2020 November 30/ 10:51: 44am

विष्णु गौतम
अध्यक्ष
लक्ष्मी प्रतिष्ठान नेपाल

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः जिल्लाको साविक धुसेनी सिवालय हाल चौरीदेउराली गाउँपालिका वडा नम्वर ४ मा मेरो जन्म भएको थियो । परिवारको म कान्छो सन्तान । दुई दिदी पछिको एक्लो छोरा । सरस्वती प्राविबाट अध्ययन शुरु भयो । बुबा र हजुरब्ुबाले सन्तानलाई पढाउनु पर्छ भन्ने सोचका साथ मलाई विद्यालय भर्ना गरिएको थियो । लाँकुरीको बोटमा बसेर अध्ययन गरेका थियौं । कालो पाटी लाँकुरीको रुखमा झुण्डाएर  क ख सिक्यौं । विद्यालय भवन देखेकै थिएनौं । कक्षा ३ सम्म त्यहाँ अध्ययन गरेर जागृति प्राविमा भर्ना भएँ । घरबाट २ घण्टा हिडेर जानु पर्दथ्यो । गाउँबाट कोहि विद्यालय जाँदैन थियो । म एक्लो थिएँ । ९ वर्षको उमेरमा विहान २ घण्टा हिडेर विद्यालय जाने र आउने गरेको थिएँ । त्यहाँ पनि कक्षा ५ सम्म भन्दा अध्ययन गर्ने अवसर थिएन । २०३२ सालमा म राजधानीमा अध्ययनका लागि पारिवारीक सल्लाहमा निस्किएँ ।
    गाउँमा म हुनेखानेको सन्तान थिएँ । गोठमा हुने भैंसी, उब्जनी हुने अन्न र खेतिपातीका हिसाबले साहु र गरिब छुट्टयाउने चलन थियो । ८ वर्षको उमेरमा पहिलो पटक मेरो खुट्टामा जुत्ता प¥यो । एकपाथी नुन लिन दोलालघाट जानु पर्दथ्यो । बजार नजिक थिएन । ११ वर्षको उमेरमा मैले काठमाडौंबाट संघर्ष शुरु गरें । पत्रिका बेच्न थालें हकरका रुपमा । रमेशनाथ पाण्डे जो पछि मन्त्री पनि हुुनुभयो । उहाँले प्रकाशन गर्नु भएको पत्रिका विहान ४ बजे उठेर पत्रिका विक्री गर्न जान्थे । १ सयवटा विक्री गर्दा १८ रुपैयाँ कमाउँथे । चञ्चले थिएँ । चिच्याउन सक्थें । एकपटक २७ रुपैयाँसम्म कमाएको छु । खाने, कपडा किन्ने, मन लाग्या कुरा किन्ने काम गर्दथें । जुत्ता लगाउँदा बाटोमा हिड्न सकिनँ । बाटोमा हिँड्दा फोहोर हुन्छ भन्ने लाग्थ्यो । पोशाक पहिलो पटक लगाएको थिएँ । मेरो पुस्ता धेरैले दुःख गरेको छ । २०३५ सालमा मेरो सबै परिवार बसाई स¥यो । थुप्रै जमिन थियो । त्यतिबेला ४६ लाख रुपैयाँ प्राप्त ग¥यौं । गौशालामा साँढे ४ रोपनी भन्दा धेरै जमिन किनेका थियौं । गरिब थिईनँ भने खुट्टामा जुत्ता हुँदैन थियो । थिएँ भने त्यत्रो पैसा त्यतिबेला जग्गा विक्री गर्दा आउँथ्यो र काठमाडौंमा त्यति धेरै जमिन किन्न सकिन्थ्यो । सधैं मलाई त्यहि कुराले टर्चर अनुभूति गराउँथ्यो । मैले कति दुःख पाएँ ? कति सम्पत्ति समाज सेवामा खर्च हुन्छ ? कहिल्यै हेरेको छैन । हेर्ने पनि छैन । ११ वर्षको उमेर देखि काठमाडांैमा संघर्ष गरेर जीवनलाई यो क्षेत्रसम्म ल्याई पु¥याएको छु । यसमै मलाई सन्तुष्ट छ । 
हाम्रो घरमा नास्पातीको रुख थियो । दुध विक्री गरेर, बाख्रा विक्री गरेर मात्रै पैसा आउँथ्यो । घरमा नासपातीका रुख थियो । बुबा र मैले दोलालघाटमा ल्याएर एक डोको नासपातीका ११ रुपैयाँमा विक्री ग¥यौं । घरमा भएको सबै हिसाब गर्दा ३६ रुपैयाँ जति आउँदो रहेछ । भारी बोकेको डेढ रुपैयाँ आउँथ्यो । घरमा गएर बुबालाई सबै बारीमा नासपातीको रुख रोपेर आम्दानी गरौ भनें । उहाँले मलाई धान फल्ने खेतमा नासपाती ? भन्दै झण्डै कुट्नु भएको थियो । मेरो दिमागमा सानै देखि ब्यवसायीक योजना चढेको थियो । त्यो कुरा पछि पुरा गर्ने अवसर पाएँ । 

एसएलसी पछिः २०३५ सालमा मैले एसएलसी दिएँ । पहिलो पटक म फेल भएँ । काम गरेर पढ्नु पर्दथ्यो । त्यसकारण म फेल भएको थिएँ । दोश्रो वर्ष २०३६ सालमा एसएलसी पास भएँ । त्यतिखेर विदेश जाने चक्कर चल्या थियो । झिटिगुन्टा भन्ने कार्यक्रम थियो । २ हजार रुपैयाँको भन्सार थियो । म विदेश जाने आउने गर्न थालें । मेरो घर एयरपोर्ट नजिकै थियो । एयरपोर्ट सफाई गर्ने समुदाय थियो । उहाँहरु सबैको पासपोर्ट थियो । उहाँहरु वर्षको एक पटक विदेश जाने अवसर मिल्थ्यो । सबैलाई समेटेर जाँदा मेरो आय आर्जन बढ्यो । मासिक ५ हजार भन्दा धेरै कमाई हुन थाल्यो । त्यसले मलाई उन्माद बढायो । सरकारको कार्यक्रम बन्द भए पछि मेरो केहि पेशा भएन । हातमा पैसा खेलाउने बानी भए पछि मलाई असन्तुलन बनायो । काउली रोप्न थालें । अरु तरकारी खेति गर्न थालें । म क्याम्पस गईनँ । अध्ययन गर्ने होईन कटाउने उद्देश्यमा लागें । क्याम्पस उत्तिर्ण गरें । ब्याचलर अध्ययन गरिनँ । २०४४ सालसम्म त्यस्तै क्षेत्रमा समय बित्यो । त्यसलगत्तै मैले दाल चामलको काम गर्न थालें । त्यसमा म सफल भएँ । २०४८ सालमा फेरी पछारिएँ । पैसा धेरै कमाएर फिल्म क्षेत्रमा लागें । पार्वती नामक फिल्ममा लगानी गरें । फिल्म सफल भएन । चर्चित संगीतकार सुरेश अधिकारीले पहिलो कम्पोज गरेको गीत त्यहि फिल्मको थियो । ‘चोईटिएको मुटु’ नामक पुस्तकमा मैले आफ्ना कुरा लेखेको छु । फिल्म लाईनमा पनि मेरो सफलता भएन । त्यो क्षेत्रमा पनि सफल नभएपछि म फेरी सडकमा आएँ । त्यसपछि म पुरै बिग्रिएँ । तीन वर्ष मेरो जीवनले गलत बाटो लियो । बिग्रिएको मान्छे फेरी सप्रन सक्छ । राम पनि हामी नै हौं । रावण पनि हामी नै हौं । जाँड रक्सी खाएँ । आवारा भएँ । एउटा जवान छोरा रक्सी खाएर सडकमा सुत्दा बुबा आमालाई कस्तो अनुभूति होला ? त्यो सबै कुरा मैले भोगें । २०५१ सालबाट मैले फेरी ट्रयाक समातें । त्यतिबेला मलाई ५ रुपैयाँ पनि सापट दिदैन थियो । घरमा सामान्य किराना पसल थियो । त्यो पसललाई मैले कोल्ड स्टोर बनाएँ । मलाई गफ गर्न अलिक सहज लाग्थ्यो । बोली नै सबथोक रहेछ । पसलको डेकुरेसन नै भव्य भयो । पर्यटकहरु आउने बाटो त्यहि थियो । बाटोमा कोकाकोला र पानी लिएर पर्यटकहरुलाई पसल भित्र ल्याउन सफल भएँ । उनिहरुले मन पराउने खालको डेकुरेसनले लोभ्यायो । ७ रुपैयाँ थियो कोकाकोलाको मुल्य मैले २० रुपैयाँमा विक्री बेच्थें । उनिहरु बोतल लिएर गएको अवस्थामा पनि मैले अरु मान्छे पठाएर उनिहरुले राखेको सिसी ल्याएर आम्दानी गर्थें । मेहनत गर्दै गएपछि मैले पैसा कमाउन थालें । सभ्य भएँ । 
    जेठो छोरा कुमार १६ वर्षको भएको थियो । मैले चाईनिज भाषा पढाएँ । चाईनिज भाषा जान्नु ठुलो कुरा थियो । त्यहि बेला देखि ट्राभल एजेन्सी खोल्यौं । श्रीमतीलाई पसलको जिम्मेवारी दिएँ । आफु पर्पर्टी(जग्गा, घर) को ब्यवसाय शुरु गरें । घरबाट १५ लाख जति लिएर निस्किएको थिएँ । त्यतिबेला ३ करोड भन्दा धेरै कमाएँ । त्यहिबाट थप ब्यवसायले सफलता प्राप्त ग¥यो । 

प्रेम र विवाह ः मेरो बाल विवाह हो । ९ वर्षको हुँदा गोठपानी गाविसकै भवनाथ साहुको छोरी लक्ष्मीसँग मेरो विवाह भयो । संस्थाका हरेक गतिविधि, मेरा ब्यक्तिगत जीवनका भोगाईमा पनि उनकै नाम राख्ने गरेको छु । जीवनमा बाबु आमापछि उनलाई नै मान्छु । तीन वर्षमा गरेका केहि गतिविधिहरुले मलाई उनको अगाडि शिर निहुरिने बनाएको थियो । तर पनि मैले आफ्नो खिया लागेको जीवनलाई सुधारें । बुबा आमाले परिवारले मागि दिएको केटीसँग विवाह गरेको थिएँ । परिवार राम्रो र सुखी थियो । अहिले पनि हामी शोकमा भएर पनि खुशी हुने प्रयत्न गरेका छौं । 
    हामीबाट चार सन्तानको जन्म भएको छ । तीन छोरा र एक छोरी । जेठो छोरा कुमार अध्ययन पछि चाईनिज भाषा सिकेर पर्यटन ब्यवसायमा संलग्न भए । हाम्रो ट्राभल एजेन्सी नेपालमै धेरै पर्यटक भित्र्याउने एजेन्सीका रुपमा परिचित भयो । २००८ मा हाम्रो ट्राभल एजेन्सी पहिलो भएको थियो । २००९ मा अमेरिकामा पहिलो टपर विद्यार्थी थियो । त्यहि वर्ष उनको सडक दुर्घटनामा निधन हुन पुग्यो । बाटोमा आउँदै गरेको मृगलाई बचाउन खोज्दा सवारी साधन अनियन्त्रित हुन पुग्दा उसको निधन भएको थियो । मृग बच्यो उसको निधन भयो । माईलोे छोरा बलरामको ९ महिना पछि नेपालमै दुर्घटना हुँदा निधन हुन पुग्यो । गायक दिप श्रेष्ठलाई घरमा छाडेर आउँदा सिनामंगलमा भएको दुर्घटनामा अनियन्त्रित कारलाई छलाउन खोज्दा सिनामंगलमा सडकमा रहेको पोलमा कार ठोक्किन पुग्दा उनको चालक सिटमै निधन भएको थियो । दर्दनाक घटनाबाट बग्रिन नपाउँदै ९ महिनाको बीचमा अर्काे दुर्घटनाले हामी मानसिक रुपमा विक्षिप्त हुन पुग्यौं । घरमा ८७ बर्षका बाबु र ८४ वर्षका आमा हुनुहुुन्थ्यो । उहाँहरुलाई समेत हामीले चित्त बुझाउने बाटो भएन । अरु परिवार पनि छन् । कान्छो छोरा सानै थियो । अमेरिकामा मृत्यु भएको छोराको शव पनि देख्न पाईएन । राजदुतावासले जानकारी समेत गराएन । सडकमा चन्दा उठाएर नेपालीहरुले शबको अन्त्येष्टी गराए । त्यो गुनासो सधैं रहेको छ । कसैबाट मैले सहयोग पाईनँ । बरु अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छु । कान्छो छोराले यसवर्ष डायना अवार्ड प्राप्त ग¥यो । बेलायतबाट कान्दामा गरेको कामका आधारमा प्राप्त अवार्डका बारेमा नेपाल सरकारलाई जानकारी छैन । दिनभरी हलो जोतेर आएको छोरालाई बेलुका बाबुले धाप मारे पनि आनन्द आउँछ । तर सरकारले कुनै सहयोग गरेन । कान्दामा भएको विद्यालयलाई मावि बनाउने अनुमति दिएको भए एउटा छात्राबास चलाउँदा चलाउँदै अर्काे चलाउन पर्दैन थियो । सडक छैन । जति गर्न खोजे पनि सरकारले सहयोग नगर्दा सम्भव नहुने रहेछ । पहिलो दुर्घटना २०६५ पुष १२ गते भएको थियो भने दोश्रो दुर्घटना २०६६ असोज १७ गते भयो । कुमार गौतम २८ वर्षका थिए । उनि जेठा छोरा हुन् । बलराम माईलोे छोरा हुन् । छोरी अहिले विदेशमा छिन् । कान्छो छोरा मसँगै छन् । मेरो सबै कामको जिम्मेवारी उनैले सम्हालेका छन् । 
म पर्यटन ब्यवसायी हुँ । दुई छोराको निधन पश्चात मलाई संसारमा रहन मन लागेन । माईलो छोराको १३ दिनको काम सकिदै थियो । म शौचालय गएको समयमा मेरो मति भ्रष्ट भयो । मलाई पीडा नै पीडाको यो संसारमा बाँचिरहनु भन्दा सबै परिवारलाई एउटा गाडीमा लिएर भोटेकोशीमा पु¥याएर गाडी नै डुबाईदिएर एकै पटक मर्ने योजना बनाएँ । त्यो दिनमा आउने तयारीमा म थिएँ । कसैलाई मैले भनेको थिईनँ । श्रीमती लक्ष्मीले गोर्खामा बस दुर्घटना भएको समाचार नेपाल टेलिभिजनमा हेरिरहेकी रहिछन् । भुलिनलाई टेलिभिजन खोलिरहेको रहेछ । लक्ष्मीले हामी सबैको पुर्नजीवन गराई दिईन् । दुर्घटनामा घाईतेहरु छट्टपट्टिरहेका थिए । एकजना बृद्धले आफ्नो छोरा मरेको, आफ्नो ढाड भाँचिएकाले मरेको छोरालाई छुन मात्रै भए पनि पाउँ भन्ने उहाँको अत्यन्तै पीडादायक कुरा गरेको सुनेपछि लक्ष्मीले आफ्ना दिवंगत छोराहरुका नाममा केहि गरिदिन अनुरोध गरिन् । मैले सोचेको भ्रष्ट कुरालाई दिमागबाट तुरुन्तै हटाईदिएँ । उनले नै आफ्नो बाँच्ने आधार कुमार बलरामको नाममा संस्था खोलेर केहि गरिदिने भन्ने भए पछि हामीले आमा लक्ष्मीकै नामबाट प्रतिष्ठान खोल्ने निर्णय ग¥यौं । उनलाई कहिल्यै आँशु झार्न नदिने बाचा गराएर छोराहरुकै नामका संसार चिनाउने गरी डाँडाकाँडा ढाक्ने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दै आफुले त्यहि दिन गर्न खोजेको योजना सुनाएँ । उनि पनि दंग परिन् । त्यहिबेला देखि हामीले संस्था दर्ताका लागि अभियान शुरु ग¥यौं । कोखबाट जन्म दिएका छोराहरुको निधन भए पछि मुखबाट निस्किएको उनको शब्दका आधारमा लक्ष्मी नै नाम राखेका हौं । आमाले जन्माएका दुई सन्तान, उनकै नाममा खोले संस्था । हामीले निरन्तर त्यहिबेला देखि काम गर्न शुरु ग¥यौं । संस्था खोलेर सेवा गर्न पाए पछि केहि सान्त्वना मिल्न थाल्यो । अडिने बाटो बन्यो । उनिहरुको आत्मालाई शान्ति प्रदान गर्न र उनिहरुले लिएको चाहनालाई पूरा गर्न त्यसले मद्दत पु¥यायो । 
हामी सबै परिवार समाजसेवामै होमिएका छौं । विदेशबाट छोरीले पठाएको केहि पैसाले ब्यक्तिगत खर्च पुग्छ । छोराले पनि ब्यवसाय गरिरहेका छन् । आफ्नै घर भएकाले समस्या छैन । बाचुञ्जेल समाजसेवामा यहि प्रतिष्ठान मार्फत सक्रिय हुने लक्ष्य लिएका छौं । 

प्रतिष्ठानको शुरुवात ः २०६६ साल पुष  २ गते दुई छोराको एक वर्षको अवधीमा सडक दुर्घटनामा परी निधन भएपछि उनिहरुको स्मृतिमा आमा लक्ष्मीको नामबाट लक्ष्मी प्रतिष्ठान नेपालको स्थापना भएको हो । आमाकै नामबाट पुर्नजीवन गराउने उदेश्यले यसको स्थापना भएको हो । १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेका छौं । संस्थाले दश वर्षको अवधीमा सवारी सचेतना, शिक्षा, स्वास्थ्य र सिप विकासका क्षेत्रमा काम गर्दै आयो । शिक्षा क्षेत्रमा अलिक धेरै योगदान रह्यो । चारवटा सरकारी विद्यालयका भवन निर्माण ग¥यौं । १६÷१६ ब्लकका छात्रावास दुईवटा निर्माण भएका छन् । छात्रावासमा अति सिमान्तकृत समुदायका बालबालिकाहरुलाई राखेर ५ वर्ष देखि निरन्तर शिक्षामा पुहँचसेवा पु¥याई रहेका छौं । 
    शुरुमा काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक जिल्लामा शिक्षा क्षेत्रमा काम गरेका थियौं । त्यसपछि चितवनको कान्दामा पुग्यौं । कान्दामा केहि रुपान्तरण गर्न सकिन्छ भन्ने अभियान चलायौं । ७ वर्ष अघि चितवन जिल्लाको कान्दामा एउटै परिवारका ८ जनाको निधन भएको थियो । खाद्यान्न नभएका कारण खाएको च्याउ विषालु प¥यो । १० जनाको परिवारमा २ जना मात्रै बाँच्न सफल हुनुभयो । १७ महिनाको बालक र ७५ बर्षिया आमा मात्रै । हामीलाई लाग्यो नेपालका धेरै स्थानहरु मध्ये केहि जिल्लाका केहि समुदायहरुमा अझै खाद्यान्नको अभाव छ । त्यहाँ केहि गर्नु पर्छ भन्ने सोच आयो । शुरुमा हामीले उहाँहरु दुईजनालाई अनेकोटमा रहेको प्रतिष्ठानमा राखेर सेवा गर्ने योजना बन्यो । तर त्यहाँ पुग्दा अर्कै माहोल देखियो । गाउँ नै अस्तब्यस्त थियो । अर्धबस्त्र र नग्न अवस्थामा धेरै मान्छेहरु देख्यौ । त्यहाँ देखिएका दृश्यहरुले मन छोयो । गिठा भ्याकुर मात्रै खाने चलन रहेछ । ३ महिना खोरिया खनेर उत्पादन हुने अन्न रहेछ । बाँकी महिना शिकार गर्ने, गिठा भ्याकुर खनेर खाने अवस्था रहेछ । घना जंगल छ तर कुनै जीवजन्तु छैन । त्यस्ता दृश्यहरु देखिए । खानाको अभाव त थियो नै खाना खाने भाँडाकुँडा समेत थिएन । सुत्नलाई ओछ्यान थिएन । पतकर सोहोरेर एकै स्थानमा राखेर त्यहि सुत्ने अवस्था रहेछ । महिलाहरुको कारुणिक अवस्था रहेछ । महिलाहरु गर्भवती हुँदा जंगलमा गएर बच्चा पाउनु पर्ने रहेछ । त्यो अवस्थाबाट मुक्त गराउन सकिन्छ कि भन्ने सोच पलायो । त्यहाँ हामीले ६९ वटा घर निर्माण गरी हस्तान्तरण ग¥यौं । लक्ष्मी प्रतिष्ठान मार्फत छाप्रोबाट घरमा सार्ने काम ग¥यौं । आय–आर्जनका लागि तरकारी, फलफुल खेती शुरु ग¥यौं । 
    आवास र आय–आर्जनसँगै बालबालिकाहरुको क्षेत्रमा केहि गर्नुपर्छ भन्ने योजना बनाएर बालबालिकाहरुका लागि छुट्टै छात्राबास निर्माण भयो । शुरुमा ८६ जना बालबालिकाहरु विद्यालयमा भर्ना भए । कान्देश्वरी राष्ट्रिय विद्यालयमा भर्ना भएका ८६ जनालाई हामीले छात्राबासमा राख्न थाल्यौैं । उनिहरुलाई एकै स्थानमा राखेर अध्यन अध्यापन गराउने कार्य शुरु भयो । उनिहरुलाई पुरानो जीवनबाट नयाँ जीवनमा प्रवेश गरायौं । ३ वर्षमा १ सय १६ जना बालबालिकाहरु छात्राबासमा बस्न थाल्नु भएको थियो ।  छात्राबासमा बसिरहँदा बालबालिकाहरुमा खेलसम्वन्धी चासो रहेको थाहा पायौं । तेक्वान्दो खेल खेलायौं । सावित्री तामाङले अन्र्तराष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भईन् । अर्धवस्त्रमा विद्यालय प्रवेश गरेकी सानी छोरीले १३ देशका बालबालिकाहरुसँग प्रतिस्पर्धा गरेर मेडल जित्दा सबैको खुशीको आँशु बग्यो । विद्यालयमा केहि समस्या आयो । कक्षा ६ बाट त्यो विद्यालय अपग्रेड हुन सकेन । १ सय ७५ जना बालबालिकाहरु भर्ना भएका थिए । थप अध्ययनका लागि त्यहाँ विद्यालय भएन । हामीले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली स्थित वडा नम्वर ४ धुशेनी शिवालयमा भुकम्पको बेला दाताहरुको सहयोगमा भुकम्प पीडितहरुका लागि ४४ वटा घर निर्माण गरेका थियौं । तर ति घरहरुमा कोहि मान्छे बस्नु हुन्न । सबै मान्छेहरु अन्यत्र बस्ने कारण घरहरु खाली थिए । यि घरहरुको सदुपयोग गर्ने उदेश्यले १६ वटा घरहरु १० वर्षका लागि भाडामा लियौं । ४४ वटा घर निर्माणका लागि प्रति घर १ लाख ६७ हजार दान गर्नु भएको थियो । ५ लाख भन्दा धेरै एउटा घरमा खर्च भयो । त्यो रकम सबै प्रतिष्ठानले ब्यहो¥यो । यो घर बनाउनेहरुले अस्थायी टहरा मानेर नयाँ घरका लागि राज्यले उपलब्ध गराएको सहयोग पनि लिनुभयो । प्रिफ्याबबाट निर्माण भएका घरहरुमा कोहि बस्नु भएन । सबै घाँस उम्रिएको थियो । तिनै घरहरु मध्ये हामीले १६ वटा घर भाडामा लिएका हौं । भाडामा लिएका घरहरुलाई छात्राबास बनायौं । यहि शैक्षिक सत्रबाट हामीले कान्दामा रहेका थप कक्षा अध्ययन गर्ने ३१ जना बालबालिकाहरुलाई यहि राखेर पढाउन थाल्यौं । हामी १ सय जना जति बालबालिकाहरुलाई यहि स्थानमा ल्याउने योजनामा छौं । एक सय सिटको क्षमता छ । धारा, बाथरुम निर्माण भईरहेको छ । सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माण गरेका छौं । पुस्तकालय, बालबालिकाहरुका लागि आवश्यक पर्ने सबै खालका संरचनाहरु निर्माण गरेका छौं । हाम्रा बालबालिकाहरु अरुसँग प्रतिस्पर्धामा अब्बल छन् । कक्षा ५ सम्म अंग्रेजी अध्ययन गर्ने अवसर पाएका थिएनन् । पहिलो त्रैमासिक परिक्षामा उनिहरु मध्ये केहि अब्बल भएका छन् । एक वर्ष पुरा गर्दा अधिकांश बालबालिकाहरु अब्बल हुने छन् । 
    कान्दाबाट काभ्रेपलाञ्चोक ल्याउन कानूनी प्रकृया गाउँपालिका र नगरपालिकाले पुरा गरिदिएको छ । बालबालिकाहरुका अभिभावकहरु आफै आएर विद्यालयमा र हाम्रो छात्राबासमा भर्ना गरिदिनु भयो । हामीले शिक्षा मात्रै दिएका छैनौं शिक्षासँगै आत्मनिर्भर बनाउन सिप दिएका छौं । कक्षा १२ सकिँदा उनिहरु केहि न केहि रोजगार र श्रम सहितको सिपमा हुनेछन् । केहि तामाङ, केहि गुरुङ पनि त्यो समुदायमा छन् । तर त्यहाँ सबै बालबालिकाहरुको अवस्था उस्तै छ । ५ वर्ष निरन्तर हामीले २ सय जनाका लागि खाना सहितको मेस संचालन ग¥यौं । कान्दासम्म सडक छैन । सबै सामान बोकेर लैजानु पर्छ । ४ हजार बोट फलफुल लगाएका छौं । अहिले फल्न थालेको छ । फलफुलबाट आम्दानी हुन शुरु भएको छ । कान्दामा पहिले ढुंगा माटोको घर निर्माण ग¥यौं । पछि भुकम्प प्रतिरोधात्मक घर निर्माण ग¥यौं । त्यहाँ सबै श्रम उहाँहरुले नै गर्नु भयो । त्यसमा लाग्ने सामाग्री बापतको आवश्यक रकम हामीले उपलब्ध गरायौं । अहिले मान्दामा बनेका ६९ वटा घरहरु सबै एउटै मोडलका छन् । 
    झण्डै ८ सय भन्दा धेरै ब्यक्तिहरुलाई तालिम दिएका छौं । सिप विकास मध्ये ड्राईभिङ असफल भयो । महिलाहरुलाई दिएका थियौं । उनिहरुले निरन्तरता दिन सकेन । मोतियाविन्दुको अप्रेसन निःशुल्क गराएका थियौं । एकजना बराबर १७ हजार खर्च हुन्थ्यो । सिपाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र शुरु गरेका थियौं । झण्डै ६ सय विरामीलाई सेवा दियौं । ८ वटा पुस्तकालय निर्माण गरेका छौं । विद्यालयलाई जग्गा पनि सहयोेग गरेका छौं । भुकम्प पछि उद्धार, उपचार, पुनर्निर्माणमा सहयोग ग¥यौं । धुशेनी शिवालयमा अहिले ५५ रोपनी जग्गा छ । फलफुल रोपेका छौं । १ सय ७५ बोट किवी रोपेको छु । बार्षिक १७ लाखको किवी हुन्छ । अरु फलफुल र तरकारी खेती शुरु गरेका छौं । 

सहयोग र खर्च ः१० वर्षे संचालन हुँदा ३ वर्ष मैले निजी सम्पती खर्च गरेर संस्था संचालन गरें । त्यसपछिका ७ वर्ष मैले ब्यक्तिगत दाताहरुबाट संकलन गरेर चलाएको छु । मसँग ठुलो नेटवर्क छ । त्यहि नेटवर्कका कारण संस्था संचालन भईरहेको छ । मैले शुरुमा २ करोड ३४ लाखको जग्गा विक्री गरें । म सँग त्यो भन्दा अघि ४९ लाख रुपैयाँ नगद थियो । त्यसबाट मैले काठमाडौको ग्रिन सिटीमा ९१ लाखको घर किनें । ४ लाख जग्गा विक्री गर्न मिलाउने ब्यक्तिहरुले लिनुभयो । पाँचखालको अरनिको राजमार्गबाट ३ किमी माथी रहेको ४० रोपनी जग्गा २० लाखमा खरिद गरेर ७५ लाख खर्च गरेको थिएँ । रिर्साेट संचालनको तयारीमा थिएँ । होटल संचालनका लागि मैले ऋण स्विकृत गराएको थिएँ । छोराहरुको निधन पश्चात सबै काम रोकियो र जग्गा विक्री गरेर उनिहरुकै नाममा खोलेको संस्था मार्फत समाजसेवाका लागि खर्च गरें । केहि समय पछि म बसिरहेको गौशालाको घर पशुपति क्षेत्र विकास कोषले अधिग्रहण ग¥यो । जसबाट मलाई ८७ लाख प्राप्त भयो । त्यसबाट प्राप्त भएकोे रकमबाट २ वटा घडेरी ग्रिन सिटीमा किनेको थिएँ त्यो पनि संस्थाकै लागि विक्री गरें । मैले जीवनमा जति कमाएँ त्यो सबै खर्च गरें । अरु धेरै रकम मेरो ब्यवसायबाट प्राप्त भएको थियो त्यो पनि सबै दान गरें । संस्थाको बार्षिक खर्च डेढ करोड छ । सबै दाताहरुले दिनु भएको रकम झण्डै ७ करोड भन्दा धेरै भयो । एकएक सुका रकम मैले सहि क्षेत्रमा खर्च गरेको छु । दुई छोराको आत्माको शान्तिका लागि पनि मैले आफ्नो सम्पति, आफ्नो दुःख केहि भनेको छैन । मेरो सम्पत्ति जति खर्च भएको छ त्यो भन्दा धेरै अरुबाट सहयोग पाएको छु । 

राजनीतिः मैले राजनीति गरेको थिएँ । नेपाली कांग्रेससँग आबद्ध थिएँ । बहुदल आउने क्रममा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईराला दुई समुहमा विभाजन भए पछि म भट्टराई समुहमा लागें । पछि कृयाशिल हुन सकिनँ । राजनीतिमा सक्रिय हुन नसकै कारण मैले सरकारबाट र पार्टीबाट कहिल्यै सहयोग प्राप्त गर्न सकिनँ । अहिले राजनीति प्रति चासो छैन । भट्टराईलाई मैले मेरो ब्यवसायिक योजना समेत पेश गरेको थिएँ । 

भावी योजनाः खाडी जाने युवाहरुलाई मैले रोक्न सक्दिनँ । मैले गरेको खेति देखेर छिमेकी युवाहरुले सिकुन् । १७ लाख किवीबाट मात्रै आम्दानी हुन्छ । खाडी गएको युवाले विदेश गएर एक वर्षमा १७ लाख कमाउँछ ? मैले कमाएको पैसा संस्थामै जान्छ । संस्था संचालनका लागि पनि सहयोग पुग्छ । यो क्षेत्रमा रहेको बाँझो जमिनमा मात्रै फलफुल खेति ग¥यो भने युवाहरु मात्रै होईन देश नै धनी बन्छ । देश र ब्यक्ति धनी बनाउन काम गरौं । कान्दामा केहि परिवर्तन गर्ने योजना छ । त्यहाँका नागरिकहरु ब्यवसायी बन्न सकुन् । त्यहाँका नागरिक आत्मनिर्भर बन्न सकुन् ।