2020 December 05/ 04:37: 40pm

कुन्साङ लामा
सभापति
नेपाली कांग्रेस नमोबुद्ध नगर समिति, काभ्रेपलाञ्चोक

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०१२ सालमा मेरो जन्म साविक खनालथोक गाविस हालको नमोबुद्ध नगरपालिकामा भएको थियो । आमाको अनुहार नै थाहा छैन । मैले नजान्दा आमा वित्नुभएको बुबाले बताउनु भयो । बुबाले मलाई हुर्काउनु भयो । बाल्यकालमा आर्थिक अवस्था निम्न थियो । विद्यालय शुरुमा जाने अवसर प्राप्त गरें तर पनि त्यसले पूर्णता प्राप्त गर्न सकेन । सामान्य अक्षर चिन्ने बाहेक थप शिक्षा प्राप्त गर्न सकिनँ । मेरो आमाबाट जन्मेको म कान्छो सन्तान । मेरो एकजना दाई हुनुहुन्छ । मेरो तीन आमा अझै हुनुुहुन्छ । बुबा हुनुहुुन्न । ७ भाई दाजुभाईकोे म माईलो छोरा हुँ । बाल्यकाल अत्यन्तै संघर्षपूर्ण रह्यो । 
    किसान परिवार । खान पनि पुग्दैन थियो । बाख्रा चराउने, खेतीपाती गर्ने, ज्यालापानी गर्ने काममा मेरो बाल्यकाल बित्यो । मेरो जस्तो दुःख अरुले ब्यहोर्नु नपरोस् । मानवीय ब्यवहार सबै मानवले प्राप्त गर्नुपर्छ । मैले शिक्षा प्राप्त गर्न सकेको भए सायद समाज र राष्ट्रमा केहि योगदान पु¥याउन सक्थें होला । तर पनि जति समय रहन्छ त्यो सबै समय समाजमा भएका दिनदुःखीहरुको सेवा गर्ने सोच छ । सबै क्षेत्रमा कार्यरत ब्यक्तिहरु कसैलाई पनि संकट नपरोस् । खेतमा जाँदा रोपाई गर्ने, गोरु दाउने, गोरु जोत्ने लगायतका काम हुन्थे । अभाव असाध्यै धेरै थियो । हाम्रो गाउँ पिछडिएको थियो । सडक थिएन । बनेपाबाट मल बोकेर गाउँसम्म लैजाने गरेका थियौं । सूचना, यातायातको सुविधा थिएन । बाल्यकालमै हामी सडक खन्न कोदालो बोकेर आउँथ्यौं । बहुदल प्राप्ती पछि कटुञ्जेसम्म सडक लैजाने अभियानमा पनि मेरो योगदान रह्यो । सबैसँग हातेमालो गर्दै विकासका लागि, मानवअधिकार, स्वतन्त्रताका लागि लडिरह्यौं । अध्ययन गर्न नपाउँदाको पीडा, आमा नहुँदाको पीडा, एकपेट खान नपाउँदाको पीडा विर्सनै सकिदैन । विकास नभएकै कारण हामीले भोग्नु परेका असुविधाहरु पनि कयौं छन् । शिक्षा प्राप्तीमा समस्या भए पनि शिक्षा भएका साथीहरुसँगै मिलेर केहि गर्ने योजनाका साथ अगाडि बढें । अहिले पनि मेरो चाहना नमोबुद्ध नगरपालिका, क्षेत्र र जिल्लामै केहि गर्ने योजनाका साथ सक्रिय भएको छु । 
    बाल्यकालमा उट्फट्याङ्ग खासै हुँदैन थियो । कहिलेकाँहि दुम्जा कुशेश्वर, तेमाल नारायणस्थानको जात्रा, मंगलटारमा हुने जात्राहरुमा सहभागी हुने मन भए पनि जान सकिनँ । आफूसँग पैसा नभएका कारण जान नपाउँदा मन खिन्न हुन्थ्यो । दाई, भाईहरु र म बनमा डोको बोकेर दाउरा ल्याउँथ्यौं । रोशी खोलामा पौडी खेलेर फर्कन्थ्यौं । शिक्षा बाहेक सबै क्षेत्रमा मेरो सक्रिय सहभागिता रह्यो । घर निर्माणमा पनि मेरो सहभागिता रह्यो । बुबाले पनि मलाई त्यहि काममा सक्रिय हुन सुझाव दिनु हुन्थ्यो । आमा नहुँदाका धेरै यादहरु छन् । आमा नभएका कारण साथीहरुबाट हुने ब्यवहार, मनमा खेल्ने कुराले घच्घच्याउँछ । आमा भएको भए सायद म अध्ययन गर्न पाउँथें होला । आमाले विद्यालय पठाउनु हुन्थ्यो होला । सन्तानको अभिभावक मध्ये बुबा सधै आवश्यकता पूरा गर्ने र आमा घरका बालबालिकाहरुको चाहना पूरा गर्ने हुनुुहुँदो रहेछ । सबैभन्दा साह्रो ढुंगा भने जस्तै नभएको कुरा कसरी पूरा गर्ने ? सानोमा केहि समय विद्यालय जाँदा पनि हामी डण्डिबियो खेल्थ्यौं । अनि हामी आपसमा लडाई पनि गथ्र्याैं । नियमित विद्यालय नजाने, खेलेर विताउने र घर फर्कँदा पनि साथीहरु बीच झगडा हुने गथ्र्याे । बुबालाई नभन्ने, आमा नहुने । विद्यालय नियमित जानुपर्छ भन्ने पनि कोहि भएन । बुबाले घरको काममा सक्रिय रहन भनिरहनु हुन्थ्यो । एकपटक बुबाको कारवाहीमा परेको छु । घाँस काट्न गएको थिएँ । घरमा भैंसीहरु थिए । धेरै घाँस ल्याउन सकिनँ । भैंसी भोकै हुन्छ भनेर लाठीले कुटेको याद छ । घाँस दाउरा ल्याएर घरमा आउँदा खान नपाएको क्षण पनि छ । गरिबले खान नपाउनु, सुत्ने ओछ्याउन नपाउनु सामान्य थियो । खान, लाउन, सुत्न समेत समस्या थियो । अहिले त्यो समस्या हटेको छ । मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान शुरु गर्नु भएको थियो । त्यो भावना साँच्चै हाम्रै लागि थियो । अहिले पनि म साथीहरुलाई भन्छु हाम्रो लागि गर्ने हामीले नै हो । हिमालमा गएर पनि ज्याला गरेको छु । द्वन्द्वमा पाएको दुःख पनि असाध्यै धेरै पीडादायी छ । तर पनि भगवानले सबैको कल्याण गरुन् मेरो शुभकामना छ । 
    बहुदल प्राप्त नभई पञ्चायतमै भएको भए त्यो खाल्डोको विकास हुँदैन थियो । सडक नपुगेको भए हामी अन्धकारमै हुन्थ्यौं । जसरी पनि सडक ल्याउनु पर्छ । सडक नआएको भए बसाई सर्नु पर्छ भन्ने सोच राखेको थिएँ । नेपालका धेरै राम्रा गाउँहरुमध्ये हाम्रो गाउँ पनि एक थियो । त्यसकारण पनि म बसाई सरिनँ । त्यहि बिताएँ । आमाहरुको रेखदेख, बुबाको संघर्ष थियो । सडक, विद्युत, विद्यालय निर्माणमा सक्रिय हुनुपर्छ भन्ने सोच बन्यो । विकासको शुरुवातसँगै सशस्त्र द्वन्द्वले असर पु¥यो । द्वन्द्व नराम्रो थिएन । केहि खराब ब्यक्तिहरुका कारण आन्दोलनकै बदनाम बनायो । मन थियो धन थिएन । धन भएर पनि अरुको मन नराम्रो भए पछि उन्नती हुँदो रहेनछ । विकास एकै पटक हुने जादु होईन, विस्तारै हुने हो । सबैको माया प्राप्त गर्ने हो भने काम गर्ने हो । सबैलाई चिनाउन काम नै गर्नुपर्छ । सबैको भलो चिताउँदा आफ्नो पनि राम्रो हुन्छ ।     

राजनीतिः २०३६ सालमा भएको बहुदल र निर्दलको निर्वाचनबाट मेरो राजनीति शुरु भयो । त्यो भन्दा अघि पनि मैले पञ्चायतकाल विरुद्ध संघर्ष गरें । बहुदल आउँदा २०४७ सालमा पनि मैले संघर्ष गरें । राजनीतिक गुरुका रुपमा मैले गोविन्दनाथ उप्रेतिलाई लिएको थिएँ । राजनीतिबाट मात्रै देशको परिवर्तन सम्भव छ भन्ने बुझें । निरन्तर म राजनीतिमा लागिरहें । बहुदल पछि एउटा पार्टीमा सहभागि हुनुपर्ने भएकाले म नेपाली कांग्रेसमा सहभागी भएँ । विपी कोईराला, मनमोहन अधिकारीको विचारबाट म प्रभावित भएँ । स्थानीय स्तरमा पु¥याएको सेवाका कारणले होला मलाई पार्टीले मलाई वडा अध्यक्षको उम्मेदवार बनायो । म निर्वाचित भएँ । खनालथोक गाविसमा वडा अध्यक्ष भएर काम गर्ने अवसर पाएँ । राम्रोसँग कार्यकाल विताउन पाएकाले सबैले विश्वास पनि गर्नुभयो । पञ्चायतमा केहि साथीहरु हामी सँगै थियौं । पञ्चायतको पक्षमा हुने केहि साथीहरु आज अलग पार्टीमा हुनुहुन्छ । जुनसुकै पार्टीमा बसे पनि मन राम्रो भयो भने केहि हुँदैन । पञ्चायत विरुद्ध टोल, गाउँ, वडा, गाउँपञ्चायतमा आन्दोलन गरें । मुखियाहरुको घरमा पुगेर केरा र दहि खोसें । निरन्तर लागिरहें । शिक्षा थियो भने म माओवादीको क्रान्तिकारीपन भन्दा धेरै क्रान्तिकारी हुन्थें । 
    मुलुकमा सशस्त्र युद्ध शुरु भयो । त्यसले मलाई पीडा दियो । मुलुक परिवर्तन गर्ने अभियानमा निस्किएका राजनीतिक दलका केहि कार्यकर्ताहरुले मलाई गाउँमा बस्ने वातावरण दिएनन् । म सधैं शान्तिका लागि सक्रिय भईरहें । शान्ति विना विकास सम्भव छैन । अहिले पनि शान्तिपूर्ण रुपमा प्राप्त भए जस्तो लाग्दैन । राजनीतिक दलहरुले अझै जनतालाई शान्ति उपलब्ध गराउन सकेको जस्तो लाग्दैन । जनताले शान्ति भएको अनुभूति गर्ने वातावरण अझै बनेको छैन । त्यो वातावरण बनाउन सबै राजनीतिक दलहरु सक्रिय हुनुपर्छ । फरक जात, फरक धर्म, फरक समुदाय, फरक क्षेत्र भएकै आधारमा मैले कसैलाई फmरक ब्यवहार गरेको छैन । गर्ने पनि छैन । गर्ने सोच पनि छैन । उमेरले पनि अब युवाहरुले त्यसको नेतृत्व गर्नुपर्छ । हामी संरक्षण मात्रै गर्ने हो । पञ्चायतमा मेरो दाई प्रधानपञ्चमा उठ्नु भयो । बसको टिकट जस्तो थियो मतपत्र । हामी त्यहि टिकट लिएर सानै उमेर देखि भोट राख्थ्यौं । चुनावको सम्झना आउँदा धेरै परिवर्तन भएको छ । निर्वाचनमा जनताको मन लिएर जितेको ब्यक्तिलाई म भगवान मान्छु । धाँधली गरेर जितेको ब्यक्ति जनताको प्रतिनिधि हैन । बहुदलमा म वडाअध्यक्ष भएँ । पछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुख पदको टिकट पाएँ । केहि मतले पराजित भएँ । मेरा प्रतिस्पर्धी राजनीतिक मित्र टिपी शर्मा तिमल्सिनाले केहि फरक मतले जित्नु भयो । मैले उहाँलाई बधाई दिएर कार्यकाल सफलताको शुभकामना दिएँ । अहिले पनि उहाँलाई सहयोग गरिरहेको छु । उहाँले मागेको साथ र सहयोग गरिरहेको छु । भुकम्पका बेला हामी सबै सँगै थियौं । स्थानीय नागरिकहरुको सेवाका लागि हामी नमोबुद्धका सबै दल सक्रिय भएका थियौं । मेरो मन सफा, स्वच्छ छ । मलाई जसले जिते पनि जनताकै पक्षमा काम गर्नुपर्छ र काम गर्नकै लागि मत दिएका हुन् भन्ने विश्वास छ । 
पार्टीको हकमा म वडा समिति हुँदै गाउँ समितिमा निर्वाचित भएँ । गाउँ समितिबाट क्षेत्रिय उप सभापति भएँ । महासमिति सदस्य पनि भएँ । जिल्ला सदस्य पनि भएँ । फेरी नमोबुद्ध नगरपालिकाको पार्टी सभापति भएको छु । सबैले पहुँच हेर्ने रहेछन् । नजिकको, क्षेत्रगत, आफन्त सबैतिर हेरिँदो रहेछ । स्थानीय स्तरमा गरेको योगदानका आधारमा महासमिति सदस्य भएँ । मेरो आफ्नै कारण केन्द्रिय समितिमा जाने योजना पनि बनाईनँ । त्यसका लागि अझै धेरै योगदान आवश्यक थियो । देशभर चिनाउने मौका मैले पाउन सकिनँ । मन र बचनले सधै तयार छु । हिम्मत हारेको छैन । कुनैदिन केन्द्रिय सदस्यमा पुग्ने योजना छ । सायद आउँदो महाधिबेशनमै पो हुन्छ कि ? सबैको साथ र सहयोग भएमा त्यसमा तयारी गर्ने योजना हो । हिम्मत हारेको छैन । हुनैपर्छ भन्ने छैन । द्वन्द्वको समयमा मलाई झुटा आरोप लगाईयो । केहि माओवादी मित्रहरुले सुराकीको आरोप लगाउनु भयो । प्रहरी आउँछ मैले ल्याउन लगायो हुन्छ । अरु पनि त्यस्तै त्यस्तै कुरा गर्छन् । मैले केहि गरेको भए फिर्ता गर्छु भन्दा पनि मानेनन् । अरु नागरिकलाई मेरा कारण दुःख दिनु भन्दा पनि म आफै विस्थापित हुनु राम्रो भनेर म घर छाडेर हिडें । द्वन्द्वमा धेरै राम्रा मान्छेहरु बिते । १७ हजार मान्छे निर्दोष थिए । धेरै पीडा भयो । घर छाडेर हिडनु पर्दा सबैलाई दुःख भयो । धेरै ब्यक्तिहरुले प्राप्त गरेको दुःख भनेर साध्य छैन । परिवर्तन त भयो तर अझै भने जस्तो भएन । जे नारा लगाईएको थियो, जे उद्देश्यका लागि ब्यक्तिले ज्यान गुमाउनु प¥यो त्यो प्राप्त हुन सकेन । म काभ्रेको पाँचौ नम्वर भित्रको पीडित हुँ । राज्यले उपलब्ध गराएको भन्दा धेरै अनुदान लिएको छैन । हाम्रो त सम्पती न क्षति भयो अरुको ज्यान नै गएको छ । पीडा भनि साध्यै छैन । तर पनि मुलुकले एउटा गति लिएको छ । यसलाई अझै राम्रो बनाउन तपाई हाम्रो सबैको भूमिका हुन्छ । म शान्ति प्रिय मान्छे हुँ । सधै शान्ति चाहन्छु । 

पेशा ब्यवसायः मेरो मुख्य पेशा कृषि हो । जन्मेदेखि हुर्केसम्म लामोसमयसम्म त्यहि पेशामा रमाएँ । पछिसम्म पनि त्यहि पेशा ब्यवसाय गरिरहें । अहिले पनि त्यहि पेशा निरन्तरता छ । राजनीति, सामाजिक कार्यसँगै मुलुकमा शान्ति स्थापना पश्चात साथीहरुसँगको साझेदारीमा क्रसर ब्यवसाय संचालन गरेको छु । २०७२ सालको भुकम्प पछिको पुनर्निर्माणमा क्रसर ब्यवसायीहरुले ठुलो सहयोग पु¥याउनु भएको छ । हामीले पनि सहयोग ग¥यौं । पैसा कमाउनु मात्रै हाम्रो उद्देश्य थिएन र छैन पनि । अहिले पनि विकास निर्माणका विभिन्न कार्यमा हाम्रो सहभागिता छ । मैले जुन जुन पेशा गरे सबै पेशाबाट नागरिकहरुको सेवा गर्ने उद्देश्य राखेको थिएँ । 

प्रेम र विवाहः मेरो सानै उमेरमा मागि विवाह भयो । हाम्रो समुदायमा फुपु र मामाचेलामा विवाहवारी हुन्छ । मामाचेलामा मेरो विवाहको लागि बुबा लगायतका आफन्तले सल्लाह गर्नु भएछ । मागी र भागी दुवै विवाह हैन । अभुतपूर्व विवाह भयो । विवाह भनेर धुमधाम केहि गरिएन । १८ वर्षको थिएँ होला । सानै उमेरमा गरिएको विवाहले मलाई गृहस्थीमा सहयोग पु¥यायो । विवाह पछि हामी गाउँमै बस्यौं । 
हामीबाट दुई छोरा, चार छोरी जन्मिए । दुई छोरा उद्योगमा छन् । तीन छोरीको विवाह भईसकेको छ । कान्छी छोरीको बाँकी छ । एकछोरी अमेरिकामा छिन् । कहिलेकाँहि सामान्य ठाकठुक भयो होला तर जानेर कहिल्यै झगडा गरिन । सामान्य हुनु स्वभाविक हो । 

भावी योजनाः नमोबुद्ध नगरपालिकालाई अझै समृद्ध कसरी बनाउन सकिन्छ ? सबैको साथ र सहयोगमा त्यसलाई अझै समृद्ध बनाउने योजनामा सहभागी हुन्छु । सहयोग गर्छु । विरोध हैन, राम्रो कामका लागि साथ र सहयोग सधंै रहन्छ । राजनीतिक दल भन्दा माथी आफ्नो क्षेत्र, समाज र राष्ट्र हो । त्यसका लागि निरन्तर म कृयाशील हुनेछु । मैले कहिल्यै हार खाएको छैन र खाँदिनँ पनि । अझै ममा एउटा शक्ति नमोबुद्ध, क्षेत्र र जिल्लाका लागि केहि गरांै भन्ने नै छ । कहिल्यै कसैको कुभलो नसोचौं र नगरौं भन्ने नै हो । सके सहयोग गर्ने, असहयोग कसैलाई नगर्ने ? नमोबुद्ध नाम नै काफी छ । देशमै नमुना नगरपालिका बनाउन मेरो सक्रिय सहभागीता रहन्छ । 

जीवनः संघर्ष हो । ब्यक्तिगत अथवा समाजका लागि ? खानका लागि मात्रै होईन समाजका लागि केहि गर्नु पर्छ । 

प्रेमः अभुतपूर्व छ । एक सिक्काको दुई पाटो हो । भगवानको समय देखि भएको प्रेम अहिले पनि छ । भित्री प्रेम आवश्यक छ । बाहिरी प्रेमले संसार चल्दैन । प्रेम विना संसार चल्दैन । जर्बजस्ती प्रेम गर्नु अपराध हो । 

विवाहः धार्मिक, साँस्कृतिक, वंश चलाउने माध्यम । पारिवारीक संघर्ष । अत्यावश्यक । ब्यक्ति, जीवन, समाज, राष्ट्रका लागि आवश्यक छ । त्यसमा मात्रै भुल्यो भने त्यो नर्क हो । 

शारिरीक सम्वन्धः ब्यक्तिको चाहना र आवश्यकता । 

अन्त्यमाः आफू मात्रै हैन, अरुलाई पनि सहयोग गरौं । आफु मात्रै बाँच्ने हैन, अरुलाई पनि बचाऔं । सबैमा यहि भावना जागृत होस् । सबै मिलेर देश बनाऔं । आफ्नो गाउँ बनाऔं । आफ्नो क्षेत्रको विकास भए मात्र समाजको विकास हुन सक्छ । सकारात्मक सोचौं । राम्रो कामको सबैले सहयोग गरौं । दुखमा परेकालाई सबैले साथ दिऔं ।