2020 November 30/ 10:28: 36am

हरिभक्त श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष

पूर्व अरनिको कम्पनी प्रा.लि

जन्म, बाल्यकाल,औपचारिक शिक्षाः काभ्रेपलाञ्चोक जिल्लाको साविक नासिका साँगा गाउँ विकास समिति वडा नम्वर १ भंैसेपाटीमा मेरो जन्म २०२६ साल भदौमा भयो । चक्रज्योती प्राविमा कक्षा ५ सम्म, शिक्षा सदन निमाविमा कक्षा ७ सम्म, आजाद माध्यमिक विद्यालयमा कक्षा ८ र महेन्द्र मावि साँगामा कक्षा ९ र १० को अध्ययन सकाएँ । म कान्छो सन्तान थिएँ । तीन सन्तान मध्ये दिदी एक र दाई एक मध्ये दाईको २०३६ सालमा निधन भयो । गरिब परिवारमा मेरो जन्म भयो । मध्यम स्तर थियो । खान पनि धौ–धौ थियो । त्यतिबेला विद्यालयमा पढाउनु पर्छ भन्ने थियो तर कस्तो र कति पढे पछि हुन्छ भन्ने थिएन । एसएलसीसम्मको अध्ययन सकाएर थप अध्ययन गर्ने अवसर ममा जुटेन । 
    थोरै खेतिपाती थियो । आम्दानीको अरु श्रोत थिएन । विद्यालयमा तिर्नु पर्ने शुल्क, विद्यालयमा खानु पर्ने टिफिनका लागि पैसा हुँदैन थियो । विशेषगरी चाडबाडका लागि माटो लिन आउने र किनबेच हुन्थ्यो । गाडीमा माटो बोकिदिए बापत पैसा आउँथ्यो । विहानभरी माटो बोक्ने आफ्नो खर्च एक रुपैयाँ भएपछि फर्केर विद्यालय जाने गरेको थिएँ । धेरै पटक मैले माटो विक्री गरेर स्कूल गएको छु । अलिक ठुलो भएपछि त मैले माटोको ठेक्का लिएर काठमाडौंसम्म पु¥याएँ । विद्यालय अध्ययन गर्दागर्दै मैले बार्षिक ५ हजारसम्म कमाएको थिएँ । त्यो पैसा हात पर्दा आफै दंग परेको थिएँ । ट्रयाक्टर भाडामा लिएर माटो लोड गर्ने र काठमाडौंमा लगेर विक्री गर्ने गरेको थिएँ । त्यो काम सधै हुँदैन थियो । चाडवाडका बेला मात्रै माटो विक्री हुने भएकाले मैले शुरुमा आफै बोकेर एक रुपैयाँ पैसा लिने गरें पछि आफै त्यसको जिम्मेवारी लिएर काम गरें । त्यसको एउटै उद्देश्य थियो परिवारलाई आर्थिक रुपले सबल बनाउने भन्ने हो । त्यतिबेला छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने थिएन । दिदीले अध्ययन गर्ने अवसर पाउनु भएन । दाजु पनि चाँडै बित्नु भयो । म एक्लो छोरा भएँ । मेरो लागि जसरी भए पनि पढाउनु पर्छ भन्ने सोच अभिभावककोमा थियो । उहाँहरु खेती गरेर भए पनि मलाई विद्यालय पठाई रहनु हुन्थ्यो । विहान उठेर घरको काम गर्ने गरेको थिएँ । खाना आफैं पकाएर विद्यालय जानु पर्दथ्यो । एक रुपैया पैसा नहुँदाको पीडा आफ्नै ठाउँमा छ । पकाउन अल्छी लाग्दा भोकै परिन्थ्यो । मैले नपकाउँदा बुबा आमा खेतबारीबाट आउँदा उहाँहरु पनि भोकै पर्नु हुन्थ्यो । मलाई अहिले पनि पकाउन अल्छी लाग्दैन । सबैभन्दा मिठो खाना म बनाउँछु । मिठो मासु पकाउने घरमा म नै हो । विहान घरमा खाएर गए पछि एकै पटक बेलुका घरमा आउँदा मात्रै खान पाईन्थ्यो । घर नजिकै थियो विद्यालय । चक्रज्योती प्रावि अहिलेको वडा कार्यालय भएको स्थानमा थियो । त्यो भवन भत्किए पछि अहिले भएको स्थानमा बनाउन शुरु गर्दा हामीले इट्टा बोक्यौं । अन्य संरचना निर्माणमा पनि सहयोग ग¥यौं । जुन विद्यालयमा अध्ययन गरें त्यहि विद्यालयको अहिले अध्यक्ष भएको छु । अध्यक्ष नहुँदा पनि मैले उक्त विद्यालय भवन निर्माणमा सहयोग पु¥याएँ । विदेशमा रहेका मेरा आफन्तबाट पनि सहयोग संकलन गरी निर्माण समितिको अध्यक्ष रहेर काम गरें । अरु अध्यक्ष हुँदा पनि सहयोग गरें । बच्चाहरुलाई खाजाको ब्यवस्था पनि गर्दै छु । नयाँ भवन निर्माणका लागि पनि मैले सक्दो सहयोग गरें । विद्यालयलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने सोचले कृयाशिल छु । 
    म असाध्यै सोझो थिएँ । शिक्षकहरुले पनि माया गर्नु हुन्थ्यो । धनमाया मिस हुनुहुन्थ्यो । उहाँले ५० हजार रुपैयाँको अक्षयकोष राख्नु भएको छ । उहाँको चाहना त्यसबाट प्राप्त भएको ब्याजले निम्न आय भएका विद्यार्थीहरुका लागि सहयोग पु¥याउँछु भन्नु भएको छ । सबै शिक्षक शिक्षिकाहरु सहयोगी हुनुहुुन्थ्यो । चक्रज्योतीमा कक्षा ६ अध्ययन गर्ने अवस्था थिएन । बनेपामा आफन्त पनि भएकाले मैले शिक्षा सदनमा भर्ना भएको थिएँ । शिक्षा सदन पनि निमावि तहको कक्षा ७ सम्म मात्रै थियो । त्यहाँ पछि आजाद माध्यमिक विद्यालयमा पुगें । बस कम चल्थ्यो । विद्यार्थीहरुलाई बसमा चढाउँदैन थिए । हिडेरै बनेपा आउँदा कहिलेकाँहि ढिला हुन्थ्यो । फरक फरक विद्यालय, फरक फरक साथीहरुको संगत हुन्थ्यो । शिक्षा सदनबाट आजाद अध्ययन गरिरहँदा कठिन जस्तै भयो । कक्षा ८ उत्तिर्ण गरेपछि साँगामै रहेको महेन्द्र माध्यमिक विद्यालयमा भर्ना भएँ । घरबाट अलिक नजिक भएकाले सहज थियो । धेरै विद्यालय फेरे पनि साथीहरु फरक फरक भए पनि विद्यालय तहमा अनुत्तीर्ण भईन् । अध्ययन छाड्न मन पनि लागेन । एसएलसी दिए लगत्तै म काठमाडौंमा गुदपाक भण्डारमा काम गर्न गएको थिएँ । मासिक ३ सय रुपैयाँ प्राप्त हुन्थ्यो । घरमा त्यसै बस्नु भन्दा काम गरेको राम्रो भन्ने सोचले आफन्तकै सहयोगमा काठमाडौ गएको थिएँ । दाई वित्नु भएपछि मलाई अलिक धेरै माया भयो । अभिभावकले कहिल्यै कुट्नु भएन । तिहारको बेला तीन दिन म विभिन्न खेलहरु खेलेरै विताउने गरेको थिएँ । अभावमा पनि मैले कहिल्यै लामो हात गरिनँ । साँगामा पुगेपछि मलाई साथीहरुले खर्च गरेको देख्दा आफु कमजोर भएको अनुभूति भयो । केहि साथीहरु खल्तिभरी पैसा बोकेर हिड्थे । उनिहरु खाजा खान जान्थे । म कतै जादिनँ थिएँ । कसैको पछि लागेर खाउ भन्ने लाग्दैन थियो । उनिहरुले जाउ भन्दा पनि म जाँदिनँ थिएँ । सानैदेखि स्वाभिमान थियो । 
    एसएलसी खासै राम्रो भएन । अध्ययनको अवसर थिएन । घरमा जति अध्ययन ग¥यो त्यतिकै भरमा एसएलसी दिनु पर्दथ्यो । पहिलो पटक म फेल भएँ । फेल भए लगत्तै म काठमाडौं गएर काम गरें । एकवर्ष काठमाडौंमा काम गरे पछि फेरी एसएलसी दिएँ । फेरी पनि फेल भएँ । तेश्रो पटक मात्रै म एसएलसी पास गरें । अन्तिम पटक पास भए पछि खुशी भएँ । तर थप अध्ययन गर्ने अवसर थिएन । विद्यालय तहमा बनेपामा अध्ययन गर्दा भिडियो हेर्न जाने गरेको थिएँ । बरालिएर, अभिभावकलाई दुःख दिएर, साथीहरुसँग झगडा गरेर कतै गईनँ । बुबाआमासँग सिधै बोल्न पनि सकिदैन थियो । उहाँहरुको निर्देशन, मार्ग दर्शनका आधारमा अगाडी बढ्ने गरेको थिएँ । मेरो खुशीका लागि मैले गरेको निर्णयमा उहाँहरुको साथ र सहयोग थियो । एसएलसीको हाउगुजी उहाँहरुमा पनि थियो । चिट चोरेर पास गर्न सकिन्छ भन्ने पनि थियो । तर मैले चिट पनि चोर्न सकिनँ । लेख्न पनि सकिनँ । जति लेखें त्यसले पुगेको रहेनछ फेल भएँ । शुरुमा बिग्रिएकाले मलाई फेल हुन्छु जस्तो लाग्या थियो । एसएलसीका बेला हामी अलिक धेरै समय अध्ययन गर्ने गरेका थियौं । 

एसएलसी पछिः एसएलसी दिएर काठमाडौंमा काम गर्न थालें । आफन्तको सहयोगमा गुदपाक भण्डारमा काम गर्न थालेको थिएँ । ३ सय रुपैयाँ थियो मासिक । खास गाह्रो थिएन । उनिहरुकै घरमा बस्ने अवसर प्रदान गरिएको थियो । एक महिना पुगे पछि मासिक तलब लिएर म घर आउन लागेको थिएँ । १ सयका नयाँ नयाँ नोट ३ वटा पछाडी गोजीमा राखेर अरु केहि पैसा अर्काे खल्तिमा राखेर रत्नपार्कबाट बस चढें । त्यो बस काभ्रेको भए पनि विक्री भएकाले ठिमीसम्म मात्रै चल्दो रहेछ । केहि क्षणमै चढेर ओर्लदा मेरो पाकेटमारेर पैसा चोरी भएछ ।  म रोएँ । केहि सिप लाग्दैन थियो । जीवनमा त्यो पीडादायी घटना भयो । त्यो पैसा आमालाई दिन ल्याएको थिएँ । घरमा आउँदा आमालाई त्यो कुरा भनें । आमाको अनुहार हेरेर मलाई आँशु आयो । तीन सय हराउँदा धेरै रकम हराएको अनुभूति भयो । त्यसले पाठ पनि सिकायो । त्योबेला देखि कहिल्यै मैले पछाडी केहि सामान राख्दिनँ । २२४४ नम्वरको मिनिबस थियो त्यो । अझै कष्ठस्थ छ त्यो नम्वर । त्यो घटनाबाट जीवनमा केहि नयाँ अनुभूतिहरु भए । पैसा भन्दा पनि आमाको अनुहार परिवर्तन भएको देखेपछि मलाई पीडा भयो । त्यो मेरो जीवनको अविश्मरणीय क्षण हो । 
    त्यहाँ एक वर्ष काम गरेको थिएँ । २०४६ चैत्र महिनााको कुरा हो । विदामा घर आएको थिएँ । आमाले काठमाडौंमा आन्दोलन भएकाले उहाँले पठाउनु भएन । पछि बौद्धमा एकजना दाजुको बरफ बनाउने काममा लागे । ६ महिना त्यहाँ काम गरें । अब आफ्नै काम गर्नु पर्छ भन्ने उद्देश्यले काठमाडांैबाट घर फर्किएँ । त्यसपछि घर नजिकै रहेको एउटा घडेरी विक्री गरें । जग्गा किनबेच गर्दा गर्दै मैले यातायात क्षेत्रको काम गर्न थालें । 

यातायात क्षेत्रमा प्रवेशः २०५० सालमा मैले पहिलो पटक यातायात क्षेत्रमा प्रवेश गरेकोे थिएँ । घडेरी विक्री गरेर जम्मा भएको थोरै पैसा मात्रै थियो । मामाको छोरा जिरी जाने बसमा कण्डक्टरको काम गर्दथे । उसकै सल्लाह र सहयोगमा मैले यातायात क्षेत्रमा काम गर्ने योजना बनाएँ । त्यहि योजना अनुसार बनेपामा रामगोपाल शेर्पा दाईसँग थोरै पैसा दिएर उधारोमा ट्रक किनें । २ लाख रुपैयाँ नगद र ३ लाख उधारो थियो । जग्गा विक्री गरेर २ लाख रुपैयाँ आएको थियो । केहि पैसा दिएर केहि पैसा ब्याज तिर्ने गरी किनेको ट्रकले राम्रो कमाई ग¥यो । जर्मनी ट्रक पावर गियर थियो । भिरपाखा जस्तोसुकै कच्ची सडकमा पनि पुग्थ्यो । त्यसले मलाई सहज बनायो । ट्रकसँगै मैले अर्काे महेन्द्र निशान गाडी किनें । गाडी किनेर आफै चलाउन थालें । राति ८ बजे सुतेर राति ११ बजे उठेर बाँस्डोल जाने गरेको थिएँ । त्यहाँबाट तरकारी काठमाडौंमा पु¥याएर विहानको राति त्यहि फर्कने गरेको थिएँ । तरकारी लिएर काठमाडौ गएका कृषकहरु विहान भैंसी दुहुन घरमा आईपुग्नु हुन्थ्यो । त्यसले पनि मलाई धेरै अनुभव दियो । मेहनत गर्न सिकायो । सुत्ने भनेको ३ घण्टा मात्रै थियो । त्यतिबेला मैले असाध्यै धेरै दुःख गरें । आर्थिक अवस्था कमजोर भएकाले मेहनत नै प्रमुख कुरा थियो । मेहनत पछि पैसा कमाउन सहज छ भन्ने बुझेको थिएँ । बुबा आमाले मलाई सधै सहयोग मात्रै गरिरहनु भयो । घडेरी विक्री गरेर किनेको ट्रकले केहि सहज बनाए पछि महेन्द्र निशान किनेको थिएँ । पछि बसमा साझेदारी गर्न सफल भएँ । 
२०५४ सालमा बस किनें । साथीभाईहरुको साझेदारीमा किनिएको बस थियो त्यो । आफै कण्डक्टर बनेर काम गरें । एकवर्ष जति कण्डक्टर गरे पछि २००५ सालबाट आफै नयाँ बस बनाउन शुरु गरें । बनेपाका रविन्द्र भाञ्जा र म मिलेर बस बनायौं । २००९ सम्म हामीले धेरै बस बनाएर विक्री वितरण ग¥यौं । त्यसबाट मैले यातायात क्षेत्रमा फड्को मारें । त्यतिबेला जस्तो सहज अहिले यातायात क्षेत्रमा छैन । ट्रिप हुँदैन थियो । दैनिक बस चल्दैन थियो । जिरीमा पालो प्रणाली थियो । ५० दिन देखि ६० दिनसम्म गाडी डिटेनमा बस्नुपर्छ । अहिले पनि त्यस्तै छ । अरनिको बस रिजर्भ आउँछ । अरनिकोमा चलाएका स्टाफहरु जहाँ पनि चलाउन सक्षम हुन्छन् । भारतका विभिन्न स्थानमा रिजर्भ जाने अवसर आउँछ । बसको अवस्था तन्दुरुस्त हुन्छ । बसहरुको मर्मत, चालकहरुको मानसिक रुपमा सक्षमता र आराम जरुरी छ । पालो प्रणालीमा बसहरु सधै नयाँ हुन्छन् । दैनिक संचालन गरेर प्रतिस्पर्धा गराउनु भनेको दुर्घटना निम्त्याउनु मात्र हो । २५ वर्षको अनुभवले त्यहि भन्छ । नियमित पालोमा चलाउँदा अरनिको यातायात सेवा समिति भित्रको एकता कायम छ । ७ वटा जिल्लामा हाम्रा बसहरु संचालन भईरहेका छन् । काठमाडौ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, चितवन लगायत बर्दिवासका केहि क्षेत्रमा हाम्रा बसहरु चलिरहेका छन् । नियमित बसमा काम गरिरहँदा म समितिमा आबद्ध भएँ । २०६३ मा पहिलो पटक सदस्य भएँ । कोषाध्यक्ष पदमा २ पटक पराजित भएँ । तेश्रो पटक अत्याधिक मतले विजयी भएँ । सदस्य, सह–सचिव, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएँ । कम्पनीमा रुपान्तरण भए पछि पनि बरिष्ठ उपाध्यक्ष छु । 
    गत वर्षसम्म मैले गाडी किनबेच गरिरहें । बसको अलावा मैले ट्रक, ट्रिपर, १२ चक्के गाडीहरुको पनि काम गरें । ६ चक्के ट्रक समेत गरेर धेरै सवारीको किनबेच भयो । ढुवानी पनि गर्ने गरेको छु । केहि ट्रिपर, १२ चक्के र दुईवटा बस छन् । बस साझेदारीमा छ । प्रालिमा गए पछि मैले गाडीको किनबेच कम गरेकोे छु । टिपरहरुको सेवालाई पनि निरन्तरता दिएको छु । गाडीमा पैसा जति कमायो त्यति मर्मत गरिनु पर्छ । कमाई नभएको भन्दै मर्मत हुन छाडेको छ । भोलि गरौंला भन्दै छाडेका कारण दुर्घटना बढेको छ । चालक, सह चालकलाई प्रशिक्षण जति दिए पनि पुगेको छैन । पहिला अनुशासन पनि धेरै थियो । अहिले खास त्यस्तो देखिदैन । अस्वस्थ प्रतिस्पर्धाका कारण पनि त्यस्ता घटना हुन थालेका छनु । नियमित बसहरुको मर्मत नहुनु, चालकहरु जिम्मेवार नबन्नु त्यसको कारण हो । नेपालकै नमुना हो अरनिको यातायात सेवा समिति । अहिले पनि नमुना नै छ । हाम्रो समितिमा सिस्टम छ । विरामीहरुको शत प्रतिशत उपचार समितिले गरिदिदै आएको छ । ब्यवसायीहरुको लगानी सुरक्षित गरिएको छ । यात्रु नहुँदा पनि हाम्रो समितिका बसहरुले सेवा उपलब्ध गराएका छन् । मजदुरका छोराछोरी र सन्तानलाई पनि सेवा छ । दर्ता शुल्क बाहेक अरु रुट परमिटका नाममा समितिले पैसा लिएको छैन । सट्टा भर्नामा केहि पैसा लिने गरेका छौं । पुराना गाडीहरु हटाउने र नयाँ भन्ने समयमा केहि पैसा लिने गरिएको छ । समिति अब कम्पनीमा परिणत भएको छ । काममा केहि राम्रो गर्ने प्रयास भएको छ । समितिको नाममा भएको सम्पत्ति कम्पनीमा हस्तान्तरण भएको छैन । अझै रोक्का छ । यात्रुहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने योजनामा निरन्तर कृयाशिल छौं । हामी अस्वस्थ प्रतिस्पर्धा गर्दैनौं । 
    यातायातसँगै मैले अर्काे ब्यवसाय पनि शुरु गरेको छु । एउटा पानी कम्पनीलाई मिनरल वाटरको बोतल बनाउने काम गरिरहेको छु । समयको ब्यवस्थापन गरेर ब्यवसायीक रुपमा अरु काम गर्ने योजनामा छु । यसलाई पहिलाको जस्तो सक्रिय रुपमा गर्न सक्ने अवस्था छैन । यातायात क्षेत्रको ब्यवसायसँगै मैले विद्यालयको सुधारमा पनि समय दिने योजना बनाएको छु । केहि सहकारी र अन्य सामाजिक काममा आवश्यक सहयोग र समय दिनेछु । 

प्रेम र विवाहः विद्यालय जीवनमा प्रेम गर्ने चलन थियो तर म केटीहरुसँग बोल्न पनि सक्दिन थिएँ । पछि पनि त्यस्तो भएन । २०५० सालमा दाईको सालीलाई भगाएर विवाह गरेको थिएँ । बुबा आमाले विवाह गर्ने भन्दा भन्दै मैले भगाएर विवाह गरेको हुँ । प्रेम पनि हैन, मागी पनि हैन भागी विवाह थियो त्यो । घर छाडेर बाहिर हिड्न विवाह पछि सहज भयो । तर त्यो परिवार मेरो लामो समयसम्म टिकेन । असमझदारीका बीच मैले २०५९ सालमा अर्काे विवाह गरें । त्यो पनि भागी विवाह थियो । दुई परिवारबाट ६ सन्तान छन् । ५ छोरी र एक छोरा छन् । सबै अध्ययन गरिरहेका छन् । दुबै जना अलग अलग छन् । बच्चाहरु सबै आफैसँग छन् । मेरो पछिल्लो परिवारसँग म बसिरहेको छु । परिवारका सबै सदस्यहरुको साथ र सहयोग छ । अहिले मेरो सबै ब्यवसाय छोराले नै हेरिरहेका छन् । समुदाय र समाजमा केहि गर्ने सोच छ ।  मेरो सवारी साधन होस् वा अरु केहि सहयोग गर्नु पर्दा गरिरहेको छु । 

जीवनः संघर्ष । 

प्रेमः जीवनको एउटा अंग हो । 

विवाहः परम्परा धान्ने सँस्कृति । जीवन साथी छनौटको माध्यम । 

शारिरीक सम्वन्धः आवश्यकता ।