2018 November 19/ 09:17: 52am

रविराज खड्का
प्रहरी उपरीक्षक (एसपी) 
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक

जन्म, बाल्यकाल, अ‍ैपचारिक शिक्षाः २०२६ सालमा काठमाडौ जिल्लाको सुन्दरीजलको रुप्सेटार भन्ने स्थानमा मेरो जन्म भयो । नजिकै नेपाली सेनाको हतियार बनाउने कार्यालय थियो । परिवारको कान्छो सन्तान थिएँ म । दुई दाई र दुई दिदी हुनुहुन्छ । गाउँमै रहेको बाल सुधार निमाविबाट कक्षा ७ सम्म अध्ययन गरें । कक्षा ८ देखि एसएलसीसम्म काठमाडौको लैनचौरमा रहेको शान्ति विद्या गृह विद्यालयमा अध्ययन गरें । परिवारमा सबैको सोच सन्तानलाई पढाउनु पर्छ भन्ने थियो । म माथी अभिभावकहरुको विश्वास पनि थियो । निमावि अध्ययन सकेपछि लैनचौर जाँदा डेरा खोजेरै विद्यालयमा भर्ना गरिदिनु भएको थियो । कक्षा १ देखि ७ सम्म अध्ययन गर्दा दिदीले जर्बजस्ति बोकेर लैजानु हुन्थ्यो । रुन्थे, झगडा गर्थे, कहिलेकाँहि दिदीको बुईमै चढेर उहाँलाई कुटिरहेको हुन्थें । विस्तारै बानी लाग्न थाल्यो । पछि तीन जना साथी भयौं । नियमित विद्यालय जान थाल्यौं । कक्षा १ बाट अध्ययन गरेर विस्तारै अगाडी बढ्दा पढाईको महत्व कम थाहा थियो । 
    कितावका अधिकांश पानाहरु च्यातिएका हुन्थे । खेल्ने, रमाईलो गर्ने र नियमित विद्यालय जाँदा घरमा भन्दा विद्यालय नै रमाईलो हुन थालेको थियो । कहिलेकाँहि शिक्षकको कारवाहीमा पनि परेको छु । मैले गल्ति नै नगरेको कुरामा मलाई कारवाही गरेपछि बुबालाई लिएर विद्यालय पुगेको थिएँ । बच्चाहरुलाई पनि अनावश्यक रुपमा कारवाही गर्दा विद्रोहको भावना जन्मदो रहेछ । शिक्षकहरुले विद्यार्थीहरुलाई सिस्नो पानी लिएर बस्नु हुन्थ्यो । विनाकारण मेरो कान शिक्षकले तानेपछि बुबालाई विद्यालय लगेको थिएँ उहाँले सामान्य हो भनेपछि खासै त्यो कुरा अघि बढेन । कोठाको बसाई सकसपूर्ण हुन्थ्यो । बुबाआमाको दुःख मैले सम्झन्थें । हामी दाजुभाई सँगै बस्ने गरेका थियौं । शुरुमा हामीलाई कोठामा बस्न कठिन थियो । घरको माया, बुबा आमाको साथले घर गएर कोठामा फर्कनु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । कक्षा ८ मा नयाँ अनुभव भयो । गाउँको विद्यालयमा असाध्यै राम्रो थियो । पहिलो परीक्षामा म फेल भएँ । तीनवटा सेक्सन थिए । पढ्नेलाई ए, कम बढ्नेलाई वि र पढ्दै नपढ्नेलाई सी सेक्सनमा राखिएको थियो । दाईको अध्ययन कमजोर थियो । मैले त केहि गर्नै प¥यो भन्ने लाग्थ्यो । अलिक मेहनतका साथ अध्ययन गर्दा दोश्रो परीक्षामा दुई विषयमा मात्रै फेल भएँ । अन्तिम परीक्षामा जसरी पनि पास हुन सकिएन भने सेक्सन ए मा अध्ययन गर्न पाईदैन भन्ने थियो । कक्षा ८ बाट ९ मा जाँदा राम्रोसँग सबै विषयमा पास भएँ । 
    मेरो मामाहरु मध्ये अधिकांश सम्पन्न हुनुहुन्थ्यो । एकजना मन्त्रालयमा हुनुहुन्थ्यो । एकजना राजनीतिज्ञ हुनुुहुन्थ्यो । ममीका अरु दिदी बहिनीका सबै सन्तान सक्षम थिए । हामी मात्रै अलिक कमजोर जस्तो भएकाले त्यो इख पनि ममा थियो । केहि गर्न अध्ययन गर्नैपर्छ । त्यो कुराले पनि मलाई नियमित मेहनत गर्न सिकायो । कक्षा ९ मा अझै राम्रो भयो पढाई । कक्षा १० झनै राम्रो भयो । एसएसलसी पनि सोचेजस्तै दोश्रो श्रेणीमा पास भएँ । केहि साथीहरु कक्षा छाडेर फिल्म हेर्न जान्थे । हामी कहिल्यै फिल्म हेर्न जाँदैन थियौं । गाउँमा अरु साथीहरु फिल्म हेर्न गएको, फिल्म हेर्न गएर अध्ययन नगरेको कुरा हुन्थ्यो । बदमास ब्यक्तिहरुले मात्रै त्यस्तो काम गर्छन् भनेपछि मलाई कहिल्यै फिल्म हेर्न मन लागेन । एसएलसी पास भएपछि मात्रै फिल्म हेर्ने भन्ने निर्णयमा हामी पुग्यौं । अरु गलत बाटोमा पनि लागिएन । कहिल्यै कक्षा छाडिएन । नियमित अध्ययन गर्नु र विद्यालयमा गएर राम्रो विद्यार्थी बन्नु मेरो लक्ष्य र उदेश्य बन्यो । डेराको बास सकस थियो । गाउँको वातावरण र डेराको वातावरण मिल्दैन थियो । बन्धनमा परेको जस्तो अनुभुति हुन्थ्यो । घर नछाडी प्रगति पनि हुँदो रहेनछ । गाउँमै बस्दाको मेरो अध्ययन र काठमाडौ बसेपछिको मेरो अध्ययनमा धेरै फरक भयो । प्रगतिका लागि संघर्ष, मेहनत जरुरी छ । 
    कक्षा २ पढ्दा अभिभावकको कारवाहीमा परेको छु । आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो । अरु दाई दिदीहरु कहिलेकाँहि मलाई धेरै माया गरेकोमा आमासँग रिसाउनु पनि हुन्थ्यो । बुबा आमा खेतिपातीमै भएकाले ब्यस्त हुनुहुन्थ्यो । बच्चालाई खाना खुवाउन पनि भ्याउने समय थिएन । आमा घरमा आएपछि दिउँसो मलाई जाउलो पकाएर खुवाउनु पर्दथ्यो । एकदिन पकाउन भ्याउनु भएको रहेनछ । आमासँग झगडा गरेछु । दुध, भात र जाउलो मात्रै मन पर्दथ्यो । पढाई पनि विग्रिएको रहेछ । मलाई कक्षा २ मा अध्ययन गर्दा पढाईको महत्व नै बुझेको थिईन । त्यहिबेला आमाले पढ्नु छैन, तलाई खानु मात्रै पर्ने भन्दै कुट्नु भएको याद छ । घरमा दुःख थियो । चाहेजति खर्च गर्न सक्ने अवस्था थिएन । कृषिको उब्जनीबाट आम्दानी भएबाट मात्रै घर खर्च चलाउनु पर्दथ्यो । घरमा धेरै खर्च हुन्थ्यो । आम्दानीको बाटो अन्न बाहेक केहि थिएन । आमाबुबाको दुःख देखेर मलाई कहिल्यै लामो हात गर्ने मन लागेन । ठुलो भएर बुबाआमालाई कसरी सहयोग गर्न सक्छु भन्ने मात्रै सोचिरहन्थें । विद्यालय जानु भन्दा बाहेकको समय कहिलेकाँहि घरको काम गर्ने र बाँकी रहेको समय अध्ययनमा ध्यान दिन थालें । बुबा आमाले आफु खेतिपाती गरे पनि तँ चाँहि अध्यनन मात्रै गर भन्नु हुन्थ्यो । मैले काम भन्दा धेरै अध्ययनलाई ध्यान दिन थालें । 
    एसएलसी धेरै महत्वपूर्ण रुपमा लिने गरिन्थ्यो । एसएलसी पास ग¥यो भनेपछि त्यसको शान अर्कै थियो । एसएलसी दिएर केहि समय मैले विद्यालयमा शिक्षक भएर काम पनि गरें । कम्प्युटर सिक्ने कुरा थियो । त्यो चाँहि सिक्न सकिन । आमा विरामी हुनुहुन्थ्यो । गाउँमा शिविर चलेको थियो । आमालाई शिविरमा लिएर आएको थिएँ । मान्छेहरु गोरखापत्र हेरिरहेका रहेछन् । मलाई लाग्यो एसएलसीको रिजल्ट भए जस्तो छ । सोधें हो रहेछ । बाटोमा गोरखापत्र हेर्ने मान्छेले मेरो नम्वर हेरिदियो । म पास भएछु । आमालाई सुनाएँ । उहाँ झनै खुशी हुनु भयो । बुबा आमा घर परिवारका सबै सदस्यहरु खुशी भयौ । एसएलसी पास गर्ने परिवारको पहिलो सन्तान थिएँ म । एसएलसी पास गरेपछि मैले ल अध्ययन गर्ने सोचले ल क्याम्पसमा भर्ना भएँ । विद्यार्थी जीवनमा भविष्यमा यसो गर्छु, उसो गर्छु भन्ने थिएन । एसएलसी पास गरेपछि भविश्यका बारेमा सोच्ने अवस्था थिएन । एसएलसी पास गरेर ठुलो मान्छे बन्नु पर्छ भन्ने मात्रै सोच थियो । 

एसएलसी पछिः एसएलसी पास भए पछि मेरो एकजना आफन्तले कानुनको स्कोप छ भन्नुभयो । उहाँकै सल्लाहमा म ल क्याम्पसमा भर्ना भएको थिएँ । बौद्धमा रहेको विद्यालयमा मैले पढाईरहेको थिएँ । मलाई विद्यालय छाड्न दिईएको थिएन । मलाई गणित राम्रो आउँथ्यो । बाणिज्य गणित पढाउन फेरी प्रस्ताव आयो । मैले त्यो प्रस्तावको सहजै अस्विकार गरें र क्याम्पस अध्ययन गर्न लागें । मलाई के महसुस भयो भने त्यो विद्यालयमा अध्ययन गरेर बसें भने त्यहाँ बाहेक मेरो भविष्य हुन सक्दैन । त्यहि कारण विद्यालयमा छाडेर पढ्न मात्रै लागें । सुन्दरीजलबाट त्यहाँसम्म आउन समय लाग्थ्यो । तर पनि मैले नियमित अध्ययन गरें । 

जागिरमा प्रवेशः २०४७ सालमा आईएल पास भएको मात्रै थिएँ । असईमा भर्ना खुलेको रहेछ । मैले प्रहरी सेवामा जागिर खानु हुँदैन भन्ने हल्लाकै बीचमा पनि जागिर खानु पर्छ भन्ने सोचले फाराम भरें । जागिर खाएपछि परिवारमा पनि सहयोग हुन्छ भन्ने सोचले भरेको फाराममा नाम निकालें । एक वर्षको तालिम पनि सकें । कठिन थियो तालिम । केहि साथीहरु तालिम दिँदा दिदै भागे । कडा तालिम, अनुशासन, शैलीले धेरै ब्यक्तिहरु भाग्न सक्छन् । त्यो तालिमले पहिलो लेभलको मान्छे बन्छ । मान्छेको गुणमा बृद्धि हुन्छ । 
    आईएल अध्ययन गर्दागर्दै जागिर खोजी गरिनँ । भविष्यमा के गर्ने भन्ने कुरा अग्रजले बाटो देखाउनु पर्ने रहेछ । विद्यार्थीहरुले आफैले आफ्नो बाटो रोज्न सक्दो रहेनछ । उसको क्षमता अनुसार उसले के गर्न सक्छ त्यो सल्लाह दिन सकियो भने उसले सफलता प्राप्त गर्दाे रहेछ । मेरो समयमा मलाई गाईड गरिदिने मान्छे थिएनन् । लोकसेवा आयोग दिन सक्ने क्षमता रहेछ । तर मैले जानु पर्छ भन्ने नै भएन । अध्ययन राम्रो थियो । आईएल नियमित पास गरें । विएल पनि राम्रोसँगै पास गरें । ५÷६ सय विद्यार्थी थिए । फेल नभई नियमित पास हुने ४०÷५० जना मात्रै हुन्थे । त्यसमा म पर्ने गरेको थिएँ । पढाई कमजोर रहेनछ । प्रहरीमा नआई अध्ययन सकेर प्रहरीमा भर्ना भएको भए पनि हुने रहेछ । असईबाट जागिरको शुरुवात भयो । इन्सपेक्टरबाट शुरु भएको भए मेरो लेभल त्यहि अनुसार जान्थ्यो । अध्ययन अनुसारको जागिर शुरुबाटै भएको भए केहि अझै गर्न सक्थें । स्तर पनि मेरो अलिक फरक हुन्थ्यो । विएल सकेर प्रहरीकोमा जागिर खाएको भए मसँग फरक खालको अनुभव हुन्थ्यो । विद्यार्थीहरुलाई बाटो देखाउने राम्रो सल्लाहकार आवश्यक छ । वातावरण र सल्लाह, भविश्य के हो ? उसँग के क्षमता छ ? त्यो कुराको जानकारी लिएर उसलाई अगाडी बढाउन आवश्यक छ । 
    असईमा जागिर खाएको केहि वर्ष पछि मैले प्रहरी निरिक्षकमा परिक्षा दिएँ । त्यतिबेला स्व–अध्ययन गरेर विएल पास गरिसकेको थिएँ । रौटहटमा जागिर थियो । सरुवा मिलाएर काठमाडौ आए । घर ब्यवहार श्रीमतीले हेर्ने, जागिरमा मेहनत मैले गर्ने सल्लाह भयो । २०५२ सालमा परिक्षा दिएको थिएँ । २०५४ सालमा तालिम शुरु भयो । त्यतिबेलाको एउटा कहानी छ । हाम्रो पालामै प्रहरी निरिक्षकको तालिम लोकसेवाले लिने भन्ने नियम लाग्यो । हामीले लोकसेवा नै दिएर पास ग¥यौं । सोर्स फोर्समा जागिर खाने कुराको अन्त्य भयो । मोतीलाल बोहोरा हुनुहुन्थ्यो महानिरीक्षक । उहाँले लोकसेवालाई जिम्मा लगाई दिए पछि केहिको योजना पुरा भएन । ३० जनाको कोटा थियो । ३० जनामा २९ जनाले मात्रै पास ग¥यौं । लिखितमा नाम निस्किएपछि अन्र्तवार्ता गाह्रो भएन । एकजना अझै पुगेन । फेल हुने साथीहरुले सर्वाेच्चमा मुद्दा राख्नुभयो । हामीले पनि पैसा उठाएर मुद्दा लड्यौं । मुकुन्द रेग्मी लगायतका बरिष्ठ कानुन ब्यवसायीहरुले बहस गर्नु भयो हाम्रो तर्फबाट । लोकसेवा आयोगले लिएको स्वच्छ परिक्षा दिएर, पास गरेर के विग्रन्छ र ? उहाँको बहसले सर्वाेच्चबाट हाम्रो पक्षमा बहस भयो । हामीले जागिर खायौं । निरन्तरको जागिर पछि डिएस्पी हुँदै एसपी भएँ । 
    जागिरमा आउनु भन्दा अघि प्रहरीका बारेमा मलाई गलत भ्रम थियो । क्रुर हुन्छन् । मान्छेलाई लाठी मात्रै हान्छन् । प्रहरी जनताको साथी होईन । गलत स्थानमा प्रवेश गरिएछ भन्ने थियो । जब म संगठनमा प्रवेश गरें त्यसपछि मात्रै थाहा पाएँ प्रहरी भित्रको अनुशासन । अनुशासनमा रहने एउटा पवित्र संस्था रहेछ प्रहरी । गलत काम गरे कारवाही हुने, राम्रो काम मात्रै गर्नुपर्ने फरक खालको संगठन रहेछ । प्रहरी भित्र कार्यरत प्रहरी अफिसरका राम्रा राम्रा ब्यवहारहरुले मलाई झनै हुरुक्कै बनायो । आन्दोलनमा प्रहरी मरेको खबर सुन्दा आङ सिरिङ्ग हुन्थ्यो । प्रहरीको जनताको सुरक्षा र शान्ति, देशको रक्षा र सुरक्षा बाहेक अरु कुनै स्वार्थ छैन । जनताको सेवा गर्ने काम प्रहरीको हो । जनतालाई कसरी राम्रो सेवा दिने ? कसरी अन्याय हुन नदिने ? त्यसलाई प्रहरीले कसरी रेस्क्यु गर्ने ? प्रहरी साईन्समा अरु कुरा लेखेकै छैन । प्रत्येक पानापानामा, तालिममा, विश्वविद्यालयमा त्यहि कुरा सिकाएको हुन्छ । जनताकै लागि रगत र पसिना बगाउने प्रहरी नै हो । राष्ट्र प्रेम र देशप्रेम सिकाएको हुन्छ । राष्ट्र र देशका लागि प्रहरी हो । प्रहरीले देश र राष्ट्रका लागि बलिदान दिनुपर्छ । प्रहरीमा जति राष्ट्रप्रेम कसैसँग हुदैन । प्रहरीले जति देश र जनता कसैले बुझेको हुँदैन । जनता हाँस्दा हास्ने र रुँदा रुने प्रहरी मात्रै हो । देशका लागि धेरै समर्पण छ प्रहरीको । देशको उन्नती र प्रगती गर्न प्रहरी सेवा मार्फत मेरो चाहना पुरा भएको छ । सशस्त्र द्वन्द्वमा पनि हामी निरन्तर खटियौं । जनतासँग मेरो सामिप्यता थियो । जनताले हामीलाई सुरक्षित हुने बाटो देखाउनु हुन्थ्यो । माओवादीको विद्रोहका बेला हामी थोरै संख्यामा हुन्थ्यौं । गस्ति गर्दै जाँदा एक दिन गाउँका सबै मान्छेहरु रुन थाले । पहिला प्रहरी बसेको रहेछ । प्रहरी उठेर हिडेको रहेछ । हामी भन्दा अलिक टाढा माओवादीको ठुलो फौज रहेछ । हामी र उनिहरुको भिडन्त हुने डरमा उनिहरुले हामीलाई बाटो छेकेर रोक्नुभयो । उहाँहरुले धेरै माया गर्नुभयो । धेरै मान्छे जागिर छाडेर पनि गए । मेरो घर परिवारमा भागेर काम नगर्नु, देशलाई संकट परेको बेला योगदान पु¥याउनु पर्छ भन्ने सकारात्मक सहयोग थियो । देश युद्धमा छ । देशले मेरो सहयोग मागेको छ जस्तो लाग्थ्यो । देशलाई जोगाउनु पर्छ । माओवादी विद्रोहीहरु पनि देशकै लागि लड्नु भएको थियो । देश बचाउनका लागि हामी सबै लडेका थियौं । देश बचाउने जिम्मा प्रहरीको काँधमा आएको छ भन्ने भाव र सोचले अगाडी बढिरहें । हेड्क्वाटरबाट भालुवाङ्गमा लगेर तालिम दियो । रोल्पाको गाउँमा हेलिकप्टरले लगेर हामीलाई छाडिदियो । रोल्पा माओवादीको उद्गमस्थल हो । युद्धको मानसिकता थियो । कुनबेला मरिन्छ बाँचिन्छ थाहा थिएन । विकट गाउँमा २०÷२१ जनाको समुह बसेर सशस्त्र विद्रोहीसँग लड्न सहज थिएन । मैले कमाण्ड सम्हालें । हामी वीर हौं पछाडी हट्नु हुँदैन । देशका लागि लड्नु पर्छ भन्ने भावनाले हामी सधै निरन्तर लागिरह्यौं । प्रहरी संगठनको शिर झुक्न दिनु हुँदैन भन्ने उच्च मनोबल थियो । उहाँहरु पनि उच्च मनोबलका साथ लडिरहनु भएको थियो । उहाँहरुका बारेमा हामीले पनि सुनिरहेका हुन्थ्यौं । बाँच्नका लागि पनि लड्नु थियो । घर परिवार माया मारेका थियौं । ६ महिनामा घरमा सम्पर्क गर्न पाएँ । डिएस्पी कमाण्डर हुनुुहुन्थ्यो । घर परिवारमा उहाँले खबर गरिदिनु भएको थियो । पहिलो दिन छोरी विद्यालय गएको समयमा पनि सम्पर्क हुन सकेको थिईन । प्रहरी संगठन भित्रको भावना त्यहि थियो । ब्यक्तिको स्वार्थ भन्दा माथी रहेर हामीले काम गरेका थियौं । अहिले पनि त्यस्तै छ । जागिरका अवधीमा त्यस्तै धेरै अनुभवहरु छन् । प्रहरी असईबाट शुरु भएको मेरो जागिर अहिले एसपीमा चलिरहेको छ । 

राजनीतिः पञ्चायती ब्यवस्था थियो । हाम्रो गाउँमा पार्टीहरुको खासै प्रभाव थिएन । क्याम्पसमा गएको बेला विद्यार्थी संगठनहरुले नयाँ विद्यार्थीलाई स्वागत गर्दथे । एकता पाँचौं, नेविसंघ, क्रान्तिकारी जस्ता संगठनहरु थिए । केहि विद्यार्थीहरु राजनीति गर्दथे । म संगठित कतै भएको थिईन । मेरा दुई जना साथीहरु नै फरक फरक संगठनका हुनुहुन्थ्यो । उहाँहरु एकले अर्काेको विरुद्धमा कुरा गरेर मलाई संगठनमा लाग्न अनुरोध गर्नुहुन्थ्यो । चितवनको माननिय हुनुुहुन्छ उहाँ । अहिले संसदिय समितिमा पनि हुनुहुन्छ । अर्काे साथी पनि पार्टी राजनीतिमा कृयाशिल हुनुहुन्छ । म कुनै संगठनमा कृयाशिल भईन । आईएल पास हुने वितिक्कै प्रहरीमा जागिर खाएकाले पछि संगठित हुने कुरा भएन । गाउँमा बहुदल आएपछि एमालेको लहर चलेको थियो । अन्य संगठनहरु पनि कृयाशिल थिए । प्रहरीमा जागिर खाने घर परिवारको सल्लाह बमोजिम जागिर खान प्रहरीकोमा भर्ना गर्ने निधो गरें । राजनीति गर्ने दाईहरुले मलाई शुरुमा जान दिनु भएन । प्रहरी सेवामा जागिरे भए पछि मैले राजनीति गरिन । प्रहरीमा जागिर खाने खराब ब्यक्तिले होईन भन्ने सन्देश पनि थियो त्यतिबेला । पछि गाउँमा पनि विभिन्न पार्टीहरु खुले । मैले सक्रिय राजनीति विद्यार्थी समयमा पनि गरिनँ । पछि त गर्ने कुरा पनि भएन । 

प्रेम र विवाहः असई हुँदै गर्दा मेरो मागि विवाह भयो । प्रेम भएन । प्रेम गर्नेहरु पनि थिए । विद्यालय जीवनमा अध्ययनको मात्रै चिन्ता थियो । सबै कुराको समय आउँदो रहेछ । प्रेम नगरेका पनि होईनन् । आफुले पनि नगरेको होईन । तर दुबै पक्षको चित्त बुझ्दो प्रेम पाईएन । 
    धेरै तिरबाट विवाहको कुरा चल्यो । आफुलाई पनि विवाहको प्रस्ताव आयो । सबै कुराको निधो भए पछि मैले मागि विवाह गरें । २१ वर्षको उमेरमा जागिर खाएँ । २५ वर्षको उमेरमा विवाह गरें । चार वर्षको समयमा जागिर बाहेक केहि गरिएन । २०५१ सालमा बुबा आमाको चाहना अनुसार मागि विवाह भएको थियो । विवाह भए पछि घरकै सल्लाह अनुसार मैले प्रहरी निरिक्षकमा मेहनत गरेको थिएँ । श्रीमतीले घर ब्यवहार हेर्ने र मैले अध्ययन गरेर जागिरमा पनि राम्रो गर्ने भन्ने भयो । अनावश्यक काममा लाग्ने, साथीभाई बनाउने, त्यसमै ठुलो बनेर रमाउन खोज्ने प्रचलन छाडेर स्तर बृद्धि गर्ने भन्ने भयो । राजधानी बाहिरको जागिर छाडेर प्रहरी निरिक्षकको तयारी गर्न राजधानी आएर अध्ययन गर्न थालें । साथीहरुको संगतमा मैले रक्सी पनि खाएँ । कहिलेकाँहि चुरोट बिँडी पनि खाएँ । उनलाई यो कुरा मन परिरहेको थिएन । उनकै कारण मैले सबै कुरा त्यागें । यहि कारण कहिलेकाँहि झगडा पनि पथ्र्याे । जब त्यस्तो चिज त्यागें जीवनमा आनन्द र सन्तुष्ट बाहेक केहि भएन । हाम्रो एक छोरा र एक छोरी छन् । छोरी इन्जिनियरिङ्ग ब्याचलर अध्ययन गर्छिन भने छोरा ११ कक्षामा अध्ययन गर्दै छन । हाईफाई मन पर्दैन । सानो, सामान्य र सुखी परिवार । लोग्नेमान्छे सफल हुन श्रीमतीहरुको हात हुन्छ । साथ र सहयोग आवश्यक छ । परिवारका सबै सदस्य यस्तै कुरामा रमाउछन् । 

भावी योजनाः जहाँ गए पनि जनताकै सेवा गर्नु पर्छ भन्ने मेरो सोच हो । पदमा हुुँदा नै जनताकै लागि केहि गर्ने हो । पदमा हुँदा नगर्ने र भावी योजना बनाउने भन्ने होईन । जनताकै लागि शान्ति सुरक्षा र अमन चयन कायम गर्ने हो । नेपालगञ्ज हुँदा एउटा घटना भयो । महिलाहरु हरेक दुःख सुखमा प्रहरीको साथ खोजिरहेका हुन्थे । कहिलेकाँहि कारवाही गर्दा म माथी नै कारवाही हुने अवस्था आयो । प्रजिअकोमा मेरो कारवाही होला भनेर महिलाहरु जुलुस गएका थिए । प्रहरी निरिक्षक थिएँ म त्यतिबेला । मेरो स्वार्थ जनताकै सुरक्षा हो । सुरक्षा बाहेक अरु कुनै स्वार्थ छैन । पछि भन्दा पनि अहिले गर्ने हो । आजै गर्ने हो । समयमै सम्पन्न गर्ने मेरो सोच हो । पछिको कुरा भन्न सकिदैन । 

जीवनः भोगाई । चुनौती । 

प्रेमः निश्वार्थ माया । 

विवाहः रथका दुई पांग्रा । 

शारिरीक सम्वन्धः सामाजिक मुल्य र मान्यता अनुसारको हुनुपर्छ । 

अन्त्यमाः चाडपर्वहरु लगातार छन् । चाडपर्वहरुमा उच्छृंखल भएर होइन सयम भएर शान्तपूर्वक हाँसीखुशी भएर मनाऔं । नेपाल प्रहरीले चाडपर्वहरुमा आवश्यक सुरक्षा ब्यवस्था मिलाएको छ । ढुक्कले चाडपर्व मनाऔं । सिङ्गो देशबासीहरुमा शुभकामना दिन चाहन्छु ।