें । गोविन्द अधिकारी मेरो पहिलो गुरु हुनुुहुन्थ्यो । असाध्यै मलाई माया गर्नु हुन्थ्यो । कापी कलम नहुँदा पनि सिलोटमा लेखेर सिकाउनु हुन्थ्यो । स्कुल जान दुःख कष्ट थिएन । कक्षा १ मा प्रथम भएको ब्यक्ति कक्षा २ मा फेल भएँ । साथीहरु नेवार सम्प्रदाय भएकाले साथीहरु गुफामा बस्दथे । उनिहरुको लहैलहैमा विद्यालय नजादाँ म फेल भएँ । 
    गुरुहरुले कलिहेकाँहि साथीहरुलाई गृहकार्य नगरेको भन्दै कुट्नु हुन्थ्यो । दलबहादुर श्रेष्ठ सरले दाजुको हिसाब मैले गरिदिएको भनेर एक पटक मलाई कुट्नु भयो । दाईले धेरै कुटाई खानु भयो । मलाई हिसाब अलिक धेरै आउँथ्यो । गोविन्द गुरुले कहिले काँहि धेरै खेलेको भनेर कुट्नु हुन्थ्यो । बुबा आमाले मलाई कक्षा २ मा फेल भएको भनेर एक महिना विद्यालय पठाउनु भएन । आलुबखेडा चोर्ने, परालको कुन्युबाट पराल ल्याएर पिङ्ग बाट्ने, काँक्रा चोर्ने जस्ता उट्फट्याङ्ग हुन्थे । खान लगाउन अभाव थिएन । सन्तानलाई शिक्षा राम्रो दिन्छु भन्ने सोच थियो । एकपटक बुबाको १५ पैसा चोरेको थिएँ । बुबाले त्यो थाहा पाउनु भयो । कुट्नु भएन गाली मात्रै गर्नुभयो । साथीहरु बटुलेर गट्टा खेल्ने, डोरी खेल्ने काम हुन्थ्यो । बालचञ्चलता थियो धेरै प्राथमिक तह अध्ययन गर्दासम्म तर निमावि तह शुरु भएपछि ममा जिम्मेवारी बढ्यो । होडबाजी गरेर पढ्न थालें । दायित्व बोध भयो । अलिक मेहनत गर्न थालें । अरुलाई सिकाएकोमा कुटाई खाएँ । त्यो विद्यालयमा पनि त्यहि भयो । नियमित विद्यालय जाने, जेहेन्दार विद्यार्थीका रुपमा चिनिने गरेको थिएँ । 
    म सानैदेखि गीत गाउन मन पराउँथें । जनसाँस्कृतिक समुहमा बसेर पनि गीत गाउँदै हिडेको थिएँ । विद्यालयमा हुने साँस्कृतिक प्रतियोगितामा मेरो सहभागिता हुन्थ्यो । जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएर प्रथम हुन्थें । राष्ट्रियता भरिएका गीतहरु गाउने गरेको थिएँ । अहिले पनि त्यस्ता गीतहरुको सम्झना छ । कविता लेख्ने, हाजिरजवाफ, बादविवाद, निबन्ध जस्ता गतिविधिमा मेरो सक्रियता थियो । भर्खर भर्खर बहुदल आएको थियो । स्वतन्त्रता भएको, देशभक्ति गीतहरु गाउनु पर्ने शिक्षा कार्यालयको अनुरोध थियो । मैले सहभागिता जनाएर प्रथम भएको थिएँ । अरु बेला पनि म गीत गाउँथें । घरमा, भान्सामा हुँदा पनि गीत गुनगुनाउँथें । दलबहादुर श्रेष्ठ, तेजबहादुर खड्का, केशव बडाल लगायतका नेताहरु घरमा आउँथें । उहाँहरुको अगाडि गाएको गीतहरु सुनेर उहाँहरुले समुहमा मलाई लैजानु हुन्थ्यो । पार्टीका जनतासँग जोडिएका गीतहरुमा मेरो स्वर हुन्थ्यो । मेरो इच्छा धेरै थियो चाहना धेरै थियो । हौसला धेरै थियो । साथीहरुले दिएको हौसलाले मलाई खुशी लाग्थ्यो । गाउने मात्रै होईन नाच्ने पनि गर्दथें । कम्युनिष्ट नेताहरुको बस उठ घरमा हुन थालेपछि मलाई स्वतन्त्रता थियो । म छोरा जस्तै थिएँ । काम गर्दा होस् वा स्वभावले मलाई त्यो काममा रोकतोक हुदैन थियो । बुबा नभएको मौका पारेर गाउन र नाच्न दौडन्थें । बुबाको अगाडी लाज लाग्थ्यो । केहि गीतहरु लेखें पछि । कविताहरुले पनि निरन्तरता पाउन सकेनन् । गीतको रचना, गायन, नृत्य केहि पनि स्थायीत्व भएन । एसएलसी पछि सुरेन्द्र श्रेष्ठसँग संगीत पनि सिकें । 
    एसलसीमा प्रथम डिभिजन आउनैपर्ने थियो । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले मलाई प्रथम डिभिजन ल्याउँदा निःशुल्क पढ्न पाउने बताउनु भएको थियो । कार्यक्रममा उहाँ निरन्तर हाम्रो विद्यालयमा आउने गर्नु भएको थियो । एसएलसीको समयमा म अलिक बिरामी भएँ । साथीहरुले मेरो कापी लिएर सार्दा मेरो कापीमा गार्डले लेखेर पठाई दिनुभएछ । त्यहि कारण मेरो एउटा विषयमा कम नम्वर आएका कारण २ नम्वर कम हुँदा दोश्रो श्रेणीमा उत्तिर्ण भएँ । ५ दिन घरबाट उठ्दा पनि उठिन । शुरुमा रिजल्ट हेर्न जाँदा प्रथम डिभिजन हेरिएको रहेछ । भेटिएन, तेश्रो श्रेणीमा पास भईछे भन्नुभयो । झनै पीडा भयो । केहि दिनपछि मात्रै थाहा भयो दोश्रो श्रेणीमा पास भएछु । कक्षा ९ अध्ययन गर्दा मेरो अध्ययन रोकिने भयो । पारिवारीक कारण थियो । आम्दानी पनि घरमा थिएन । मैले स्विटर बुन्न जानेको थिएँ । त्यतिबेला मैले बुबालाई स्विटर बुनेर अध्ययन गर्छु भनें । पहिलो स्विटर बिग्रियो । दोश्रो स्विटर राम्रो भयो । स्कापहरु बुन्ने गरेको थिएँ । त्यसबाट मासिक ४०÷४५ रुपैया आउन थाल्यो । त्यहि पैसाले मैले अध्ययन गर्छु भनें । झण्डै झण्डै रोकिएको पढाई आफ्नै प्रयासबाट निरन्तरता भयो । स्विटर बुन्ने बानीले मलाई अहिले उद्यमी पनि बनायो । मलाई वकिल बन्छु जस्तो लाग्या थियो । त्यहि सोचले एसएलसी पछि चैतन्य क्याम्पसमा कानुन संकायमा भर्ना भएँ । साथीहरुको हल्ला गर्ने बानी रहेछ । उनिहरुले पढे मैले पढ्न सकिनँ । शिक्षा संकायमा मेजर गणित लिएर पढ्न थालें । 
    एसएलसी दिएर सिलाई सिक्न थालेको थिएँ । बुबाले सिप सिक्नुपर्छ भन्नु भएकाले बुनाईमा रुची थियो । सिलाईमा पनि सहज हुन्छ भन्ने आश मेरो पुरा भएन । मलाई खासै मन थिएन । त्यहिबेला हरिभक्त खोंजुसँग भेट भयो । ग्रासविस भन्ने संस्थामा मान्छे आवश्यकता भएको रहेछ । उहाँकै संस्थामा मलाई काम गर्ने प्रस्ताव गर्नुभयो । चुल्हो निर्माणका बारेमा मैले सचेतना गराउनु थियो । झण्डै २ वर्ष भन्दा अलिक धेरै उहाँको संस्थामा काम गरें । चार हजार रुपैयाँ थियो तलब । पहिलो महिनाको तलब बुबालाई लगेर दिएँ । बुबा खुशी हुनुभयो । स्विटर बुनेर पढ्नुपर्ने मान्छे जागिर पाउँदा खुशी नहुने कुरा भएन । सिलाई सिक्न छाडेर जागिर खान थालेको थिएँ । 
    
एसएलसी पछिः गीत गाउने कुरा पुरा हुन सकेन । नाच्ने कुरा पनि भएन । कक्षा ९ देखि विवाहको प्रस्ताव पनि अस्विकार गरें । दोश्रो डिभिजन आएकाले केयु पढ्ने सपना पनि सकियो । वकिल बन्ने चाहना पनि पुरा भएन । सबै कुरा सकिए जस्तो अनुभव भयो । तर सानैदेखिको चाहना उद्यमी रहेछ । स्विटर बुन्ने र बुनाई गर्ने कुराले निरन्तरता प्राप्त ग¥यो । क्याम्पस जाने आउने हुँदा हुँदै विवाह भयो । विवाह पछि जागिर छाडें । क्याम्पसमा एउटा विषय लाग्यो । सन्तानको जन्म हुँदै गयो । अध्ययनले निरन्तरता पाउन सकेन । पारिवारीक ब्यवहार, सन्तानको हुकाई बढाई हुँदा हुँदै त्यो बीचमा नयाँ केहि काम गर्न सकिनँ । 
    २०६० सालमा कन्सल्टेन्सी दर्ता ग¥यौं । अधिकारी इन्जिनियरिङ्ग परामर्श सेवा दुवै जनाले शुरु गरेका थियौं । शुरु देखि नै मैले घर भित्रै गरिरहेको हस्तकलाका सामान निर्माण गर्ने कुरालाई संस्थागत गरें । हस्तकला सम्वन्धी उद्योग नै दर्ता गरें २०६५ सालमा । स्विटर, मोजा, पन्जा, डोरीबाट बन्ने ब्याग जस्ता सामानहरुको उत्पादन थियो । थुप्रैले तालिम लिए तर थोरैले निरन्तरता दिए । दुई सन्तानको उपचार, अध्ययन, घर ब्यवहारका लागि श्रीमान एक्लैको कमाईले संकट थियो । विस्तारै त्यसले सहयोग पु¥याउँदै गयो । त्यसपछि मैले उद्यमी बन्ने योजना बनाएँ । अन्य जागिर खाने मन लागेन । पढेर शिक्षक बन्न पनि मन लागेन । जागिर खानु भनेको कुवामै रमाउनु मात्रै हो । उद्यमी भएर नेपालका अधिकांश जिल्ला तथा विदेशमा समेत गएर आफ्नो क्षमता प्रर्दशन गरेर आएको छु । एक पटक विमा कम्पनीमा एजेन्टका रुपमा काम गरें । केहि कमिसन प्राप्त हुन्थ्यो । त्यसबाट मलाई केहि सहयोग भएको थियो । 
    
उद्यमीमा प्रवेशः उद्यमी सानैदेखि बन्ने सोच रहेछ । मैले स्विटर बन्ने कुरालाई पछि पनि निरन्तरता दिएँ । जब हस्तकलाका उत्पादनहरुलाई संस्थागत लैजाने निर्णय गरें त्यसले मलाई पनि संस्थागत विकास र उत्पादनको लागि हौसला मिल्यो । घरमा एक्लै वा श्रीमानको सहयोगमा मैले गरिरहेको पेशा ब्यवसायलाई अलिक ठुलो बनाउने कुरा त्यहिबाट भयो । महिलाहरुले चाह्यो वा चाहना भयो भने गर्न नसकिने केहि छैन । तर आफूमा इच्छा चाहना ठूलो कुरा हो । 
    घरेलु उत्पादनमा आकर्षण कम छ । उद्यमीहरुलाई प्रमोशन गर्ने उद्देश्यले सरकारले प्रविधि हस्तान्तरण, महिला उद्यमी कोष निर्माण गरी ऋण प्रभाव गर्ने काम भईरहेको छ । पहिले पहिले भन्दा अहिले धेरै महिलाहरु उद्यमीका रुपमा अगाडी बढेका छन् । अहिले एउटा उद्यमका लागि १४/१५ सय उद्यमीहरु आवेदन दिन्छन् । दर्ता नगरी संचालन गरेका उद्यमीहरु पनि छन् । घरमा खेर गएको समयमा गर्ने उद्यम र नियमित उद्यमीकै रुपमा अगाडी बढाउन सकिन्छ । बाँस, नियालो तथा खेर गएका थुप्रै सामानहरु उद्यमका रुपमा अगाडी बढाउन सकिन्छ । महिलाहरुलाई ऋणको सहजीकरण छैन । झण्झटिलो छ । सहजता छैन । बजारीकरण छैन । त्यसमा पनि समस्या छ । त्यस्ता थुप्रै समस्याहरुलाई समाधान गर्ने हो भने महिला उद्यमहरुको संख्या ह्वात्तै बढ्छ । नेपाली उत्पादनहरुसँग बिदेशी प्रतिस्पर्धा गर्नु परिरहेको छ । सामान नेपाली महङ्गो छ । विदेशी सस्तो छ । त्यस्तो कारण उद्यमीहरु पलायन हुने क्रम पनि त्यतिकै छ । सरकारले राष्ट्रियस्तरमै यस्तो समस्या समाधान गर्न र उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ । उद्यमीहरुका लागि गुणस्तरीय तालिम र सामान आवश्यक छ । पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा नेपालबाट सामानहरु निर्यात भईरहेको छ । 
    महिला उद्यमी भएर एकपटक चाईना जाने अवसर प्राप्त गरें । २१ जना महिला उद्यमीहरुको नेतृत्व गरेर फर्कँदा मैले राम्रो नेतृत्व गरेकोमा सम्मानित भएँ । खुशी लाग्यो । झनै हौसला मिल्यो । 

प्रेम र विवाहः एसएलसी पास गरेर क्याम्पस भर्ना भएको थिएँ । पनौतीमा सुरेन्द्र दाईकोमा संगीत सिक्दै थिएँ । एजुकेशन संकाय भएकाले मैले शिक्षण अभ्यास गर्नुपर्ने थियो । मैले श्रीखण्डपुर माविमै शिक्षण अभ्यास गरिरहेको थिएँ । त्यतिबेला मलाई लामो समय देखि माधव अधिकारी गुरुले नियाली रहनु भएको रहेछ । उहाँले विवाहका लागि प्रस्ताव गर्नु भएको रहेछ । मलाई थाहा थिएन । शिक्षक भएकै नाताले त्यहि ब्यवहार गरेको थिएँ । केहि दिन पछि मेरो विवाहको कुरा अन्तिम गर्नु भएको रहेछ । मलाई बाटोमा आउँदै गर्दा अब विवाहको कुरा गर्नुपर्छ भन्नु भयो । मैले हुन्छ भनें । तर मेरो बारेमा कुरा भएको थिएन । जति केटा माग्न आउँदा पनि मैले खासै वास्ता गरेको थिएन । विवाह भन्दा पनि अध्ययन पहिला हो भन्ने कुरालाई ध्यान दिई रहेको थिएँ । घरमा आउँदा सबैले बधाई भन्छन् । पछि थाहा भयो माधव अधिकारी सरको छोरा रुपेन्द्रसँग मेरो विवाहको कुरा टुङ्गयाईएको रहेछ । 
    राजनीतिक रुपले र मेरो क्षमता तथा सक्षमता देखेर त्यो निर्णय भएको रहेछ । पहिला त मैले अस्विकार गरें । मेरो जीवनको निर्णय मलाई नै नसोधी । सबै कुराले उपयुक्त भन्ने कुरा मलाई लाग्यो पछि निर्णय स्विकारें । राजनीतिक चेतना महत्वपूर्ण रहेछ । विवाह अघि प्रेम प्रस्ताव नआएका होईनन् । तर मेरो ध्यान कहिल्यै त्यता भएन । अरुको प्रेम देखेर इरिटेड लाग्थ्यो । प्रेम पत्र आए तर लेखिएन । एकैपटक मागि विवाह भयो । २०५३ सालमा विवाह ग¥यौं । विवाह पछि मेरा केहि कुराहरु रोकिए । जागिर रोकियो । अध्ययन रोकियो । दुई छोराको जन्म भयो । श्रीमानकै कारण रोकिएको अध्ययन शुरु गरें । तेजगंगामा धेरै भाई बहिनीहरुले मलाई अध्ययनका लागि सहयोग पु¥याए । श्रीमानले सधै बच्चाहरुलाई विद्यालय पु¥याउने मलाई क्याम्पस पठाउने । घरका अन्य काममा पनि सहयोग गरेकै कारण मैले अध्ययनलाई रोकिएको लामो समय पछि निरन्तरता दिन सकें । स्वतन्त्र रुपमा म घर ब्यवहार उहाँलाई नै जिम्मा लगाएर हिड्डुल गर्न पाएको छु । 
    हामी विच कहिलेकाँहि ठाकठुक पर्छ । ठाकठुक प्रेम हो । तत्काल रिसाउने र तत्काल मिल्ने मेरो स्वभाव छ । उहाँ रिसाए पनि म बोलाउँछु । कहिलेकाँहि हुने ठाकठुकले माया र प्रेम नै दिन्छ । 

राजनीतिः राजनीतिमा मेरो रुची र सहभागिता थियो । राजनीतिमा महिला पनि अग्रसर हुनुपर्छ भन्ने सोचले विवाहलाई स्विकारेको थिएँ । माधव अधिकारी आफैमा राजनीतिक चेतना र त्यसको नेतृत्वमा हुनुहुन्थ्यो । जब विवाह भयो मेरो राजनीतिमा चाहना भएन । राजनीतिक चाहना विवाहसँगै बिलायो । नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य छु । अन्य कृयाशिल पदमा छैन । विवाह पछि महिलाहरुका धेरै कुराहरुलाई ब्यवहारले रोक्ने प्रयास गर्छ । आफैले पन्छाउँदै जानुपर्छ । २०६२÷०६३ सालमा राजनीतिमा सक्रिय हुने चाहना पलायो । आन्दोलनमा सक्रिय भएको नाताले मलाई तत्कालिन माओवादीले पनि पार्टी प्रवेशको प्रस्ताव राख्यो । मैले मानिनँ । एमालेको राजनीतिमा त सक्रिय हुन नसकेको म माओवादीको राजनीतिमा किन सक्रिय हुनु ? भलै अहिले दुवै पार्टी एक भए । म राजनीतिमा भन्दा पनि उद्यममा सहभागी छु । पुरुषवादी सोच र ब्यवहार पार्टीहरुमा पनि देखिन्छ । लाग्नेहरुलाई अवसर पनि छ । 

भावी योजनाः घरेलु तथा साना उद्योग महासंघको अध्यक्ष भएर ७७ जिल्लामै रहेका महिला उद्यमीहरुको प्रोत्साहनका लागि योजना सहित कार्यक्रम गर्ने सोच बनाएको छु । चेतनामुलक कार्यक्रम, सिपमुलक तालिम सञ्चालन गर्ने योजनामा छु । जबसम्म महिलाहरु आर्थिक रुपमा सम्पन्न हुन सक्दैनन् तबसम्म महिला माथी हुने हिंसा अन्त्य हुँदैन । त्यो कुराको अन्त्यका लागि आर्थिक सम्वृद्ध र आत्मनिर्भर हो । 

जीवनः संघर्ष । संघर्ष पछि मात्रै उपलब्धी प्राप्त हुन्छ । 

प्रेमः मिठो उपहार । लिन र दिन उत्तिकै सक्नुपर्छ । 

विवाहः पवित्र बन्धन हो । सम्हाल्न सक्नुपर्छ । 

शारिरीक सम्बन्धः प्राकृतिक कुरा हो ।