2018 December 15/ 09:45: 48pm

बालकृष्ण दाहाल
अध्यक्ष
मनकामना बचत तथा ऋण सहकारी संस्था लि, बनेपा, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २००६ साल मसिंर २० गते साविकको उग्रचण्डी नाला गाविस वडा नम्वर ७ हालको बनेपा नगरपालिका वडा नम्वर ३ मा मेरो जन्म भएको थियो । बुबाहरु लोकप्रसाद, भवनाथ। रामनाथ, जगन्नाथ, प्राणनाथ, धनेश्वरको नेतृत्वमा शुभ चामुण्डा विद्यालयको स्थापना गरिएको रहेछ । २०१२ सालमा स्थापना भएको स्कुलमा कक्षा ५ सम्म अध्ययन गरें । नियमित विद्यालय जाने अवस्था थिएन । ६ महिना विद्याल जाने र ६ महिना घरमै बस्नु पर्दथ्यो । बुबाहरुको आँखा छलेर मट्टितेल चोरेर रातभर अध्ययन गर्ने गरेका थिएँ । विद्यालयमा रामबहादुर श्रेष्ठले जागिर खानु भएको थियो । उहाँले हामीलाई राति पढाउनु हुन्थ्यो । सम्पति भएर पनि विद्यालय पठाउने कुरा बुबाका लागि सहज भएन । नियमित विद्यालय जाने कुरा मेरा लागि बन्द भयो । परिवार शिक्षित भए सहज हुन्थ्यो होला । 
    भदौको महिना थियो । मसिंरमा जाँच दिनु पर्दथ्यो । बुबासँग झगडा गरेर विद्यालयमा भर्ना भएँ । बनेपाको शिक्षा सदनमा भर्ना भएको थिएँ । नियमित विद्यालय जान नपाएपछि म फेल भएँ । फेल भएपछि बुबाले झनै पढाउने कुरा गर्नु भएन । म नियमित विद्यालय जाने कुरामा अडानै राखें । औशीको रात अँध्यारो र चन्द्रमाको रात उज्यालो भने जस्तै भयो । धर्मशास्त्र, ग्रन्थ पढे पनि विद्यालयको शिक्षा कसैले पढेको थिएन । १२ वर्षको उमेरमा बुबाले विवाह गरिदिनु भयो । श्रीमती माईती गईन । म सँग पनि सामान्य झगडा भयो । ससुराली गएँ । ससुराबुवाहरुले छोरी पठाउनु भएन । श्रीमती माईती गएर बसेपछि बुबाहरुले मलाई श्रीमती नआई तँलाई विद्यालय पठाउदिन भन्नु भयो । श्रीमती पनि नआउने मैले पनि पढ्न नपाउने अवस्था भयो । तर पनि मैले विद्यालय जाने कुरा छाडिन । कक्षा ८ मा आजाद माध्यमिक विद्यालयमा भर्ना भएँ । कक्षा ९ अध्ययन गरेपछि १० मा प्रौढ पढें । कक्षा १० मा प्रौढ पढेर २०२७ सालमा एसएलसी दिएँ । एसएलसीमा उर्तिण पनि भएँ । घर र बारी फरक फरक स्थानमा भयो सुमारामा जग्गा किनेपछि । अध्ययन गर्न झनै कठिन भयो । एसएलसी उर्तिण पछि म ल क्याम्पसमा भर्ना हुन काठमाडौ गएँ । सधै काठमाडौ गएर अध्यन गर्न सहज नभएकाले काभ्रेमा क्याम्पस खोल्न लविङ्ग गरें । 
    विद्यालयमा शिक्षकको कारवाहीमा परेको छु । केदारभक्त माथेमा सरले विद्यालय छाडेर गोसाईस्थान गएको अभियोगमा लाठी खाएको छु । दोश्रो पटक काभ्रे क्याम्पस खोल्न नेतृत्व गरेर प्रहरीलाई लाठी हानेको अभियोगमा कारवाहीमा परें । शुशिला थापा स्वास्थ्य राज्य मन्त्री थिईन् । प्रहरीलाई हामीले ढुंगा हानेका थियौं । भोलिपल्ट प्रहरीकोमा बोलाईयो । शुशिला थापा त्यहि रहिछन् । उनले किन हानेको प्रहरीलाई ढुंगा भनिन । हामीले ल क्याम्पसको विषय काभ्रेमा चाहियो ? धेरै ब्यक्तिहरुलाई समस्या भयो भनें । उनले अब देखि कहिल्यै ढुंगा नहान्ने भनेर पठाईदिईन । हामी चार भाई थियौं । भाईले पढ्दा पढ्दै किताव बेचेछ । मैले त्यो बेचेको किताव फेरी किनेर ल्याएर पढाएँ । त्यतिबेला पनि बुबाको कुटाई खाएँ । कान्छो भाईले राम्रो अध्ययन ग¥यो र अहिले सरकारी सेवामा कार्यरत छ । मलाई सानै देखि अध्ययन गर्ने रहर थियो । राजेन्द्र जोशी, मेघनाथ अधिकारी, आशाकाजी सेवक लगायतका शिक्षकहरुले माया गर्नु हुन्थ्यो । गृहकार्य अहिलेको जस्तो दिने र गर्ने चलन थिएन । बेलुका घरमा गएर पढ्ने गरेका थियौं । बेलुका टन्न खाना खान्न थिएँ । टन्न खाना खाएर राम्रो ओछ्यानमा बस्दा निद्रा लाग्ने भएकाले कम खाने गरेको थिएँ । एक पटक निदाउँदा किताव डडेको छ । गुन्द्रि दोब्य्रायर पढ्ने गरेको थिएँ । बुबाले मलाई जीवनमा दुई पटक कारवाही गर्नु भएको छ । एउटा भाईले किताव बेच्दा फेरि किनिदिए बापत कारवाहीमा परें भने दोश्रो एक बट्टा सलाई एकै दिन कोरेर सकेको थिएँ त्यहि भएर कारवाहीमा परें । पैसा महङ्गो थियो । अभाव खासै थिएन । १० पैसाले टन्न खानेकुरा आउँथ्यो । स्कुल कहिल्यै छाडिएन । खराव संगत पनि भएन । नियमित विद्यालय आउने र जाने काम महत्वपुर्ण हुन्थ्यो । कक्षा ९ मा पनि पास हुन्न जस्तो लाग्या थियो । तर पछि पास भएछु । कक्षा १० मा धेरै मेहनत गरेकाले पास हुने कुरा निश्चित थियो । मलाई अंग्रेजी कम आउँथ्यो । हिसावमा मेरो ९८ नम्वर आएको थियो । 
    एसएलसी रिजल्ट आउँदा घरमै थिएँ । ६ दिन पछि रिजल्ट थाहा भयो । विद्यालयमा गुरुहरुले रिजल्ट टाँसिदिनु भएको रहेछ । हामी मध्ये केहि मात्रै पास भएका थियौं । म पनि पास मात्रै भएको थिएँ । गोर्खापत्र बाहेक अरुमा रिजल्ट आउँदैन थियो । प्रविधी नभएकाले कुरेर बस्नु बाहेक अरु थिएन । तर पनि खुशीको सिमा रहेन । एसएलसी पास भएर पनि अध्ययन गर्न जान सकिन । ल क्याम्पस जान नसकेपछि मेरो अध्ययन छुट्यो । मेरो घरबार विग्रियो मन चञ्चल भयो । हरिप्रसाद दाहाल र म भएर किताव लेख्यौं । २०३० सालमा तीनवटा विषयमा गित लेख्या थिएँ । तत्कालिन समयमा कडाई थियो प्रशासनको । सुचना विभागमा बोलावट भयो । मैले पञ्चायत विरुद्धको गित लेखेको कुरा प्रहरीलाई जानकारी भएछ । पक्राउ गर्न घरमै आए । धुलिखेलमा अनुमति लिनु पर्दथ्यो । गित लेखेर चर्चामा आए पनि अर्थ थिएन । प्रहरीले पक्राउ गरेर लगेर मारिदिन्थ्यो । प्रहरीले सम्झाउँदै सुचना विभागमा पु¥याए । उनिहरुले भने जस्तो गर्छु भनेपछि मलाई कागज गराएर छाडिदिए । धान तिरो उठाउन पाईदैन, यस्तो राजा हामीलाई चाहिँदैन भन्ने शब्दले उनिहरुलाई चसक्क भएको रहेछ । पार्टी भन्दा माथी उठेर देश र जनताको पक्षमा मैले गित लेखेको थिएँ । त्यो कितावलाई अहिले परिमार्जन गरेर निकाल्ने योजना बनाएको छु । 

सहकारीमा प्रवेशः २०५१÷०५२ सालमा मैले ढुकुटी खेले । ६ लाख रुपैया जति पैसा त्यतिबेला विगोरें । मुकुन्दप्रसाद दाहाल, रघुनाथ घिमीरेसँग मेरो त्यहि बेला भेट भयो । मैले ६ वटा ढुकुटी खेलेको थिएँ । कसैको पैसा खाएको छैन । सबैैको तिरे । मालपोतमा एकजना चिनेको हाकिम हुनुहुन्थ्यो । जग्गा ब्यापार गरेर ऋण तिरें । २०५२ सालमा मुकुन्द दाहालले सहकारी खोल्ने योजना सुनाउनु भयो । पैसा थिएन । मैले सहकारीमा बस्दिन भनें । उहाँहरुले आफु पैसा राखेर भए पनि सहकारीमा राख्ने बताए पछि मैले सहभागिता जनाएँ । मनकामना बचत तथा ऋण सहकारीको म ऋण संयोजक भएँ । मनकामनाको अध्यक्ष रघुनाथ घिमीरे हुनु भयो । शुरुमा दुबै उहाँ हुनुहुन्थ्यो । पछि मलाई जिम्मेवारी दिनु भएको थियो । २०५४ सालमा जिल्ला बचत संघ खोल्यौं । त्यसमा सदस्य भएँ । २०५६÷२०५७ मा सिद्धार्थ सहकारी खोल्यौं । सदस्य भएँ । ज्योती सहकारी खोल्यौं । त्यहाँ पनि आवद्ध भएँ । कोषाध्यक्ष भएर काम गरें । फेरी ढकाल गणेश खोल्यौं । त्यसमा अध्यक्ष भएँ । धेरै सहकारीमा कृयाशिल हुँदा गाह्रो भएकाले मैले ढकाल गणेशमा मात्रै रहने गरी अरु सहकारीमा छाडें । पछि मनकामना र ढकाल गणेश एकिकरण गर्ने योजना भयो । मनकामनामा त्यो बीचमा अलग भएको थिएँ । 
    २०५२ साल पछि निरन्तर सहकारी यात्रामा छु । घरमा दुग्ध डेरी पनि थियो । बनेपा देखि काठमाडौसम्म लगेर दुध विक्री गर्ने गरेको थिएँ । अरुलाई सेवा गर्नु नै मेरो पहिलो कर्तब्य थियो । मनकामनामा कार्यकारी अध्यक्ष बन्ने सहमति पछि मैले सहकारीको एकिकरण गरी त्यहि कार्यरत छु । अहिले पनि मनकामना जिल्लाको नमुना सहकारीका रुपमा चिनिन्छ । 

राजनीतिः विद्यार्थी जीवन देखि मैले संर्घष गर्न शुरु गरें । क्याम्पस स्थापना गर्दा नेतृत्व गरेको थिएँ । पछि पञ्चायत विरुद्ध संर्घष गरें । किताव लेखें । म कम्युनिष्ट थिएँ । कम्युनिष्ट हुँदा हुँदै गाउँमा सामाजिक काममा झगडा भयो । बुझ्दै नबुझी मलाई एमालेका कार्यकर्ताहरुले कुटे । प्रशासनसम्म पुग्यो । केहि एमालेहरु पनि मेरो पक्षमा थिए । तर एमालेका कार्यकर्ताहरुले गरेको ब्यवहारले मलाई त्यो पार्टीमा बस्न मन लागेन । बुबा पहिला देखि नै गोपालदास, राजदाससँगको संगतमा हुनुहुन्थ्यो । उहाँ कांग्रेस हुनुहुन्थ्यो । बुबाले मलाई पछि मेरो नाक काट्ने भईस कम्युनिष्टमा लागेर भन्नु भएको थियो । राजदास बादेले छोराले गद्धार गरेछ समेत भन्या रहेछ । म कांग्रेसमा फर्किए पछि उहाँहरु खुशी हुनु भयो । 
    पञ्चायतमा मैले वडा अध्यक्ष भएर काम गरें । कृष्णप्रसाद सापकोटा र हामी सँग सँगै हुन्थ्यौं । बहुदल आउँदा आन्दोलनमा सहभागि भएँ । २०४९, २०५४ सालको निर्वाचनमा मैले बनेपामा वडाअध्यक्ष उठ्ने रहर गरें । तर मैले पाउन सकिन । २०६४ को निर्वाचनमा कृष्णप्रसाद सापकोटाले भोट माग्नु भयो । मैले साथी भए पनि दिन सकिन । बनेपा नगरपालिका वडा नम्वर १ बाट उम्मेदवार बन्ने मेरो धोको पुरा भएन । २०४८ सालमा आँट गर्न सकिन । डबलकाजी श्रेष्ठ अहिले हुनुुहुन्न । रामभक्त कोख श्रेष्ठलाई मैले भनेको थिएँ । काठमाडौ विश्वविद्यालयलाई रकम दिनु भन्दा काभ्रे क्याम्पसलाई पैसा दिनु पर्छ भन्ने मेरो सोच थियो । कांग्रेसमा आवद्ध भएर मैले क्षेत्रिय सदस्यको जिम्मेवारी प्राप्त गरें । तर पनि पार्टीहरुबाट सन्तुष्ट हुन सकिन । २०७४ सालको स्थानीय निर्वाचनमा समेत मैले वडा अध्यक्षको टिकट मागेको थिएँ । मेरो छुट्टै योजना थियो । २०५४ बाट मैले त्यसको योजना बनाएको थिएँ । तर प्राप्त गर्न सकिन । बनेपाको राजनीति अलिक फरक रहेछ । पैसा वा शक्ति । दुबै चिज हामीबाट हुन सकेन । त्यसकारण मैले टिकट पाउन सकिन । मैले राजनीतिको फोहोरी खेलबाट बाहिर निस्कन खोजें । पार्टी छाडेको पनि छैन । छाड्ने पनि छैन । परिवर्तन पनि गर्दिन । तर फोहोरी राजनीतिमा नेताहरुले जे जे भन्यो त्यहि मान्नेवाला छैन । स्वतन्त्र छु । आफ्नो विचार गलत विचारसँग सम्झौता गर्दिन । 

सामाजिक सेवाः राजनीति गर्दा गर्दै सामाजिक सेवामा लागेको थिएँ । २०३४ सालमा विवाह गरे लगत्तै मैले दुध विकास संस्थानमा जागिर खान शुरु गरें । मलाई रातमाटे झाँगाझोली सिन्धुली पठाईयो । घरमा भर्खर विवाह गरेकाले श्रीमतीलाई धेरै कुरा थाहा थिएन । मैले उनको लागि भनेर जागिर छाडिदिएँ । नजिक जागिर नमिलेकाले जागिरमा जाने मन गरिन । गाउँ फर्किएर गाउँमै सेवा गर्ने योजना बनाएँ । प्रभात प्राविको स्थापना गरें । चमार सिं जिल्ला विकास समितिका उपसभापति थिए । शुशिला थापा समेतको सहयोगमा विद्यालयमा जस्ता उपलब्ध भयो । भवन निर्माण भयो । विद्यालय दर्ता गरी शुरु गरेर शिक्षालाई गाउँमै दिने ब्यवस्था गरें । अहिले उक्त विद्यालय बन्द हुने अवस्थामा पुगेपछि फेरी आफै लागेर विद्यालयमा झण्डै ४ सय विद्यार्थी पु¥यायौं । नीजि विद्यालय जाने बच्चाहरुको भविश्य जस्तै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको पनि उस्तै हो भनेर मेहनत गर्न लगायौं । विद्यालयमा पढाई राम्रो हुँदै गयो । मैले अक्षयकोष समेत खोलें । शैलेन्द्रकुमार उपाध्यायसँग पनि मेरो संगत थियो । गाउँमा बत्ति बाल्न पोल ल्याउने र गाड्ने, पानीका योजना सम्पन्न गर्ने, सडक खोल्ने, विद्यालय खोल्ने काममा मेरो अग्रसरता भयो । कृष्णप्रसाद सापकोटाले सडक निर्माणका लागि धेरै सहयोग पु¥याउनु भयो । सुमाराबाट चण्डेश्वरी बाटो ल्याउँदा उहाँले सहयोग गर्नु भएको थियो । 
    सामाजिक काममा मेरो सक्रियता निरन्तर रह्यो । हिमालय स्कुलको अध्यक्ष भएँ । कांग्रेसकै फोहोरी राजनीतिले म हटें । सप्ताह, सामाजिक कामको बाटो निर्माण तथा अन्य क्षेत्रमा सहयोग गर्ने गरेको छु । शुभ चामुण्डा विद्यालयमा पनि अक्षयकोष राखेको छु । हिमालय मावीमा पनि अक्षयकोष राखेको छु । आफुले कमाएको सम्पतिको केहि अंश समाजले पनि प्रयोग गर्न पाओस् भन्ने हो । अब बाँकी जीवन पनि त्यसरी नै विताउने योजना छ । गाउँका ब्यक्तिहरुको जग्गा पास गर्न सहयोग गरिदिने वा अन्य काममा सक्रिय सहभागिता र सहयोग हुन्थ्यो । मर्दा, पर्दा मेरो अगुवाई हुन्थ्यो । 

प्रेम र विवाहः प्रेम कसरी थाहा पाउनु ? बुबाले १२ वर्षको उमेरमा नै विवाह गरिदिनु भयो । बुबाले मेरो जर्बवस्ति विवाह गरिदिनु भएको थियो । उनिबाट जन्मेका तीन सन्तान मध्ये एक सन्तान मात्रै बाँकी छिन् । पहिलो पेटमै गयो । दोश्रोलाई उनले आफ्नै दुधले किचेर मारिन् । अर्काे सन्तान छोरी छिन् । उनको विवाह भई सकेको छ । पहिलो श्रीमतीसँग मेरो कानुनी रुपमा नै सम्वन्ध विच्छेद भएको छ । उनको बानी खराब रहेछ । उनी अरुको जे भेट्टाए पनि चोर्ने रहिछन् । त्यहि विषयमा झगडा परिरहन्थ्यो । पटक पटक माईती जाने फर्केर नआउने गरिन् । मैले बुबालाई दोश्रो विवाह गरिदिनु भन्दा मान्नु भएन । भाईको विवाह गरिसके पछि विवाह गरिदिन्छु भन्नु भयो । मैले मानिन । बुढो भएपछि विवाह गर्दिन भन्दै मैले बुबासँग अंश मागें । २०३४ सालमा भिन्न भएँ । सुमारा बस्ने गरेको थिएँ । जन्त गएको बेला आफै केटी खोजें । जन्त जाँदा उनीसँग प्रेम होईन एकै पटक विवाहको प्रस्ताव राखेको थिएँ । बनेपामा कान्छा बाडा र कपडा उधारो किन्ने योजना बनाएँ । घरमा सहमति हुन गाह्रो भयो । पछि सबैको सहमतिमा विवाह गरें । विवाह भएपछि पनि बुबासँग र दाजुभाईसँग सम्पतिकै विषयमा राम्रो भएन । बुबाले कमाएको सम्पति मेरा लागि कम भयो । मेरो बुबासँग त्यहि गुनासो रह्यो । 
    दोश्रो विवाहबाट मेरो घर परिवार राम्रो भयो । पहिलो परिवारबाट मुद्दा मामिला भयो । मेरै पक्षमा निर्णय भयो । अहिले म सन्तुष्ट छु । परिवार राम्रोसँग चलेको छ । लोभ छैन । समाजसेवा गर्ने बाहेक अर्काे कुनै उदेश्य छैन । थिएन र हुँदैन पनि । 

जीवनः संर्घष । 

प्रेमः आवश्यकता । 

विवाहः वंशको निरन्तरता र सन्तुष्ट ।